मन्त्रिपरिषद बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद बैठक सुरु भएको छ । बैठक मंगलबार (आज) अपरान्ह पौने ४ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको हो । ३ बजे बस्ने भनिएको बैठक ढिलागरी सुरु भएको हो । बैठकले महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।
दीपक मनाङे कांग्रेसको देउवा समूहमा, यस्तो छ उनको राजनीतिक यात्रा
काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन् । कांग्रेसको १५औं महाधिवेशनको तयारी भइरहेका बेला मनाङे इतर समूहमा जोडिएका हुन् । मंगलबार (आज) १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले गुरुङलाई पार्टीमा स्वागत गरेका हुन् । गुरुङलाई औपचारिक रूपमा कांग्रेसमा प्रवेश गराइएको नेता डा.प्रकाशशरण महतले जानकारी दिए । मनाङे गण्डकी प्रदेशको राजनीतिमा स्वतन्त्र सांसदका रूपमा स्थापित नेता हुन् । उनी २०७४ र २०७९ को प्रदेशसभा निर्वाचनमा मनाङको प्रदेशसभा क्षेत्रबाट निर्वाचित भएका थिए । २०७४ मा उनलाई नेकपा एमालेले समर्थन गरेको थियो भने २०७९ मा उनी निर्विरोध निर्वाचित भएका थिए । २०७४ को निर्वाचनपछि गण्डकीमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार गठन हुँदा मनाङे युवा तथा खेलकुदमन्त्री बने । त्यसपछि सत्ता समीकरण परिवर्तन भएसँगै कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा पनि उनी मन्त्री बने । २०७९ को निर्वाचनपछि भने मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । तर, त्यसमा उनी लामो समय टिकेनन् । २०८० चैतमा उनले नेकपा एस परित्याग गरी आफू स्वतन्त्र रहेको जानकारी प्रदेशसभा सचिवालयलाई गराएका थिए । त्यसपछि उनी कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारमा सहभागी भए । पाण्डे नेतृत्वको सरकारमा मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बने । गण्डकीमा सरकार गठन र सत्ता समीकरणका क्रममा उनको समर्थन पटक–पटक महत्त्वपूर्ण देखिँदै आएको थियो । मनाङेको राजनीतिक यात्रा भने राप्रपाबाट सुरु भएर एमाले, स्वतन्त्र उम्मेदवारी, एकीकृत समाजवादी हुँदै अहिले कांग्रेससम्म आइपुगेको छ । २०७३ मा राप्रपा प्रवेश गरेका उनी पछि एमालेमा आबद्ध भएका थिए । एमालेबाट प्रदेशसभा निर्वाचनमा टिकट नपाएपछि २०७४ मा स्वतन्त्र उम्मेदवारी दिएका उनले एमालेको समर्थनमा निर्वाचन जितेका थिए । २०७९ मा पनि स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएपछि उनी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । पार्टी प्रवेश र पुनः स्वतन्त्र हैसियतमा फर्किने क्रमसँगै गण्डकीको सत्ता समीकरणमा भने उनको भूमिका निरन्तर देखिँदै आएको थियो । पछिल्लो समय कांग्रेसको १५औं महाधिवेशनलाई केन्द्रमा राखेर पार्टीभित्र विभिन्न समूहले संगठन विस्तार र राजनीतिक समीकरण निर्माणलाई तीव्रता दिएका छन् । यही क्रममा मनाङे देउवा समूहमा प्रवेश गरेका हुन् ।
झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् । समितिका अनुसार लालपुर्जा प्राप्त गर्ने यी परिवारहरू २०४७ सालदेखि सो क्षेत्रमा बसोबास गर्दै आएका थिए । लामो समयदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका उनीहरूले आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गरेका हुन् । समितिले सार्वजनिक गरेको विवरणअनुसार केही जग्गा आवास प्रयोजनका लागि र केही जग्गा कृषि प्रयोजनका लागि छन् । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो ।