रास्वपाले महाधिवेशनका लागि गठन ग‍र्‍यो २२ सदस्यीय निर्वाचन संरचना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित, निष्पक्ष, पारदर्शी तथा लोकतान्त्रिक ढंगले सम्पन्न गर्न २२ सदस्यीय निर्वाचन संरचना गठन गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले आइतबार (आज) सूचना जारी गर्दै महाधिवेशनका लागि आवश्यक निर्वाचन संयन्त्र तयार गरिएको जानकारी दिएको हो । 

आयोगले १० सदस्यीय केन्द्रीय निर्वाचन आयोग तथा त्यसअन्तर्गत रहने १२ सदस्यीय राष्ट्रिय महाधिवेशन निर्वाचन समिति–२०८३ गठन गरेको जनाएको छ ।

सार्वजनिक विवरणअनुसार केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी र उपप्रमुखमा डा. राम गुरुङ रहेका छन् । आयोगका सदस्यहरूमा कुमार आनन्द मिश्र, नारायणप्रसाद प्याकुरेल, सुमित्रा पण्डित, गोकुल सापकोटा, निश्चल सिंह भण्डारी, बीपी दाहाल, सौरेन्द्रबहादुर शाह र सुदनप्रसाद ज्ञवाली रहेका छन् ।

त्यसैगरी, महाधिवेशनको निर्वाचन प्रक्रिया सञ्चालन गर्न गठन गरिएको राष्ट्रिय महाधिवेशन निर्वाचन समितिमा वीरेन्द्र केएम, गणेशदत्त भट्ट, डा दिनेश महतो, आयुष्मा अर्याल, भूपेन्द्रराज बस्नेत, मिलन कार्की, सार्थक भट्टराई र रामकुमार खतिवडा सदस्यका रूपमा रहेका छन् । 

समितिलाई सहयोग गर्न शुभराज शिल्पकार, सेनु लामा तामाङ, राजेन्द्रकुमार श्रेष्ठ र मुकेश झालाई निर्वाचन कर्मचारीका रूपमा जिम्मेवारी दिइएको छ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले महाधिवेशनलाई ऐतिहासिक, विश्वसनीय र लोकतान्त्रिक बनाउन निर्वाचन संरचनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । 

उनले उम्मेदवारी दर्तादेखि मतगणनासम्मका सम्पूर्ण प्रक्रिया पारदर्शी र निष्पक्ष ढंगले सञ्चालन गरिने उल्लेख गरे।

Share News