८० चिकित्सकमध्ये ७१ जनाले दिए सामूहिक राजीनामा

काठमाडौं । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । गत शनिबार अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड र चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा उनीहरूले राजीनामा दिएका हुन् ।

शनिबार वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । त्यसपछि मृतकका परिवार र आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अधिकृत डा प्रमोद राममाथि कुटपिट गरेका थिए ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा चित्र रञ्जन साहका अनुसार अस्पतालमा कार्यरत ८० चिकित्सकमध्ये ७१ जनाले मङ्गलबार सामूहिक राजीनामा दिएका छन् ।

कुटपिटबाट गम्भीर घाइते भएका डा. रामको हाल काठमाडौं स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनाको विरोधमा वीरगन्जका चिकित्सकहरूले आइतबारदेखि आन्दोलन गर्दै आएका छन् ।

Share News