रुसको ब्यालिस्टिक आक्रमणमा १० को मृत्यु, १०० जना घाइते
काठमाडौं । युक्रेनको राजधानी किभ नजिक रक्षा उद्योगसम्बन्धी कार्यक्रम भइरहेको स्थानमा शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण किभको केन्द्रबाट करिब २०-३० किलोमिटर टाढा बुचा जिल्लास्थित निजी सैन्य प्रशिक्षण केन्द्रमा भएको हो । घटनामा २७ वटा घर र ४४ वटा सवारीसाधनमा क्षति पुगेको छ । क्षेत्रीय सैन्य प्रशासनका कार्यवाहक प्रमुख रुस्लान ओलिइनिकका अनुसार आपत्कालीन उद्धार टोलीहरू घटनास्थलमा परिचालन गरिएका छन् । यो आक्रमण अमेरिकी रक्षा कम्पनी ‘रेथियन’का वरिष्ठ प्रतिनिधिसँग युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भेटवार्ता गरेको भोलिपल्ट भएको हो । उक्त कम्पनीले युक्रेनलाई आवश्यक ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणाली उत्पादन गर्छ । आक्रमणपछि जेलेन्स्कीले ‘प्याट्रियट’ प्रणालीका लागि आवश्यक इन्टरसेप्टर क्षेप्यास्त्रको आपूर्तिलाई प्राथमिकतामा राख्नुपर्ने बताए । युक्रेनी रक्षा उद्योग परिषदले आक्रमणका बेला रक्षा उद्योगसँग सम्बन्धित प्रतिनिधिहरू कार्यक्रमस्थलमा रहेको जनाएको छ । युक्रेनका महान्यायाधिवक्ता रुस्लान क्राभचेन्कोले घटनाको युद्ध अपराधका रूपमा अनुसन्धान सुरु गरिएको जानकारी दिए । कार्यक्रमको सुरक्षा व्यवस्था पर्याप्त थियो वा थिएन भन्ने विषयमा पनि छुट्टै अनुसन्धान भइरहेको उनले बताए । यस घटनासम्बन्धी समाचार सम्प्रेषणमा युक्रेनी सरकारले अस्थायी प्रतिबन्ध लगाएको जनाएको छ । रेथियनसँग सहकार्यमा जोड जेलेन्स्कीले बिहीबार राति रेथियनको प्रतिनिधिमण्डलसँग भेट गर्दै ‘प्याट्रियट’ इन्टरसेप्टर क्षेप्यास्त्रको संयुक्त उत्पादनबारे छलफल गरेका थिए । उनका अनुसार युक्रेन र रेथियनबीच यस विषयमा सहकार्य अघि बढाउने सहमति भएको छ । युक्रेनले विगत केही वर्षदेखि पश्चिमी साझेदारहरूसँग थप ‘प्याट्रियट’ प्रणाली उपलब्ध गराउन आग्रह गर्दै आएको छ । यद्यपि, युक्रेनमै यसको उत्पादन सुरु हुन अझै केही वर्ष लाग्न सक्ने विज्ञहरूको भनाइ छ । रुसभित्र युक्रेनी ड्रोन आक्रमण यसैबीच, युक्रेनले रुसभित्र लामो दूरीका ड्रोन आक्रमणलाई निरन्तरता दिएको छ । राष्ट्रपति जेलेन्स्कीका अनुसार युक्रेनी सेनाले किरोभ क्षेत्रमा रहेको एक सैन्य उद्योग तथा सीमाबाट करिब एक हजार ३५० किलोमिटर टाढा रहेको तेल पूर्वाधारमा प्रहार गरेको छ । किरोभ क्षेत्रका गभर्नर अलेक्जेन्डर सोकोलोभका अनुसार सैन्य कारखानामा भएको आक्रमणमा छ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । युक्रेनी सेनाले रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी ‘वाइल्डबेरीज’का सेन्ट पिटर्सबर्ग, लेनिनग्राद क्षेत्र र कब्जामा रहेको क्रिमियाको सिम्फेरोपोलस्थित रसद केन्द्रहरूमा ड्रोन आक्रमण गरेको कम्पनीकी संस्थापक तात्याना किमले बताए । रुसी रक्षा मन्त्रालयका अनुसार शुक्रबार राति रुसका विभिन्न क्षेत्रमा प्रहार गरिएका ५७१ वटा युक्रेनी ड्रोन खसालिएको छ ।
बुद्ध एयरले फ्रान्सबाट भित्र्यायो नयाँ विमान, थप ३ एटीआर ल्याउने योजना
काठमाडौं । बुद्ध एयरले आज एटीआर-७२-६०० विमान भित्र्याएको छ । कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ । बुद्ध एयरले कल साइन ९एन-एओएस विमान फ्रान्सको तुलुसबाट ल्याएको हो । यो एटीआर-७२-६०० विमानमा उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपीट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको जनाइएको छ । यस सिरिजका विमान कम इन्धन खपत गर्नाले यो वातावरण मैत्री मानिन्छन् । बुद्ध एयरले आयात गरेको एटीआर-७२-६०० सिरिजको विमानमा आरएनपी-एआर एप्रोच प्रणाली जडान गरिएको छ । उक्त प्रणालीको सहयोगमा काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आरएनपी-एआरमा आधारित उडान प्रक्रिया कार्यान्वयनका लागि अध्ययन गरिरहेको छ । यो प्रक्रिया लागू भएपछि करिब २००० मिटर भिजिबिलिटी रहेको अवस्थामा बुद्ध एयरको यस विमानले सुरक्षित उडान र अवतरण गर्न सम्भव हुने देखिएको छ । कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ र अवरोधहरू घट्नेछन् बुद्ध एयरको विश्वास छ । यसबाट उडान सुरक्षा कायम रहनुका साथै हवाई सेवाको गुणस्तर र विश्वसनीयता पनि बढ्नेछ । हाल ‘इन्ट्रयुमेन्ट ल्याण्डिङ सिस्टम’ (आइएलएस) प्रक्रियाअनुसार पोखराका लागि ३१०० मिटर तथा काठमाडौँ र भैरहवाका लागि १६०० मिटर भिजिबिलिटी आवश्यक पर्छ । बुद्ध एयरले आगामी अगस्टको अन्तिमतिर एक एटीआर-७२-६०० सिरिजको विमान ल्याउने समेत जानकारी दिएको छ । त्यसैगरी आगामी केही महिनाभित्र यस्तै, सिरिजका थप दुई विमान पनि ल्याउने भित्र्याउने योजनाअनुसार कार्य गरिरहेको छ । बुद्ध एयरसँग हाल एउटा एटीआर-४२-३२०, १५ वटा एटीआर-७२-५०० र एउटा एटीआर-७२-६०० विमान छन् ।
६२ उद्योगी–व्यवसायीविरुद्ध मुद्दा
काठमाडौं । गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस प्रदेशका ६२ उद्योगी–व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा सङ्कलन गरी परीक्षण गरिएका खाद्य नमुनामा कैफियत देखिएपछि सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम मुद्दा दायर गरिएको जनाएको छ । कार्यालय प्रमुख विमल कुमार दाहालका अनुसार बारा र पर्साका ५१, महोत्तरीका ७, सर्लाही र रौतहटका ३ तथा धनुषाका एक उद्योगी-व्यवसायी विरुद्ध मुद्दा दायर गरिएको छ । उनका अनुसार सप्तरी र सिरहाका तीन तथा धनुषाका दुई गरी थप पाँच उद्योगी-व्यवसायी विरुद्ध पनि खाद्य स्वच्छता कायम नगरेको तथा खाद्य पदार्थमा मिसावट गरेको आरोपमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ । अनुगमनका क्रममा सङ्कलित नमुनाको परीक्षणबाट स्वास्थ्यका लागि हानिकारक मिसावट गरिएको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गरिएको तथा गुणस्तर मापदण्ड उल्लङ्घन भएको पाइएपछि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख दाहालले बताए । आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशका जिल्लाबाट कानुनबमोजिम ५७८, उत्पादकको आग्रहमा १ हजार २२८, सरकारी निकायबाट प्राप्त २० सहित कुल ४ हजार ५५९ खाद्य नमुना सङ्कलन गरिएको थियो । तीमध्ये ३५ नमुनामा प्रतिकूल नतिजा देखिएको र १० नमुनामा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ । सोही अवधिमा ५१० वटा ताजा फलफूल तथा तरकारीमा विषादी परीक्षण र ३१० वटा स्वच्छता सर्भिलेन्स गरिएको प्रमुख दाहालले जानकारी दिए । खाद्य स्वच्छता प्रवर्द्धनका लागि कार्यालयले धनुषामा ६० पटक अनुगमन गरी २५० होटल तथा रेष्टुरेण्टको निरीक्षण गरेको जनाएको छ । यस अवधिमा १२१ उद्योगलाई अनुज्ञापत्र जारी, ३०७ उद्योगको नवीकरण तथा ३४७ उद्योगका लागि सिफारिस गरिएको छ । नमुना परीक्षण, अनुज्ञापत्र जारी, नवीकरण तथा उद्योग सिफारिसलगायतका सेवाबाट ३८ लाख ३६ हजार १७० रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख दाहालले बताए । गत असारमा मात्र अनुगमन टोलीले धनुषाका ४४ होटल तथा रेष्टुरेण्टमा गरेको अनुगमनमा १२ वटामा कैफियत भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ४ लाख २० हजार रूपैयाँ जरिवाना गरिएको उनको भनाइ छ । त्यसैगरी, सर्लाहीका २४ होटलमा गरिएको अनुगमनमा १७ वटामा कैफियत भेटिएपछि ६ लाख ६७ हजार रुपैयाँ जरिवाना गरिएको थियो । कार्यालयका अनुसार अनुगमन तथा निरीक्षणका क्रममा म्याद गुज्रिएका, लेबल विवरण नभएका, सडेगलेको तथा अन्य अखाद्य वस्तुहरू जफत गरी सम्बन्धित सरोकारवालाको रोहबरमा नष्ट गरिएको छ ।