इजरायली आक्रमणमा अल जजीराका क्यामेराम्यानसहित ६ जनाको मृत्यु

काठमाडौं । गाजामा भएका इजरायली आक्रमणहरूमा कम्तीमा छ जनाको मृत्यु भएको छ, जसमा अल जजीराका एक क्यामेराम्यान र कम्तीमा एक बच्चा सामेल छन् । यो जानकारी स्वास्थ्य अधिकारी र उद्धारकर्मीहरूले दिएका हुन् । अल जजीराले आफ्ना संवाददाता अहमद विशाहको हत्याको जघन्य अपराधको कडा निन्दा गरेको छ । अहमद विशाहको शनिबार मध्य गाजाको एक घरमा भएको आक्रमणमा मृत्यु भएको थियो । अल जजीराले अहमद विशाहको मृत्यु ुअन्तर्राष्ट्रिय कानुन र मापदण्डहरूको स्पष्ट उल्लंघन भएको र यसले पत्रकारहरूलाई निशाना बनाउने तथा सत्यको आवाजलाई दबाउने लगातार जारी एक व्यवस्थित नीतिलाई दर्साउनेु कुरा पनि उल्लेख गरेको छ । अर्कोतर्फ, इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले आरोप लगाउँदै अहमद विशाहलाई हमासको सैन्य शाखासँग आवद्ध आतंकवादी बताएको छ र उनी ‘स्नाइपर अपरेटिभका रूपमा काम गरिरहेका थिए’ भनेको छ। तर, इजरायली सेनाले यस दाबीको समर्थनमा कुनै प्रमाण सार्वजनिक गरेको छैन । गाजाको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबरमा इजरायल र हमासबीच लागू भएको युद्धविराम यता इजरायली सेनाको कारबाहीमा १,००७ जनाको मृत्यु भइसकेको छ। गाजाको हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई संयुक्त राष्ट्र संघले विश्वसनीय मान्दै आएकाे छ ।

‘हाम्रो गाडी लोकल होइन, एक्सप्रेस हो, गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ’

काठमाडौं । प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शाहले आफूहरूले अघि बढाइरहेको अभियानलाई ‘एक्सप्रेस गाडी’सँग तुलना गर्दै निर्धारित गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताएका छन् । राष्ट्रिय पार्टीको प्रथम महाधिवेशनमा बोल्दै शाहले आफूहरूको काम योजनाबद्ध र नियन्त्रणमै रहेको दाबी गरे । ‘हाम्रो गाडी लोकलमा होइन, एक्सप्रेसमा हिँडेको गाडी हो । यो अनियन्त्रित छैन । यो लोकल गाडी होइन, एक्सप्रेस गाडी हो । गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ,’  उनले भने । आफ्नो नेतृत्वमा भएका कामको बचाउ गर्दै उनले बाढी नियन्त्रण र नदी व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरे । ‘हामीले बाढी रोकेर खोला फर्काएका हौं । यो हावा गफ होइन,’  उनले भने । सरकार र नेतृत्वबारे व्यक्त भइरहेका चिन्ताप्रति प्रतिक्रिया दिँदै उनले चिन्ता व्यक्त गर्नेहरूलाई धन्यवाद दिए । ‘सबै कुरा नियन्त्रणमा छ । कुनै पनि विषयमा अनावश्यक चिन्ता लिनु पर्दैन,’  उनले भने । शाहले जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गर्दै ‘जनता सधैं स्पटलाइटमा रहन्छन् । हाम्रो सरकारले जनतालाई प्रतिबिम्बित गर्छ,’ भने । उनले आफ्नो राजनीतिक सोचलाई विकासमुखी रहेको उल्लेख गर्दै प्रतिशोधको राजनीति नगर्ने बताए । ‘हाम्रो पार्टी विकासवादी पार्टी हो । हामी प्रतिशोधको राजनीति गर्दैनौं । तर, कसैले निहुँ खोजे विगतमा भएका भ्रष्टाचार र अनियमितताका विषय उठाउन पछि पर्दैनौं’ , उनले भने । सीमा विवादबारे बोल्दै शाहले कालापानी–लिपुलेक नेपालको भूमि भएको दाबी दोहोर्‍याए । ‘कालापानी–लिपुलेकका प्रमाण छन् । हामीले ब्रिटिसलाई मध्यस्थता गर्न खोजेका होइनौं । मेरो राष्ट्रियताप्रति कसैले आशंका गर्नुपर्ने आवश्यकता छैन, ’  उनले भने । उनले विगतको गुट-उपगुटको राजनीतिक अभ्यासबाट देशले अपेक्षित परिणाम नपाएको पनि उल्लेख गरे ।

रास्वपा महाधिवेशनमा अमरेश सिंह किन अनुपस्थित भए ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आइतबार (आज)देखि चितवनको भरतपुरमा भव्य रूपमा सुरु भएको छ ।  संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका वरिष्ठ नेताहरू महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न भरतपुर पुगिरहँदा रास्वपाका सांसद अमरेशकुमार सिंह भने समारोहमा अनुपस्थित भएका छन् । पार्टीको यति ठूलो आन्तरिक उत्सवमा उनको अनुपस्थितिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । सांसद सिंहले हालै प्रतिनिधिसभा बैठकमा आफ्नै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । संसदमा बजेटका प्राथमिकताहरूमाथि महत्त्वपूर्ण छलफल भइरहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लगायतका जिम्मेवार मन्त्रीहरू उपस्थित नभएको भन्दै उनले संसदमा आक्रोश व्यक्त गरेका थिए।  सरकारको क्रमभंगताको नारा व्यावहारिक रूपमा नदेखिएको र विगतमा स्वतन्त्र रहँदा आफूले उठाउँदै आएका एजेन्डाहरूलाई पार्टीभित्र पर्याप्त स्थान नदिइएको भन्दै उनी रुष्ट बनेका हुन् । विगतमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को कट्टर समर्थक रहेका सिंहको दृष्टिकोणमा अचेल ठूलो परिवर्तन आएको छ ।  गत वर्ष जनकपुरधाममा भएको रास्वपाको चुनावी सभामा ‘बालेन प्रधानमन्त्री नभए​ आत्मदाह गर्छु’ सम्मको अभिव्यक्ति दिएका सिंहले अहिले भने बालेनको कार्यशैलीप्रति कडा कटाक्ष गरेका छन् । सरकार चलाउनु र महानगर चलाउनु एउटै नभएको टिप्पणी गर्दै उनले भनेका थिए, ‘सरकार चलाउनु महानगर चलाउनुजस्तो सजिलो काम होइन ।’ सांसद सिंहको असन्तुष्टि केन्द्रमा मात्र सीमित नभएर तल्लो तहसम्म पुगेको छ । विशेष गरी मधेस प्रदेशको जलेश्वर र सर्लाही क्षेत्रमा रास्वपाका स्थानीय कार्यकर्ता र अमरेश सिंहका समर्थकहरूबीच विवाद बढ्दै गएको छ । सिंहविरुद्ध नाराबाजीसमेत भएको छ।