काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली राजनीतिक संस्कृतिमा नेतालाई भगवान वा ‘बा’का रूपमा हेर्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले नेताप्रति आवश्यक आलोचना नगर्दा राजनीतिक दल र नेतृत्व दुवै कमजोर बनेको बताए ।
'हामीले नेतालाई भगवान र ‘बा’ मानेर ठूलो गल्ती गर्यौं । हामीले नेताहरूको समयमै आलोचना गरेनौं। त्यो कुरा ढिलो गरेर बुझ्यौं', उनले भने ।
थापाले रास्वपाका नेता-कार्यकर्तालाई पनि आफ्नै नेतृत्वमाथि आवश्यक पर्दा आलोचना गर्न आग्रह गरे । उनका अनुसार लोकतान्त्रिक पार्टीमा आत्मालोचना र नेतृत्वप्रति प्रश्न उठाउने संस्कृतिले मात्रै पार्टीलाई बलियो बनाउँछ ।
उनले कांग्रेस र रास्वपाबीच स्वस्थ प्रतिस्पर्धा रहने दोहोर्याउँदै सही काममा साथ र गलत काममा खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
'राम्रो काममा हामी साथ दिन्छौं। गलत काममा औंला उठाउँछौं', थापाले भने ।