औषधि उद्योगमा नवीनता खोज्दै उद्योगी
काठमाडौं । नेपाल फर्मा एक्स्पो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन)को मुख्य आयोजनामा सुरु भएको एक्स्पोमा पहिलो दिन धेरै मान्छेको भिड थियो । फर्मामा नवीनता: भोलिको स्वास्थ्यका लागि भन्ने नाराका साथ सुरु भएको एक्स्पोमा नेपाली तथा विदेशी औषधि उद्योगका स्टल रहेका छन् । नेपाली औषधि उद्योगले कस्तो प्रविधि प्रयोग गरि औषधि उत्पादन गरिरहेको छ र विश्व बजारमा कस्ता नयाँ प्रविधि आएको छ भन्नेबारे जानकारी गराउने र लिने काम एक्स्पोमा भइरहेको छ । एक्स्पोमा ९० प्रतिशत सहभागिता विदेशी तथा बहु राष्ट्रिय कम्पनीहरूको रहेको छ भने १० प्रतिशत स्वदेशी स्टल छन् । जहाँ विश्व बजारमा आएका नवीनतम् कच्चा पदार्थ प्याकेजिङ सामग्री र अत्याधुनिक मेसिनरी प्रदर्शनी गरिरहेका छन् । हामीले एक्स्पोमा सहभागी भएका कम्पनीसँग कुराकानी गरेर यो सामग्री तयार गरेका छौं । म्याग्नस फर्मा नेपाल फर्मास्युटिकल कम्पनी म्याग्नस फर्माले आफूले उत्पादन गरेका औषधि नेपाल फर्मा एक्स्पोमा २०२६ मा प्रदर्शनी गरिरहेको छ । बिहीबार पहिलो दिन म्याग्नस फर्माले प्रदर्शनमा सहभागी विज्ञ र सर्वसाधारणलाई कम्पनीले उत्पादन गरेका औषधिका विषयमा जानकारी गराउने काम गर्यो । म्याग्नसका प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्के नेपालका औषधि उद्योगहरूले नेपालको औषधि क्षेत्रलाई प्रयोग गरेर धेरै रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई पनि टेवा गर्न सक्नुपर्ने बताउँछन् । उनी अहिले धेरै खाली ठाउँ रहेको भन्दै अब सबै सरोकारवालाले खुला दिमाग प्रयोग गरी लाग्ने हो भने नेपाललाई औषधिमा निर्भर बनाउनुका साथै रोजगारीका अवसर सिर्जना गर्न सकिने सुनाउँछन् । सुधीर प्रकाश मास्के नेपालमा औषधि उद्योगले प्रविधि र औषधिका क्षेत्रमा दक्ष व्यक्तिलाई रोजगारी दिइरहेको दाबी गर्दै दक्ष जनशक्तिलाई नेपालमै रोक्न सफल भएको बताए । उनी यसका लागि बजारलाई बिस्तार गर्ने नीति भए अझै काम गर्न सहज हुने बताउँछन् । ‘व्यवसायीको लागि मात्र होइन, देशको अर्थतन्त्रको लागि माथि उठाउनुपर्ने गरी हामी लाग्नुपर्छ,’ उनले भने । म्याग्नस फर्मा दुई सय बढी प्रकारका औषधि उत्पादन गरिरहेको छ । यसले उत्पादन गरेको औषधि नेपाली बजारमा मात्र नभइ भनेजुयला, एकदुई अफ्रिकी देशमा निर्यात सुरु गरेको र यसका लागि आवश्यक पूर्वाधार पनि तयार गरिरहेको छ । उनी नेपालमा राम्रो औषधि बनाएर विदेशी बजारमा पनि नेपाली औषधि पुर्याउने उद्देश्य यो कम्पनीले राखेको बताउँछन् । यो औषधि उद्योगले हाल प्रत्यक्ष रुपमा चार सय जनालाई रोजगार दिइरहेको छ भने अप्रत्यक्ष रूपमा दुई सय बढीलाई रोजगारी दिएको छ । यो फर्माले गत आर्थिक वर्ष १ सय २५ करोड कारोबार गरेको जानकारी दिएको छ । नेशनल हेल्थ केयर नेपाली औषधि क्षेत्रमा राम्रो काम गर्दै आएको अर्को औषधि फर्मा हो नेशनल हेल्थ केयर । नेशनल हेल्थ केयरका मार्केटिङ तथा उपाध्यक्ष अजय पाण्डे यो एक्स्पो नेपाली औषधि उद्योगका लागि एउटा ठूलो उत्सव जस्तै रहेको बताउँछन् । उनी नेपाल भित्रका औषधि र बाहिरका कम्पनीले प्रयोग गरिरहेको प्रविधिका विषयमा हेर्ने, बुझ्ने अवसर भएकाले ठूलो उत्सव जस्तै भएको बताउँछन् । पाण्डेका अनुसार नेशनल हेल्थ केयरले हाल बजारमा इन्जेक्सन बाहेक ३ सय २५ प्रकारका औषधिहरू उत्पादन गरेर बजारीकरण गरिरहेको छ । यसले उत्पादन गरेका औषधि विभिन्न चार देशमा निर्यात गरिरहेको छ । नेशनल हेल्थ केयरले एक हजार जनालाई फ्याक्ट्रीमा रोजगार दिएको छ भने करिब चार सय जना मार्केट र सेल्समा काम गरिरहेका छन् । अप्रत्यक्ष रूपमा अझ बढी रोजगारी पाएका छन् । कम्पनीको साढे ३ अर्ब कारोबार रहेको उनले बताए । अजय पाण्डे उनी भन्छन्, ‘यो भनेको एक अर्कालाई हेर्दै राम्रो गर्ने ठाउँ हो, यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी सहभागी भएकाले सिक्ने र अगाडि बढ्ने मौकाको रूपमा पनि यसलाई लिएका छौं ।’ एशियन फर्मास्युटिकल्स एशियन फर्मास्युटिकल्सका कार्यकारी निर्देशक शंकर घिमिरे एक्स्पो नेपाली औषधि उद्योगीहरूका लागि एक किसिमको सिकाइ जस्तै रहेको बताउँछन् । उनी यो सँगै आफूले बनाउँदै आएको औषधि यसरी बन्छ भनेर जनमानसलाई देखाउने र बुझाउन पाउने अवसर रहेको बताए । ‘नागरिकले अस्पताल जाने चिकित्सकले लेखिदिएको औषधि किन्ने र खाने काम मात्र गरिरहेका छन्, यो एक्स्पोमा उहाँहरूले औषधि कसरी बन्छन्, कसरी प्याकिङ गरिन्छ र यसको उपयोग कसरी गर्ने भन्ने समेत थाहा पाउँछन् हामीले आम नागरिकलाई यो बारेमा सिकाइरहेका छौं,’ उनले भने । व्यापार भनेको प्रतिस्पर्धा हो । कुन व्यवसायीले कस्तो प्रविधि ल्याएर राखिरहेको हुन्छन्, थाहा हुँदैन, यो एक्स्पोबाट त्यस्ता कुरा जान्ने मौका पनि हो । तर, पढ्दै गरेका फर्मासिस्ट, आम नागरिकका लागि पनि सिकाइ हो । घिमिरे औषधिमा केही समस्या आउने बित्तिकै नक्कली औषधि भन्ने शीर्षकमा समाचार मात्र आउने गरेका बताउँदै अन्य देशमा यसरी सामान्य गल्ती हुँदा यस्तो चर्चा हुने नगरेको बताउँछन् । शंकर घिमिरे एशियनले २ सय बढी औषधिहरू उत्पादन गरिरहेको छ । उनले उत्पादन गरेको औषधि विदेशमा निर्यात गर्न नसकेको बताए । उनी विदेशमा औषधि निर्यातको लागि सरकारको ल्याब नै स्ट्यान्डरको हुनुपर्ने बताए । उनी भन्छन्, ‘अहिले हिजो अस्तिदेखि कुरा उठिरहेको छ, हामी कहाँ सरकारी ल्याब नै स्ट्याण्डरको छैन, यसै कारण हाम्रो देशको पानी समेत खान डराउनेले हामीले उत्पादन गरेको औषधि कसरी खान्छ ? जबसम्म सरकारले हाम्रो गुणस्तर राम्रो छ भन्ने विश्वास दिलाउन सक्दैन तबसम्म हाम्रो औषधि निर्यातमा यस्तै हुन्छ ।’ उनी यो कुरामा स्वास्थ्य मन्त्रीले नै स्वीकार गरिसकेकाले अब बन्ने सरकारले यस्ता समस्या समाधान गर्ने आशा व्यक्त गरे । हामी आफैले खाइरहेका औषधि गुणस्तरको भएपनि हाम्रा सरकारी ल्याबका कारण बाहिरका देशले खान डराइरहेको उनको भनाइ छ । विदेशले औषधि आयात गर्दा सरकारको ल्याब स्ट्याडर हेर्ने भएकाले यो समस्या भएको बताए । एसियनले पाँच सय जनालाई रोजगार दिइरहेको बताए । यो कम्पनीले नयाँ–नयाँ मोल्युकलमा अध्ययन गरिरहेको बताए । यो कम्पनीले गत वर्ष ४ अर्बको आम्दानी गरेको बताए । टाइम फर्मास्युटिकल्स टाइम फर्मास्युटिकल्सका कार्यकारी अध्यक्ष डा. नारायण बहादुर क्षेत्रीले औषधि उत्पादन क्षेत्रमा प्रविधि निकै अगाडि गइसकेकाले आफूहरूका लागि सिकाइको अवसर भएको बताए । ‘औषधि भनेको सामान्य कुरा होइन, व्यक्तिको जीवन जोगाउने चिज हो, हामीले उत्पादन गर्ने एउटा गोलीले ज्यान बचाउने भएकाले संवेदनशील भएर उत्पादन गर्नुपर्ने हुन्छ । औषधि उत्पादन गर्दा कम्पनीले कस्ता प्रविधि प्रयोग गर्छ र कस्ता सामाग्री उपकरण प्रयोगमा ल्याउँछ भन्नेबारे आम मान्छेलाई बुझाउने अवसर छ,’ उनले भने । टाइमले नेपालमा आवश्यक पर्ने भ्याक्सिन बाहेक करिब तीन सय प्रकारका औषधि उत्पादन गर्दै आएको छ । टाइमले ३ सय ५० बढीलाई प्रत्यक्ष रूपमा रोजगारी दिएको छ । यस कम्पनीले वार्षिक कारोबार एक अर्ब बढीको कारोबार गर्दै आएको छ । कम्पनीले दुई देशमा औषधि निर्यात गरिरहेको छ । डा. नारायण बहादुर क्षेत्री उनी स्थानीय उद्योगलाई संरक्षण नहुँदा काम गर्न समस्या भएको बताए । उनी भन्छन्, ‘हामीले उत्पादन गरिरहेका औषधि आयातमा मात्र प्रतिबन्ध गरिदिएको भए हामीलाई धेरै राहत हुन्थ्यो, तर तिनै औषधि विदेशबाट आइरहेका छन्, जसले गर्दा गाह्रो भयो ।’ उनी अब नयाँ बन्ने सरकारले यस्ता विषयमा काम गर्ने आशा व्यक्त गर्छन् । नेपाल फर्मास्युटिकल्स नेपाल फर्मास्युटिकल्सका बजार निर्देशक महेश गोर्खाली औषधि क्षेत्रमा भएको विकास बारे जानकारी पाउने अवसर रहेको बताए । कम्पनीले ४० वर्षदेखि औषधि उद्योगमा काम गर्दै आएको छ । यस बीचमा यो कम्पनीले पनि धेरै औषधि उत्पादन गर्यो । सुरुवातमा ट्याबलेट, क्याप्सुल मात्र उत्पादन गरेको कम्पनीले अहिले ३०० प्रकारका औषधि उत्पादन गरिरहेको छ । उनी यो एक्स्पोबाट आफूले उत्पादन गरेका औषधि प्रदर्शन गर्ने अवसर एक्स्पोले दिएको बताए । महेश गोर्खाली समयकाल परिवर्तनअनुसार अन्तर्राष्ट्रिय जगतमा औषधिको क्षेत्रमा तीव्र विकास भइरहेको छ, त्यही अनुसार नेपाली औषधिले पनि आफूलाई समय सापेक्षअनुसार आफूलाई ढाल्न सकेको छ कि छैन भन्नेबारे पनि एक्स्पोबाट जान्ने अवसर हुन्छ । उनी यो एक्स्पोबाट नागरिकले धेरै चासोका साथ लिइरहेको बताए । नेपालकै पहिलो कम्पनीका रुपमा उत्पादन गरेका औषधि भारत निर्यात गरेको थियो । तर विभिन्न नीति नियमले निर्यात रोक्नुपरेको बताए । उनले अब फेरि निर्यातका लागि कम्पनीले योजना बनाइरहेको बताए । नियमनकारी निकाय औषधि व्यवस्था विभागले गर्ने ढिला सुस्तीले उद्योगीलाई काम गर्न थप चुनौती रहेको सुनाए । उनी अबको सरकारले यस्ता झण्झटिला विषयमा हेर्नुपर्ने बताउँछन् । यो कम्पनीले ७ सय बढी व्यक्तिलाई रोजगारी दिएको छ भने वार्षिक तीन अर्बको कारोबार गरिरहेको छ । विप्लव अधिकारी औषधि उत्पादक संघ अध्यक्ष विप्लव अधिकारीले एक्स्पोको पहिलो दिन धेरै व्यक्तिले भिजिट गरेको बताए । औषधि क्षेत्रका औषधि सम्बन्धित व्यक्ति तथा सर्वसाधारण नागरिकले एक्स्पोको अवलोकन गरेको बताए । यो एक्स्पो व्यावसायिक रुपमा आयोजना नगरि औषधिका विषयमा बुझाउनको लागि आयोजना गरेकाले औषधिको संवेदनशीलतालाई जानकारी दिन आयोजना गरेको बताए । औषधि उत्पादन गर्न कति सहज छ, यसका लागि कस्ता कच्चा पदार्थ आवश्यक पर्छ र यसका लागि कस्ता प्रविधि आवश्यक पर्छन् भन्ने विषमा एक्स्पोमा सहभागीहरू जान्ने बुझ्ने अवसर पाइरहेका छन् ।
अमेरिकाबाट अध्यक्षको राजीनामा, पार्टी र सञ्चालकमाथि संघीन आरोप
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेडकी अध्यक्ष ओमदेवी मल्लले पदबाट राजीनामा दिएकी छन् । उनले महासंघको ३४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएको जानकारी दिएकी हुन्। उनले आफू अस्वस्थ रहेको र विगत ६ महिनादेखि अमेरिकामा रहेको उल्लेख गर्दै यो बीचमा नेपाल फर्किने सोच भए पनि स्वास्थ्य र सञ्चालक समितिले पनि साथ नदिएपछि राजीनामा दिन बाध्य भएको उनको भनाइ छ । मल्लले महासंघकै सञ्चालकहरूले काम गर्न साथ नदिएको, हरेक निर्णयहरू पार्टीकै हितमा गर्नुपर्ने र स्वतन्त्र ढंगले काम गर्ने वातावरण नबनेपछि राजीनामा दिएको उल्लेख गरेकी छन् । राजीनामामा पत्रमा उनले भनेकी छन् ‘अध्यक्ष भएदेखि नै मलाई आन्तरिक तथा बाह्य रूपमा सहयोग प्राप्त भएन । राजनीतिक रुपमा एकलौटी सञ्चालक समितिको चयन भएपनि महासंघका हरेक बैठक पूर्व अनिवार्य रूपमा पार्टीको विभागीय प्रमुखसँग सल्लाह लिनु पर्ने, निर्णयहरू पार्टी हित अनुकूल हुनुपर्ने जस्ता दबाबको कारण मैले स्वस्फूर्त रूपमा योजनाअनुसार काम गर्न सकिनँ । महाप्रबन्धक नियुक्तिदेखि अन्य कार्यालयका महत्त्वपूर्ण काममा पनि अध्यक्षलाई स्वतन्त्र हिसावले काम गर्ने वातावरण बनेन । पार्टीको सहकारी विभागबाट भएको हस्तक्षेपले मानसिक रुपमा पनि निकै तनावमा भएँ । महासंघभित्र सबै राजनीतिक आस्था भएका सहकारीकर्मीहरुलाई मिलाएर लैजानुपर्छ भन्ने उद्देश्य राखेर अथक प्रयास गरें । तर, एउटै पार्टीका साथीहरू रहेको बोर्डमा रहे पनि असहयोगको अवस्था पनि भयो । आफ्नै साथीहरूको अपमान र हस्तक्षेपले गर्दा मानसिक रुपमा म कमजोर भएको थिएँ ।’ यस्तो छ उनको राजीनामा पत्र उपरोक्त विषयमा नेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघ लि. नेपालको ३१ औं वार्षिक साधारणसभावाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएको २ वर्ष काम गर्दै गरेको समयमा अचानक बिरामी भएर स्वास्थ्य उपचार र पारिवारीक भेटघाटका लागि विगत ६ महिनादेखि म संयुक्त राज्य अमेरिकामा छु । गत पुसमा सम्पन्न ३३ औं वार्षिक साधारणसभा भन्दा अगावै स्वदेश फर्कने योजनाका साथ आएको थिए तर स्वास्थ्यमा थप सुधार नभएका कारण साधारणसभामा उपस्थित हुन नसकेर शुभकामना सन्देश पठाएको कुरा साथीहरुलाई अवगत नै छ । अध्यक्षका रुपमा मेरो भूमिकाको सहकारी अभियानले मूल्यांकन गर्ने नै छ । कार्यकालको छोटो अवधिमा पनि मेरो अगुवाईमा हाम्रो टिमले केही सकारात्मक प्रयासको थालनी गरेका हौ भने मलाई लाग्दछ । मन्त्रालयमा रोकिएको बजेटलाई निरन्तरता दिने, सरकारसँग मिलेर सातै प्रदेशमा गोष्ठी गर्ने, सहकारी राष्ट्रिय गित निकाल्ने, अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मनाउने, सरकारसंग सहकारी नीति सम्बन्धी सम्बाद, कोअपरेटिभ डिजिटल कन्क्लेभ, सहकारी रोजगार मेलालगायतका धेरै कामहरु भएका थिए । ती काम प्रयाप्त थिए म भन्दिनँ, तर कामको शुरुवात भएकै थियो । मेरो कार्यकालको छोटो अवधीमा भोगेका आरोह अवरोह सबै सहकारीकर्मीलाई जानकारी होस् र महासंघमा सुधारका लागि पनि कोशेढुंगा बनोस् भनेर केही अनुभवहरु यहाँहरु समक्ष साझा गर्न चाहान्छु । अध्यक्ष भएदेखि नै मलाई आन्तरिक तथा बाह्य रुपमा पूर्ण सहयोग प्राप्त भएन । राजनीतिक रुपमा एकलौटी सञ्चालक समितिको चयन भएपनि महासंघका हरेक वैठक पूर्व अनिवार्य रुपमा पार्टीको विभागिय प्रमुखसँग सल्लाह लिनु पर्ने, निर्णयहरु पार्टी हित अनुकुल हुनुपर्ने जस्ता दवावको कारण मैले स्वस्फूर्त रुपमा योजना अनुसार काम गर्न सकिन । महाप्रवन्धक नियुक्ती देखि अन्य कार्यालयका महत्वपूर्ण काममा पनि अध्यक्षलाई स्वतन्त्र हिसावले काम गर्ने वातावरण बनेन् । यद्यपी टिमका केही साथीहरुको साथ सहयोग र कर्मचारीहरुको सकारात्मक कार्यशैलीका कारण केही महत्वपूर्ण कामहरु पनि भएका छन् । पार्टीको सहकारी विभागबाट भएको हस्तक्षेपले मानसिक रुपमा पनि निकै तनावमा भएँ । महासंघभित्र सबै राजनीतिक आस्था भएका सहकारीकर्मीहरुलाई मिलाएर लैजानुपर्छ भन्ने उद्देश्य राखेर अथक प्रयास गरें तर एउटै पार्टीका साथीहरु रहेको बोर्डमा रहेपनि असहयोगको अवस्था पनि भयो । आफ्नै साथीहरुको अपमान र हस्तक्षेपले गर्दा मानसिक रुपमा म कमजोर भएको थिएँ । गत भदौमा परिवार अमेरिका जाने भनेपछि केही समयका लागि परिवारसँगै विदेशमा रहदा उपचारसँगै तनाव पनि कम हुन्छ भन्ने परिवारको सल्लाह अनुसार अमेरिका आएको हुँ। यहाँ आएपछि केही परिवर्तन हुन्छ कि ? भन्ने लागेको थियो तर पार्टी नेतृत्वको दवावले नै होला महासंघका साथीहरुले पटक पटक राजिनामा पठाउन दवाव दिनुभयो । राजिनामा नदिए, अविश्वासको प्रस्ताव साधारणसभामा लगेर हटाउने धम्की पनि साथीहरुले दिनुभयो । मैले साधारणसभामा शुभकामना सन्देश पठाए । त्यसपछि पनि धेरै दवाव दिएको कारण म राजिनामा दिने निष्कर्षमा पुगे । काम गर्ने चाहना भएरै दुइ दशक भन्दा बढी समय सहकारी अभियानमा लागे, त्यो पनि महासंघको सञ्चालक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुदै अध्यक्ष भएकी थिए, तल हुँदा सबैलाई साथ दिएकी थिए, सहयोग गरेकी थिए, तर म अध्यक्ष भएपछि मैले सहयोग गरेकाहरुबाट साथ पाइन, उल्टो असहयोग हुने अवस्था सिर्जना भयो । राजनीति कति निष्ठुर हुँदो रैछ भन्ने पनि म सहकारी महासंघको अध्यक्ष भएपछि थाहा पाएँ । स्वार्थ मिलेन भने नेताहरु कति कुर हुदा रहेछन त्यो पनि बुझ्न पाए । थाहा छैन, महिलाले काम गर्न सक्दैनन् भन्ने लाग्यो कि ? पार्टीमा मैले गुट गर्न सकिन कि ? उहाँहरुको नजरमा गुट मिलेन कि ? वा पार्टीको सहकारी विभाग र विभागका साथीहरुको कही कतै चित्त दुखाए कि ? म आफैलाई के भयो भन्ने जानकारी छैन, कहाँनिर म चुके भन्ने पनि पत्तो छैन, छ त केबल सहकारीमा कुनै योगदान नभएका मान्छेको आदेश, निर्देशन अनि अनाहकको तनाव। यो सबै कुरालाई मनन गरी आज सारै विक्षिप्त भएर राष्ट्रिय सहकारी महासंघ लि. नेपालको अध्यक्ष पदबाट राजिनामा पठाएकी छु । मैले वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक दिएको ६ महिना पुग्दैछ, त्यो भन्दा पहिला पठाएको यो राजिनामा प्रक्रियागत रुपमा स्वीकृत गरी नयाँ नेतृत्व चयन गर्न सहज होस् भन्ने अनुरोध राष्ट्रिय सहकारी महासंघ लि. नेपाल, यसका सम्पूर्ण शेयर सदस्य संघ संस्थाहरुका प्रतिनिधिहरु, सम्पूर्ण सहकारीकर्मी साथीहरु, नियमनकारी निकाय लगायत सबैमा अनुरोध गर्न चाहन्छु । सहकारीमा पछिल्लो समयमा समस्या आए, समस्या नभएको कुनै क्षेत्र छैन, समस्या हुनु, समस्या आउने विषय जहाँ, जहिले र जतिबेला पनि हुन्छ, सहकारीमा आएका समस्या समाधानका लागि हामी सबैको पहलकदमी पुगेन भन्ने महसुस भएको छ, हामीले मात्रै गरेर नहुने अवस्था देखिएपछि पार्टीहरु, सरकार र अन्य सरोकारवालाहरुलाई अनुरोध गर्न लागियो । तर समस्यालाई गुट हेरेर, अरु व्यक्तिको दवाव र प्रभावमा परेर जव कसैलाई सकाउन लागिन्छ भने त्यसले सहकारी अभियानलाई हित गर्दैन, हिजो सहकारी अभियानमा योगदान गर्ने थुप्रै साथीहरु आज समस्यामा हुनुहुन्छ, कतिपयमा संस्थागत समस्या होला, कतिपयमा व्यक्तिगत समस्या होला, कतिपयको नियत नै खराव होला, समस्या हुनुको कारण पहिचान गरेर समाधानमा लाग्नु पर्नेमा सबैलाई एउटै डालोमा राखेर, एउटै कित्तामा कित्ताकाट गराएर समस्या बढाइदिने खालका गतिविधि सहकारीका नाममा राजनीति गर्नेहरुबाट भएका छन्, चुनावमा सहयोग नगरेको नाममा, सल्लाहकार चयन नगरेको नाममा हुने यस्ता खाले गलत प्रवृति रोक्न सकेमा मात्रै सहकारी अभियान थप प्रभावकारी बन्नेछ । आगामी दिनमा यस्ता हस्तक्षेपकारी काम नहुन्, नेपालको सहकारी अभियानलाई सबै मिलेर, सबैको सहभागितामा, सबैको सक्रियतामा थप व्यवस्थित गराउन सकियोस्, त्यसका लागि म वाधक हो कि ? भन्ने केही साथीहरुलाइ परेको छ, मेरा कारणले मात्र समस्या आएको हो भने पनि म त्यसका लागि सजाय भोग्न तयार छु, तर म वाधक होइन, बन्दिन भन्ने प्रतिवद्धताका साथ राजिनामा गरेकी छु । ३३ औ साधारणसभाबाट संशोधनसहित पारित विनियम यथासिघ्घ्र सम्बन्धित सहकारी विभाग र निकायबाट स्वीकृत गराई सोही संशोधित पारित विनियम अनुसार आगामी कार्यकालकोलागि राष्ट्रिय सहकारी महासंघको संचालक समितिको निर्वाचन गराई, नयाँ नेतृत्व चयनतर्फ सम्पूर्ण सभाका सदस्यहरु लाग्नुहुनेछ भन्ने विश्वासका साथ निर्वाचित अध्यक्ष पदबाट राजीनामा गर्दछु । आगामी निर्वाचनको प्रकृयाबाट आउने नयाँ संचालक समितिलाई अग्रीम बधाई तथा शुभकामना समेत व्यक्त गर्दछु । हिजोका दिनमा काम गर्ने क्रममा म बाट जानेर वा नजानेर सहकारी अभियानको विरुद्धमा कही कतै गलत भएको रहेछ, मेरा कारण कसैको मन दुखेको रहेछ, कही कतै अप्ठेरो परेको रहेछ भने त्यसका लागि म क्षमा प्रार्थी छु । यो पनि थाहा छ, मलाई माया गर्ने, सहकारी क्षेत्रलाई माया गर्ने, सहकारीको प्रवद्र्धनमा योगदान गरेका साथीहरुलाई मेरो यो निर्णयले अवश्य दुखीः बनाएको होला, तर, पनि म वाध्य छु, सबै भन्दा ठुलो स्वास्थ्य रहेछ, तनावले स्वास्थ्यलाई निकै सताउदो रहेछ, पहिला पहिला अन्यत्र तनाव हुँदा बिसाउने चौतारी सहकारी थियो, तर आज मलाई यही सहकारी क्षेत्रबाट यति ठुलो तनाव हुन्छ, जसलाई साथ सहयोग गरे तिनीहरुले नै तनाव दिन्छन्, मेरो स्वास्थ्यमा समस्या नै आउछ भन्ने लागेको मात्रै भए, सायद अर्कै सोचिन्थ्यो होला । सहकारी क्षेत्रमा काम गर्दा मेरो तनाव थिएन, तल बसेर काम गर्दा नभएको तनाव अध्यक्ष भएपछि कताबाट आयो, कुन हुण्डरीले ल्यायो थाहा भएन, दिनै पिच्छे कसैको दवाव झेलेर नेतृत्वमा बसिरहन पर्छ भन्ने पनि छैन भन्ने सोचका साथ महासंघको औपचारिक जिम्मेवारीबाट बिदा भएको छु, यसबाट सहकारी क्षेत्र र आम साथीहरुमा पर्न जाने असुविधाप्रति क्षमा प्रार्थी छु । ओमदेवी मल्ल अध्यक्ष राष्ट्रिय सहकारी महासंघ लिमिटेड
सरकारले अब आधा ग्यास भएको सिलिन्डर बिक्री गर्ने, मूल्य ९ सय ५५ रुपैयाँ
काठमाडौं । इरान, इजरायल र अमेरिका युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा असहजता देखिएपछि नेपालमा खाना पकाउने ग्यास (एलपीजी) को संकट टार्न सरकारले नयाँ विकल्प अघि सारेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अब बजारमा आधा सिलिन्डरकाे ग्यास मात्र बिक्री गर्ने योजना बनाएको छ । उद्योग मन्त्रालयका प्रवक्ता नेत्र भुसालअनुसार ग्यासको मौज्दात कम हुँदै गएको र भारतीय बजारबाट समेत आपूर्ति घटेर आएकाले सबै उपभोक्तालाई समान रूपमा ग्यास उपलब्ध गराउन यस्तो रणनीति अपनाउन लागिएको हो । प्रवक्ता भुसालका अनुसार सिलिन्डरमा पुरै ग्यास भर्दा थोरै संख्याले मात्र पाउने तर आधा (७.१ केजी) मात्र भर्दा धेरैभन्दा धेरै उपभोक्ताको भान्सा रित्तो नहुने देखिएको छ । उनले भने, ‘तत्कालको संकट टार्न र वितरणलाई सहज बनाउन यो उत्तम विकल्प रोजेको हो । ’ बिहीबार नेपाल आयल निगमले सञ्चालक बैठकाबाटै निर्णय गरेर (भोलि) शुक्रबारदेखि आधा सिलिन्डर भरेर बजारमा पठाउने बताइसकेको छ भने हाल देशभर करिब १ करोड ५० लाख ग्यास सिलिन्डर प्रयोगमा छन् । अहिले १४.२ केजीको सिलिन्डर बिक्री हुँदै आएकोमा नयाँ निर्णय भए ७.१ केजी ग्यास मात्रै भरेर वितरण गरिनेछ । यस्तो अवस्थामा उपभोक्ताले पनि साविकको मूल्यको आधा मात्रै रकम तिर्नुपर्नेछ । उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर स्टक गरेकाले बजारमा अभाव देखिएको निगमको भनाइ छ । निगमका अनुसार ग्यास अन्य वस्तुजस्तो लामो समय थुपारेर राख्न नमिल्ने भएकाले आधा सिलिन्डर वितरण गर्दा धेरै उपभोक्तासम्म ग्यास पुग्ने र अभाव कम हुने निष्कर्ष निकालेको छ । ग्यासको आपूर्तिमा समस्या देखिएपछि निगमले यस्तो निर्णय लिएको हो । अब उपभोक्ताले एउटा सिलिन्डर ग्यासको लागि ९ सय ५५ रुपैयाँ तिर्नुपर्ने छ । निगमले जारी गरेको सूचनामा भनिएको छ, ‘हालको परिस्थितिलाई ध्यान दिँदै ग्यास आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउन ७.१ केजी एलपी ग्यास भरी ९ सय ५५ रुपैयाँमा बिक्री गर्ने निर्णय भएको छ ।’ विगत २ देखि ३ महिनायता काठमाडौं उपत्यकामा ग्यासको माग निकै बढेको निगमको तथ्यांक छ । सिलिन्डर आधा भर्दा व्यवस्थापकीय खर्च केही बढ्ने भए पनि त्यसमा आयल निगमले के–कति राहत वा सहयोग गर्न सक्छ भन्नेबारे पनि अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ । यस्तै, ग्यासको परनिर्भरता घटाउन र भविष्यमा आइपर्ने यस्ता संकटबाट बच्न प्रवक्ता भुसालले नागरिकहरूलाई विद्युतीय चुल्होको प्रयोग बढाउन आह्वान समेत गरेको छ । ‘नेपालमा विद्युत्को उपलब्धता अनवरत भइरहेको छ, त्यसैले यसलाई अवसरका रूपमा लिएर इन्डक्सन चुल्हो भित्र्याउनु नै बुद्धिमानी हुनेछ,’ प्रवक्ता भुसालले थपे । अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको ध्रुवीकरण र युद्ध कति लम्बिने हो भन्ने अनिश्चितताले गर्दा आपूर्ति व्यवस्था अझै कठिन हुन सक्ने उनको आकलन छ । ‘भारतमा पनि अभाव देखिन थालिसकेको छ, त्यसैले हामीले आफ्नो तर्फबाट पूर्वतयारी र विकल्पहरू सोच्नै पर्ने बेला आएको छ,’ उनले भने । मन्त्रालयले ग्यास मात्र नभई अन्य खाद्य सामग्रीको आपूर्ति र वितरणमा पनि ध्यान दिइरहेको र संकटको बेला नागरिकले पनि आफ्नो दायित्वबोध गरिदिनुपर्नेमा जोड दिएको छ ।