१९८ किमि सडक कालोपत्र ,१७ हजार ३७४ लाई साढे ६३ करोड भत्ता वितरण
काठमाडौं । घोराही उप-महानगरपालिकाले पछिल्लो ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र गरेको छ । नगर प्रमुख नरुलाल चौधरीका अनुसार पछिल्लो ९ वर्षमा ४५८ किलोमिटर सडक स्तरोन्नति र ग्राभेल, २८० किलोमिटर नयाँ सडक निर्माण र ६८.३ किलोमिटर सडक मर्मत सम्पन्न भएको छ । नगरका सबै वडालाई केन्द्रसँग जोड्न २०७ कल्भर्ट र पाँच झोलुङ्गे पुल निर्माण गरिएका उनले बताए । सहरी सौन्दर्यीकरण र सरसफाइका लागि ९९ किलोमिटर ढल निर्माण तथा एउटा व्यवस्थित स्यानेटरी ल्यान्डफिल्ड साइट सञ्चालनमा ल्याइएको छ । नदी नियन्त्रणका लागि २०.९ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरी बाढी र कटानको जोखिम कम गरिएको छ । खानेपानी र सिँचाइमा आत्मनिर्भरता नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ १०८ कुवा र ७७ डिपबोरिङ निर्माण गरी हाल ९२ प्रतिशत घरमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिएको नगर प्रमुख चौधरीले बताए । कृषि क्षेत्रलाई लक्षित गरी ४३ कृत्रिम जलाशय निर्माण गरिएका छन् । जसबाट ७३८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको उनको भनाइ छ । ऊर्जा क्षेत्रमा ८७ किलोमिटर प्रसारण लाइन विस्तार र ७ वटा शौर्य ऊर्जा प्लान्ट स्थापना गरिएको छ । नगर प्रमुख चौधरीका अनुसार शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा शिक्षा क्षेत्रमा २७ विद्यालय भवन र ३९ नयाँ कक्षाकोठा थपिएका छन् भने अधिकांश सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको छ । स्वास्थ्यतर्फ २८ स्वास्थ्य संस्थाका भवन निर्माण भएका छन् । सामाजिक सुरक्षाका क्षेत्रमा १७ हजार ३७४ लाभग्राहीलाई बैंकमार्फत ६३ करोड ५८ लाख रुपैयाँभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । घोराहीले हालसम्म १३८ स्थानीय कानुन निर्माण गरी शासन प्रणालीलाई विधिसम्मत बनाएको छ । वडास्तरबाटै अनलाइन घटना दर्ता, अनलाइन नागरिकता सिफारिस र राजस्व सङ्कलनजस्ता विद्युतीय शासन प्रणाली लागू गरी सेवा प्रवाहलाई छिटो तथा पारदर्शी बनाइएको नगरप्रमुख चौधरीले बताए । वातावरण संरक्षणका लागि एक हजार ३०० थान इन्डक्सन चुलो र ४५० थान सुधारिएको चुलो वितरण गरी धुवाँ मुक्त भान्सा अभियानलाई समेत सहयोग पुर्याइएको छ ।
धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट
काठमाडौं । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि दुई अर्ब ६४ करोड ६४ लाख रुपैयाँ बजेट ल्याएको छ । आइतबार (आज) आयोजित नगरसभाको १५औं अधिवेशनमा उपप्रमुख कन्दकला कुमारी रानाले बजेट सार्वजनिक गरेकी हुन् । उनका अनुसार आगामी आवका लागि चालुतर्फ एक अर्ब ४३ करोड ६३ लाख रुपैयाँ र पुँजीगततर्फ एक अर्ब २३ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ । बजेटका स्रोतका रुपमा आन्तरिक आयबाट ५५ करोड १० लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ६० करोड ४५ लाख ३६ हजार रुपैयाँ, नेपाल सरकारबाट वित्तीय हस्तान्तरणतर्फ एक अर्ब छ करोड ७९ लाख प्राप्त हुने जनाएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारबाट १४ करोड २२ लाख रुपैयाँ तथा चालु आर्थिक वर्षको बचतबाट ४२ करोड ३० लाख २१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । चालु आवको दुई अर्ब ५६ करोड चार लाख रुपैयाँ बजेटमध्ये जेठ मसान्तसम्म एक अर्ब ७७ करोड ४९ लाख ५१ हजार रुपैयाँ प्राप्त भएकामा एक अर्ब १९ करोड ९४ लाख खर्च भएको उपप्रमुख रानाले जानकारी दिइन् । उपमहानगरले आगामी आवको बजेटमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा लोककल्याणकारी कार्यलाई प्राथमिकता दिएको छ । उपमहानगरले आगामी वर्ष नगर गौरवका आयोजना सञ्चालन तथा वडा स्वास्थ्य क्लिनिकलाई थप सुदृढीकरण गर्ने जनाइएको छ । विकास आयोजनाको प्रभावकारी सञ्चालनका लागि आयोजना बैंक स्थापना गर्ने र त्यसमा समावेशन आयोजना क्रमशः कार्यान्वयन गर्दै लगिने र सीप सिकाएर युवालाई स्वरोजगार बाउन सीप तथा रोजगार मेला सञ्चालनलाई उपमहानगरले आगामी वर्ष निरन्तरता दिने भएको छ ।
राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा पानी भर्न थालियो, १५ दिनभित्र परीक्षण उत्पादनको तयारी
काठमाडौं । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी भर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दग्नाम र झिँको सिमानामा पर्ने बाँधबाट पिप्लेस्थित तेस्रो अडिटसम्मको मुख्य सुरुङमा पानी भर्न थालिएको हो । रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले आयोजनाको निर्माण सकिएका भौतिक संरचनाको परिक्षण गर्नेक्रम जारी रहेको जनाउँदै छ किलोमिटर दुई सय ७० मिटर मुख्य सुरुङमा पानी भर्न थालिएको बताए । ‘पहिलो दिन एक हजार ६०० मिटर सुरुङमा पानी भरेका छौं । करिब चार दिनमा सबै सुरुङमा पानी भरेर १५ दिनपछि सञ्चालन योग्य बनाउने कार्यतालिका छ’, उनले भने, ‘सात वर्षको प्रयासपछि यो आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गर्नुलाई महत्वपूर्ण उपलब्धि मानेका छौं ।’ यसअघि बाँध, डिसेन्डर (पानी थिग्र्याउने पोखरी) र स्वीचयार्डको सफल परीक्षण भइसकेको आयोजनाले करिब १५ दिन सुरुङमा पानी भरेपछि कुनै समस्या नआएमा त्यसलगत्तै विद्युत्गृहमा रहेका २०/२० मेगावाट क्षमताका दुईमध्ये एक वटा युनिटबाट परीक्षणका लागि विद्युत् उत्पादनको तयारी गरिएको प्रबन्ध सञ्चालक केसीले जानकारी दिए । रघुगङ्गा गाउँपालिका-४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध र दुई वटा पानी थिग्र्याउने पोखरीको परिक्षण भइसकेको छ । भौतिक संरचना र विद्युत्गृहका उपकरणको परीक्षणपछि आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गर्ने उनले बताए । तिल्केनीचौरमा विद्युत्गृह निर्माण सकेर रङरोगन गर्न थालिएको छ । बीस मेगावाटको एक युनिट जडान भइसकेको छ भने अर्को युनिटका पाटपुर्जा जडान अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत्गृह परिसरमा निर्माण भएको स्वीचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आएको प्रबन्ध सञ्चालक केसीले जानकारी दिए । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) छ अर्बमा ठेक्का सम्झौता गरेको थियो। पटकपटक गरी सन् २०२५ नोबेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो। चौँथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न गराउने लक्ष्य अनुसार काम भइरहेको प्रबन्ध सञ्चालक केसीले बताए । कोरोना महामारी, बाढी, पहिरोलगायत प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए । भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता भएको थियो । भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो । कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चार वटा टावर र प्रसारण लाइन पनि बनिसकेको आयोजना कार्यालयले जनाएको छ ।