एमाले र कांग्रेसका मत रास्वपामा सिफ्ट, कुन दलले कति मतदाता गुमायो ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक तर्फको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ । निर्वाचन आयोगका प्रवक्ता कुल बहादुर जिसीका अनुसार समानुपातिक प्रणालीतर्फ कुल १ करोड ७ लाख ८९ हजार ७८ मत गणना हुँदा रास्वपाले सबैभन्दा बढी मत प्राप्त गरेको हो । प्राप्त अन्तिम परिणामअनुसार रास्वपाले ५१ लाख ५८ हजार ८१० मत प्राप्त गरेको छ, जुन कुल मतको करिब ४७.८१ प्रतिशत हो । समानुपातिक मत परिणामले यस पटक नयाँ शक्तिको उदय र परम्परागत दलहरूको उपस्थिति कमजोर भएको स्पष्ट देखाएको छ । मुख्य प्रतिस्पर्धी दलहरूमध्ये नेपाली कांग्रेसले १७ लाख ५६ हजार ४३ मत प्राप्त गरेको छ । जुन १६.२७ प्रतिशत हो । नेकपा एमालेले १४ लाख ५२ हजार ९३९ मत सहित १३.४६ प्रतिशत मत पाएको छ । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ९ हजार ६४१ अर्थात् कुल मतको ७.५० प्रतिशत मत प्राप्त गरेको छ । केही महिनाअघि मात्रै स्थापना भएको श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७४८ मत पाउँदै राष्ट्रिय पार्टी बन्न सफल भएको छ । यस पार्टीले कुल मतको ३.५७ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३ लाख ३० हजार २८१ अर्थात् ३.०६ प्रतिशत मत प्राप्त गरेको हो । अन्य साना दलहरूले भने ३ प्रतिशतभन्दा कम मत पाएका कारण समानुपातिक सिट पाउने छैनन् । २०७९ को तुलनामा ठूलो मत परिवर्तन यसपटकको परिणामलाई अघिल्लो २०७९ को आम निर्वाचनसँग तुलना गर्दा राजनीतिक शक्तिको सन्तुलनमा ठूलो परिवर्तन देखिएको छ । गत निर्वाचनको परिणामको तुलना गर्दा नेकपा एमालले धेरै गुमाएको छ भने रास्वपाले धेरै प्राप्त गरेको छ । २०७९ मा समानुपातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएको रास्वपाले यस पटक ५१ लाख ५८ हजार ८१० मत प्राप्त गरेको छ । यसअनुसार रास्वपाको मत ४० लाखभन्दा बढीले बढ्दै करिब ३५६.३९ प्रतिशत वृद्धि भएको छ । यसको विपरीत प्रमुख परम्परागत दलहरूको मतमा उल्लेख्य गिरावट देखिएको छ । २०७९ मा २७ लाख १५ हजार २२५ मत पाएको नेपाली कांग्रेसले यसपटक १७ लाख ५६ हजार ४३ मत मात्रै प्राप्त गरेको छ । कांगे्रसको मतमा ३५.३२ प्रतिशत गिरावट आएको छ । त्यस्तै २०७९ मा सबैभन्दा धेरै मत ल्याएको नेकपा एमाले को मत पनि यसपटक उल्लेखनीय रूपमा घटेको छ । एमालेले अघिल्लो निर्वाचनमा २८ लाख ४५ हजार ६४१ मत पाएकोमा अहिले १४ लाख ५२ हजार ९३९ मत मात्र प्राप्त गरेको छ । जुन करिब ४८.९४ प्रतिशतले कमी हो । यस पटक नेकपाको मत पनि घटेको छ । २०७९ मा ११ लाख ७५ हजार ६८४ मत पाएको तत्कालीन माओवादीले यस पटक ८ लाख ९ हजार ६४१ मत प्राप्त गरेको छ । नेकपालाई यस पटक ३१.१३ प्रतिशत कम मत प्राप्त भएको छ । उसो त नेकपा आधा र्दजन बी पार्टी मर्जर भएर बने पनि नतिजा भने सन्तोषजनक देखिँदैन । त्यस्तै निर्वाचनमा राप्रपाको मत पनि अघिल्लो निर्वाचनको तुलनामा ४४ प्रतिशतले घटेको देखिएको छ । राप्रपाले २०२९ को चुनावमा साढे ५ लाख मत पाएको थियो । नयाँ शक्ति उदाएको संकेत समानुपातिक मत परिणामले नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तनको संकेत दिएको विश्लेषकहरूको भनाइ छ । विशेषगरी रास्वपाको तीव्र मत वृद्धि र परम्परागत दलहरूको मत घट्नुले मतदातामा नयाँ विकल्प खोज्ने प्रवृत्ति बढेको देखिएको छ । राजनीतिक विश्लेषक तथा सर्वोच्च अदालतका पुर्व रजिष्ट्रार श्रीप्रसाद पण्डितका अनुसार यस पटकको निर्वाचन परिणामले आगामी संसदमा शक्ति सन्तुलन मात्र होइन, दलहरूको आन्तरिक संरचना र नेतृत्वमा समेत व्यापक बहस सिर्जना गर्ने संकेत दिएको छ ।
बालेनलाई प्रधानमन्त्रीमा देख्न उत्साही छन् युवा
काठमाडौं । देशभरको निर्वाचनको प्रत्यक्षतर्फका सबै १६५ सिटको नतिजा सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फको मतगणना पनि सम्पन्न भइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाईको जनमत पाउँदा अब प्रधानमन्त्री को बन्छ भन्ने विषयले पनि चर्चा पाइरहेको छ । चुनावी प्रचारप्रसारको क्रममा रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीको उम्मेदवार बनाए पनि अहिले रवि प्रधानमन्त्री बन्ने कि बालेन भन्ने विषयले चर्चा पाइरहेको हो । यसले मुलुकको राजनीतिक वृत्त मात्र होइन, आम नागरिकको मनस्थितिमा पनि एउटा ठूलो हलचल पैदा भएको छ । वर्षौंदेखि सत्ताको बागडोर सम्हाल्दै आएका पुराना राजनीतिक दलहरू र तिनका नेताहरूप्रति जनतामा जुन निराशा थियो, त्यसको प्रस्फुटन यसपटकको मतपरिणाममा प्रस्ट देखिएको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले प्राप्त गरेको चुनावी सफलतालाई धेरैले परिवर्तनको संकेत मानेका छन् । दोलखाबाट काठमाडौं आएर बसेका कृष्णबहादुर खड्काका अनुसार नेपाली जनताको दिमागमा भ्रष्टाचारको जुन ह्याङओभर थियो, त्यसलाई घण्टीले चिरिदिएको छ । उनी भन्छन्, ‘हामीले हालेको भोट खेर गएन, जनताले युद्ध जितेका छन् । ’ उनका अनुसार जनताले बालेनलाई पहिले नै आफ्नो मनमा चुनिसकेका छन् । पुराना पार्टीहरूले मासुभात र पेट्रोल-डिजेलको प्रलोभन देखाएर जनतालाई झुक्याउने दिन अब सकिसकेको उनको बुझाइ छ । कांग्रेस र एमालेजस्ता पुराना पार्टीहरूप्रति सबैको आशा भरोसा सकिएको उनी बताउँछन् । यस्तै, कालीकोटबाट आएर काठमाडौंमा बस्दै आएकी कविता शाहीको बुझाइ पनि उस्तै छ । पुराना नेताहरूले केही नगरेकोले यसपटक (रास्वपा) बाट केही हुनेमा उनी आशावादी छिन् । उनी भन्छिन्, ‘पानी, बत्ती र शिक्षा जस्ता आधारभूत कुरामा सुधार हुनुपर्छ । यदि यिनीहरूले पनि पुरानै शैली अपनाए भने अर्कोपटक जनताले भोट दिने छैनन् ।’ रोजाइमा बालेन हालसम्मको निर्वाचनको नतिजाअनुसार रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ । समानुपातिकतर्फ जारी मतगणनामा पनि रास्वपाले करिब ५२ लाख मत प्राप्त गरेको छ । यस आधारमा समानुपातिकबाट थप करिब ५८ सिट रास्वपाको खातामा जाने देखिएको छ । यसले प्रतिनिधिसभामा रास्वपाको स्पष्ट बहुमत निश्चित भएको छ । यो नतिजासँगै अब धेरैको ध्यान प्रधानमन्त्री को बन्छन् भन्नेमा छ । अहिले रास्वपा संसदीय दलको नेता कसलाई बनाउने भन्ने तयारीमा जुटेको छ । निर्वाचन अघिकै सर्तअनुसार वरिष्ठ नेता बालेनलाई नै बनाइने लगभग निश्चित जस्तै छ । रास्वपाले संसदीय दलको नेता चयन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । अधिकांश युवाहरूको रोजाइमा पनि काठमाडौं महानगरका पूर्वमेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन शाह र रास्वपाका सभापति रवि लामिछाने परेका छन् । रोचक कुरा के छ भने, बालेन मेयर भए पनि धेरैले उनलाई देशकै कार्यकारी प्रमुखको भूमिकामा देख्न चाहेका छन् । बझाङकी सुस्मिता खड्का भन्छिन्, ‘बालेनले जे बोल्छन्, त्यो गरेर देखाउँछन् । अरू जस्तो गफ मात्र लगाउँदैनन् । ’ उनको बुझाइमा बालेन अन्य नेताहरू भन्दा धेरै फरक छन् । बालेनले कम बोल्ने तर काम धेरै गर्ने नेताका रुपमा उनले हेरेकी छन् । त्यस्तै, गोरखाका रामबहादुर रोका मगरको नजरमा पनि प्रधानमन्त्रीका लागि बालेन नै उपयुक्त पात्र हुन् । ‘यो ढुङ्गुर कुहिएको सहरलाई बालेनले सफा गरेर देखाए, उनले देश पनि बनाउन सक्छन्,’ उनले भने । उनका अनुसार काठमाडौं पहिला धेरै फोहोर सहर थियो तर बालेन मेयर भएपछि सफा भएको छ । रोकाले भने, ‘यो देश बनाउने अब बालेन मात्रै हो । बाँकी सबै नेताको काम देखियो । यसपटक जनताले घण्टी बजाएका छन् । अब नयाँ लहर आएको छ । हेरौं यो लहरले कति विकास गर्छ । यदि यिनीहरू पनि पुरानै नेता जस्तै भए भने सबैतिर निराशा छाउँछ ।’ युवा विद्यार्थी विवेक सेन्चुरी युवा नेतृत्वको उदयबाट निकै उत्साहित देखिन्छन् । उनी रवि र बालेन दुवैलाई समान रूपमा हेर्छन् । उनी भन्छन्, ‘हामीले धेरैलाई जिताएर हेर्यौं, अब पालो युवाको हो । देशमै रोजगारी सिर्जना होस् र युवाहरू विदेशिनु नपरोस् भन्ने हाम्रो चाहना हो । ’ जनतामा अब दलभन्दा पनि कामको खोजी बढी छ । कैलाली घर भएकी निलम थापा भन्छिन्, ‘जसले जिते पनि देशको विकास गर्नुपर्यो । काठमाडौं जस्तै अरू सहर पनि बनाउनुपर्यो । हामी विद्यार्थीका लागि त जसले प्रगति गर्छ, उही राम्रो ।’ यी नागरिकको साझा धारणा के छ भने जनता अब पुराना आश्वासनबाट थाकिसकेका छन् । उनीहरूलाई थोरै बोल्ने र धेरै काम गर्ने नेता चाहिएको छ । दोलखाका खड्का भन्छन्, ‘हाम्रो देशको पानी फिल्टर गरेर खाडी मुलुकमा बेच्न सके मात्र पनि देशको कायापलट हुन्छ ।’ नेपाली जनताको यो उत्साह र नयाँ अनुहारप्रतिको भरोसा एउटा ठूलो जिम्मेवारी पनि हो । रवि लामिछाने र बालेन शाहजस्ता पात्रहरूमाथि थुप्रिएको यो आशाको भारीलाई उनीहरूले कसरी सम्बोधन गर्छन्, त्यो त भविष्यले नै बताउला । तर, एउटा कुरा निश्चित छ, नेपाली जनता अब सधैं एउटै गल्ती दोहोर्याउन तयार छैनन् । यदि नयाँ आएकाहरूले पनि काम गरेर देखाएनन् भने ५ वर्षपछि फेरि जनताको लाठी अर्थात् मतले उनीहरूलाई पनि विस्थापित गरिदिनेछ ।
युद्धको रापबीच इरान–चीन तेल ‘कनेक्सन’ : हर्मुजको अवरोध छिचोल्दै करोडौं ब्यारेल बेइजिङतिर
अमेरिका–इजरायल र इरानबीचको युद्धले महत्त्वपूर्ण जलमार्ग हर्मुज जलडमरूमध्य हुँदै हुने समग्र तेल आपूर्तिलाई जोखिममा पारिरहेकै बेला पनि इरानले यही मार्ग प्रयोग गरेर चीनतर्फ ठूलो परिमाणमा कच्चा तेल पठाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । ट्यांकर ट्र्याकिङ कम्पनी ट्यांकरट्र्याकर्सका सह–संस्थापक समीर मदानीका अनुसार युद्ध फेब्रुअरी २८ मा सुरु भएयता इरानले कम्तीमा १ करोड १७ लाख (११.७ मिलियन) ब्यारेल कच्चा तेल हर्मुज जलडमरूमध्य पार गराएर पठाएको छ र ती सबै ढुवानी चीनतर्फ गइरहेका छन् । उनले मंगलबार सीएनबीसीलाई यो जानकारी दिएका हुन् । उक्त कम्पनीले उपग्रह तस्बिरको सहायताले जहाजहरूको आवागमन निगरानी गर्छ, जसका कारण ट्र्याकिङ प्रणाली बन्द गरिएका जहाजहरू पनि पहिचान गर्न सम्भव हुन्छ । तेहरानले जलमार्ग पार गर्न खोज्ने जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएपछि धेरै जहाजहरूले आफ्नो ट्र्याकिङ प्रणाली बन्द गरेका छन् । शिपिङ सूचनासम्बन्धी डाटा प्रदायक केपलरका अनुसार युद्ध सुरु भएयता करिब १ करोड २० लाख ब्यारेल कच्चा तेल हर्मुज जलडमरूमध्य हुँदै पार भइसकेको अनुमान गरिएको छ । केपलरकी कच्चा तेल विश्लेषक न्हवे खिन सोका अनुसार हालका वर्षहरूमा इरानी कच्चा तेलको मुख्य खरिदकर्ता चीन नै भएकाले तीमध्ये ठूलो हिस्सा अन्ततः चीन पुग्ने सम्भावना छ । तर अहिले जहाजहरूको अन्तिम गन्तव्य पुष्टि गर्न झन् कठिन बन्दै गएको उनले बताइन् । चीनको नेशनल इनर्जी एडमिनिस्ट्रेशनले यसबारे टिप्पणी माग्दै सीएनबीसीले गरेको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन । विश्वको करिब पाँचौं भाग तेल र ग्यास ढुवानीका लागि अत्यन्त महत्त्वपूर्ण मानिने साँघुरो जलमार्ग हर्मुज जलडमरूमध्यमा गत महिनादेखि युद्ध सुरु भएयता जहाजहरूको आवागमन निकै घटेको छ र अधिकांश ट्यांकरहरूले यो घेराबन्दीमा परेको जलमार्ग टार्न खोजिरहेका छन् । युद्ध सुरु भएको दुई साताभित्रै हर्मुज जलडमरूमध्य आसपास रहेका १० वटा जहाज तेहरानको आक्रमणमा परेका थिए, जसमा जहाजमा रहेका कम्तीमा सात जना नाविकको मृत्यु भएको अन्तर्राष्ट्रिय समुद्री संगठनले जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ताले सोमबार सीएनबीसीका ड्यान मर्फीसँगको अन्तर्वार्तामा हर्मुज जलडमरूमध्य पार गर्ने तेल ट्यांकरहरूले ‘अत्यन्त सावधानी अपनाउनुपर्ने’ बताएका थिए । मदानीका अनुसार फेब्रुअरी २८ पछि इरानबाट प्रस्थान गरेका छवटा ट्यांकरमध्ये तीनवटा इरानी झन्डा बोकेका जहाज थिए । तेल आपूर्तिमा अवरोध आउने आशंकाले मूल्य बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजका ब्रायन किल्मीडसँगको अन्तर्वार्तामा जलडमरूमध्य नजिकै रोकिएका जहाजहरूले ‘हिम्मत देखाएर’ मार्ग पार गर्नुपर्ने बताएका छन् । ‘डराउनु पर्ने केही छैन, उनीहरूसँग नौसेना छैनन्, हामीले उनीहरूका सबै जहाज डुबाइदिएका छौं,’ ट्रम्पले भने । वैकल्पिक निर्यात मार्ग ? इरानको मुख्य भूमि तटबाट करिब १५ माइल टाढा रहेको खार्ग टापु टर्मिनल लामो समयदेखि इरानको प्रमुख तेल निर्यात केन्द्र रहँदै आएको छ । ट्यांकरहरू हर्मुज जलडमरूमध्य पार गर्नुअघि यहीँबाट करिब ९० प्रतिशत कच्चा तेल निर्यात हुने गर्थ्यो । तर अहिले इरानले हर्मुज जलडमरूमध्यको दक्षिणतर्फ ओमानको खाडी किनारमा रहेको जास्क तेल तथा ग्यास टर्मिनल बाट पनि पुनः ट्यांकर लोड गर्न थालेको छ, जसले कच्चा तेल ढुवानी क्षमता केही बढाउन सक्छ । ट्यांकरट्र्याकर्सका अनुसार एक इरानी जहाजले त्यहाँ २० लाख ब्यारेल कच्चा तेल लोड गरिरहेको छ, जुन पछिल्ला पाँच वर्षमा त्यहाँ भएको पाँचौं लोडिङ मात्र हो। ‘जास्कमा बढेको गतिविधिले तेहरानले हर्मुज जलडमरूमध्यको विकल्प खोजिरहेको संकेत गरे पनि यो मार्ग कत्तिको व्यवहार्य हुन्छ भन्ने अझै स्पष्ट छैन,’ सोले भनिन्। ओमान सागर किनारमा रहेको जास्क तेल केन्द्र हर्मुज जलडमरूमध्यलाई पूर्ण रूपमा बाइपास गर्ने इरानको एकमात्र कच्चा तेल निर्यात मार्ग हो। तर यसको कार्यक्षमता कम भएकाले यो केन्द्र विरलै प्रयोग हुँदै आएको छ । लामो दूरीमा तेल ढुवानीका लागि प्रयोग हुने भेरी लार्ज क्रुड क्यारिअर (भीएलसीसी) नामक विशाल ट्यांकरलाई लोड गर्न जास्कमा १० दिनसम्म लाग्न सक्ने मदानी बताउँछन् । ‘यसको घरेलु प्रचार–प्रसार मूल्य त राम्रो छ, तर व्यावहारिक ढुवानी लाभ खासै छैन,’ उनले भने । तुलना गर्दा खार्ग टापुमा भीएलसीसी लोड गर्न सामान्यतया एक वा दुई दिन मात्र लाग्छ । चीनको तेल भण्डारण तेहरानले चीनतर्फ निर्यात जारी राखे पनि दैनिक १२ लाख २० हजार ब्यारेल बराबरको ढुवानी युद्ध सुरु हुनु अघिको स्तरभन्दा निकै कम हो । केपलरका अनुसार इरानले फेब्रुअरी महिनामा २१ लाख ६० हजार ब्यारेल प्रतिदिन तेल निर्यात गरेको थियो, जुन जुलाई २०१८ पछि सबैभन्दा उच्च स्तर हो। ती सबै ढुवानी चीनतर्फ गएका थिए, जहाँ सम्भावित ऊर्जा आपूर्ति जोखिमको सामना गर्न भण्डार बढाइँदै थियो । भन्सार तथ्यांकअनुसार यस वर्षको पहिलो दुई महिनामा चीनले तेल भण्डारण बढाउने प्रयास तीव्र बनाएको छ । कच्चा तेल आयात अघिल्लो वर्षको तुलनामा १५.८ प्रतिशतले बढेको देखिएको छ । केपलरका अनुसार फेब्रुअरी १६ को सातामा इरानी कच्चा तेल लोडिङ ३७ लाख ८० हजार ब्यारेल प्रतिदिन पुगेको थियो, जुन अघिल्लो औसत साप्ताहिक स्तर करिब १४ लाख ८० हजार ब्यारेल भन्दा दोब्बरभन्दा बढी हो । वर्षौंदेखि चीनले ठूलो मात्रामा कच्चा तेल भण्डार निर्माण गर्दै आएको छ। एटलान्टिक काउन्सिलका अनुसार जनवरीसम्म चीनसँग करिब १ अर्ब २० करोड ब्यारेल तेल भण्डार थियो, जसले ३ देखि ४ महिनासम्मको माग पूरा गर्न सक्छ । यस वर्ष भने यो भण्डारण अझै महत्त्वपूर्ण बनेको छ, किनकि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका दुई प्रमुख आपूर्ति स्रोत भेनेजुएला र इरानलाई निशाना बनाएका छन् । वर्षको सुरुमै अमेरिकी सैन्य कारबाहीमा भेनेजुएलाका नेता निकोलस मादुरो पक्राउ परेका थिए भने गत महिनाको अमेरिका–इजरायल युद्धमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई मारिएका थिए । मध्यपूर्वमा जारी युद्ध शान्त हुने स्पष्ट संकेत नदेखिएकाले हर्मुज जलडमरूमध्य वरिपरि तनाव उच्च रहँदै गएको छ र विश्व ऊर्जा बजारमा अनिश्चितता बढेको छ । सोमबार तेलको मूल्य करिब १२० डलर प्रति ब्यारेल नजिक पुगेको थियो, जुन चार वर्षयताकै उच्च स्तर हो । पर्सियन खाडीका केही तेल उत्पादक देशहरूले उत्पादन घटाउन थालेका र हर्मुज जलडमरूमध्यबाट हुने यातायात लगभग ठप्प भएकाले मूल्य उकालो लागेको हो । सम्भावित तेल संकट नियन्त्रण गर्न विश्वका नेताहरू सक्रिय भएका छन्। अमेरिका सहित जी ७ देशहरूले इतिहासकै सबैभन्दा ठूलो रणनीतिक तेल भण्डार रिलीज गर्ने विकल्पबारे विचार गरिरहेका छन् भने ट्रम्पले युद्ध चाँडै अन्त्य हुन सक्ने संकेत दिएका छन् । त्यसपछि तेलको मूल्य केही घटेको छ । मंगलबार राति अमेरिकी डब्ल्यूटीआई कच्चा तेल (अप्रिल डेलिभरी) करिब ८४.९ डलर प्रति ब्यारेलमा कारोबार भइरहेको थियो भने ब्रेन्ट कच्चा तेल (मे डेलिभरी) ८८.९ डलर प्रति ब्यारेल आसपास पुगेको थियो । (सीएनबीसीबाट अनुदित तथा सम्पादित) अन्य सामग्रीहरू : मध्यपूर्व द्वन्द्व : एसियामा इन्धन संकट, चारदिने कार्यसप्ताह र विद्यालय बन्द इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ? मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम इरान : शून्यमा सत्ता, संकटमा शासन खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली