बाढीपीडितका लागि ग्यास उद्योग संघले १२ सय बढी सिलिन्डर सहयोग गर्ने

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १ हजार २५० थान भरिएका एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने घोषणा गरेको छ ।

संघले शनिबार विज्ञप्ति जारी गर्दै रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लामा बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल आयल निगममार्फत लक्षित वर्गलाई ग्यास सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो ।

संघका अनुसार प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ । साथै घाइतेहरूको शीघ्र उपचारको व्यवस्था गर्न र बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाउन सबै पक्षसँग अपिल गरिएको छ ।

संघले विपद् कुनै एक व्यक्ति वा संस्थाको मात्र समस्या नभई सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै कठिन परिस्थितिमा प्रभावित नागरिकको तत्काल आवश्यकतालाई सम्बोधन गर्न ग्यास सहयोग गर्ने निर्णय गरिएको जनाएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले बाढी प्रभावित परिवारसम्म राहत सामग्री छिटो र प्रभावकारी रूपमा पुर्याउन संघ प्रतिबद्ध रहेको बताएका छन्।

Share News