७.१२ अर्बमा द ओबेरोई होटल बनाउँदै सिद्धार्थशमशेर जबरा

काठमाडौं । सिप्रभ्या होटल्स एन्ड रिसोट्र्स प्रालिले काठमाडौंको रविभवनमा ७५ कोठाको विलासी होटल द ओबेरोई काठमाडौं निर्माण गरिरहेको छ । सन् २००४ जनवरीमा स्थापना भएको कम्पनीले भारतस्थित द ओबेरोई होटल्स एन्ड रिसोट्र्स लिमिटेडसँगको सहकार्यमा उक्त होटल निर्माण गरिरहेको हो ।

होटल निर्माणको अनुमानित लागत ७ अर्ब १२ करोड ४० लाख रुपैयाँ रहेको छ । परियोजनामा ऋण र पुँजीको अनुपात ६०:४० कायम गरिएको छ । कुल परियोजना लागतमध्ये बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब २७ करोड ४० लाख रुपैयाँ ऋण लिने योजना रहेको छ भने प्रवर्द्धकको पुँजी लगानी २ अर्ब ८५ करोड रुपैयाँ रहनेछ ।

परियोजनाको निर्माण कार्य सन् २०२५ जुनदेखि सुरु भएको हो । २०२६ जुन मध्यसम्म प्रवर्द्धकले कुल पुँजी आवश्यकताको करिब ८४ प्रतिशत अर्थात् २ अर्ब ४० करोड रुपैयाँ लगानी गरिसकेको छ । बाँकी करिब १६ प्रतिशत पुँजी पनि समयमै लगानी हुने कम्पनीले जनाएको छ । 

२०२६ जुलाई मध्यसम्म परियोजनाको वित्तीय प्रगति करिब ३८ प्रतिशत पुगेको छ भने निर्माणतर्फको प्रगति करिब ५७ प्रतिशत रहेको छ । व्यवस्थापनले होटलको सञ्चालन सन् २०२९ सेप्टेम्बरदेखि सुरु गर्ने लक्ष्य राखेको छ । यसअघि सञ्चालनको लक्ष्य सन् २०२९ जुन रहेकोमा संशोधन गरी सेप्टेम्बर पुर्याइएको हो ।

द ओबेरोई होटल्स एन्ड रिसोट्र्ससँगको सहकार्यलाई परियोजनाको प्रमुख सकारात्मक पक्षका रूपमा लिइएको छ । अन्तर्राष्ट्रिय पहिचान र ठूलो ग्राहक आधार रहेको विलासी होटल ब्रान्डसँगको सहकार्यले होटल सञ्चालनमा आएपछि सुरुवाती ग्राहक आकर्षण तथा अधिभोग दर बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, ओबेरोई समूहका स्थापित सञ्चालन मापदण्डले होटलको बजार पहुँच विस्तार गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

सिप्रभ्या होटल्स एन्ड रिसोट्र्समा सिद्धार्थशमशेर जबराको ६० प्रतिशत स्वामित्व रहेको छ । बाँकी ४० प्रतिशत स्वामित्व सूर्य इन्टरप्राइजेज प्रालि र एसआर होल्डिङ्सको समान २०-२० प्रतिशत रहेको छ । यी दुवै संस्थामा पनि जबराको मुख्य स्वामित्व रहेको छ ।

परियोजनाको निर्माण प्रगतिसँगै यान्त्रिक, विद्युतीय तथा प्लम्बिङसम्बन्धी कामको सम्झौता अन्तिम चरणमा पुगेको छ । उक्त सम्झौता छिट्टै टुंगिने कम्पनीले जनाएको छ । तर, प्लान्ट, मेसिनरी तथा उपकरणसम्बन्धी केही महत्वपूर्ण सम्झौता अझै अन्तिम भएका छैनन् । यी सामग्रीको ठूलो हिस्सा अमेरिकी डलरमा खरिद हुने भएकाले विदेशी विनिमय दर तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण लागत बढ्न सक्ने जोखिम कायमै रहेको छ ।

परियोजनाको प्रतिकोठा लागत करिब ९ करोड ५० लाख रुपैयाँ र प्रतिकोठा ऋणभार करिब ५ करोड ७० लाख रुपैयाँ रहनेछ । तुलनात्मक रूपमा उच्च प्रतिकोठा लागत र होटल क्षेत्रमा रहने उच्च सञ्चालन खर्चका कारण होटल सञ्चालनको प्रारम्भिक वर्षमा वित्तीय अवस्थामा दबाब पर्न सक्ने देखिएको छ । होटलले पूर्ण सञ्चालन स्थायित्व हासिल गर्न समय लागेमा प्रवद्र्धकबाट थप वित्तीय सहयोग आवश्यक पर्न सक्नेछ ।

काठमाडौंको आतिथ्य क्षेत्रमा विद्यमान तथा निर्माणाधीन नयाँ होटलका कारण प्रतिस्पर्धा पनि उच्च रहेको छ । तीमध्ये धेरै होटल अन्तर्राष्ट्रिय होटल शृङ्खलासँग आबद्ध छन् । यसले नयाँ होटलको सञ्चालन स्थायित्व हासिल गर्ने अवधि लम्ब्याउन सक्ने जोखिम रहेको छ । यद्यपि, विलासी होटलले लक्षित गर्ने विशिष्ट ग्राहक वर्गले यस्तो प्रतिस्पर्धाको प्रभाव केही हदसम्म कम गर्न सक्ने अपेक्षा गरिएको छ । 

कम्पनीका अनुसार होटल तथा आतिथ्य व्यवसाय पर्यटक आगमनमा हुने मौसमी उतारचढाव र यात्राको ढाँचामा हुने परिवर्तनप्रति पनि संवेदनशील रहने गरेको छ । पर्यटक आगमन व्यापक आर्थिक अवस्था, पर्यटनसम्बन्धी नीति, भूराजनीतिक घटनाक्रम, प्राकृतिक विपत्ति तथा अन्य नियामकीय र समष्टिगत आर्थिक घटनाक्रमबाट प्रभावित हुन सक्छ । यस्ता घटनाक्रमले होटलको अधिभोग दर, कोठाको शुल्क तथा समग्र नगद प्रवाहमा असर पार्न सक्ने जोखिम रहेको छ ।

नेपाल सरकारको पर्यटन प्रवद्र्धनसम्बन्धी नीतिगत प्रयास, पूर्वाधार विकास तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनले आतिथ्य तथा पर्यटन क्षेत्रलाई दीर्घकालीन रूपमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भारत र चीनजस्ता ठूला बजारको बीचमा नेपालको भौगोलिक अवस्थिति तथा पछिल्ला वर्षमा बढ्दो अन्तर्राष्ट्रिय पर्यटक आगमनले पनि पर्यटन क्षेत्रको सम्भावनालाई बल पुर्याएको छ ।

ओबेरोई होटल्स एन्ड रिसोट्र्स भारतको नयाँदिल्लीमा मुख्यालय रहेको विलासी होटल समूह हो । सन् १९३४ मा स्थापना भएको समूहले ओबेरोई होटल्स एन्ड रिसोट्र्स र ट्राइडेन्ट ब्रान्डअन्तर्गत ७ देशमा ३२ वटा विलासी होटल तथा पर्यटकीय जहाज सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ ।

सिप्रभ्या होटल्स एन्ड रिसोट्र्सका प्रवद्र्धक सिद्धार्थशमशेर जबराको विभिन्न क्षेत्रमा व्यावसायिक संलग्नता रहेको छ । उनी सन् २०१७ को आर्थिक वर्षमा चौथोपटक सर्वाधिक व्यक्तिगत कर तिर्ने व्यक्ति बनेका थिए ।

Share News