काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर जनसेवाको मुख्य माध्यम बनाउनुपर्ने बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिमा बढ्दै गएको पद र शक्तिप्रतिको आसक्तिप्रति चिन्ता व्यक्त गरेका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै थापाले राजनीतिलाई सबैभन्दा ठूलो सार्वजनिक र मानव सेवाको क्षेत्रका रूपमा परिभाषित गरे ।
उनले नागरिक सेवा र मानव सेवाका लागि शक्ति र सत्तालाई साधन बनाउनुपर्नेमा केवल सत्ता प्राप्तिकै लागि मात्र राजनीति गर्ने अवस्था आउनु दुःखद् भएको बताए । यो राजनीतिको मूल उद्देश्यभन्दा फरक र विचलित बाटो भएको उनको भनाइ थियो ।
पार्टीको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै उनले संस्थापक नेताहरूले सत्ता वा शक्तिको अभिलाषा राखेर नभई विशुद्ध नागरिक सेवाको भावनाले पार्टी स्थापना गरेको उल्लेख गरे ।
बदलिँदो परिवेशमा पार्टीसामु नयाँ विषय र चुनौती थपिएको उल्लेख गर्दै उनले सांगठनिक सुदृढीकरण र नीतिगत स्पष्टतालाई सँगसँगै लैजानुपर्ने आवश्यकता औँल्याए ।
थापाले भने, ‘हामी राजनीतिमा आएको पनि त्यही कारणले हो। राजनीतिभन्दा ठूलो सार्वजनिक सेवा अरू केही छैन । राजनीतिभन्दा ठूलो नागरिक सेवा वा मानव सेवा पनि केही होइन । नागरिक र मानव सेवा गर्न शक्ति भयो भने अझ धेरै गर्न सकिन्छ, सत्ता भयो भने अझ प्रभावकारी रूपमा गर्न सकिन्छ भन्ने सोचबाट हामी चिप्लिएर शक्ति र सत्ताकै लागि राजनीति गर्ने ठाउँमा पुग्यौँ ।’
प्रतिष्ठानको कार्यशैलीप्रति सन्तोष व्यक्त गर्दै उनले पार्टीको मर्म र आत्मालाई बुझेर रचनात्मक कार्य भइरहेको बताए । एकातर्फ नियमित सांगठनिक गतिविधि र अर्कोतर्फ नीतिगत तथा प्रशिक्षणका काम व्यवस्थित ढङ्गले अगाडि बढ्नु सुखद् पक्ष रहेको उनको भनाइ छ ।