काठमाडौं । कार्यालयमा नियमित हाजिर नभएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा पूर्वाधार विकास मन्त्रालयले सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । मन्त्रालयले उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको हो ।
मन्त्रालयले मंसिर २ गते सार्वजनिक गरेको सूचनाअनुसार सेवाबाट हटाइएका सातै जना नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका इन्जिनियर हुन् ।
सेवाबाट हटाइएकामध्ये छ जना कार्यालयमा हाजिर नभएको कसुरमा कारबाहीमा परेका छन् । एक जना भने बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको कसुरमा सेवाबाट हटाइएका हुन् ।
मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा १ को खण्ड ज अनुसार कार्यालयमा हाजिर नभएका छ जनालाई र खण्ड छ अनुसार बिदा स्वीकृत नगराई अनुपस्थित रहेका एक जनालाई कारबाही गरेको सूचनामा उल्लेख छ ।
उनीहरूलाई सोही ऐनको दफा ५९ को खण्ड ख ९१ बमोजिम सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले २०८३ कात्तिक २० गते निर्णय गरी त्यसको जानकारीका लागि सार्वजनिक सूचना जारी गरेको हो ।
सेवाबाट हटाइएका कर्मचारीमा पुजन न्यौपाने, सृष्टि भुषाल, सयोग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेश प्रसाद पौडेल र पदमेन्द्र प्रसाद श्रेष्ठ छन् ।
मन्त्रालयको सूचनाअनुसार उनीहरूलाइ सरकारी सेवाबाट हटाए पनि भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी बर्खास्त गरिएको हाे ।
