अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले भारतको पटना बस्ने २७ वर्षीय इन्द्रजित सरकार, २० वर्षीय सहर्षजित सरकार, २३ वर्षीय अमनराज सरकार र मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं १० स्थित बाँस्तोला होटलका सञ्चालक ३७ वर्षीय दीपक बाँस्तोलालाई पक्राउ गरेको हो । निजहरूको मिलोमतोमा भारतीय नागरिकसमेतलाई विभिन्न प्रलोभन देखाई अनलाइनबाट ठगी गर्ने गरेको भन्ने सूचानका आधारमा हेटौंडा-१० स्थित बाँस्तोला होटलबाट चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा निजहरूले प्रयोग गर्ने मोबाइलमा ठगी प्रयोजनका लागि टेलिग्राम, ह्वाट्सएपलगायतएसहरूमार्फत ग्रुप तयार गरी रकमको कारोबारसमेत भएको देखिएको उल्लेख गर्दै प्रहरीले जिल्ला अदालत हेटौंडाबाट अनलाइन ठगीसम्बन्धी कसुर मुद्दामा म्याद थपी अनुसन्धान भइरहेको जनाएको छ ।
खुकुरी प्रहारबाट महिलाको मृत्यु
काठमाडौं । आपसी विवादमा रौतहटको गजुरा नगरपालिका-५ हरिपुरमा आज एक पुरुषले खुकुरी प्रहार गरी महिलाको हत्या गरेको छ । बाराको करैयामाई गाउँपालिका-८ इटहर बेलाही घर भई हाल हरिपुरमा बस्दै आएका ३५ वर्षीय उपेन्द्र साह कलवारले खुकुरी प्रहार गरी स्थानीय ४५ वर्षीय रेणुदेवी जयवालको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार आपसी विवादका क्रममा कलवारले प्रहार गरेको खुकुरी लागेर गम्भीर घाइते जयसवालको घटनास्थलमै मृत्यु भएको हो । घटनापश्चात् आक्रोशित स्थानीयहरूले कुटपिट गर्दा कलवार घाइते भएको र उनलाई उपचारका लागि वीरगन्ज अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक गौतमले बताए । घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।
काठमाडौंमा एकै वर्षमा २४ सय अभियुक्त पक्राउ, २२ करोड जरिवाना र ५१९ वर्ष कैद
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले परिसर र मातहत दर्ता भएकामध्ये ६१ प्रतिशत बढी मुद्दाको ‘डिजिटल अभिलेख’ तयार गरेको छ । गत असार मसान्तसम्म दर्ता भएका कुल ११ हजार ७८ मध्ये छ हजार ८६१ मुद्दाका फाइल स्क्यान गरिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । दुई हजार ८७, महाराजगञ्ज वृत्तका ३८८, बौद्धका ७१४, गौशालाका ३९०, बानेश्वरका ३६६, कालिमाटीका ५७५, कीर्तिपुरका ९०, थानकोटका ३९७, स्वयम्भूका ४१०, बालाजुका ४५७, लैनचौरका ३३४, दरबारमार्गका १३५, जनसेवाका २४६, सिंहदरबारका १२९ र वृत्त मालिगाउँका १४३ मुद्दा स्क्यान गरिएका छन् । परिसरमा शुक्रबार (आज) आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक भट्टराईले तस्करी, लागुऔषध ओसारपसार, ठगी, चोरी, जबरजस्ती करणीलगायत आपराधिक पृष्ठभूमि भएका एक हजार ८७१ जनाको ‘प्रोफाइल’ तयार पारिएको बताए । परिसरबाट प्रदान हुँदै आएका सेवालाई प्रविधिमैत्री बनाउँदै लगिएको जानकारी दिँदै उहाँले पुस महिनादेखि असारसम्म अनलाइनबाट दुई हजार २७६ मुद्दाको म्याद थप गरिएको बताए । गत आवमा ११ हजार ७८ मुद्दा दर्ता भएकामा आठ हजार ५८१ अभियुक्तलाई पक्राउ गरिएको छ । आर्थिक वर्ष २०८२/८३ मा घटेका मुख्य अपराधको सङ्ख्या ८५ प्रतिशतभन्दा बढी रहेको छ । परिसरका अनुसार सबैभन्दा बढी बैंकिङ कसुरका चार हजार ४७९, अभद्र व्यवहारका एक हजार ७०२, चोरीका एक हजार ८९, लागुऔषधका ६७०, ठगीका ६३८, अपराधिक उपद्रवका १७५, आत्महत्याका ३४९, जबरजस्तीकरणीका २६९, ज्यानमार्ने उद्योगका १२२ र सवारी ज्यानका ९९ वटा घटना भएका थिए । पछिल्लो तीन वर्षमा लागुऔषध कसुरसम्बन्धी मुद्दा दर्ता गर्ने क्रम बढेको छ । गत आवमा सोसम्बन्धी ६७० मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०८१/८२ मा ४३१ र आव २०८०/८१ मा ३३३ वटा मुद्दा दर्ता भएका परिसरका प्रवक्ता भट्टराईले जानकारी दिए । गत आवमा फैसला कार्यान्वयन गर्ने क्रममा दुई हजार ४०७ जना पक्राउ परेका थिए । सोबापत २२ करोड ६४ लाख ८६ हजार २४० जरिवाना र ५१९ वर्ष आठ महिना नौ दिन कैद असुल भएको छ । आर्थिक वर्ष २०८२/८३ मा क्यासिनो ठगी, नक्कली पैसा छपाइ, हुण्डी तथा अभौतिक मुद्रा कारोबारमा संलग्नलाई कारबाही गरिएको परिसरका प्रवक्ता भट्टराईले जानकारी दिए।