सुनसरी घटना: रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । आज बिहान ८ सिंहदरबार स्थित लेखा समितिको बैठक कक्षमा सर्वदलीय बैठक आह्वान गरिएको रास्वपाका महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । उनका अनुसार बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको छ । महामन्त्री आचार्यले भने, ‘बैठकका लागि सबै दललाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूलाई आफैँ फोन गरेर आमन्त्रण गर्नुभएको छ ।’
क्यूआर कोडबाट पर्यटकलाई सूचना
काठमाडौं । पर्यटकीय क्षेत्रको चिनारीसँगै सुरक्षित यात्राका लागि पर्यटकलाई विभिन्न जानकारी दिने उद्देश्यले पोखरामा ‘क्यूआर कोड’ सञ्चालनमा ल्याइएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय र पोखरा पर्यटन परिषद्को संयुक्त पहलमा सुरू गरिएको उक्त ‘क्यूआर कोड’ मार्फत पर्यटकले नेपाल प्रहरीका आपत्कालीन सम्पर्क नम्बर, पर्यटकीय सुरक्षासम्बन्धी जानकारी, आवश्यक सम्पर्क विवरण र भ्रमणका सूचनाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले आपत्कालीन अवस्थामा पर्यटकलाई आवश्यक जानकारी तत्काल उपलब्ध गराउँदै सुरक्षित यात्रा लागि ‘क्यूआर कोड’ ले सहयोग पु¥याउने बताए । पर्यटकहरूको सुरक्षामा प्रहरी संवेदनशील रहेको जनाउँदै उनले होटल तथा भाडाका कोठामा लामो समय बस्ने व्यक्तिहरूबाट हुनसक्ने अवैध गतिविधिप्रति प्रहरी सचेत रहनुपर्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन विकासका लागि सुरक्षित वातावरण पहिलो शर्त भएको बताए । ‘क्यूआर कोड’ जस्ता सूचना प्रविधिका माध्यमका सहायताले पर्यटकको यात्रा सहज र सुरक्षित बन्ने उनको भनाइ छ । व्यवसायी र प्रहरीबीचको आपसी समन्वयले मात्रै सुरक्षित पर्यटकीय वातावरण निर्माण गर्न सकिने उनले बताए ।
सुनसरी घटनाबारे छलफल गर्न रास्वपाले बोलायो सर्वदलीय बैठक
काठमाडौं । सुनसरीमा घटेको दुःखद घटना र त्यसपश्चात् उब्जिएको संवेदनशील परिस्थितिबारे साझा रणनीति तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठक आह्वान गरेको छ । रास्वपा सभापति रवि लामिछानेको पहलमा बुधबार (भोलि) बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा उक्त छलफल आयोजना गरिएको हो । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत नेतृत्वका दलहरूलाई समेत आमन्त्रण गरिएको छ । सभापतिको सचिवालयका अनुसार सबै दललाई औपचारिक पत्राचार गरिनुका साथै सभापति लामिछाने स्वयंले शीर्ष नेताहरूसँग टेलिफोन संवाद गरी बैठकमा सहभागिताका लागि निमन्त्रणा गरिएको छ । घटनापश्चात् सामाजिक द्वेष फैलिन नदिन र शान्ति सुरक्षा कायम राख्न राजनीतिक वृत्तबाट साझा सन्देश दिनुपर्ने आवश्यकता महसुस गरी बैठक डाकिएको रास्वपाले जनाएको छ ।