मानिसहरू आफ्नै संसार, आफ्नै सुर र आफ्नै तालमा थिए । आकाश कन्चन नीलो थियो । घाम उस्तै चम्किलो थियो । कसैलाई काममा पुग्नु थियो, कसैलाई यात्रा गर्नु थियो, कसैलाई पसल खोल्नु थियो । कसैको घरमा खाना पाक्दै थियो । कसैको मोबाइलमा परदेशी आफन्तको फोन आउन बाँकी थियो । सायद कोही टाढा भएका आफन्तसँग भिडियो कलमा भलाकुसारी गर्दै थिए ।
हो, त्यो बिहान सबै कुरा सामान्य थियो । तर भोटेकोशी नदीको नाभीलाई सायद केही थाहा थियो ! टाढाबाट उसले पाएको घनघोर विध्वंसको सन्देशको तार नपुग्दै वा भनौं कहीँ कसैले पाए पनि विश्वास गरिनहाल्दै बिजुली बेगसरी केहीबेरमै पहाडमा पनि समुन्द्रमा जस्तो सुनामी उर्लियो । त्यो सामान्य दृष्य एकाएक क्षतविक्षत भएर च्यातियो । माटो, ढुङ्गा, रुख, घर, गाडी, मानिस नजाने के–के मिसिएर भेल आयो । सुमन्द्रको सुनामी पानी र हावा मिसिएर आउँछ, यो पहाडको सुनामीले सिँगै पृथ्वीका उपज बोकेर सोत्तर बनायो ।
उसको बाटोमा जे–जे भेटिए निल्दै अघि बढ्यो । घरहरू बगे । पुरिए । सडक हरायो । पुल उजाडिए । किनारा आसपासको टोल, बजारको नामोनिसान रहेन । मानिस, पशुचौपाया भाग्नै सकेनन् । कतिपय भाग्दाभाग्दै क्षणभरमै लपेटिए अनि विस्मृतिमा हराए । केही बाँकी रहेन ।
पुर्खादेखिको, वषौंदेखिको कमाइ बग्यो । देशको, देशबासीको पहिचान बग्यो । र नदीसँगै बग्यो धेरै मानिसको कल्पनाको सुखद भविष्य ।
पत्याउनै नसकिने यो पुस्ताको एउटा कालो दिन, कालो समय, कालो प्रहरको त्यो चिच्याहट संसारभर फैलियो । मान्छेहरूको मन विछिप्त बनाउँदै भएको त्यस कहालीलाग्दो त्रासदी पछि आउने कैयौं पुस्ताका लागि एउटा पत्याउनै पर्ने ठूलो पीडाको इतिहास बन्दैछ । त्यसका लागि पछिल्लो पुस्तालाई विभिन्न दस्तावेजहरू, सिर्जनाहरूले दुरुस्त पारेर राख्ने प्रयास गर्ने नै छन् ।
विपदको घाउ आलै छँदा यसै पृष्ठभूमिलाई दुरुस्त उतार्ने गरी निस्केको एउटा गीतले त्यो पीडादायी क्षणको सजिव चित्र मात्र उतारेको छैन, यसको कारण र यसको भविष्यबारे तिखो प्रहार गरेको छ । श्रष्टा डी. डी. पन्तले रचना गरेको ‘ए नदी ए हिमाल’ बोलको उक्त गीतले मानिसलाई भाद्र १० गतेको त्यो बिहानको त्रासदीलाई चसक्क पार्ने गरी उनेको छ । स्वर, संगीत र दृष्यले पनि मनमा मर्मस्पर्शी रूपमा गाडा चित्र उतारी दिन्छन् ।
भन्न त कलमको ताकत, सिर्जनाको ताकत बलियो हुन्छ भनिन्छ । तर, सबै कलमबाट सिर्जिने फूलहरूले मनभित्र दस्तक नदिन पनि सक्छन् । पन्तका यी शब्द चाँहि यति जोडदार रूपमा मनमा धक्का दिनेखालका छन् कि अनायासै अनुहारको भावभङ्गी बदलिन्छ ।
‘घाम लागेको बिहान थियो,
आकाश पनि त नीलै थियो...’
यी पंक्ति गीतका सुरुवाती शब्द मात्रै होइनन्, यी एउटा विपत्तिको सबैभन्दा त्रासद अनि निकट आँधी आउनु अघिको सन्नाटाका रुपमा उनिएका छन् ।
हो, आकाश सामान्य त थियो त्यस दिन । तर एकछिन पछि एउटा सानो संसार सामान्य रहेन । एउटा हिमताल असामान्य गरी पड्कियो र जमिनमा गड्किँदै बौलाहा तालमा गन्तव्यहीन यात्रामा निस्कियो । केही क्षण अघिसम्म आम जीवनको हिस्सा रहेको कन्चन नदी अचानक विनाशको तवाह बन्यो ।

डीडी पन्त
पानीसँगै प्रकृतिका उपहार रुख, ढुंगा, माटो, काठ र मान्छेले सिर्जेका पुल, बजार, बाटो सबै भग्नावशेष पनि नरहने गरी बगे । नदी किनारका बस्ती र पूर्वाधारमा शून्यबाट सुरु गर्नु पर्नेगरी प्रलय ल्यायो । भोटेकोशीबाट त्रिशूली हुँदै नारायणीसम्म फैलिएको विपत्तिले मृत्यु, बेपत्ता र विस्थापनको लामो छायाँ छोड्यो ।
आजपर्यन्त यसको चोटको आकार र आयाम खुटिन सकेको छैन । अझै आशाहरू बाँकी छन् सास र लास भेटिएलान् कि भनेर । राज्यले अर्बौं गुमायो । अनि खोज उद्धार र पुनःनिर्माणमा फेरि अर्बौं रुपैयाँ खर्चिनु पर्नेछ । पीडाको मोल त अनमोल भयो नै ।
दिन बित्दै जाँदा मृत्यु हुने र बेपत्ता हुनेहरूको संख्या थपिँदै गएको छ । यो कहाँनिर रोकिने हो भन्न सकिने अवस्था छैन । सम्पत्ति र पूर्वाधारको क्षतिको मोल कति डिजिटको हुने हो पनि अझै टुंगो हुन सकेको छैन ।
‘लाखौं सपना थिए ती किनारहरूमा
टेक्ने लौरा थिए ती खोला बगरमा ।’
गीतले भनेझैं नदी किनारमा घर मात्र थिएनन् । त्यहाँ मानिसका योजनाहरू थिए । ऋण थियो । व्यवसाय थियो । बच्चाको पढाइ थियो । बुढेसकालको सहारा थियो । परदेशबाट फर्कने छोराछोरीको प्रतीक्षा थियो । विवाहको तयारी थियो । बच्चा पाउने रहर थियो । भोलिको सपना थियो । अनेक विश्वास थिए । नदीले घर मात्रै भत्काएन । उसले एउटा परिवारको ‘हिजो, आज र भोलि’ पनि भत्काइ दियो ।
गीतको अर्को पंक्ति अझ निर्मम छ,
‘उछिट्याइदियौ सपनाहरू
पुरिदियौ आशाहरू
गुमनाम गरायौ मुटुहरू
फटायौ उभिने धर्ती पनि ।’
विपत्तिको सबैभन्दा ठूलो भय यही हो, मान्छे मरेपछि पनि पीडा सकिँदैन । कसैको शव भेटिन्छ । कसैको भेटिँदैन । कसैले अन्तिम संस्कार गर्छ । कसैले एउटा कपडा, एउटा गहना, एउटा कागज वा एउटा तस्वीरमा आफन्त खोज्छ । कसैका लागि शोकको सुरुवात मृत्युको खबरबाट हुन्छ । कसैका लागि शोक सुरु हुन पनि शव चाहिन्छ ।
हामीले क्षतिको हिसाब जोड घटाउ गर्न सकौंला । तर गुमेको जीवनको अर्थ गन्न सक्दैनौं । तर ‘ए नदी ए हिमाल’ गीत शोकमा मात्र अडिँदैन । गीतले प्रकृतिसँग गुनासो र मानिसहरूसँग आक्रोश पोखेको छ ।
अचानक नदीलाई प्रश्न गर्न छाडेर श्रष्टा हामी मानिसलाई प्रश्न गर्न उत्तेजित हुन्छन् । ती मानिस हाम्रै समाजका, हाम्रै देशका पनि छन् र संसार भरका पनि ।
गीतमा स्रष्टाको आक्रोश पोखिन्छ,
‘कसले आकाश बिगार्यो ?
कसले ऋतुको लय भत्कायो ?
कसले तिम्रा मौनतामा
नाफाको व्यापार गरायो ?’
संयोग यस्तो थियो कि भाद्र १० को, जसले एउटा नयाँ पीडाको मानक बनाएर गयो । किनकि विपत्ति सधैं कालो आकाशबाट आउँदैन । कहिलेकाहीँ सबैभन्दा भयावह घटना त्यही बिहान हुन्छ, जुन बिहान अरू दिनजस्तै सरल देखिन्छ ।
यस्तो सामान्य बिहानबाट कालो हुण्डरी बनाइदिने हिमाल र नदीलाई श्रष्टा पन्तले पागल करार गदिदिएका छन् । उनी गीतमा भन्छन्,
‘ए नदी ए हिमाल
यो कस्तो पागलपन देखायौ ?’
झट्ट सुन्दा यो प्रकृतिप्रतिको गुनासो जस्तो सुनिन्छ । तर गीतलाई अलि गहिरो गरी सुन्दा प्रश्न नदीतर्फ मात्र फर्किएको छैन । यो प्रश्न हामी मानिसतर्फ पनि फर्किएको छ ।
हामीले नदीलाई कति बुझ्यौं ?
हिमाललाई कति बुझ्यौं ?
र विकासको नाममा प्रकृतिसँग कति जोखिम लिएर हिँड्यौं ?
विपद् पछि मृत्युको संख्या गन्न सकिएला । बेपत्ताको संख्या राख्न सकिएला । क्षतिको आर्थिक मूल्यांकन गर्न सकिएला । तर एउटा परिवारले गुमाएको आफन्तको क्षतिपूर्ति कसरी गर्ने ? उसको भविष्यको मूल्यांकन कसरी गर्ने ? एउटा घरसँगै हराएको पुस्तौंको स्मृतिको मूल्य कति तोक्ने ? सायद यही असम्भव हिसाबलाई गीतले समेट्न खोज्छ,
‘कसरी सुनाऊँ खै पीडाको हिसाब
नामहरू खोजीसाध्य छैन ।’
यो पंक्ति केवल शोक होइन, यो तथ्यांकको सीमामाथिको प्रश्न बनेर उभिएको छ ।
विपत्तिपछि संख्या खोजिन्छ, कति मरे ? कति बेपत्ता भए ? कति घर भत्किए ? कति सडक बिग्रिए ? अहिले यो काममा राज्य जोडतोडले लागेको छ । तर तथ्यांकले एउटा व्यक्ति र उसको परिवारको पीडालाई कहाँ समेट्न सक्छ र ?
हामीलाई विकास चाहिएको छ । नभै भएको छैन । यो अकाट्य सत्य छ । अनि यसले निम्त्याउन सक्ने विनासबारे हाम्रो भूमिका झन् कमजोर परिरहेको छ । विकासका लागि पहाड फोडिन्छ, नदी थुनिन्छ, सुरुङ खनिन्छ । अनेक गरिन्छ । यी सबै विकासका लागि आवश्यकता हुन् । तर प्रश्न सधैं उसैगरी उभिइरहेको हुन्छ, विकास गर्दा हुने जोखिमको मूल्य कसले तिर्छ ?
प्रश्नहरू अनेक छन्, समृद्धिको सपना देख्दा जोखिमको भूगोल बिर्सिरहेका त छैनौं ? नदीलाई स्रोत मात्रै र पहाडलाई पूर्वाधारको खाली ठाउँ मात्रै ठानिरहेका त छैनौं ? यही कारणले ‘ए नदी ए हिमाल’लाई केवल बाढीपछि लेखिएको गीत भनेर बुझ्नु यसको दायरालाई सानो बनाउनु हुनेछ । हो यो गीत विपत्तिपछिको आत्ममन्थन हो । तर, यो भविष्यका लागि खतराको सूचक पनि हो । हामीलाई ऐना पनि हो । संसारभरलाई त झन् महा ऐना हो ।
विपत्ति सकिएपछि नदी फेरि उसैगरी केहि नभए जसरी बगिरहेको छ । आकाश फेरि नीलै छ । सडक फेरि बन्लान् । पुल फेरि ठडिएलान् । बजार, घर फेरि बन्लान् । तर कतिपय कुरा फेरि दुरुस्तै चाहेर पनि बन्ने छैनन् । हराएको मान्छे फर्किँदैन । बाल्यकालको घर फर्किँदैन । आफ्नो मान्छेको प्रतीक्षामा बितेको त्यो समय फर्किँदैन ।
भाँचिएको मन फर्किदैन । प्रश्नै प्रश्नहरू बाँचिरहनेछन् ।
गीतले भनेझैं,
‘भविष्य गयो भेलसँगै, स्मृति रह्यो खोंचतिर
बाँचे पनि मरेतुल्य भो, कसरी खै तंग्रिउँला र ?’
अब बाँकी रहेको प्रश्न यही मात्र छ कि अर्को नदी उर्लिनुअघि हामी यी प्रश्नहरू सुन्छौं कि फेरि अर्को विपत्तिपछि अर्को यस्तै गीतको प्रतीक्षा गर्छौं ? यसको जवाफ कसले र कहिले देला भन्न गाह्रो छ ।
गीतको भिडियोमा देखिने भाद्र १० को त्रासद पछिका मार्मिक दृष्यहरु पत्रकार निराजन खड्काले खिचेका हुन् । गीतको स्वर र संगीत सुनोडटकम मार्फत् तयार गरिएको छ । अर्थात् गीतको स्वर र संगीत एआइ सिर्जित हुन् । तर, दुरुस्तै छन् । किनभने गीतको केन्द्रमा प्रविधि छैन । प्रकृति र मान्छेको सम्बन्धको कथाले गीतमा सजीव जिवन दिएको छ ।
गीतका रचयिता डी. डी. पन्त सामाजिक क्षेत्रमा कृयाशील छन् । उनी राष्ट्रसंघीय कर्मचारी हुन् । उनको पूरा नाम दिलादत्त पन्त हो । पन्त साहित्य, पत्रकारिता, कानुन र सार्वजनिक नीति जस्ता बहुआयामिक क्षेत्रमा परिचित छन् ।
कविता, गीत, निबन्ध तथा समसामयिक सामाजिक–सांस्कृतिक विषयमा कलम चलाउँदै आएका पन्तका सिर्जनामा मानवीय संवेदना, प्रकृति, न्याय, पीडा र सामाजिक चेतनाको गहिरो अभिव्यक्ति पाइन्छ ।
लामो समयदेखि पत्रकारिता, कानुन, मानवअधिकार र संसदीय मामिलामा सक्रिय उनी लोकसंस्कृति, शान्ति र सामाजिक सद्भावसँग जोडिएका साहित्यिक तथा अनुसन्धानमूलक कार्यमा समेत संलग्न छन् । पन्तका कथा कवितालगायतका सिर्जना प्रकाशित छन् ।