काठमाडौं । सोमबार लगानीकर्ताहरू सेयर कारोबारका लागि तयार थिए । केही धितोपत्र दलाल व्यवसायी (ब्रोकर) का कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) पनि सामान्य रूपमा सञ्चालन भइरहेका थिए । तर, एकाएक सम्पूर्ण कारोबार रोकियो । कारण थियो, ७२ वटा धितोपत्र दलाल व्यवसायीको कारोबार व्यवस्थापन प्रणाली राखिएको डाटा हब प्रालिमा भएको साइबर आक्रमण ।
एक ब्रोकर व्यवसायीका लागि टीएमएसमा समस्या आउनु नयाँ विषय होइन । यसअघि पनि प्रणालीमा समस्या आउँदा कारोबारबाट वञ्चित हुनुपरेको उनको अनुभव छ । तर, यसपटक अवस्था फरक थियो । उनको सञ्चालनमा रहेको टीएमएसमा कुनै साइबर अट्याक भएको थिएन । सामान्य रूपमा चलिरहेको थियो ।
आफ्नै प्रणालीमा कुनै समस्या नआए पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सम्पूर्ण कारोबार स्थगन गरेपछि आफूहरू कारोबार गर्नबाट वञ्चित भएको उनको गुनासो छ ।
‘मेरो टीएमएसमा कुनै समस्या आएको थिएन । सहज रूपमा चल्दाचल्दै कारोबार गर्न नपाएर म पीडित भएको ब्रोकर व्यवसायी हुँ,’ उनले भने, ‘यसअघि हामी आबद्ध भएको टीएमएसमा समस्या आउँदा कारोबार बन्द भएको थिएन । तर, यसपटक हाम्रो प्रणालीमा समस्या नआए पनि कारोबार गर्न पाएनौँ । हाम्रो प्रणाली मज्जाले चलेको थियो । तर, सबै मिलेर हामीलाई पीडित बनाए ।’
उनका अनुसार यो कुनै एउटा ब्रोकर कम्पनीको मात्र गुनासो नभई नेपालको सेयर बजार सञ्चालन प्रणाली, वैकल्पिक व्यवस्था र बजार निरन्तरतासँग जोडिएको विषय हो । उनका अनुसार डाटा हब, नेप्से र नासा सेक्युरिटिजमार्फत छुट्टाछुट्टै टीएमएस सञ्चालनमा छन् । यसअघि डाटा हबको प्रणालीमा समस्या आउँदा त्यसमा आबद्ध ब्रोकर कम्पनीहरू प्रभावित भए पनि नेप्सेको टीएमएस प्रयोग गरिरहेका ब्रोकरमार्फत बजार सञ्चालन भएको उनको भनाइ छ ।
‘त्यो बेला डीजी हबको प्रणालीमा समस्या आएको थियो । समयमै समाधान हुन नसक्दा त्यो प्रणाली चलाइरहेका ब्रोकरको कारोबार हुन सकेन । तर, नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा आबद्ध रहेका ब्रोकरले सहज रूपमा कारोबार गरेका थिए,’ उनले भने, ‘यसपटक डाटा हबमा समस्या आयो । डाटा हबमा आबद्ध नभएका तथा छुट्टै टीएमएस सञ्चालन गरिरहेका ब्रोकरबाट कारोबार सञ्चालन गर्न सकिन्थ्यो । तर, त्यस्तो हुन सकेन । यसरी बजार स्थगित हुनु हुँदैनथ्यो भन्ने हाम्रो गुनासो हो ।’
ती ब्रोकर व्यवसायीका अनुसार विगतमा डीजी हबमा समस्या आएर कारोबार प्रभावित हुँदा त्यसमा आबद्ध ब्रोकर कम्पनीले क्षतिपूर्ति पाउनुपर्नेमा उल्टै नेप्सेले स्पष्टीकरण सोधेको थियो । तर, यसपटक आफ्नै प्रणाली सञ्चालनमा रहेकै अवस्थामा सम्पूर्ण बजार स्थगन भएकाले ब्रोकरसँगै लगानीकर्ता पनि प्रभावित भएको उनको भनाइ छ ।
नेप्सेको टीएमएस कसको ?
ती ब्रोकर व्यवसायीको दाबीअनुसार ७२ वटा ब्रोकर कम्पनीले सञ्चालन गर्ने टीएमएसको स्वामित्व नेप्सेकै हो । प्रणालीको विकास तथा प्राविधिक मर्मतसम्भारका लागि वाइकोसँग सम्झौता गरिएको भए पनि प्रणाली वाइको वा ब्रोकर कम्पनीको नभएको उनको दाबी छ ।
उनका अनुसार नेप्सेले वाइकोसँग प्रणालीको मर्मत तथा सम्भारसम्बन्धी सम्झौता गरेको छ । ब्रोकर कम्पनीहरूले पनि प्राविधिक सहयोगका लागि वाइकोबाट सेवा लिइरहेका छन् ।
‘कुनै व्यक्तिले घर बनाउँदा निर्माणको जिम्मा ठेकेदारलाई दिन्छ । घर बनाइसकेपछि त्यो घर ठेकेदारको हुँदैन, घरधनीको हुन्छ । त्यस्तै, नेप्सेले वाइकोलाई टीएमएस बनाउन दिएको हो । वाइकोले पैसा लिएर प्रणाली बनाइदियो । त्यसैले त्यो प्रणाली पनि नेप्सेकै हो,’ उनले भने ।
उनका अनुसार नेप्सेले ब्रोकर कम्पनीबाट शुल्क लिएर उक्त प्रणाली सञ्चालन गर्न दिइरहेको छ ।
वैकल्पिक प्रणाली कहाँ गयो ?
सूचना प्रविधिका प्रणालीमा ह्याकिङ, भाइरस, साइबर आक्रमण वा अन्य प्राविधिक समस्या आउन सक्ने भएकाले कारोबार निरन्तरताका लागि वैकल्पिक व्यवस्था आवश्यक हुने ती ब्रोकर व्यवसायीको भनाइ छ । उनका अनुसार एउटा प्रणालीमा समस्या आए अर्को प्रणाली वा ब्याकअपबाट कारोबार सञ्चालन गर्न सकिने व्यवस्था भएको भए सम्पूर्ण बजार स्थगित गर्नुपर्ने अवस्था आउने थिएन ।
‘सूचना प्रविधिमा ह्याकिङ हुन सक्छ, भाइरस आउन सक्छ, साइबर आक्रमण हुन सक्छ । त्यस्तो बेलामा वैकल्पिक व्यवस्था राख्नुपर्ने हो । हाम्रो प्रणालीमा त्यो व्यवस्था गरिएको छ भनेर दाबी पनि गरिएको छ । तर, आजको दिनमा त्यो देखिएन,’ उनले भने, ‘एउटामा आक्रमण भएपछि अर्को प्रणालीको ब्याकअपबाट चल्नुपर्ने हो । त्यो नभएर नै कारोबार स्थगित गर्नुपरेको होला । यदि भएको थियो भने कारोबार सुचारु हुन्थ्यो होला ।’
‘एउटामा समस्या आएपछि त्यसलाई समाधान गर्नेतर्फ लागेर अर्को प्रणालीबाट सञ्चालन हुने व्यवस्था छ भनिएको थियो । तर, आजको कारोबारमा त्यो देखिएन । यदि थियो भने चल्थ्यो । नचलेपछि त्यस्तो प्रणाली नरहेको पुष्टि भयो,’ उनले भने ।
सम्पूर्ण कारोबार स्थगित गर्ने निर्णयमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालको भूमिकाबारे उनले प्रश्न उठाए । कारोबार स्थगनका लागि एसोसिएसनले निवेदन दिएको आधारमा बजार रोकिएको भन्ने जानकारी नेप्सेले गराएको उनको भनाइ छ । तर, बजारमा आबद्ध सबै ब्रोकर कम्पनीको प्रणालीमा समस्या नआएको अवस्थामा एसोसिएसनले किन कारोबार स्थगन गर्न निवेदन दियो भन्ने उनको प्रश्न छ ।
‘यदि निवेदन दिएको हो भने के निवेदन दिएको हो, त्यो नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गर्नुपर्यो । एसोसिएसनले निवेदन दिएको भए पनि आंशिक समस्या हुँदा किन दिनु ? त्यसरी दिने काम नै होइन एसोसिएसनको,’ उनले भने ।
उनका अनुसार एउटा प्रणालीमा मात्र समस्या आएको अवस्थामा त्यसका आधारमा सम्पूर्ण बजार स्थगित गर्ने निर्णयको औचित्यबारे सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने आवश्यकता छ ।
कानुनी बाटो खोज्ने तयारी
कारोबार स्थगनका कारण प्रभावित ब्रोकर व्यवसायीहरूले क्षतिपूर्तिसहितका विषयमा कानुनी बाटो खोज्ने तयारी गरेका छन् । आफ्नै प्रणाली सञ्चालनमा रहेकै अवस्थामा कारोबार गर्न नपाउँदा ब्रोकर कम्पनीसँगै लगानीकर्ता पनि प्रभावित भएको उनीहरूको भनाइ छ ।
‘आज पीडित भएका ब्रोकर व्यवसायीले कानुनी बाटो खोज्नुपर्ने हो । त्यसका लागि हामी १९ जना ब्रोकर व्यवसायी आपसमा सल्लाह गरेर अगाडि बढ्छौँ,’ उनले भने ।
उनका अनुसार कारोबार सञ्चालन गर्न सक्ने अवस्थामा रहेका ब्रोकर कम्पनीलाई कारोबार गर्न दिइएको भए बजार निरन्तर सञ्चालन हुन सक्थ्यो । त्यसैले कारोबार स्थगनको निर्णय, वैकल्पिक प्रणालीको अवस्था र प्रभावित पक्षलाई क्षतिपूर्तिको विषयमा विस्तृत छलफल आवश्यक रहेको उनको भनाइ छ ।
‘हाम्रो प्रणाली नचल्दा क्षतिपूर्ति पाउनुपर्नेमा स्पष्टीकरण दिनु परेको थियो । तर, आज हामीले चलाउन मिल्ने अवस्थामा पनि चलाउन पाएनौँ । लगानीकर्ताले पनि कारोबार गर्न पाएनन् । यदि २० वटा ब्रोकर कम्पनीले कारोबार गर्न पाएको भए बजार निरन्तर चल्थ्यो,’ उनले भने, ‘अब किन भएन भन्ने विषयमा छलफल गर्छौँ । आवश्यक परे कानुनी बाटोमा पनि अगाडि बढ्न सकिन्छ ।’