काठमाडौं । नेपाल प्रहरीले बेवारिसे तथा पहिचान नखुलेका शव एवम् शरीरका अंगहरूको व्यवस्थापनको कार्यलाई अगाडि बढाएको छ ।
प्रहरीले संकलित शवहरूको संख्या बढ्दै गइरहेको र शव गृहको अभावका कारण शवहरू सड्न सुरू भएको जनाएको छ । रोगको सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै शवहरू थप बिग्रिएर दुर्गन्ध फैलने भएकाले सामूहिक शव व्यवस्थापन प्रक्रियालाई तीव्रता दिएको हो ।
चितवनमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पहिचान नभएका शवहरूको व्यवस्थापन गर्ने प्रक्रिया प्रहरीले अघि बढाइसकेको छ । अन्य जिल्लामा समेत सोही अनुरूप शव व्यवस्थापनको कार्यलाई अवलम्बन गरिएको प्रहरीले बताएको छ ।
हालसम्म रसुवामा १३ जना, नुवाकोटमा ४१ जना, धादिङमा ४९ जना, चितवनमा २ सय ४८ जना, गोरखामा ५४ जना, तनहुँमा ३१ जना, नवलपरासी पूर्वमा १ सय ५८ जना र नवलपरासी पश्चिममा ७५ जनाको गरी जम्मा ६ सय ६९ जनाको शव फेला परेको छ ।
विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा तथा सुरक्षा निकायबाट खोजतलास एवं उद्धार कार्य सञ्चालन गरी नदी किनार, खोल्सा तथा अन्य स्थानबाट फेला परेका शव तथा आंशिक अंगहरु आवश्यक सावधानीपूर्वक संकलन गर्ने गरेको प्रहरीले उल्लेख गरेको छ ।
शव फेला परेको स्थानमा आवश्यक लासजाँच मुचुल्का लगायतका कानूनी प्रक्रिया पूरा गरी शवलाई सुरक्षित रूपमा डेड बडी ब्यागमा राखी अस्पतालको शव गृहमा सुरक्षित राखिएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार फरेन्सिक डाक्टरको उपस्थितिमा शवलाई आवश्यकता अनुसार सफा गरीन्छ । पहिचान खुल्न सक्ने गरी अगाडि, पछाडि, दायाँ, बायाँ तथा पहिचान जन्य अंग र चिन्हहरू देखिने विभिन्न कोणबाट फोटो खिची सुरक्षित राखिएको तथा आवश्यक पोस्टमार्टम परीक्षण हुन्छ ।
पोस्टमार्टम पश्चात शवहरूलाई पहिचानका लागि सुरक्षित रूपमा राखिएको तथा सर्वसाधारणलाई शव पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले शवका फोटो तथा उपलब्ध पहिचान सम्बन्धी विवरणहरू प्रदर्शन गरिएको छ ।
प्रहरीले फोटो वा अन्य माध्यमबाट शव पहिचान भएको जानकारी प्राप्त भई नागरिकहरू हेल्प डेस्कमा आएमा उपलब्ध शवका थप फोटो, हुलिया, कपडा तथा घटनास्थल लास जाँच मुचुल्कामा उल्लेखित विवरणका आधारमा आवश्यक सनाखत तथा कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई शव बुझाउने गरेको छ ।
पहिचान खुल्न नसकेका शवहरूको हकमा प्रत्येक शवलाई छुट्टाछुट्टै संकेतरकोड नम्बर प्रदान गरी शवको फोटो, हुलिया, पहिचानजन्य चिन्ह, कपडा तथा साथमा फेला परेका सामग्री लगायतका विवरण व्यवस्थित रूपमा अभिलेख राखिएको तथा भविष्यमा आवश्यक परेमा पहिचान गर्न सकिने गरी डीएनए नमूना संकलन गरी सुरक्षित संरक्षण गर्ने व्यवस्था गरिएको प्रहरीले बताएको छ ।
पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम जमिनमुनि व्यवस्थापन गर्नुपर्ने शवहरूको सम्बन्धमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार गरिएको जानकारी दिएको छ ।
शवलाई सम्मानजनक तथा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्दा प्रत्येक शवको संकेतरकोड नम्बरसहित शव व्यवस्थापन गरिएको स्थानको जीपीएस लोकेसन फोटो अभिलेख, नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको छ।
जमिनमुनि व्यवस्थापन गरिएका प्रत्येक शवको फोटो, डीएनए नमूना, संकेत नम्बर, हुलिया, सनाखत सम्बन्धी विवरण, पोस्टमार्टम रिपोर्ट, लासजाँच मुचुल्का, व्यवस्थापन मिति तथा स्थानको विवरण सुरक्षित राखिने प्रहरीले बताएको छ ।
भविष्यमा कुनै परिवार र आफन्तले आफ्नो सदस्यको रूपमा दाबी गरेमा उपलब्ध वैज्ञानिक तथा कानूनी प्रमाणका आधारमा पहिचान गर्न सहयोग पुग्ने प्रहरीले जानकारी दिएको छ ।
बेवारिसे तथा पहिचान नखुलेका शवहरूको विवरण नेपाल प्रहरीको अफिसियल बेवसाइट राखिएको पहिचान नखुलेको शवहरूको विवरण आइकनबाट हेर्न सकिनेछ ।