सरुवा निर्णय कार्यान्वयन नभएपछि सान्नी त्रिवेणी गाउँपालिकाको आर्थिक अधिकार रद्द

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ। सरुवा भएका कर्मचारी नयाँ कार्यालयमा हाजिर नभई पुरानै पालिकामा कार्यरत रहेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो।

मन्त्रालयका अनुसार गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको अन्यत्र सरुवा गरिएको थियो। तर, सरुवा भएका कर्मचारी नयाँ कार्यालयमा हाजिर नभई साविककै पालिकामा काम गर्दै आएका थिए। यस्तै, नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई पनि गाउँपालिकाले हाजिर गराएको थिएन।

सरुवा निर्णय कार्यान्वयन नभएको र नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी नदिइएको विषयमा मन्त्रालयले गाउँपालिकाको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको जनाएको छ।

मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन निर्देशन दिएको छ।

त्यसैगरी, गाउँपालिकाको आर्थिक जिम्मेवारी रद्द गरिएको जानकारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई गराउँदै मन्त्रालयले खाता सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ। 

Share News