क्वेस्टको आम्दानी २.९० अर्ब, डेढ सय करोडमा नयाँ कारखाना बन्दै

काठमाडौं । क्वेस्ट फार्मास्युटिकल्स प्रालिले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा १ अर्ब ३७ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । 

कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ९० करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा १.७१ प्रतिशत अर्थात् ४ करोड ९० लाख रुपैयाँले बढी हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २ अर्ब ८५ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । 

त्यसैगरी, कम्पनीले आव २०७९/८० मा २ अर्ब ५४ करोड ३० लाख रुपैयाँ, आव २०७८/७९ मा २ अर्ब ३२ करोड ३० लाख रुपैयाँ, आव २०७७/७८ मा १ अर्ब ९५ करोड रुपैयाँ, आव २०७६/७७ मा १ अर्ब ८० करोड १४ लाख रुपैयाँ, आव २०७५/७६ मा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ, आव २०७४/७५ मा १ अर्ब ३० करोड ४१ लाख रुपैयाँ, आव २०७३/७४ मा १ अर्ब १९ करोड ४५ लाख रुपैयाँ र आव २०७२/७३ मा ९४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । 

सन् १९९९ मा स्थापना भएको क्वेस्ट फार्मास्युटिकल्स औषधि उत्पादन गर्ने कम्पनी हो । कम्पनीले रिभर्स इन्जिनियरिङ प्रविधिको प्रयोग गर्दै विभिन्न औषधिहरू उत्पादन गर्दै आएको छ । सन् २००१ मा कम्पनीले आफ्नो पहिलो औषधि ‘एमलोड-एमलोडिपिन बेसिलेट’ हृदयसम्बन्धी रोग उपचारका लागि बजारमा ल्याएको थियो । त्यसयता कम्पनीले हृदयरोग, मधुमेह, छाला रोग तथा कोलेस्ट्रोल नियन्त्रणसम्बन्धी औषधि उत्पादन गर्दै आएको छ ।

हाल कम्पनीले २५ भन्दा बढी औषधि समूहअन्तर्गत १०० भन्दा बढी प्रकारका औषधि उत्पादन गरिरहेको छ । विशेषगरी मधुमेह र हृदयरोग उपचारसम्बन्धी औषधि उत्पादनमा कम्पनी देशका प्रमुख स्वदेशी उत्पादकमध्ये एक मानिन्छ ।

सन् २०२६ जनवरी मध्यसम्मको विवरणअनुसार कम्पनीको सेयर १५ जना व्यक्तिबीच बाँडिएको छ । जसमध्ये उमेश लाल श्रेष्ठ, पृथ्वी राज भण्डारी, उत्तम कुमार श्रेष्ठ र शैलेन्द्र प्रसाद वर्माको ४५ प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी सेयर कम्पनीका निर्देशकहरूको परिवार तथा व्यावसायिक साझेदारहरूको स्वामित्वमा रहेको छ ।

क्वेस्टले प्रत्यक्ष रूपमा करिब ७ सय जनालाई रोजगारी दिइरहेको छ । कम्पनीसँग दुई सुपर डिस्ट्रीब्युटरमार्फत सञ्चालित सुदृढ वितरण सञ्जाल रहेको छ, जसले देशभर औषधिको सहज आपूर्ति सुनिश्चित गरेको छ । दीर्घकालीन रोगसम्बन्धी औषधि कम्पनीको प्रमुख आम्दानी स्रोत रहँदै आएको छ । कम्पनीका अनुसार पछिल्ला ४-५ वर्षमा यस्ता औषधिबाट कुल आम्दानीको औसत ५५ प्रतिशत हिस्सा प्राप्त भएको छ । 

कम्पनीले भक्तपुरको खारीपाटीमा डेढ सय करोड लगानीमा अनुसन्धान तथा विकास केन्द्र निर्माण गरिरहेको छ । कम्पनीका अनुसार यो विस्तार योजना नवप्रवर्तन तथा उत्पादन विविधीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको हो । जसबाट अरू नयाँ औषधीहरू पनि बजारमा ल्याउने योजना छ ।

कम्पनीका अनुसार नेपालको औषधि बजार पछिल्ला वर्षहरूमा वार्षिक १० देखि १५ प्रतिशतको दरले विस्तार भइरहेको छ । यद्यपि, स्वदेशी औषधि उद्योग अत्यन्त प्रतिस्पर्धात्मक रहेको छ । हाल नेपालमा ५० भन्दा बढी औषधि उत्पादक कम्पनी सञ्चालनमा छन् । उद्योगमा क्षमता विस्तार भइरहेका कारण आगामी दिनमा प्रतिस्पर्धा थप तीव्र हुने तथा मूल्य र नाफा मार्जिनमा दबाब पर्न सक्ने कम्पनीको भनाइ छ ।

त्यसैगरी, औषधि आयातमा कम अवरोध भएकाले विशेषगरी ठूलो उत्पादन क्षमता भएका भारतीय कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न स्वदेशी उत्पादकहरूलाई चुनौती रहेको कम्पनीले जनाएको छ । कम्पनी आफ्ना अधिकांश कच्चा पदार्थ, सक्रिय औषधीय तत्व तथा प्याकेजिङ सामग्रीका लागि आयातमै निर्भर छ। यसले आपूर्ति शृङ्खला अवरुद्ध हुने जोखिम बढाएको कम्पनीको भनाइ छ ।

यस्तै, सन् २०२६ नोभेम्बरदेखि नेपाल ‘अल्पविकसित मुलुक’को सूचीबाट स्तरोन्नति हुने सम्भावनासँगै हाल प्राप्त केही नियामकीय सुविधाहरू घट्न सक्ने जोखिम पनि देखिएको छ । यद्यपि, उक्त स्तरोन्नतिको समयसीमा थप लम्बिन सक्ने सम्भावना रहे पनि दीर्घकालीन रूपमा कम्पनीहरूले आफ्नो सञ्चालन क्षमता थप सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल १ अर्ब ५३ करोड २० लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये ८० करोड २० लाख रुपैयाँ दीर्घकालीन र ७३ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । यसअघि कम्पनीको कुल ऋण १ अर्ब ५७ करोड ९० लाख रुपैयाँ रहेको थियो । 

Share News