ललितपुर । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन ११ बुँदे काठमाडौँ घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
महासंघले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा ललितपुरमा आयोजना गरेको दुई दिने सम्मेलन आज सम्पन्न भएको हो ।
महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा उपाध्यक्ष खेम बहादुर पाठकले ११ बुँदे घोषणापत्र वाचन गरेर सुनाएका हुन् ।
कार्यक्रममा महासंघको पूर्व अध्यक्षद्वय केशव प्रसाद बडाल र मिनराज कडेलको समेत उपस्थिति रहेको थियो । साथै, संघीय सहकारी विभागका रजिष्ट्रार बाबुराम गौतम र राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य डा। बिमला पौडेलको आतिथ्य रहेको थियो ।
सम्मेलनमा स्वदेश तथा विदेशका महिला सहकारी अभियानकर्मी, सरकारी निकाय, विभिन्न संघरसंस्थाका प्रतिनिधि, विकास साझेदार, महिला उद्यमी र अनुसन्धानकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
सहभागीहरुले घोषणापत्रमार्फत सहकारी क्षेत्रमा लैंगिक उत्तरदायी नीति निर्माण गर्ने, महिला सशक्तीकरण गर्ने र लैंगिक समानता कायम गर्दै दिगो विकास हासिल गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।
घोषणापत्रमा सहकारीका उच्च व्यवस्थापकीय तह र समितिहरुमा महिलाको निर्णायक भूमिका सुनिश्चित गर्न नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यस्तै दिगो कृषि र खाद्य सुरक्षाका लागि महिला किसानहरुको भूमि, प्राकृतिक स्रोत र उत्पादनका साधनमा कानुनी तथा व्यावहारिक स्वामित्व स्थापित गर्न पैरवी गर्ने निर्णय सम्मेलनले गरेको छ ।
महिला उद्यमीहरुको दक्षता बढाउन स्थानीय तहसम्म डिजिटल कारोबार र उन्नत वित्तीय साक्षरताका कार्यक्रम लैजाने तथा युवा सहभागिता बढाउन विशेष जोड दिइने घोषणापत्रमा उल्लेख छ ।
यसैगरी, सहकारीद्वारा उत्पादित सामग्रीको गुणस्तर वृद्धि, ब्रान्डिङ र प्याकेजिङ गरी अन्तर्राष्ट्रिय बजार श्रृङ्खलामा सिधा पहुँच पुर्याउन सरकारी–सहकारी–निजी साझेदारी मोडललाई प्रवद्र्धन गरिने उल्लेख छ ।
राज्यका तीनै तहका सरकार र सहकारी संस्थाहरुका योजनालाई लैंगिक उत्तरदायी बनाउँदै महिला लक्षित कार्यक्रममा विशेष बजेट ल्याउन वकालत गर्ने सहभागीहरुले वचनवद्धता गरेका छन् ।
त्यसैगरी जलवायु परिवर्तनको मारमा परेका महिला किसानको उत्थानशीलताका लागि पर्यावरणमैत्री र प्राङ्गारिक खेती प्रणालीलाई प्रोत्साहन गरिने प्रतिबद्धता पत्रमा समेटिएको छ ।
महिलाहरुको परम्परागत सीपलाई आधुनिक व्यवसायमा रुपान्तरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुसंग समन्वय गरेर विशिष्टीकृत तालिम दिने र उनीहरुको सामाजिक सुरक्षा, प्रजनन स्वास्थ्य तथा मानसिक स्वास्थ्यको अधिकार रक्षाका लागि एकीकृत रुपमा अघि बढ्ने घोषणा गरिएको छ ।
संयुक्त राष्ट्र संघले सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला किसान वर्ष घोषणा गरेको सन्दर्भमा यो सम्मेलनले विश्वभरका महिला किसान र सहकारीकर्मीहरूबीच प्रविधि र ज्ञान हस्तान्तरणका लागि सहकार्य सबल बनाउने संकल्प गरेको छ ।
दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकार र विकास साझेदारहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता समेत जनाइएको छ । घोषणापत्रमार्फत हाल सहकारी क्षेत्रमा देखिएका समस्याहरू प्रति पनि गम्भीर चासो व्यक्त गरिएको छ ।
समस्याग्रस्त सहकारीहरुबाट सर्वसाधारण सदस्यहरूको बचत सुरक्षित रुपमा फिर्ता पाउनुपर्ने र ऋण असुलीका लागि सरोकारवालाहरुले तदारुकता देखाउनुपर्ने जोडदार माग गरिएको छ ।
यसैगरी अन्त्यमा महिला उद्यमीका उत्पादनहरुको प्रशोधन, बजारीकरण र उपभोगमा प्राथमिकता दिँदै तीनै तहका सरकार समक्ष न्यून कर र अनुदान उपलब्ध गराउन विशेष पहल गर्ने निर्णयका साथ सम्मेलन समापन भएको छ ।
महासंघले सहकारी क्षेत्रमा संलग्न महिला किसानहरुको योगदान र प्रभावलाई उजागर गर्ने मूल उद्देश्यले असार ६ र ७ गते ‘नेतृत्वमा नारी स् समृद्धिमा सहकारी’ भन्ने नारासहित सम्मेलन आयोजना गरेको हो ।