हिंसाबाट सत्ता परिवर्तन गर्ने सोच हाबी भयो : राधेश्याम अधिकारी

काठमाडौं । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले ब्यालेट (मतदान) को सट्टा हिंसामार्फत सत्ता परिवर्तन गर्ने मान्यता स्थापित हुन खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार ललितपुरमा आयोजित प्रकाश काफ्लेको ३४औँ स्मृति दिवस तथा ३२औँ प्रकाश मानवअधिकार पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक अवस्था र लोकतन्त्रको भविष्यप्रति यस्तो धारणा राखेका हुन् । अधिकारीले विगतका हिंसात्मक घटनाका दोषीलाई जवाफदेही बनाउन नसक्दा त्यस्ता घटनाको पुनरावृत्ति भइरहेको तर्क गरे । भदौ २३ र २४ गतेका घटनाको स्मरण गर्दै उनले ती घटनामा जवाफदेहिता कायम गर्न नसकिएकै कारण अहिले फेरि त्यस्तै प्रकृतिका घटना दोहोरिन थालेको बताए । हालैका दिनमा देखिएका धार्मिक तथा अधार्मिक प्रकृतिका उच्छृङ्खल गतिविधि र निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठानमाथि भएका आक्रमणप्रति पनि उनले चासो व्यक्त गरे । भाटभटेनी र सीजी ग्रुपजस्ता व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी र क्षतिलाई उनले लोकतन्त्रका लागि चिन्ताको विषय बताए । यस्ता गतिविधिले मुलुकको शासन व्यवस्था र लोकतन्त्रको रक्षामा चुनौती थपेको उनको भनाइ छ । अधिकारीले भने, ‘पटक–पटक यस्ता घटना भइरहँदा हिंसा र हिंसामार्फत सत्ता परिवर्तन हुन सक्छ, ब्यालेटबाट होइन भन्ने मान्यता स्थापित हुँदैछ कि भन्ने डर लागिरहेको छ । त्यो हो कि होइन, त्यो आफ्नो ठाउँमा होला । तर आजको दिनमा यो विषय गम्भीर समीक्षा गर्ने विषय बन्न सक्छ कि सक्दैन ? यसतर्फ हाम्रो ध्यान जान आवश्यक छ भन्ने मलाई लाग्छ। भदौ २३ र २४ गतेका घटना भए ।’ अधिकारीले सरकार र संसद्बीचको सम्बन्धका विषयमा पनि प्रश्न उठाए। संसदबाटै नियुक्त हुने प्रधानमन्त्रीलाई आजको अवस्थामा संसद्मै टेक्न गाह्रो हुनु जवाफदेहिताको अभावको संकेत भएको उनले बताए । राज्यको कार्यकारी प्रमुखले नै जिम्मेवारी र जवाफदेहिताको बोध नगर्ने हो भने लोकतन्त्रप्रति जनताको आस्था र विश्वास कायम राख्न कठिन हुने उनको चेतावनी छ । जवाफदेही शासन व्यवस्थाले मात्र लोकतन्त्रलाई बलियो बनाउने भन्दै उनले यस विषयमा गम्भीर समीक्षा गर्न सरोकारवालाको ध्यानाकर्षण गराए ।

निम्स दाइको निधन भएको पुष्टि

काठमाडौं । निर्मल पुर्जा अर्थात् निम्स दाइको निधन भएको छ । पाकिस्तानस्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परेर उनको निधन भएको इलाइट एक्सपेडले पुष्टि गरेको छ । इलाइट एक्सपेडले जारी गरेको विज्ञप्तिमा हिम पहिरोपछि पर्वतारोही निर्मल पुर्जा 'निम्स दाइ' पुर्जाको दुःखद निधन भएको उल्लेख गरिएको छ । इलाइट एक्सपेड कम्पनी निम्स दाइको हो । उनीसहित केही पर्वतारोही साझेदारी छन् । ‘आज हामी अत्यन्तै गहिरो दुःख र असह्य पीडाका साथ पुष्टि गर्दछौं कि ब्रड पिकमा आएको हिम पहिरोपछि विश्व प्रसिद्ध पर्वतारोही निर्मल 'निम्स' दाइ पुर्जाको दुःखद निधन भएको छ। यस अभियानमा संलग्न अन्य केही सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको छ,’ विज्ञप्तिमा लेखिएको छ । 'हामीले केवल निम्सलाई मात्र होइन, यस दुःखद घटनामा ज्यान गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ । उनका विश्वासिला आरोहण सहयात्री तथा पर्वत मार्गदर्शक पुरबहादुर गुरुङ (युक्ता) र नीमा शेर्पाको निधनले हामीलाई अत्यन्त मर्माहत बनाएको विज्ञप्तिमा बताइएको छ । निर्मल 'निम्स दाइ' पुर्जा तथा यस दुःखद घटनामा ज्यान गुमाएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली। तपाइलाई कहिले बिर्सने छैनौ । तपाइको साहस, उद्देश्यलाई आउने पुस्ताले सधैँभरि सम्झिरहने छन् ।    

धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी

काठमाडौं । तराईका विभिन्न जिल्लाहरूमा उत्पन्न तनावपूर्ण अवस्थालाई सामान्य बनाउन गृहमन्त्री सुधन गुरुङले शनिबार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेका छन् । गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी समूहका प्रतिनिधिसँग छलफल अघि बढाएका हुन् । गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा परी दुई युवकको मृत्यु भएपछि तराईका जिल्लाहरूमा प्रदर्शन र आन्दोलन चर्किएको थियो । सोही क्रममा सिरहामा हिन्दु र मुस्लिम समुदायबीचको विवाद उग्र बन्दा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर थप एक जना युवाको ज्यान गएको थियो । आन्दोलनलाई शान्त पार्न र सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन गर्न गृहमन्त्री गुरुङ यतिबेला तराई भ्रमणमा हुनुहुन्छ । वार्तामार्फत केही स्थानको अवस्था क्रमिक रूपमा शान्त बन्दै गएको छ । प्रशासनले केही जिल्लाबाट कर्फ्यु हटाए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा भने अझै पूर्ण रूपमा हटाएको छैन । सरकारले वार्ता र संवादमार्फत सामाजिक सद्भाव कायम राख्दै समस्याको समाधान खोज्ने प्रयास गरिरहेको बुझिएको छ ।