काठमाडौं । बेनेभिस आइसक्रिमले काठमाडौंको पाली मण्डीखाटारमा आफ्नो पाँचौं आइसक्रिम पार्लर सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको उद्घाटन अभिनेत्री वर्षा सिवाकोटीको विशेष उपस्थितिमा गरिएको हो ।
कार्यक्रममा कम्पनीका ग्रुप अध्यक्ष हरि कर्माचार्य, निर्देशक प्रमिला कर्माचार्य, अध्यक्ष सुरेश कुमार धोर्जु, प्रबन्ध निर्देशक विकल कर्माचार्य तथा सेलरमार्ट प्रालिकी प्रबन्ध निर्देशक रश्मी कर्माचार्यले संयुक्त रूपमा रिबन काटेर पार्लरको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै सेलरमार्ट प्रालिकी प्रबन्ध निर्देशक रश्मी कर्माचार्यले ग्राहक, साझेदार तथा शुभेच्छुकहरूको निरन्तर विश्वास र साथप्रति आभार व्यक्त गर्दै पाँचौं शाखाको उद्घाटनले बेनेभिसको विस्तार यात्रामा नयाँ अध्याय थपेको बताइन् । उनले गुणस्तरीय उत्पादन, उत्कृष्ट सेवा र अविस्मरणीय ग्राहक अनुभव प्रदान गर्ने प्रतिबद्धतामा कम्पनी अडिग रहेको उल्लेख गरिन् ।
अभिनेत्री वर्षा सिवाकोटीले बेनेभिस परिवारलाई नयाँ शाखाको शुभारम्भका लागि बधाई दिँदै आगामी दिनमा पनि उत्कृष्ट स्वाद र सेवामार्फत नेपाली उपभोक्तामाझ लोकप्रिय ब्रान्डका रूपमा स्थापित हुँदै जाने विश्वास व्यक्त गरिन् ।
परिवार, साथीभाइ तथा सबै उमेर समूहका ग्राहकलाई लक्षित गरी आधुनिक अवधारणामा निर्माण गरिएको नयाँ पार्लरमा बेनेभिसका विभिन्न प्रिमियम आइसक्रिम फ्लेभर, डेजर्ट तथा मौसमी विशेष परिकार उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार पाँचौं शाखाको सञ्चालनसँगै गुणस्तर, नवीनता र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै नेपालभर आफ्नो उपस्थितिलाई थप विस्तार गर्ने लक्ष्य लिइएको छ ।
बेनेभिस आइसक्रिम नेपालका उदाउँदा प्रिमियम आइसक्रिम ब्रान्डमध्ये एक हो । उच्च गुणस्तरीय सामग्रीको प्रयोग, नवीन स्वाद र ग्राहकमैत्री सेवामार्फत कम्पनीले देशभर शाखा विस्तार गर्दै उपभोक्तालाई उत्कृष्ट आइसक्रिम अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।