जलवायु न्यायका मागसहित नेपाली युवाले गरे अष्ट्रेलियाली प्रतिनिधिसँग संवाद

काठमाडौं । जलवायु परिवर्तनबाट प्रभावित नेपाली समुदायका आवाज र माग अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन नेपाली युवा अभियन्ताहरूले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) को अध्यक्ष राष्ट्र अष्ट्रेलियाका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गरेका छन् ।

टर्कीको अन्टाल्यामा नोभेम्बर १७ मा भएको भेटघाटमा नेपाली युवाहरूले जलवायु वित्त, अनुकूलन तथा हानि र नोक्सानी कोषमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्न माग गरेका हुन् ।

पिपुल्स मुभमेन्ट फर क्लाइमेट जस्टिस नेपालको संयोजनमा भएको भेटघाटमा अष्ट्रेलिया सरकारको जलवायु परिवर्तन तथा ऊर्जा मन्त्रालयका प्रतिनिधि, पर्यवेक्षक संस्था तथा बहुपक्षीय सरोकारवालासँगको सहकार्य हेर्ने प्रतिनिधि र हानि तथा नोक्सानीसम्बन्धी प्रमुख वार्ताकार सहभागी थिए ।

भेटमा नेपाली युवा अभियन्ताहरूले जलवायु वार्ता राष्ट्रहरूबीच कूटनीतिक सहमति गर्ने प्रक्रियामा मात्र सीमित हुन नहुने बताए । जलवायु संकटको प्रत्यक्ष असर भोगिरहेका समुदायको न्याय, अधिकार, आवश्यकता र भविष्यलाई निर्णय प्रक्रियाको केन्द्रमा राख्नुपर्ने उनीहरूको माग थियो ।

नेपालजस्ता जलवायु परिवर्तनमा न्यून योगदान गरेका तर यसको असर र जोखिम बढी भोगिरहेका देशका लागि अन्तर्राष्ट्रिय जलवायु वित्त प्रणालीमा सुधार आवश्यक रहेको उनीहरूले औँल्याए ।

ऋण होइन, अनुदानमा आधारित जलवायु वित्तको माग

नेपाली युवा प्रतिनिधिहरूले जलवायु संकटबाट प्रभावित समुदायको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

जलवायुजन्य विपद्पछि पुनर्निर्माणका लागि नेपालजस्ता देशले थप ऋण लिनुपर्ने अवस्था अन्यायपूर्ण रहेको भन्दै उनीहरूले हानि तथा नोक्सानी कोषबाट पर्याप्त, पूर्वानुमान गर्न सकिने र अनुदानमा आधारित आर्थिक सहायता उपलब्ध गराउनुपर्ने बताएका छन् ।

उनीहरूले कोषमा पर्याप्त रकम सुनिश्चित गर्नुपर्ने, जलवायु जोखिममा रहेका देश तथा प्रभावित समुदायको प्रत्यक्ष पहुँच स्थापित गर्नुपर्ने र अनुकूलनका लागि आवश्यक स्रोत उपलब्ध गराउनुपर्ने माग राखेका थिए ।

त्यस्तै, जलवायु वित्तको वितरणमा पारदर्शिता र जवाफदेहिता कायम गर्न तथा हानि तथा नोक्सानी कोषको गुनासो सुनुवाइ र प्रतिवेदन प्रणालीलाई प्रभावित समुदायमैत्री बनाउनुपर्ने विषयमा पनि ध्यानाकर्षण गराइएको थियो ।

माग सम्बोधन गर्न सहजीकरण गर्ने अष्ट्रेलियाको प्रतिबद्धता

भेटघाटमा अष्ट्रेलियाली प्रतिनिधिहरूले नेपाली युवाहरूले जलवायु वार्ताको निर्णय प्रक्रियामा प्रभावित समुदायको आवाज समावेश गराउन गरेको पहलको प्रशंसा गरेका थिए ।

उनीहरूले नेपाली युवाले प्रस्तुत गरेका मागलाई वार्ता प्रक्रियामा सम्बोधन गर्न सहजीकरण गर्ने प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, मागलाई वास्तविक छलफल र निर्णय प्रक्रियासम्म पुर्याउन अन्य देशका प्रतिनिधि, राष्ट्र तथा पर्यवेक्षक समूहसँग पनि निरन्तर संवाद र पैरवी गर्न सुझाव दिएका थिए ।

अष्ट्रेलियाली प्रतिनिधिहरूले विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि प्राविधिक सहयोग लिन सान्टियागो सञ्जालमार्फत अनुरोध गर्न सकिने सम्भावनाबारे पनि जानकारी गराएका थिए ।

उक्त सञ्जालले जलवायु जोखिममा रहेका विकासशील देशलाई हानि तथा नोक्सानीसम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्य राखेको छ ।

जलवायु वार्तामा युवाको अर्थपूर्ण सहभागितामा जोड

नेपाली युवा अभियन्ताहरूले जलवायु संकटबाट प्रभावित समुदायको अधिकार, पुनर्स्थापना र जलवायु न्यायका लागि युवाहरू सक्रिय अभियन्ता तथा परिवर्तनका संवाहक रहेको बताएका छन् ।

उनीहरूले जलवायु वार्तामा युवाको सहभागिता औपचारिक प्रतिनिधित्वमा मात्र सीमित नराखी नीति निर्माण, वार्ता तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता र नेतृत्व सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।

जलवायु वित्त दया वा परोपकार नभई ऐतिहासिक जिम्मेवारी, जलवायु न्याय र प्रभावित समुदायको अधिकारसँग जोडिएको विषय भएको उनीहरूको भनाइ छ ।

भेटघाटमा नेपाली युवा अभियन्ताहरूका तर्फबाट पेमा वाङ्मो लामा, बन्दना पहरी र माधवी पोख्रेलले सहजीकरण गरेका थिए । 

Share News