प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच भेट, भारत भ्रमणको तयारीबारे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण र दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। साथै, रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति उनले आभार व्यक्त गरे।

प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएका थिए। जवाफमा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताए।

उनले भ्रमणका एजेन्डा तय भइसकेको जानकारी दिँदै भ्रमणलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायबीच तीव्र रूपमा गृहकार्य भइरहेको बताए।

भेटमा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई दुई देशबीचको उच्चस्तरीय राजनीतिक संवाद र द्विपक्षीय सम्बन्धका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। 

Share News