काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो एक महिनामा मात्रै करिब दुई किलो सुनसहित ४० जनाभन्दा बढी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालीसँगै विदेशी नागरिकसमेत छन् । उनीहरूले विभिन्न मुलुकबाट सुन ल्याउनेदेखि शरीरभित्र लुकाएर विमानस्थल पार गर्ने प्रयाससम्म गरेको पाइएको छ ।
गत बुधबार मात्रै विमानस्थलबाट १०४.२५ ग्राम सुनसहित दुई नेपाली पक्राउ परे । कतारबाट नेपाल एयरलाइन्सको जहाजमा आएका ३१ वर्षीय अनिल राय र ३३ वर्षीय अनिस अन्सारीलाई प्रहरीले सुनका गरगहना अवैध रूपमा नेपाल भित्र्याउने तथा संकलन गरी लैजाने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।
त्यसअघि आइतबार भारतीय नागरिक अस्लाम शोकात सुनसहित विमानस्थलबाट पक्राउ परे । भारतको मुम्बईबाट इन्डिगो एयरको उडान नम्बर ६ ई ११५७ मार्फत काठमाडौं आएका शोकातको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले चेकजाँच गरेको थियो ।
भदौ ५ गते पनि त्रिभुवन विमानस्थलबाट पेटभित्र सुन लुकाएर ल्याएका बंगलादेशी नागरिक पक्राउ परेका थिए । दुबईबाट काठमाडौं आएका ३५ वर्षीय मोहम्मद रसिल हल्दारलाई भन्सार क्षेत्र पार गरेर पार्किङतर्फ जाँदै गर्दा सादा पोसाकमा खटिएका प्रहरीले नियन्त्रणमा लिएका थिए । सोधपुछका क्रममा उनले करिब १५० ग्राम सुन क्याप्सुल आकारमा लुकाएर ल्याएको स्वीकार गरेका थिए ।
यी घटनाले विमानस्थल हुँदै नेपालमा अवैध रूपमा सुन भित्र्याउने क्रम अझै रोकिएको छैन भन्ने देखाउँछन् । विमानस्थल सुरक्षा कार्यालयका अनुसार पछिल्लो एक महिनामा मात्रै विभिन्न साना परिमाणमा करिब दुई किलो सुन बरामद भएको छ । यस क्रममा नेपाली तथा विदेशी नागरिक पक्राउ परेका छन् ।
बदलियो सुन तस्करीको शैली
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार तस्करहरूले सुन नेपाल ल्याउने शैली परिवर्तन गरिरहेका छन् । पहिलेको तुलनामा अहिले सुनलाई विभिन्न स्वरूपमा परिवर्तन गरेर ल्याउने क्रम देखिएको उनको भनाइ छ ।
‘हाल सुन बोक्ने भरिया वा तस्करले सुन आयात गर्ने प्याटर्न परिवर्तन गरेका छन्,’ उनले भने, ‘सुन आयात भइरहेको छ । उनीहरूले सुनको लिक्विड बनाएर ल्याउँछन् ।’
उनका अनुसार केहीले सुनलाई झोलको स्वरूपमा ल्याउने गरेका छन् भने केहीले गहनाका रूपमा ल्याउने गरेका छन् । विमानस्थलबाट प्रहरीले तीन करोड रुपैयाँभन्दा बढी मूल्यको सुन नियन्त्रणमा लिइसकेको उनले बताए ।
‘विमानस्थलका भन्सार कार्यालयले चेकजाँच गरिसकेका यात्रीलाई पक्राउ गर्ने गरिएको छ,’ सिलवालले भने, ‘भन्सारबाट छुटेर आएका यात्रीलाई मात्र हामीले समात्ने गरेका छौं । उनीहरूको गतिविधि शंकास्पद भेटिएकाले नियन्त्रणमा लिनु परेको हो ।’
भन्सारले चेकजाँच गर्ने स्थानमा प्रहरीको छुट्टै टोली नरहने भएकाले भन्सारबाट छुटेर बाहिर आएका यात्रुमाथि प्रहरीले निगरानी गर्ने गरेको उनले बताए ।
भरिया पक्राउ, मुख्य व्यक्ति अझै अनुसन्धानको चुनौती
विमानस्थलबाट पक्राउ पर्ने अधिकांश व्यक्ति आफू भरिया मात्रै भएको र अरू कसैका लागि सुन ल्याएको बयान दिने गरेको प्रहरीको भनाइ छ ।
‘विमानस्थलमा पक्राउ परेकाहरू सबै भरिया हुन् । अरूका लागि ल्याइदिएको भनेर जवाफ दिने गरेका छन्,’ सिलवालले भने, ‘सुन बोकेबापत पैसा पाउने र विमानस्थलमा मानिस सुन लिन आउने गर्छन् । सुन लिन आउनेहरूलाई सुन दिनु भनेकाले हामीले दिन्छौं भन्ने जवाफ भरियाबाट पाउँछौं ।’
तर, सुन पठाउने मुख्य व्यक्ति र त्यसको वास्तविक सञ्जालसम्म अनुसन्धान पुर्याउन चुनौती रहेको देखिन्छ । पक्राउ परेका भरियाले सुन पठाउने व्यक्तिको विवरण नदिने तथा सुन लिन आउने व्यक्तिको विवरणसमेत गलत हुने गरेको सिलवालले बताए ।
उनका अनुसार सुन पठाउने व्यक्तिले भरियाको उडान, विमानस्थलबाट बाहिरिने समय र गन्तव्यसम्मको विवरण पहिल्यै लिने गरेका हुन्छन् ।
‘सुन पठाउनेले सुन रिसिभ गर्नेलाई सुन बोक्ने भरियाको सबै विवरण बताउने गरेका हुन्छन्,’ उनले भने ।
प्रहरीले विमानस्थल परिसरमा विशेष निगरानी बढाएको छ । विमानस्थलबाट बाहिर निस्किएपछि सुन लिन आउने व्यक्तिमाथि समेत सादा पोसाकमा निगरानी गर्ने र लेनदेनको क्रममा पक्राउ गर्ने गरिएको प्रहरीको भनाइ छ ।
तस्करीको सुनले व्यवसायी मारमा
अवैध रूपमा भित्रिएको सुनले वैध रूपमा कारोबार गर्ने व्यवसायीसमेत प्रभावित हुने सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।
उनका अनुसार अदृश्य लगानीकर्ताले चोरी तथा तस्करीमार्फत सुनको कारोबार गरेर सहजै नाफा कमाउने प्रयास गर्दा वैध व्यवसायी समस्यामा पर्ने गरेका छन् ।
‘चोरी र लुकीछिपी आयात गरिएका सुनहरू बजारमा आएमा व्यवसायीलाई असर पर्छ,’ उनले भने, ‘व्यवसायीले पनि बिलबिनाका सुन लिन हुँदैन । सुनको गुणस्तर कस्तो हुन्छ भन्नेबारे समेत थाहा हुँदैन ।’
अन्जान व्यक्तिबाट बिलबिनाको सुन खरिद गर्दा व्यवसायीसमेत कानुनी झमेलामा पर्ने जोखिम रहेको उनले बताए । अवैध सुन आयातको विरोध महासंघले संस्थागत रूपमा पहिलादेखि गर्दै आएको भन्दै उनले राज्यका सबै निकाय गम्भीर हुनुपर्ने बताए ।
‘चोरी तथा सुन तस्करीलाई नियन्त्रण गर्न राज्यका सबै निकाय गम्भीर लाग्नुपर्छ,’ शाक्यले भने ।
बिलबिनाको सुन चोरी तथा तस्करीको हुनसक्ने
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता ध्रुवराज विश्वकर्माका अनुसार विदेशबाट आउने यात्रुले निश्चित सीमासम्म सुनका गहना भन्सार छुटमा ल्याउन पाउने व्यवस्था छ । महिलाले ५० ग्रामसम्म र पुरुषले २५ ग्रामसम्म सुनका गहना ल्याउँदा भन्सार छुट हुने उनले बताए ।
तोकिएको सीमाभन्दा बढी सुन वा भन्सार नतिरी ल्याइएको सुन अरू व्यक्तिमार्फत ओसारपसार गरेको पाइएमा विमानस्थल बाहिरसमेत निगरानी हुने उनले बताए ।
सुन लिन आउने व्यक्ति विमानस्थल आसपासमा पुग्ने र लेनदेनको क्रममा प्रहरीले पक्राउ गर्ने गरेको विश्वकर्माको भनाइ छ । प्रहरीले सादा पोसाकमा समेत निगरानी गर्ने गरेको उनले बताए ।
पक्राउ परेको सुनसम्बन्धी कागजपत्र तथा मुचुल्का तयार गरेर भन्सार कार्यालयमा बुझाउने गरिएको उनले बताए । ठूलो परिमाणमा सुन बरामद भएको अवस्थामा भने सुन पठाउने व्यक्तिसम्म अनुसन्धान विस्तार गरिने उनको भनाइ छ ।
‘सानो-सानो परिमाणको सुनमा पक्राउ परेका व्यक्तिलाई कारबाही गरिन्छ,’ उनले भने, ‘भन्सारले छोडे पनि बाहिर गएर पक्राउ परेपछि प्रहरीले सबै कलेक्सन गरेर फेरि भन्सारमै बुझाउँछ ।’
पक्राउ परेका व्यक्तिले सुन आफ्नो नभएको बयान दिने गरेको भन्दै विश्वकर्माले बिल नभएको सुनको स्रोत पुष्टि गर्न कठिन हुने बताए ।
उनका अनुसार विदेशबाट आउने यात्रुले निश्चित सीमासम्म सुन ल्याउन पाउने भए पनि त्यसको मूल्य ठूलो हुने भएकाले अरू व्यक्तिको सुन बोकेर आउने सम्भावना रहन्छ ।
‘५० ग्राम सुन भनेको करिब चार तोला हो । नेपालको मूल्याङ्कनअनुसार पनि यसको मूल्य १२ लाख रुपैयाँसम्म पर्न सक्छ,’ उनले भने ।
बरामद सुनको प्रयोग असर्फी र स्मारिकामा
अवैध रूपमा बरामद भएको सुनको शुद्धता र वैधता परीक्षण नेपाल राष्ट्र बैंकले गर्ने गरेको छ । मुद्दाको प्रक्रिया सकिएपछि सरकारले खरिद गर्ने निर्णय गरेमा राष्ट्र बैंकले शुद्धता परीक्षण गरी प्रचलित दरभाउअनुसार सुन खरिद गर्ने व्यवस्था रहेको छ ।
राष्ट्र बैंकसँग रहेको सुनमध्ये इन्भेस्टमेन्ट पेपर गोल्ड, बुलियन अर्थात् भौतिक सुन र ट्रेडिङ नेचरका सुनको व्यवस्थापन गरिन्छ । टक्सार महाशाखाले त्यस्तो सुन असर्फी तथा स्मारिका बनाउन प्रयोग गर्ने गरेको छ ।
यसरी विमानस्थलबाट सुन बरामद हुने क्रम निरन्तर देखिए पनि पक्राउ पर्नेहरू अधिकांश भरिया मात्रै भएको प्रहरीको भनाइ छ । सुन पठाउने र प्राप्त गर्ने मुख्य सञ्जालसम्म अनुसन्धान पुर्याउने चुनौती भने कायमै छ । विमानस्थलबाट बाहिरिने यात्रुको निगरानी बढाइए पनि तस्करीको बदलिँदो शैलीसँगै सुनको अवैध कारोबार नियन्त्रणका लागि थप प्रभावकारी अनुसन्धान आवश्यक देखिन्छ ।