मुस्ताङ भन्सारबाट ११ महिनामा ७ अर्ब ६६ करोड राजश्व सङ्कलन

काठमाडौं । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-२ न्हेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आवको ११ एघार महिनामा सात अर्ब ६६ करोड ८५ लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।  चालु आवको साउनदेखि जेठ मसान्तसम्म नेपाल-चीन उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारी मालवस्तुबापत मुस्ताङ भन्सार कार्यालयले उक्त परिमाणमा राजश्व सङ्कलन गरेको हो । कार्यालयका प्रमुख विदुर चुडालका अनुसार नेपाल-चीन उत्तरी कोरलानाकाबाट १३ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ मुल्य बराबरको मालवस्तु पैठारी भएको छ ।  यसैगरी २० करोड ५५ लाख ७४ हजार रुपैयाँ मुल्य बराबरको मालवस्तु भन्सार जाँचपास भई चीनतर्फ निकासी भएको भन्सार प्रमुख चुडालले जानकारी दिए । उनका अनुसार यस नाका गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।  गत जेठसम्म दुई हजार ९९७ वटा विद्युतीय सवारीसाधन (इभी) कोरलानाबाट भन्सार जाँचपास भई नेपाल भित्रिएका कार्यालयले जनाएको छ । भन्सार प्रमुख चुडालका अनुसार चीनबाट पैठारी गरिएका विद्युतीय सवारीसाधनबाट करिब रु सात अर्ब राजश्व सङ्कलन भएको छ । गतवर्ष उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि मात्रै खुल्ला भएको कोरला वैकल्पिक नाकाका रूपमा सञ्चालनमा ल्याइएको हो ।  कोरलानाका हुँदै निकासी तथा पैठारी गरिएबापत मुस्ताङ भन्सार कार्यालयले चालु आवको साउनमा सबैभन्दा कम सात लाख ५७ हजार र असोजमा सबैभन्दा बढी दुई अर्ब ४९ करोड २५ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको कार्यालयका प्रमुख चुडालले जानकारी दिए । कोरलानाकाबाट विद्युती सवारीसाधनसहित चाडपर्व लक्षित लत्ताकपडा, इलेक्ट्रोनिक उपकरण, जुत्ताचप्पल, किराना सामग्री, कस्मेटिकलगायत मालवस्तु नेपाल भित्रिने गरेका छन् । यसैगरी नेपालबाट हस्तकलासम्बन्धी सामग्री र स्थानीय उत्पादन चीनतर्फ निकासी हुने गरेका छन् ।  

‘बर्ड फ्लु’ सङ्क्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

काठमाडौं । सदर चिडियाखाना जावलाखेलमा ‘बर्ड फ्लु’ (एच फाइभ एन वान) को सङ्क्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साहमाथि  छानबिन हुने भएको छ ।  कोषको अध्यक्ष एवं कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा कोषले साहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएको छ । कोषले चिडियाखानामा फैलिएको बर्ड फ्लूका कारण पत्तालगायत प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजक्तमा तीन सदस्यसीय छानबिन समिति बनाएको हो ।  समितिको सदस्यहरूमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डा. मधु क्षेत्री सदस्य छन् । दुवै जनालाई एक हप्ताभित्र छानबिन गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहमा संवेदनशील नभएको उल्लेख गर्दै कोषले प्रमुख साहलाई केन्द्रीय कार्यालयमा तानेको छ । साहलाई जिम्मेवारीबाट हटाइएकाले चिडियाखानाको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई दिइएको मन्त्रालयले जनाएको छ । पशु सेवा विभागमा गरिएको नमूना परीक्षणबाट चिडियाखानाका जीवजन्तुमा बर्ड फ्लू पुष्टि भएको थियो ।  चिडियाखानामा करिब १० दिनअघि बाटै पन्छी र जनावर मरेका भए पनि यसबारे प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई साहले कुनै जानकारी नै दिएका थिएनन् ।  चराचुरुङ्गीहरू मर्ने क्रम नरोकिएपछि परीक्षण गर्दा बकुल्ला, लाटोकोसेरो, गिद्ध तथा जनावरतर्फ नीरबिरालो र चरीबाघमा समेत बर्ड फ्लू फेला परेको थियो । रोग सङ्क्रमणका कारण वन्यजन्तुहरू मरेको धेरै दिन बितिसक्दा कुनै जानकारी नदिइएपछि साहलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिइएको छ ।  पछिल्ला समयमा चिडियाखानामा भएका शृङ्खलाबद्ध घटना र बर्ड फ्लूजस्तो संवेदनशील विषयमा बेलैमा केन्द्रलाई ‘रिपोर्टिङ’ नगरेका कारण कोषले साहमाथि विभागीय कारबाही गर्दै अनुसन्धान अघि बढाएको हो ।  

टेकु अस्पतालमा बढे सर्पदंशका बिरामी, साउनयता २७९ जनाको उपचार

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गर्न आउने सर्पदङ्शका बिरामी बढेका छन् । गर्मीयामसँगै गर्मी बढेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदङ्शका बिरामी अस्पतालमा बढेका हुन् ।  अस्पतालका सूचना अधिकारी समीरकुमार अधिकारीका अनुसार साउनयता अहिलेसम्म २७९ जना सर्पले डसेका छन् । सर्पदङ्शबाट जेठ महिनामा २५ र वैशाखमा १० जना बिरामी परेका छन् ।   यसैगरी, साउनमा ६६, भदौमा ७५, असोज ७०, कात्तिकमा २०, फागुन एक र चैतमा १२ जना सर्पदंशबाट बिरामी परेका उनले बताए ।  अस्पतालका सूचना अधिकारी अधिकारीले गर्मी महिनामा सर्प बाहिर निस्कने र मानिसहरूलाई टोक्ने बताए । नेपालमा गोमन, राजगोमन, करेत, मुगा, बाघेजस्ता विषालु सर्पले टोक्ने गरेका छन् ।  उनले काभ्रे, धादिङ, तनहुँ, रामेछाप, दोलखालगायत जिल्लाबाट सर्पदंशका बिरामी आउने गरेको बताए ।  सर्पले टोकिहाले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने, सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, बाँध्नेजस्ता कार्य नगर्ने, कुनै पनि मलम, रासायनिक पदार्थ, तातोचिसो प्रयोग नगर्ने, बिरामीको आत्मविश्वास कायम राख्ने, डस्ने सर्पको पहिचान गर्ने र बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्याउने गर्नुपर्दछ ।  सर्पदंशबाट बच्नका लागि राति हिँड्नु परे टर्च लाइट लिएर हिँड्ने, जुत्ता वा गमबुट लगाउने, खुट्टा राम्ररी छोप्ने बाक्लो पाइन्ट लगाउने, घरवरपरको घाँस, झारपात काटेर सफा राख्ने जस्ता उपायबाट अपनाउनुपर्दछ ।  यस्तै, काठ, ढुङ्गा, टुटेफुटेको सामानको थुप्रा हटाउने, जमिनका दुलाहरू टाल्ने, पराल, दाउरा, आदि तान्दा जाँदा होसियारी अपनाउने, सुत्नुअघि ओछ्यान, खाटमुनि र वरपर राम्ररी हेर्ने, झूल टाँगेर मात्र सुत्ने जस्ता उपाय अपनाउनुपर्दछ ।