हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ः३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ । यसअघि गत जेठ २९ गते सङ्खुवासभाको च्याम्ताङ आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो ।  नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा साना/ठूला भूकम्प जाने गरेको केन्द्रले जनाएको छ । 

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

ललितपुर । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन ११ बुँदे काठमाडौँ घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । महासंघले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा ललितपुरमा आयोजना गरेको दुई दिने सम्मेलन आज सम्पन्न भएको हो । महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा उपाध्यक्ष खेम बहादुर पाठकले ११ बुँदे घोषणापत्र वाचन गरेर सुनाएका हुन् । कार्यक्रममा महासंघको पूर्व अध्यक्षद्वय केशव प्रसाद बडाल र मिनराज कडेलको समेत उपस्थिति रहेको थियो । साथै, संघीय सहकारी विभागका रजिष्ट्रार बाबुराम गौतम र राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य डा। बिमला पौडेलको आतिथ्य रहेको थियो । सम्मेलनमा स्वदेश तथा विदेशका महिला सहकारी अभियानकर्मी, सरकारी निकाय, विभिन्न संघरसंस्थाका प्रतिनिधि, विकास साझेदार, महिला उद्यमी र अनुसन्धानकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरुले घोषणापत्रमार्फत सहकारी क्षेत्रमा लैंगिक उत्तरदायी नीति निर्माण गर्ने, महिला सशक्तीकरण गर्ने र लैंगिक समानता कायम गर्दै दिगो विकास हासिल गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । घोषणापत्रमा सहकारीका उच्च व्यवस्थापकीय तह र समितिहरुमा महिलाको निर्णायक भूमिका सुनिश्चित गर्न नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यस्तै दिगो कृषि र खाद्य सुरक्षाका लागि महिला किसानहरुको भूमि, प्राकृतिक स्रोत र उत्पादनका साधनमा कानुनी तथा व्यावहारिक स्वामित्व स्थापित गर्न पैरवी गर्ने निर्णय सम्मेलनले गरेको छ । महिला उद्यमीहरुको दक्षता बढाउन स्थानीय तहसम्म डिजिटल कारोबार र उन्नत वित्तीय साक्षरताका कार्यक्रम लैजाने तथा युवा सहभागिता बढाउन विशेष जोड दिइने घोषणापत्रमा उल्लेख छ । यसैगरी, सहकारीद्वारा उत्पादित सामग्रीको गुणस्तर वृद्धि, ब्रान्डिङ र प्याकेजिङ गरी अन्तर्राष्ट्रिय बजार श्रृङ्खलामा सिधा पहुँच पुर्याउन सरकारी–सहकारी–निजी साझेदारी मोडललाई प्रवद्र्धन गरिने उल्लेख छ । राज्यका तीनै तहका सरकार र सहकारी संस्थाहरुका योजनालाई लैंगिक उत्तरदायी बनाउँदै महिला लक्षित कार्यक्रममा विशेष बजेट ल्याउन वकालत गर्ने सहभागीहरुले वचनवद्धता गरेका छन् । त्यसैगरी जलवायु परिवर्तनको मारमा परेका महिला किसानको उत्थानशीलताका लागि पर्यावरणमैत्री र प्राङ्गारिक खेती प्रणालीलाई प्रोत्साहन गरिने प्रतिबद्धता पत्रमा समेटिएको छ । महिलाहरुको परम्परागत सीपलाई आधुनिक व्यवसायमा रुपान्तरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुसंग समन्वय गरेर विशिष्टीकृत तालिम दिने र उनीहरुको सामाजिक सुरक्षा, प्रजनन स्वास्थ्य तथा मानसिक स्वास्थ्यको अधिकार रक्षाका लागि एकीकृत रुपमा अघि बढ्ने घोषणा गरिएको छ । संयुक्त राष्ट्र संघले सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला किसान वर्ष घोषणा गरेको सन्दर्भमा यो सम्मेलनले विश्वभरका महिला किसान र सहकारीकर्मीहरूबीच प्रविधि र ज्ञान हस्तान्तरणका लागि सहकार्य सबल बनाउने संकल्प गरेको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकार र विकास साझेदारहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता समेत जनाइएको छ । घोषणापत्रमार्फत हाल सहकारी क्षेत्रमा देखिएका समस्याहरू प्रति पनि गम्भीर चासो व्यक्त गरिएको छ । समस्याग्रस्त सहकारीहरुबाट सर्वसाधारण सदस्यहरूको बचत सुरक्षित रुपमा फिर्ता पाउनुपर्ने र ऋण असुलीका लागि सरोकारवालाहरुले तदारुकता देखाउनुपर्ने जोडदार माग गरिएको छ । यसैगरी अन्त्यमा महिला उद्यमीका उत्पादनहरुको प्रशोधन, बजारीकरण र उपभोगमा प्राथमिकता दिँदै तीनै तहका सरकार समक्ष न्यून कर र अनुदान उपलब्ध गराउन विशेष पहल गर्ने निर्णयका साथ सम्मेलन समापन भएको छ । महासंघले सहकारी क्षेत्रमा संलग्न महिला किसानहरुको योगदान र प्रभावलाई उजागर गर्ने मूल उद्देश्यले असार ६ र ७ गते ‘नेतृत्वमा नारी स् समृद्धिमा सहकारी’ भन्ने नारासहित सम्मेलन आयोजना गरेको हो ।  

लुम्बिनी विश्व शान्ति मञ्च र कुमारी बैंकको पर्यावरणमैत्री पाइला

काठमाडौं । वातावरणीय दिगोपना र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि लमजुङको राईनास नगरपालिकामा सफलतापूर्वक वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।  लुम्बिनी विश्व शान्ति मञ्चको प्रमुख अभियान १० लाख रुख रोपण तथा संरक्षण अभियान अन्तर्गत राईनास नगरपालिकाको हर्राबोट र कटहरबारीमा वृक्षारोपण गरिएको हो।  यस अभियानलाई कुमारी बैंक लिमिटेडले संस्थागत सहयोग गरेको छ । कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, वातावरणीय संरक्षणवादी र बैंकिङ क्षेत्रका व्यक्तित्वहरूले रैथाने प्रजातिका बिरुवाहरू रोपेर पारिस्थितिक प्रणालीको पुन:स्थापनाका लागि ऐक्यबद्धता जनाएका छन् । वृक्षारोपण कार्यक्रममा राईनास नगरपालिकाका उपमेयर पुष्पराज खनालको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा अभियानको प्रशंसा गर्दै उपमेयर खनालले स्थानीय जैविक विविधता र सामुदायिक स्वास्थ्यलाई प्रत्यक्ष फाइदा पुर्‍याउने यस्ता हरित साझेदारीका लागि नगरपालिकाको पूर्ण र निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको नेतृत्व लुम्बिनी विश्व शान्ति मञ्चका संस्थापक एवं ‘१० लाख रुख रोपण तथा संरक्षण अभियान का प्रणेता बसु गौतमले गरेका थिए ।  यस्तै, कुमारी बैंक लिमिटेडका तर्फबाट बेसीशहर शाखाका शाखा प्रबन्धक  रघुनाथ लौडारी र थांतीपोखरी शाखाका शाखा प्रबन्धक विनय अधिकारी लगायतका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।  कुमारी बैंकको यो सहकार्यले बैंकको वातावरणीय, सामाजिक र सुशासन सम्बन्धी मूल्यमान्यताहरू प्रतिको संस्थागत सामाजिक उत्तरदायित्वलाई थप प्रष्ट पारेको छ । सन् २०१९ मा सुरुवात भएदेखि नै लुम्बिनी विश्व शान्ति मञ्चले देशव्यापी रूपमा ठूलो स्तरमा वनिकरण अभियान सञ्चालन गर्दै आएको छ ।  लमजुङमा सम्पन्न यस कार्यक्रमसँगै मञ्चले नेपालभर हालसम्म जम्मा २,३१,८०० रुखहरू सफलतापूर्वक रोपिसकेको छ ।