शैक्षिक परामर्श क्षेत्रमा ठगीको जालो

काठमाडौं । नेपाली विद्यार्थी नेपाली शैक्षिक परामर्श केन्द्रबाट ठगिँदै आएको विषय नौलो होइन । विद्यार्थीलाई शैक्षिक परामर्श दिने नाममा आर्थिक शोषण गरेका खबर पटक-पटक आए पनि सरकारले गतिलो कदम लिन सकेको थिएन । शिक्षा मन्त्रालयले समेत विद्यार्थीको उजुरीमा समेत विद्यार्थी ठग्ने कन्सल्टेन्सीविरुद्ध एक्सन लिन सकेको थिएन ।  तर, पछिल्लो केही दिनयता भने शिक्षा तथा खेलकुद मन्त्रालय र नेपाल प्रहरीले विद्यार्थी ठगी गर्ने कन्सल्टेन्सीमाथि छानबिन तीव्र पारेको छ । काठमाडौं उपत्यका दर्ताबिना सञ्चालनमा आएका यस्ता संस्था र विद्यार्थीले आफू ठगीमा परेको भन्दै दिएको उजुरीका आधारमा प्रहरीले कन्सल्टेन्सीमाथि तीव्र अनुसन्धान अगाडि बढाएको छ ।  वैदेशिक शिक्षा परामर्शका नाममा विद्यार्थीमाथि आर्थिक ठगी गर्ने र दर्तामा नआई सञ्चालनमा आएका कन्सल्टेन्सीलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो ।   उपत्यका अनुसन्धान कार्यालयले दर्ता नभएका मापदण्ड विपरीत सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्रमाथि छानबिन गर्दा ९५ कन्सल्टेन्सीमा छापा मारेको छ भने ६९ जनालाई पक्राउ गरेको छ ।  जसमध्ये ३१ जना विरुद्ध मुद्दा चलाइएको छ भने ३७ जनालाई भने अनुसन्धान गर्नेगरी हाजिरी जमानीमा छाडिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ३१ जनाविरुद्ध लिखतसम्बन्धी कसुर, ठगी र शिक्षा ऐन, २०२८ अनुसार तीनवटा कसुरमा मुद्दा चलाएको जनाएको छ । विकासन्युजले युएई र दक्षिण कोरिया गएका विद्यार्थीहरू नेपाली कन्सल्टेन्सीबाटै ठगीमा परेको समाचार पटक–पटक प्रसारण गर्दै आएको थियो । पछिल्लो समय नेपालका कन्सल्टेन्सीले दक्षिण कोरिया पठाउँदा एजेन्ट शुल्क र भिसा कोर्डका नाममा आर्थिक ठगी गरेको समाचार विकासन्युजले सार्वजनिक गर्दा सम्बन्धित निकायले बाध्य भएर कानुनी प्रक्रिया अगाडि बढाएको हो ।  सरकारको कदममा विद्यार्थी खुसी नेपालबाट उच्च शिक्षा हासिल गर्न बर्सेनि डेढ लाख बढी विद्यार्थी बाहिरिन्छन् । जापान, अस्ट्रेलिया, युके, युएई, दक्षिण कोरियादेखि विभिन्न देशमा विद्यार्थी अध्ययनका लागि पुग्छन् । ती देश अध्ययनको लागि पुग्ने क्रममा विद्यार्थीहरू नेपालकै कन्सल्टेन्सीबाट ठगीमा पर्ने गरेको पाइन्छ । कतिपय विद्यार्थीलाई राम्रो विश्वविद्यालय भन्दै बन्द भएका विश्वविद्यालयमा पठाउनेदेखि अनावश्यक शीर्षकमा नेपाली कन्सलटेन्सीहरूले विद्यार्थीलाई ठगी गर्दै आएका छन् । शैक्षिक परामर्श केन्द्रहरूले शैक्षिक परामर्शका नाममा विद्यार्थीमाथि आर्थिक शोषण गर्दा समेत कुनै कदम नचालेको प्रति विद्यार्थी, अभिभावक असन्तुष्ट बनेका थिए ।   युएई, दक्षिण कोरिया, जापान लगायतका मुलुकमा विद्यार्थी पठाउँदै आएका कन्सलटेन्सीहरूले अनावश्यक शीर्षकमा रकम असुल्ने, विश्वविद्यालयका नाममा इन्स्टिच्युटमा पठाउने र कतिपयले कालो सूचीमा परेका विश्वविद्यालयमा समेत विद्यार्थी पठाउने गरेको गुनासो पटकपटक आउने गरेको थियो । गुनासा पटक-पटक आउँदा समेत यो विषयमा सम्बन्धित निकायले कुनै चासो राखेको थिएन ।  शिक्षा मन्त्रालयले समेत उजुरी आउँदा कारवाही प्रक्रिया बढाएको खोस्रो जवाफ दिइरहेको थियो । सरकारको पछिल्लो कदमले अब विद्यार्थीलाई ठगी गर्ने कन्सल्टेन्सी सही बाटोमा आउने अपेक्षा विद्यार्थीहरूको छ । पढाइको सिलसिलामा अहिले काठमाडौंको एक कन्सल्टेन्सीमा अध्ययन गरिरहेका विद्यार्थी अभिषेक यादव सरकारले पछिल्लो समय शैक्षिक परामर्शमाथि थालेको छानबिनले आफूहरूलाई ढुक्क बनाएको बताउँछन् । उनी भन्छन्, ‘राम्रो देशमा गएर अध्ययन गर्ने सबैको इच्छा हुन्छ तर बारम्बार कन्सल्टेन्सीले ठगेका समाचारले, कतै म पनि यसरी नै ठगीमा पर्ने त होइन भन्ने लागिरहन्थ्यो । अब ठगी गर्ने र विद्यार्थीलाई सही गाइड गर्ने कन्सलटेन्सी चिनियो भने हामीलाई सजिलो हुन्छ ।’ विज्ञान विषयबाट काठमाडौंमै प्लस टु पढेका उनी अहिले अस्ट्रेलिया जाने सोचका साथ तयारी गरिरहेका छन् । ‘अस्ट्रेलिया गएका विद्यार्थी ठगिएको त्यति सुन्नमा नआएपनि सामाजिक सञ्जाल र मिडियामा आइरहने ठगीका समाचारले डर लागिरहन्छ,’ उनले भने  काठमाडौंमै कक्षा १२ को परीक्षा दिएर बसेका अर्का एक जना विद्यार्थी रमित बड्थापा पनि कन्सल्टेन्सीमाथि भइरहेको छानबिनको खबरले खुसी भएका छन् ।  अमेरिका, अस्ट्रेलिया, जापानबाहेक अन्य देशमा राम्रो विश्वविद्यालय छनोट गरी बाहिर जाने तयारीमा रहेका उनी सरकारको यो कदमले ठगी गर्ने कन्सल्टेन्सी सही बाटोमा आउने अपेक्षामा छन् । अभिषेकजस्तै उनी पनि नेपालकै कन्सटेन्सीले विद्यार्थीलाई ठगिरहेका समाचारले त्रासमा थिए।  उनी भन्छन्, ‘साथीभाइ सबै अध्ययनको शिलशिलामा बाहिरै छन्, म पनि जानुपर्छ भन्ने योजनामा छु । अहिले विभिन्न कन्सलटेन्सीमा कुन विदेशी विश्वविद्यालयले कस्तो सुविधा दिइरहेको छ भन्ने विषयमा बुझिरहेको छु ।’  पछिल्लो समय कतिपय कन्सल्टेन्सीहरूले विद्यार्थीमाथि आर्थिक ठगी गरेका कुरा सार्वजनिक हुन थालेपछि कन्सल्टेन्सीहरू क्यास टु क्यास बार्गेनिङ गर्न थालेका छन् ।  सुरुमा ठगिएको थाहा नपाएका विद्यार्थीले आफू ठगिएको थाहा पाएर आवाज उठाउँदा आवाज दबाउन कन्सल्टेन्सी सञ्चालक नै लाग्ने गरेको विद्यार्थीहरूले बताएका छन् । कतिपय विद्यार्थीले आवाज उठाउन खोज्दा अभिभावकमार्फत मुख बन्द गराउने प्रयाससमेत गरेको विद्यार्थीहरूले बताएका छन् । के भन्छन् कन्सल्टेन्सी सञ्चालक ? केही दिनदेखि धमाधम कन्सल्टेन्सी सञ्चालक पक्राउ पर्न थालेपछि शैक्षिक परामर्श संघ संस्थाले भने आपत्ति जनाएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान), स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन), नेपाल शैक्षिकपरामर्श सेवा संघ(नेक्सा)लगायतले विज्ञाप्ती निकाल्दै आपत्ति जनाएका हुन् ।     इक्यानले विभिन्न शैक्षिक परामर्शमाथि भइरहेको अनुगमन छापा, धरपकड तथा नियन्त्रणका गतिविधिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । केही सिमित घटनालाई लिएर सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई अपराधिकरण गर्ने प्रवृत्ति अस्वीकार्य भएको इक्यानको भनाइ छ ।  ‘क्षेत्रको नाममा हुने कुनै पनि प्रकारको ठगी, झुटा आश्वासन, नक्कली कागजातको प्रयोग, अवैध आर्थिक कारोबार वा विद्यार्थी-अभिभावकको विश्वासमाथि हुने दुरुपयोगलाई कुनै पनि अवस्थामा स्वीकार गरिदैन। यस्ता कार्यमा संलग्न जोसुकै व्यक्ति वा संस्थामाथि प्रचलित कानून बमोजिम कडा, निष्पक्ष र पारदर्शी कारबाही हुनुपर्छ भन्नेमा इक्यानपूर्ण रूपमा सहमत छ, र यो हाम्रो आचारसंहिता तथा सदस्यता दायित्वको अभिन्न हिस्सा हो । तथापि, हालका केही नियामकीय र अनुसन्धानसम्बन्धी कार्यशैलीप्रति इक्यानको गम्भीर चिन्ता रहेको छ,’ विज्ञप्तिमा भनिएको छ । इक्यानले सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई एउटै दृष्टिले हेर्ने प्रवृत्ति, वैधानिक संस्थाहरूको प्रतिष्ठामा पर्ने असर तथा नेपालको अन्तर्राष्ट्रिय शैक्षिक छवि र विश्वसनीयतामाथि पर्ने नकारात्मक प्रभावप्रति संघले स्पष्ट आपत्ति जनाएको छ ।  यस्तै, स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले पनि सबै शैक्षिक परामर्श केन्द्रलाई एउटै डालामो हालेर नहेर्न आग्रह गरेको छ । फोकनले हाल सरकार तथा प्रहरी प्रशासनबाट भइरहेको अनुगमन प्रक्रिया सकरात्मक भए पनि कानूनि प्रक्रिया पुरा गरिसकेका कन्सलटेन्सीले समेत दुःख बेहोर्नु परेको भन्दै चिन्ता व्यक्त गरेको छ ।  फेकनले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘विदेश अध्ययनका क्रममा विद्यार्थीहरूले बुझाउने ट्युसन फी लगायतका शुल्कहरू नेपाल सरकारबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गरी बैंकिङ प्रणालीमार्फत विद्यार्थी स्वयंले सम्बन्धित शैक्षिक संस्थामा पठाऊने हुँदा धरौटी वा अनावश्यक अतिरिक्त शुल्कको विषयलाई लिएर भ्रम सिर्जना गर्नु उपयुक्त छैन । तथापि, यस क्षेत्रमा केही विकृति तथा अस्वस्थ अभ्यासहरू देखिएको सन्दर्भमा फेकनले आफ्ना सदस्य संस्थाहरूलाई निरन्तर सचेत गराउँदै आवश्यक समन्वय तथा सुधारका पहलहरू गर्दै आएको जानकारी गराइन्छ ।’ नेपाल शैक्षिकपरामर्श सेवा संघ (नेक्सा)ले दर्ता नगरी सञ्चालनको हकमा र अन्य त्रुटिहरूमा समान मापदण्डअनुसार कारबाही गर्नु न्यायोचित नभएको बताएको छ ।  दर्ता नगरी सञ्चालनबाहेक अन्य सामान्य प्रशासनिक गल्तीहरूमा पनि संस्थाका सञ्चालक र प्रतिनिधिहरूलाई नियन्त्रणमा लिई भइरहेको अनुसन्धानप्रति नेक्साले गम्भीर आपत्ति जनाएको छ । हरेक सानो त्रुटिमा समेत प्रकाउ गरी नियन्त्रणात्मक कारवाही अगाडि बढाउँदा व्यवसायीहरूमा निरुत्साह पैदा भई शैक्षिक परामर्श व्यवसाय नै धरासायी हुने अवस्था सिर्जना हुन सक्छ भन्ने यस संघको धारणा राख्दै नेक्साले दर्ताविना सञ्चालन गर्ने कार्यलाई भविष्यमा निरुत्साहित गर्न शिक्षा मन्त्रालयले कन्सल्टेन्सी दर्ता प्रक्रिया सहज, सरल, र व्यवहारिक बनाउन माग गरेको छ ।  नेक्साले विज्ञप्तिमा भनेको छ, ‘अनुसन्धान प्रक्रिया अगाढी बढ़ाएका शैक्षिक परामर्श संस्था माथि निष्पक्ष अनुसन्धानपछि सबुत प्रमाणले दोषी देखिए मात्र निष्पक्ष र पारदर्शी ढंगले कारबाही अगाढी बढाउन हामी आग्रह गर्दछौं । साथै शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी, मर्यादित तथा उत्तरदायी वनाउन नेपाल सरकारसंग स्पष्ट ‘शैक्षिक परामर्श सेवा संस्था सञ्चालन सम्बन्धी नियमावली’ निर्माण गरी प्रभावकारी मापदण्ड तत्काल लागू गर्न पनि हामी आग्रह गर्दछौं ।’ सम्बन्धित सामग्री :  धमाधम पक्राउ हुँदै कन्सल्टेन्सी सञ्चालक, विकासन्युजको समाचारपछि भएको थियो अनुसन्धान कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन-कुन कन्सल्टेन्सी परे ? विदेश जाने विद्यार्थीबाट दोब्बर शुल्क असुल्छन् कन्सल्टेन्सी, कारवाहीबाट बच्न नगदमा कारोबार विदेश पठाइदिने बहानामा ठगी गर्ने ६९ कन्सल्टेन्सी सञ्चालक प्रहरी नियन्त्रणमा १ वटा कन्सल्टेन्सीविरुद्ध मुद्दा, दर्ता नभएका धेरै विकासन्युजको समाचारका नेक्साको खण्डन

नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणलगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मंगलबार (भोलि) देखि चीनको दुई दिने आधिकारिक भ्रमणमा जाँदैछन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले गत शनिबार यसबारे जानकारी दिँदै यो राजकीय भ्रमण चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा हुन लागेको बताएका थिए । क्रेमलिनले पनि यसअघि नै एक विज्ञप्ति जारी गर्दै पुटिनको चीन भ्रमणको पुष्टि गरिसकेको थियो । यसअघि ट्रम्पले मे १३ देखि १५ सम्म चीनको आधिकारिक भ्रमण गरेका थिए, जुन भ्रमणलाई निकै महत्त्वपूर्ण मानिएको छ । किनभने करिब एक दशकमा कुनै अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण थियो । बेइजिङमा आयोजित शिखर सम्मेलनमा भाग लिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी जिनपिङ   यद्यपि यस भ्रमणमा ट्रम्प अमेरिकका शीर्ष प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँगै पुगेका थिए । तर, भ्रमण सकिएपछि पनि कुनै सम्झौताको बारेमा घोषणा भने भएन । यसको ठीक तीन दिनपछि रुसी राष्ट्रपति पुटिन बेइजिङ पुग्न लागेका हुन् । चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा पुटिन र सी जिनपिङले द्विपक्षीय सम्बन्धका विषयमा छलफल गर्ने, चीन र रुसबीचको व्यापक साझेदारी र रणनीतिक सहयोगलाई अझ सुदृढ बनाउने उपायहरूबारे कुरा गर्ने तथा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने उल्लेख गरिएको छ । दुवै देशले एउटा संयुक्त वक्तव्य र धेरै द्विपक्षीय दस्तावेजहरूमा हस्ताक्षर गर्ने योजना बनाएका छन् । यसबाहेक चीन र रुसका राष्ट्रप्रमुखहरू ‘चीन–रुस शिक्षा वर्ष’ को उद्घाटन समारोहमा पनि सहभागी हुनेछन् । सम्बन्धलाई थप प्रगाढ बनाउने प्रयास रुसले पुटिनको चीन भ्रमण असल छिमेकी र मैत्रीपूर्ण सहयोग सन्धि‍मा हस्ताक्षर भएको २५औं वर्षगाँठको अवसरमा हुन लागेको जनाएको छ । यो सन्धि सन् २००१ मा मस्कोमा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिन और पुटिनबीच भएको थियो । पुटिन र सी जिनपिङबीच यसअघिको भेट गत वर्ष सेप्टेम्बरमा भएको थियो, त्यति बेला दुवैले सांघाई सहयोग संगठन (एससीओ) को वार्षिक शिखर सम्मेलनमा सहभागी भएका थिए । त्यसपछि उनीहरू जापानविरुद्धको प्रतिरोधात्मक युद्धमा विजयको ८०औं वर्षगाँठको अवसरमा सेप्टेम्बर ३ मा आयोजित सैन्य परेडमा सामेल हुन बेइजिङ गएका थिए । उक्त परेडमा उत्तर कोरियाका नेता किम जोङ उन र इरानी राष्ट्रपति मसूद पेजेसकियान पनि उपस्थित थिए । गत मे महिनामा सी जिनपिङले पनि पुटिनको निमन्त्रणामा मस्कोको चार दिने राजकीय भ्रमण गरेका थिए र सोभियत संघको ‘महान देशभक्तिपूर्ण युद्ध’ मा विजयको ८०औं वर्षगाँठको समारोहमा भाग लिएका थिए । राष्ट्रपति बनेपछि सी जिनपिङको यो रुसको ११औं भ्रमण थियो र रुस नै उनले सबैभन्दा बढी भ्रमण गर्ने देश हो । त्यस समयमा सी जिनपिङले भाषण दिँदै भनेका थिए कि चीन र रुस ‘यस्ता असल छिमेकी हुन् जसलाई अलग गर्न सकिँदैन, यस्ता साँचो मित्र हुन् जसले सुख–दुःख बाँड्छन् र यस्ता असल साझेदार हुन् जो एक(अर्काको सफलतामा भागीदार बन्छन् ।’ रोयटर्सका अनुसार पुटिन र सी जिनपिङले पछिल्ला केही वर्षहरूमा ४० पटकभन्दा बढी भेट गरिसकेका छन् । दुवै नेताले फेब्रुअरी २०२२ मा ‘असीमित’ रणनीतिक साझेदारीमा पनि हस्ताक्षर गरेका थिए, जुन रुसले युक्रेनमाथि आक्रमण गर्नु ठीक अघि भएको थियो । रुस-युक्रेन युद्ध सुरु भएपछि रुसमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध र एक्लोपन बढ्यो, तर चीनले न त रुसको सार्वजनिक आलोचना गर्‍यो न त प्रतिबन्धहरूको समर्थन नै गर्‍यो। दुवै देशले राजनीतिक र आर्थिक सहयोग जारी राखे र चीनमाथि रुसको आर्थिक निर्भरता लगातार बढ्दै गयो । चीन र रुसले गत सेप्टेम्बरमा मंगोलिया हुँदै ‘पावर अफ साइबेरिया २’ प्राकृतिक ग्यास पाइपलाइन निर्माण सुरु गर्नका लागि कानुनी रूपमा बाध्यकारी सम्झौतामा पनि हस्ताक्षर गरेका थिए र अन्य दुई मार्गबाट प्राकृतिक ग्यास आपूर्ति बढाउन सहमतिसमेत जनाएका थिए । रुसी सरकारी सञ्चारमाध्यम आरटीका अनुसार रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले पुटिन सन् २०२६ मा दुई पटक चीन जाने अपेक्षा गरिएको बताएका छन् । नोभेम्बरमा शेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा भाग लिनका लागि पनि उनको अर्को भ्रमण तय भइसकेको छ । चीन–अमेरिका बैठकमा रुसको नजर रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुसले चीन र अमेरिकाबीच ‘खुट्टा राख र राज गर’ को रणनीति नअपनाउने बताएका छन् । उनले भने, ‘यदि चीन र अमेरिकाबीच कुनै सम्झौता भएको छ वा हुन गइरहेको छ भने यो हाम्रा चिनियाँ मित्रहरूको हितमा छ र हामी यसमा खुसी हुनेछौं ।’ ‘चीन र रुसको सम्बन्ध परम्परागत सैन्य र राजनीतिक गठबन्धनभन्दा पनि बढी गहिरो र बलियो छ । यो एउटा नयाँ सम्बन्ध हो जसले अन्य कुनै पनि कारकभन्दा बढी वैश्विक राजनीतिक र आर्थिक स्थिरता सुनिश्चित गर्न सक्छ,’ उनले थपे । पुटिनको चीन भ्रमणको समयले अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराएको छ । ‘साउथ चाइना मर्निङ पोस्ट’ ले स्रोतहरूलाई उद्धृत गर्दै यो पुटिनको नियमित भ्रमण भएको र कुनै ठुलो सैन्य परेड वा भव्य स्वागत समारोहको अपेक्षा नगरिएको जनाएको छ । साउथ चाइना मर्निङ पोस्टले चीनले एकै महिनामा दुई देशका नेताहरूको आतिथ्य गरिरहेको पहिलो पटक भएको पनि जनाएको छ । यसले चीनले दुवै देशसँगको सम्बन्धलाई सन्तुलित राख्न प्रयास गरिरहेको बुझिन्छ । साथै ऊ कठिन मोडबाट गुज्रिरहेको विश्वमा आफूलाई एउटा महत्त्वपूर्ण शक्तिका रूपमा स्थापित गर्ने कोसिस गर्दैछ । राजनीतिक संस्कृतिका विद्वान एवं समसामयिक मामिलाका टिप्पणीकार हुआङ वेइगुओ चीन, अमेरिका र रुसको सम्बन्धमा फरक प्रकारको शक्ति प्रतिस्पर्धा चलिरहेको र ट्रम्पको चीन भ्रमणबाट चीन–रुस सम्बन्ध प्रभावित नहुने उल्लेख गर्छन्। उनले भने, ‘सतही रूपमा अमेरिका र रुस विरोधी देखिन्छन्, तर अमेरिका रुस–युक्रेन युद्धमा भूमिका खेल्न चाहन्छ र आफूलाई शान्ति स्थापना गर्ने देशका रूपमा प्रस्तुत गर्न सक्छ ।’ उनको विचारमा यी तीन देशहरूमा यतिबेला चीनसँग सबैभन्दा बढी विकल्पहरू छन् । हुआङ वेइगुओले भने, ‘ट्रम्प पुनः सत्तामा आएदेखि अमेरिका र युरोपेली देशहरूको सम्बन्ध तनावपूर्ण भएको छ । हामी देखिरहेका छौं कि युरोपेली देशहरू पनि लगातार चीन भ्रमण गरिरहेका छन् र केही हदसम्म कम टकरावको सम्बन्ध कायम राखिरहेका छन् ।’ अपेक्षाकृत अराजक वातावरणमा चीनले कूटनीतिमार्फत केही पश्चिमी देशहरूसँग सम्बन्ध स्थापित गर्न सक्ने र ‘विरोधी पक्षका सहयोगीहरूलाई आफ्नो पक्षमा ल्याउन सक्ने’ उनको ठहर छ  । ट्रम्पको भ्रमणमा चासो अर्कोतर्फ ट्रम्पले चीन भ्रमण पूरा गरेपछि सी जिनपिङलाई सेप्टेम्बरमा ह्वाइट हाउस आउन निमन्त्रणा दिए । चिनियाँ विदेशमन्त्री वाङ यीले पनि सी जिनपिङ यसै वर्ष अमेरिका जाने पुष्टि गरेका छन् । पुटिनको चीन भ्रमणको खबर ट्रम्पको चीन भ्रमण सकिएको २४ घण्टाभन्दा कम समयमै बाहिर आएको हो र पुटिनको भ्रमण ट्रम्पको भ्रमणको एक हप्तापछि हुँदैछ । रुसी सरकारी समाचार एजेन्सी तासले राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै क्रेमलिनले अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणसँग सम्बन्धित मिडिया रिपोर्टहरूलाई नजिकबाट नियालिरहेको र रुसी राष्ट्रपति पुटिनको चीन भ्रमणका क्रममा यसबारे प्रत्यक्ष जानकारी हासिल गर्ने अपेक्षा गरेको जनाएको छ । उनले आगामी चीन(रुस बैठकमा दुवै पक्षले चीन र अमेरिकाका नेताहरूबीच हालै भएको कुराकानीबारे पनि विचार आदानप्रदान गर्ने जानकारी दिए । पेस्कोभले भने, ‘विश्वका दुई ठुला अर्थतन्त्रका शीर्ष नेताहरूबीचको सीधा संवादले स्वाभाविक रूपमा रुससहित सबै देशहरूको ध्यान आकर्षित गर्नेछ ।’ (बीबीसीबाट अनुदित तथा सम्पादित) इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू पौने दुई करोड डलर जरिवाना तिर्न अडानी समूह सहमत इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति सुनमा ब्रेक, रुपैयाँमा दबाब

धमाधम पक्राउ हुँदै कन्सल्टेन्सी सञ्चालक, विकासन्युजको समाचारपछि भएको थियो अनुसन्धान

काठमाडौं । अहिले प्रहरीको मुख्य अनुसन्धानको विषय कन्सल्टेन्सीमाथिको अनुसन्धान बनेको छ । कन्सल्टेन्सी सञ्चालकहरूले विद्यार्थीबाट ठूलो शुल्क लिने, दर्ताबिनै सञ्चालन गर्ने तथा विद्यार्थीलाई अनेकन प्रभाव देखाएर रकम असुल गर्ने विषय विकासन्युजले प्रकाशन गरेपछि प्रहरीले त्यसतर्फ अनुसन्धान अगाडि बढाएको थियो ।  विकासन्युले सुरुमा विदेश जाने विद्यार्थीबाट दोब्बर शुल्क असुल्छन् कन्सल्टेन्सी, कारवाहीबाट बच्न नगदमा कारोबार र दोस्राे पटक कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन-कुन कन्सल्टेन्सी परे ? शीर्षकमा समाचार सम्प्रेषण गरेकाे थियाे । तिनै समाचारकाे आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले बताए । अनुसन्धान गर्दा प्रहरीले ६९ सञ्चालकलाई नियन्त्रणमा लिएको थियो। अहिले उनीहरूविरुद्ध मुद्दा पनि चलेकाे छ । कन्सल्टेन्सीविरुद्ध मुद्दा चलेपछि दैनिक सञ्चालकहरू काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुग्न थालेका छन् ।  केही दिनअघिमात्र काठमाडौं उपत्यकाका ९५ वटा कन्सल्टेन्सीमा प्रहरीले छापा मारेको थियो । प्रहरीले छापा नमारेका कन्सल्टेन्सी सञ्चालक समूह बनाएर कार्यालयमा पुग्ने गरेका छन् । कार्यालयका प्रमुख सन्तोष खड्काले प्रक्रिया नपुर्‍याएर सञ्चालनमा आएका कन्सल्टेन्सीलाई मात्र कानुनी कारबाहीमा ल्याइएको बताए । उनका अनुसार कन्सल्टेन्सी सञ्चालक पक्राउ परेपछि कार्यालयमा सञ्चालकको भीड हुने गरेको छ । आइतबार २०-२५ जना सञ्चालकहरू आएका र आज मात्रै ५ जना भेटवार्ता गरेर गएको उनले बताए । प्रहरीको त्रास बढेकाले सञ्चालकहरू कन्सल्टेन्सी बन्द गर्नु परेको गुनासो बोकेर आउने गरेको खड्काले बताए । प्रहरीले कुनै सञ्चालक तथा व्यवसायीलाई नियतवश कारबाही नगरेको उनले बताए । कुनै पनि व्यवसायीलाई दुःख दिने नियत नभएको उनले प्रस्ट पारे । ‘कार्यालयले अहिलेसम्मकै ठूलो संख्यामा कन्सल्टेन्सीमा छापा मारेको छ,’ उनले भने, 'केही सञ्चालकहरू भने बन्द गरेर अन्तै गइसकेको भन्दै यहाँ आउने गरेका छन् ।‘विधि प्रक्रिया पुर्‍याएर व्यवसाय गर्नेहरूलाई कोही पनि डराएर नभाग्नुपर्ने भनेर सम्झाउने गरेको खड्काले बताए ।  दर्ता नभएका कन्सल्टेन्सीहरूले प्रहरीले नियतवश कन्सल्टेन्सीलाई दुःख दिन थालेको भन्दै प्रचार गर्न थालेको उनले बताए । राज्यको कानुन मानेर व्यवसाय गरेकालाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको उनले उल्लेख गरे ।  ३१ वटा कन्सल्टेन्सी सञ्चालकविरुद्ध मुद्दा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लिखतसम्बन्धी कसुर, ठगी र शिक्षा ऐन, २०२८ अनुसार तीनवटा कसुरमा ३१ जनाविरुद्ध मुद्दा चलाएको छ । केही दिनअघि मात्र कार्यालयले गैरकानुनी रूपमा ठगी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ९५ वटा कन्सल्टेन्सीमा छापा मारी ६९ जना सञ्चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो ।  उनका अनुसार कन्सल्टेन्सी दर्ता नभएका, ठगी र सरकारी छाप किर्ते गरेर चलाएकाहरू कारबाहीमा परेका हुन्। कार्यालयले मुद्दा चलाएका सबैलाई ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको खड्काले बताए । अनुमति बिना चलाएका धेरै कन्सल्टेन्सी पाइएको उनले जानकारी दिए । उपत्यकाका तीनवटा जिल्लामा लामाे समय लगाएर अनुसन्धान गरिएको उनले जानकारी दिए। अधिकांश कन्सल्टेन्सीहरू बिना दर्ता चलेको पाइएको उनले उल्लेख गरे । सम्बन्धित सामग्री :  कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन-कुन कन्सल्टेन्सी परे ? विदेश जाने विद्यार्थीबाट दोब्बर शुल्क असुल्छन् कन्सल्टेन्सी, कारवाहीबाट बच्न नगदमा कारोबार विदेश पठाइदिने बहानामा ठगी गर्ने ६९ कन्सल्टेन्सी सञ्चालक प्रहरी नियन्त्रणमा १ वटा कन्सल्टेन्सीविरुद्ध मुद्दा, दर्ता नभएका धेरै विकासन्युजको समाचारका नेक्साको खण्डन