पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली भू-भाग र कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

Share News