रास्वपा र नेकपाबीच धेरै समानता छन् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र माओवादी केन्द्रबीच धेरै समानता रहेको बताएका छन्।

चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पुनले यस्तो बताएका हुन् ।

दुवै राजनीतिक शक्तिले स्थापित राजनीतिक निरन्तरतामा क्रमभंग गर्दै नयाँ वैकल्पिक शक्तिका रूपमा उदय भएको उनको भनाइ छ ।

उनले माओवादी केन्द्रले सशस्त्र जनयुद्ध र राजनीतिक आन्दोलनमार्फत पुरानो राजनीतिक संरचनामा परिवर्तनको एजेन्डा अघि सारेको स्मरण गर्दै रास्वपाले पनि परम्परागत दलप्रतिको जनअसन्तुष्टिलाई सम्बोधन गर्दै नयाँ राजनीतिक शक्तिका रूपमा स्थान बनाएको उल्लेख गरे ।

‘माओवादी र रास्वपाबीच धेरै समानता छन्, दुवैले स्थापित राजनीतिक निरन्तरतामा क्रमभंग गरेका छन्,’ उनले भने ।

पुनले लोकतन्त्रलाई सुदृढ बनाउन नयाँ र पुराना सबै राजनीतिक शक्तिबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको धारणा व्यक्त गरे। उनले जनताका आकांक्षा, सुशासन, पारदर्शिता र विकासका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्न रास्वपालाई सुझाव पनि दिए ।

रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएर शुभकामना मन्तव्य राखिरहेका छन् ।

Share News