सुनसरी घटनापछि बालेनले भने- मान्छेको पहिलो धर्म मान्छे जोगाउनु हो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति तथा दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको बताउँदै न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । 

उनले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु अत्यन्त गम्भीर विषय भएको बताउँदै घटनाबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनअनुसार कारबाही हुने स्पष्ट पारे । साथै, सम्पूर्ण घटनाको गम्भीर समीक्षा भइरहेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तथा सुधारका कदम चालिने उनले बताए । 

प्रधानमन्त्रीले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गरेका छन् ।

उनले भने, ‘फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुष, रिस, डर र आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमित भएर बसौँ। एकअर्कालाई प्रेम र सम्मान गरौँ। सामाजिक सद्भाव कायम राखौँ ।’

प्रधानमन्त्रीले मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु भएको उल्लेख गर्दै सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, कसुरदारलाई कानुनी दायरामा ल्याउनु तथा पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउनु रहेको बताए । उनले उक्त दायित्व पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै यी सबै काम यथाशीघ्र सम्पन्न गरिने विश्वास व्यक्त गरे ।

null

Share News