काठमाडौं । निजी क्षेत्रको वायु सेवा कम्पनी बुद्ध एयर प्रालिले गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा १० अर्ब ३१ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ६७ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो, जुन आर्थिक वर्ष २०८०/८१ को १३ अर्ब २२ करोड ६० लाख रुपैयाँको तुलनामा ३.३८ प्रतिशत अर्थात् ४४ करोड ८० लाख रुपैयाँले बढी हो ।
यसअघि कम्पनीले आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ, आव २०७८/७९ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँ, आव २०७७/७८ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ, आव २०७६/७७ मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँ, आव २०७५/७६ मा ६ अर्ब ८० करोड ८० लाख रुपैयाँ र आव २०७४/७५ मा ६ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
सन् १९९६ मा स्थापना भएको बुद्ध एयर नेपालका निजी क्षेत्रका सबैभन्दा ठूलो तथा सबैभन्दा लामो समयदेखि सञ्चालनमा रहेको वायुसेवा कम्पनी हो । कम्पनीले मुख्य रूपमा नेपालको प्रमुख आन्तरिक हवाई मार्गमा सेवा दिँदै आएको छ भने काठमाडौंबाट भारतको वाराणसी र कोलकातामा समेत अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको छ ।
हाल कम्पनीसँग एक एटीआर-४२ र १४ एटीआर-७२ गरी १५ वटा विमान छन् भने कम्पनीका अध्यक्ष वीरेन्द्र बहादुर बस्नेत हुन् । तीन वटा विमान बिक्री तथा सेवामुक्त गरेपश्चात् १५ वटा विमानमा सीमित भएको हो । आन्तरिक हवाई यात्रु संख्याका आधारमा कम्पनीले करिब ५७ प्रतिशत बजार हिस्सा कायम राखेको जनाएको छ । अघिल्लो वर्ष यो हिस्सा करिब ६० प्रतिशत रहेको थियो । अघिल्लो वर्षको तुलनामा हिस्सा घटेपनि बजार नेतृत्व भने कायम रहेको जनाएको छ ।
कम्पनीले नाफाको अधिकांश हिस्सा सञ्चित गर्दै आएको छ । आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा खुद नाफाको करिब १ प्रतिशत मात्र लाभांश वितरण गरी बाँकी रकम कम्पनीमै राखिएको जनाएको छ । अतिरिक्त नगद प्रवाहबाट दीर्घकालीन ऋणको नियमित भुक्तानी गर्नुका साथै अल्पकालीन ऋणसमेत घटाउँदै आएको कम्पनीको दाबी छ । भद्रपुरमा भएको विमान दुर्घटनापछि प्राप्त बीमा दाबी रकमबाट केही अल्पकालीन ऋण समयअघि नै चुक्ता गरिएको पनि कम्पनीले जनाएको छ ।
अप्रिल २०२६ को अन्त्यसम्म सञ्चालन आम्दानीको तुलनामा खुद कार्यशील पुँजीको अनुपात करिब ९ प्रतिशत रहेको छ । कम्पनीसँग ७१ प्रतिशत अप्रयुक्त ऋण उपयोग क्षमता (ड्रइङ पावर) रहेको छ, जसमा धितोका रूपमा रहेका ऋणमुक्त विमानहरूको मूल्य पनि समावेश छ ।
गत आर्थिक वर्षको पहिलो नौ महिनामा सञ्चालन नाफा मार्जिन ८.२ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यो १० प्रतिशत तथा त्यसअघिको वर्ष १९.४ प्रतिशत रहेको थियो । इन्जिन मर्मत तथा ओभरहोल खर्च बढ्नु र पश्चिम एसियाको भू-राजनीतिक तनावका कारण हवाई इन्धन (एटीएफ) महँगिनुले नाफामा दबाब परेको कम्पनीले जनाएको छ ।
प्रति उपलब्ध सिट-किलोमिटर आम्दानी (आरएएसके) अप्रिल २०२६ सम्म महामारीअघिकै स्तरमा पुगेर करिब २१.२ रुपैयाँ पुगे पनि कर्मचारी तथा मर्मत-सम्भार खर्च बढ्दा प्रति उपलब्ध सिट-किलोमिटर लागत (सीएएसके) पनि बढेको छ । यसका कारण आम्दानी र लागतबीचको अन्तर २.८ रुपैयाँमा सीमित भएको छ, जुन पछिल्लो पाँच-छ वर्षयताकै न्यून स्तर हो । सन् २०१९ मा यो अन्तर ८.९ रुपैयाँ थियो ।
गत आर्थिक वर्षको साढे ९ महिनामा यात्रु संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशतले घटेको छ । यात्रु भराइ दर (प्यासेन्जर लोड फ्याक्टर) पनि सन् २०२२ को करिब ९२ प्रतिशतबाट पछिल्ला वर्षमा ८३-८५ प्रतिशतमा झरेको कम्पनीले जनाएको छ।
हाल कम्पनीसँग ३ अर्ब १२ करोड ६ लाख रुपैयाँ तथा १३.७५ मिलियन अमेरिकी डलर बराबर ऋण रहेको छ । यसमध्ये १ अर्ब १३ करोड ६ लाख रुपैयाँ र १३.७५ मिलियन अमेरिकी डलर दीर्घकालीन ऋण रहेको छ । त्यस्तै, कम्पनीले ८७ करोड रुपैयाँ अल्पकालीन ऋण, ८७ करोड रुपैयाँ ओभरड्राफ्ट सुविधा तथा २५ करोड रुपैयाँ बैंक ग्यारेन्टी उपयोग गरेको छ ।
कुल बैंक ऋणमध्ये करिब ६३ प्रतिशत अमेरिकी डलरमा रहेको तथा विमान मर्मत-सम्भार र स्पेयर पाट्र्ससम्बन्धी अधिकांश खर्च पनि डलरमै हुने भएकाले विनिमय दरको उतारचढाव कम्पनीका लागि प्रमुख वित्तीय जोखिमका रूपमा रहेको कम्पनीले जनाएको छ ।