काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा जहाज, कार्गो वा अन्य सम्बन्धित सम्पत्तिमा हुने कुनै पनि क्षतिको भुक्तानी अमेरिकाको नियन्त्रणमा रहेको इरानी कोषबाट गरिने घोषणा गरेका छन् ।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल मा पोस्ट गर्दै ट्रम्पले भनेका छन्, ‘यस वक्तव्यलाई आधिकारिक जानकारीका रूपमा लिइयोस् । अबउप्रान्त जहाज, कार्गो वा सम्बन्धित सामग्रीमा हुने कुनै पनि क्षतिको शोधभर्ना अमेरिकाको कब्जा र नियन्त्रणमा रहेको इरानी रकमबाट गरिनेछ ।’
उनले अगाडि लेखेका छन्, ‘यी क्षतिहरू निकै ठूलो परिमाणका हुन सक्छन्, तर यो एक न्यायपूर्ण र निष्पक्ष कदम हुनेछ ।’
यद्यपि, कुन प्रकृतिका घटनामा इरानी सम्पत्तिको प्रयोग गरिनेछ भन्नेबारे ट्रम्पले कुनै विस्तृत विवरण दिएका छैनन् । मध्यपूर्वमा तनाव बढ्दै गएको र अमेरिकाले इरानलाई लक्षित हवाई आक्रमणहरू जारी राखेको पृष्ठभूमिमा ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो ।