काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो पदार्थ १ किलो ६०५ ग्रामसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।
चिनियाँ नागरिक बीनबीन लिल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रस्थित वाक थ्रु गेटमा नियमित चेकजाँच गर्ने क्रममा पक्राउ परेका हुन् । हातमा बोकेको ज्याकेटको खल्तीमा लुकाइछिपाई ल्याएको सुनजस्तो देखिने पदार्थसहित उनी पक्राउ परेका हुन् ।
उनी हिमालयन एयरलाइन्सको उडान नं. एन ९३५३ मार्फत दुबईबाट काठमाडौं आएका थिए । भन्सार क्षेत्रस्थित वाक थ्रु गेटमा नियमित चेकजाँच गर्ने क्रममा चेकजाँचको क्रममा उनी पक्राउ परेका हुन् ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा नेपाल शसस्त्र प्रहरी बलले जनाएको छ ।
त्यसैगरी, गएराति एक किलो ८०३. ७७ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित चिनियाँ नागरिक पक्राउ परेका छन्। चीनको जिलिन स्थायी ठेगाना भएका ५८ वर्षीय जियानहुआ वाङ पक्राउ परेका हुन् ।
उनी नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत हङकङबाट काठमाडौं आएका थिए। विमानस्थल सुरक्षा जाँचका क्रममा शङ्कास्पद गतिविधि देखिएपछि उनलाई चेकजाँच गरिएको थियो ।
उनले मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाइछिपाई ल्याएका सुनजस्तो देखिने पहेँलो गोलाकार अर्धठोस पदार्थ चार थान फेला परेको प्रहरीले जनाएको छ ।
उक्त पदार्थ प्लास्टिकसहित तौल गर्दा एक किलो ८०३.७७ ग्राम रहेको प्रहरीले जनाएको छ । भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।