प्रधानमन्त्री बालेनले भने- नआत्तिनुस, पुँजी बजार सुधार हुँदैछ

काठमाडौं । लगातार ओरालो लागेको सेयर बजार, खस्कँदै गएको लगानीकर्ताको मनोबल र बजार सुधारको मागका बीच प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार पुँजी बजारका प्रमुख सरोकारवालालाई सिंहदरबारमा बोलाएर एक घण्टा लामो छलफल गरेका छन् । नियामक निकाय, स्टक एक्सचेञ्ज, ब्रोकर र लगानीकर्ता एउटै टेबलमा बसेर भएको छलफलमा बजार सुधारका नीतिगत, संरचनागत र नियामकीय विषयमा खुलेर बहस भएको सहभागीहरूले बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेञ्ज (नेप्से), स्टक ब्रोकर एसोसिएसन, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजी बजार समिति तथा निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए । बैठकपछि नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य तथा सेयर लगानीकर्ता अम्बिका पौडेलले छलफल पुँजी बजारको समग्र विकासमा केन्द्रित रहेको बताए । उनका अनुसार अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्सेले बजारको विकास तथा विस्तारका लागि गर्नुपर्ने सुधारका विषयमा विस्तृत छलफल भएको थियो । प्रधानमन्त्रीले सबै सुझाव गम्भीरतापूर्वक सुनेको र लगानीकर्ताको मनोबल बढाउने दिशामा प्रधानमन्त्री कार्यालयले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए । पौडेलका अनुसार प्रधानमन्त्रीले पुँजी बजारलाई केवल सेयर कारोबारको माध्यमका रूपमा नभई पुँजी परिचालन, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार गर्ने महत्त्वपूर्ण क्षेत्रका रूपमा व्याख्या गरेका थिए । ‘पुँजी बजार चलायमान भयो भने अर्थतन्त्रका अन्य क्षेत्र पनि चलायमान हुन्छन्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने । बैठकमा पछिल्ला दिनमा केही लगानीकर्ता पक्राउ परेका घटनाले बजारमा परेको प्रभावबारे भने औपचारिक छलफल नभएको पौडेलले स्पष्ट पारे । उनका अनुसार छलफलको केन्द्रबिन्दु लगानीकर्ताको मनोबल कसरी बढाउने, पुँजी बजारलाई कसरी थप प्रभावकारी बनाउने र यसमार्फत रोजगारी तथा पुँजी निर्माण कसरी बढाउने भन्ने विषय थियो । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत पुँजी बजार समितिका सभापति प्रियराज रेग्मीले बजार सुधारका लागि विस्तृत कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए । रेग्मीका अनुसार बजारमा आपूर्ति पक्ष बढे पनि माग पक्ष कमजोर रहेकाले संस्थागत लगानीकर्ताको भूमिका विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । त्यससँगै पुँजीगत लाभकरको व्यवस्था पुनरावलोकन गर्दै नाफा–घाटा समायोजनपछि मात्रै खुद नाफामा कर लगाउने व्यवस्था गर्नुपर्ने माग पनि राखिएको उनले बताए । त्यसैगरी, राष्ट्र बैंकमार्फत ब्रोकरलाई मार्जिन लेन्डिङ सञ्चालन गर्न नियामकीय व्यवस्था मिलाउने, गैरआवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्तालाई सहज रूपमा दोस्रो बजारमा प्रवेश गराउने, नेप्सेलाई पुनर्संरचना गरी प्रविधिमैत्री बनाउने र नयाँ कारोबार उपकरण विकास गर्ने प्रस्ताव पनि बैठकमा पेश गरिएको थियो । धितोपत्र बोर्डका सम्बन्धमा आईपीओ प्रणाली सुधार, योग्य संस्थागत लगानीकर्तामार्फत बुक बिल्डिङ प्रणालीलाई प्रभावकारी बनाउने, हालको १० कित्ते नीतिमा पुनर्विचार गर्ने तथा इन्ट्रा–डे कारोबार सञ्चालन गरेर बजारको भोल्युम र लगानीकर्ताको विश्वास बढाउने विषयमा समेत छलफल भएको रेग्मीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिँदै नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से, सीडीएससीलगायत सम्बन्धित निकायसँग पुनः छलफल गरी कार्यान्वयनको प्रक्रियामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । बजार सुधारका लागि छुट्टै समिति गठन गर्नुभन्दा सम्बन्धित निकायहरूले आ–आफ्नो जिम्मेवारीअनुसार काम अघि बढाउने संकेत पनि प्रधानमन्त्रीले दिए । कर नीतिका विषयमा प्रधानमन्त्रीले अन्तिम निर्णय भइनसकेको संकेत गरे पनि लगानीकर्ताले भने घाटा समायोजनसहितको कर प्रणाली लागू गर्न जोड दिए । रेग्मीका अनुसार प्रधानमन्त्रीले बजार बढाउने वा घटाउनेभन्दा पनि स्वस्थ प्रतिस्पर्धा, सुरक्षित लगानी वातावरण र प्रभावकारी पुँजी परिचालन सुनिश्चित हुनुपर्छ भन्ने धारणा व्यक्त गरे । साथै लगानीकर्तालाई अनावश्यक रूपमा आत्तिनुपर्ने अवस्था नरहेको र सरकारले बजार सुधारका लागि आवश्यक पहल गर्ने विश्वास पनि दिलाए ।

दशैंअघि नै घर फर्किँदै ९ सहसचिव

काठमाडौं । नेपाल सरकारका नौजना सहसचिवले यस वर्ष दशैं मनाउनुअघि नै अनिवार्य अवकाश पाउने भएका छन् ।  निजामती सेवा ऐन, २०४९ मा रहेको ५८ वर्षे उमेरहदको बाध्यकारी व्यवस्थाअनुसार उनीहरू चालु आर्थिक वर्षको पहिलो चार महिनामै सरकारी सेवाबाट बाहिरिन लागेका हुन् । प्रशासनिक अनुभवले खारिएका यी अधिकारीहरूको एकै अवधिमा हुने बहिर्गमनले संघ, प्रदेश र संवैधानिक निकायमा नयाँ नेतृत्व व्यवस्थापनको चुनौतीसमेत थपिएको छ । निजामती किताबखानाको अभिलेखअनुसार चालु आर्थिक वर्षमा सबैभन्दा पहिले अवकाश पाउने सहसचिव हुन् काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार गुरागाईं । उनी साउन २० गते ५८ वर्षे उमेर पूरा गरेसँगै अनिवार्य अवकाशमा जाँदैछन् । गुरागाईं काठमाडौं महानगरपालिकामा कार्यरत रहँदा तत्कालीन नेतृत्वसँगको कार्यसम्पादन र प्रशासनिक अधिकारसम्बन्धी विवादका कारण चर्चामा आएका अधिकारी हुन् । उनको अवकाशसँगै महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कसलाई दिने भन्ने विषय पनि चासोको केन्द्रमा रहनेछ । गुरागाईंपछि रक्षा मन्त्रालयका सहसचिव मनोज आचार्य भदौ ५ गते अनिवार्य अवकाशमा जाने निजामती किताबखाना स्रोतले जनाएको छ । त्यसको करिब दुई सातापछि भाषा आयोगका सहसचिव रमेशकुमार मैनाली भदौ २१ गते सेवाबाट बाहिरिने सूचीमा छन् । दशैं नजिकिँदै गर्दा थप वरिष्ठ अधिकारीहरूले पनि सरकारी सेवा छाड्न बाध्य हुने निजामती किताबखानाले जनाएको छ । बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष तुल्सीनाथ गौतम असोज १३ गते अनिवार्य अवकाशमा जाँदैछन् । अर्थ मन्त्रालयमा लामो समय कार्यरत रही नेपाल सरकारका तर्फबाट एसियाली विकास बैंक एडीबीका वैकल्पिक कार्यकारी निर्देशकमा समेत अनुभव लिइसकेका श्रीकृष्ण नेपाल पनि उमेरहदका कारण अवकाश हुने सूचीमा छन् । त्यसैगरी, सुदूरपश्चिम प्रदेश सरकारका प्रदेश सचिव ओमबहादुर खड्का असोज १४ गते सेवाबाट बाहिरिने सूचीमा छन् । सोही दिन मधेश प्रदेशमा कार्यरत सहसचिव जयकुमार घिमिरे पनि अनिवार्य अवकाशमा जाने निजामती किताबखानाको अभिलेखमा उल्लेख छ । दशैंअघि नै राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका दुई वरिष्ठ सहसचिवले पनि सरकारी सेवा छाड्ने भएका छन् । राष्ट्रपति कार्यालयका सन्तोष दाहाल असोज २२ गते तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखनाथ ज्ञवाली असोज २७ गते ५८ वर्षे उमेर पूरा गरेसँगै अनिवार्य अवकाशमा जाँदैछन् । निजामती सेवा ऐन, २०४९ मा ५८ वर्ष पुगेपछि कर्मचारीलाई अनिवार्य रूपमा अवकाश दिनुपर्ने व्यवस्था छ । यस व्यवस्थाअनुसार प्रत्येक वर्ष उल्लेख्य संख्यामा वरिष्ठ कर्मचारीले सेवा छाड्दै आएका छन् । यस वर्ष पनि दशैंअघि नै विभिन्न मन्त्रालय, प्रदेश सरकार, संवैधानिक निकाय तथा स्थानीय तहमा कार्यरत अनुभवी सहसचिवहरूको बहिर्गमन हुन लागेकाले रिक्त हुने पदमा नयाँ जिम्मेवारी र सरुवाको प्रक्रियासमेत तीव्र हुने प्रशासनिक अधिकारीहरू बताउँछन् ।

‍यसरी बन्यो स्पेन विश्वकप विजेता

काठमाडौं । फेरान टोरेस अनि एन्ड्रेस इनिएस्टा । यी दुई खेलाडी मात्रै हुन्, जसले फिफा पुरुष विश्वकपको फाइनलमा स्पेनका लागि गोल गरेका छन् । दुवै गोल अतिरिक्त समयमा आए र दुवैले स्पेनलाई विश्वकपको ट्रफी चुमाउने अवसर दिलाए । स्पेन पुरुष विश्वकपको इतिहासमा दोस्रो पटक विश्वविजेता बनेको छ । सन् २०२६ को विश्वकप फाइनलमा स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै उपाधि जित्यो । बार्सिलोनाका फरवार्ड फेरान टोरेसले दोस्रो अतिरिक्त समयको हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।  यो स्पेनको दोस्रो विश्वकप उपाधि हो । यसअघि उसले सन् २०१० मा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा नेदरल्यान्ड्सलाई हराउँदै पहिलो पटक विश्वकप जितेको थियो । त्यो फाइनलमा पनि स्पेन नै फुटबल खेल्न चाहने टोली थियो र अन्ततः विजयी बनेको थियो । न्यु जर्सीमा सम्पन्न सन् २०२६ को फाइनल र सन् २०१० को फाइनलबीच धेरै समानता देखिए । यसपटक पनि स्पेन खेल्न आएको थियो । तर अर्जेन्टिना खेलको लय बिगार्न र प्रतिद्वन्द्वीलाई निराश पार्न केन्द्रित देखियो । नतिजा स्वरूप फाइनल लगभग एकतर्फी बन्यो, जसमा स्पेनले अन्ततः आफ्नो प्रभुत्वलाई उपाधिमा परिणत गर्यो । लियोनेल स्कालोनीको टोलीले अतिरिक्त समयको २६औं मिनेटसम्म एउटा पनि प्रहार गर्न सकेन । त्यसबेलासम्म स्पेनले २० वटा प्रहार गरिसकेको थियो, जसमध्ये १२ लक्ष्यतर्फ थिए र उपाधितर्फ निरन्तर अघि बढिरहेको थियो । दुवै टोलीको खेल्ने सोचमा ठूलो अन्तर देखिन्थ्यो ।  अर्जेन्टिनाले खेलको गति रोक्ने, रणनीतिक फाउल गरेर लय बिगार्ने र रक्षात्मक खेलमा टिकिरहने प्रयास गर्यो । यता स्पेनले बल नियन्त्रण र मैदानको अधिकांश भागमा प्रभुत्व कायम राख्यो । उसले धेरै स्पष्ट गोल अवसर सिर्जना गर्न नसके पनि खेल लगभग पूर्ण रूपमा नियन्त्रणमा राख्यो । अन्ततः निको विलियम्सको हेडर पासलाई फेरान टोरेसले शक्तिशाली प्रहारमार्फत गोलमा परिणत गरे । स्पेनले विपक्षीको अन्तिम तेस्रो क्षेत्रमा २३५ पास पूरा गर्यो भने स्कालोनीको टोलीले मात्र ४७ पास पूरा गर्न सक्यो । यसले स्पेनको फिल्ड टिल्ट ८३.३ प्रतिशत पुगेको देखाउँछ, जसले मैदानमाथिको उसको प्रभुत्व स्पष्ट पार्छ । टोरेस विश्वकप फाइनलमा गोल गर्ने पाँचौं वैकल्पिक खेलाडी बने । साथै सन् २०१४ मा अर्जेन्टिनाविरुद्ध अतिरिक्त समयमा जर्मनीलाई जित दिलाउने मारियो गोट्सेपछि विश्वकप फाइनलमा गोल गर्ने पहिलो सब्स्टिच्युट पनि बने । स्पेनले खेलभर २० प्रहार गर्दा अर्जेन्टिनाले जम्मा दुई प्रहार मात्र गर्न सक्यो । १८ प्रहारको यो अन्तर विश्वकप फाइनल इतिहासकै दोस्रो ठूलो अन्तर हो । यसअघि सन् १९९० को फाइनलमा वेस्ट जर्मनीले २३ प्रहार गर्दा अर्जेन्टिनाले केवल एक प्रहार गरेको थियो । त्यो खेल पनि अर्जेन्टिनाले १–० ले गुमाएको थियो । अन्तिम सिटी बज्नेबित्तिकै अर्जेन्टिनाका खेलाडीहरूको निराशा आक्रोशमा परिणत भयो । स्पेनका खेलाडीहरू उपाधि उत्सव मनाउन मैदानभर फैलिँदा लिएन्ड्रो पारेडेसले आक्रामक व्यवहार गरे, जसले मैदानमै झडपको अवस्था सिर्जना गर्यो । उक्त दृश्य अर्जेन्टिनाको तनावपूर्ण प्रदर्शनको प्रतीकजस्तै बन्यो । अर्जेन्टिनाले खेलमा २५ फाउल गर्यो, जुन सन् २०२२ को फाइनलमा फ्रान्सविरुद्ध उसैले गरेको २६ फाउलपछि विश्वकपमा कुनै पनि टोलीले गरेको सबैभन्दा धेरै फाउल हो। तीमध्ये एउटा फाउलमा एन्जो फर्नान्डेजले पाउ कुबार्सीलाई कडा ट्याकल गरे, जसले उनलाई लडायो । त्यससँगै उनले खेलको दोस्रो पहेंलो कार्ड पाए र विश्वकप फाइनलमा रातो कार्ड पाउने इतिहासका केवल छैटौं खेलाडी बने । सन् १९९० मा पेड्रो मोन्जोन र गुस्ताभो देजोत्तीपछि विश्वकप फाइनलमा रातो कार्ड पाउने अर्जेन्टिनाका खेलाडीको सूचीमा उनको नाम पनि थपियो । तर यो फाइनलको कथा स्पेनकै नाममा लेखियो । १६ वर्षअघि दक्षिण अफ्रिकामा जस्तै, स्पेनको बल नियन्त्रणले उसको उत्कृष्ट रक्षात्मक अभियानको आधार तयार गर्यो । स्पेन प्रतियोगिताभर कुनै पनि समयमा पछि परेन र आठ खेलमा केवल एक गोल मात्र बेर्होयो । बेल्जियमका चार्ल्स डे केटेलाएर मात्र स्पेनको रक्षापंक्ति तोड्ने खेलाडी बने । विश्वकप जित्ने कुनै पनि टोलीले एउटै संस्करणमा यसभन्दा कम गोल खाएको इतिहास छैन । स्पेनले प्रतियोगिताभर विपक्षीलाई जम्मा २.३ अपेक्षित गोलमात्र सिर्जना गर्न दियो, अर्थात् औसतमा प्रति खेल ०.३ अपेक्षित गोल । पुरुष विश्वकप इतिहासमा यो उत्कृष्ट रक्षात्मक तथ्यांक हो । अझ रोचक कुरा के भने अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले यो फाइनलमा मात्र ११ बचाउ गरे, जबकि स्पेनका गोलरक्षक उनाइ सिमोनले पूरै प्रतियोगिताभर जम्मा १० बचाउमात्र गर्नुपरेको थियो । सुपरस्टारहरूले भरिएको प्रतियोगितामा अन्ततः चम्किएको पक्ष भने स्पेनको सामूहिक टोली प्रदर्शन थियो । यही सफलताले विश्व फुटबलमा स्पेनलाई फेरि एकपटक शक्तिशाली राष्ट्रका रूपमा स्थापित गरेको छ । ला रोजा एकैसाथ युरोपियन च्याम्पियनसिप र विश्वकप दुवै उपाधि हात पार्ने चौथो पुरुष राष्ट्रिय टोली बनेको छ । यसअघि यो उपलब्धि वेस्ट जर्मनी (१९७२–७४), फ्रान्स (१९९८–२०००) र स्पेनकै स्वर्णिम पुस्ताले (युरो २००८, विश्वकप २०१० र युरो २०१२) हासिल गरेका थिए । यस फाइनलसँगै स्पेनले आफ्नो अपराजित यात्रालाई ३८ खेलसम्म पुर्याएको छ (२९ जित, ९ बराबरी), जुन कुनै पनि युरोपेली पुरुष राष्ट्रिय टोलीको इतिहासकै सबैभन्दा लामो अपराजित शृंखला हो । यो फाइनलले सन्देश दिएको छ- नियन्त्रण, अनुशासन र धैर्यले अझै पनि अराजकतालाई पराजित गर्न सक्छ । अन्य सान्दर्भिक सामग्रीहरू : ३९ वर्षमा पनि मेसीकै जादु, विश्वकपमा फेरि इतिहास रच्ने अवसर इङ्ल्यान्ड र अर्जेन्टिनाले एक-अर्कालाई किन घृणा गर्छन् ? यस्तो छ ६४ वर्षदेखिको तिक्तता केन र बेलिङ्घमकै भरमा इङ्ल्यान्डले विश्वकप जित्न सक्ला ? पहिलो सेमिफाइनल : उपाधिको दाबेदार फ्रान्स र स्पेनबीच निर्णायक खेल कसले जित्ला विश्वकप ? यस्तो छ अप्टा सुपरकम्प्युटरको भविष्यवाणी इङ्ग्ल्यान्डको नायक बेलिङ्घम सेमिफाइनल समीकरण पूरा, फुटबलका चार महाशक्ति उपाधि दौडमा यी हुन् इङ्ल्यान्डले नर्वेलाई हराउन गर्नुपर्ने ६ मुख्य काम हालान्डको नाममै उन्माद ‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती  यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण]  विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान  मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः  लेखे