५ दिनमै सरकारको यू-टर्न, अब कसरी फिर्ता हुन्छ ?
काठमाडौं । निजी विद्यालय र अस्पतालले आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै साउन १ देखि ५ गतेसम्म सेवाग्राहीबाट उठाएको ३ प्रतिशत शिक्षा तथा स्वास्थ्य समता शुल्क फिर्ता गर्ने भएका छन् । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको उक्त शुल्क हटाउने निर्णय गरेपछि निजी विद्यालयहरूले शुल्क अभिभावकलाई फिर्ता गर्ने भएका छन् भने अस्पतालहरूले भने सरकारलाई नै बुझाउने प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाएको समता शुल्क कर हटाउने घोषणा गरेपछि विद्यालय र अस्पतालहरू शुल्क फिर्ताको तयारीमा जुटेका हुन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी शिक्षा र स्वास्थ्य सेवामा ३ प्रतिशत समता शुल्क लगाउने घोषणा गरेका थिए । उक्त व्यवस्था साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो । सरकारको निर्णय सार्वजनिक भएलगत्तै निजी विद्यालय तथा अस्पताल सञ्चालकहरूले यो शुल्क संविधानले सुनिश्चित गरेको शिक्षा र स्वास्थ्यसम्बन्धी अधिकारको भावना विपरीत भएको भन्दै विरोध जनाएका थिए । उनीहरूले शुल्क तत्काल फिर्ता लिन सरकारसँग निरन्तर माग गर्दै आएका थिए । निजी शिक्षा र स्वास्थ्य क्षेत्रको निरन्तर दबाब तथा विरोधपछि सरकारले अन्ततः समता शुल्क हटाउने निर्णय गरेको हो । शुल्क खारेज गर्ने सरकारी निर्णयसँगै साउन १ देखि ५ गतेसम्म उठाइएको रकम सम्बन्धित सेवाग्राहीलाई फिर्ता गर्ने तयारी निजी विद्यालय र अस्पतालहरूले थालेका हुन् । अस्पतालले रकम सरकारलाई नै बुझाउने निजी अस्पतालका सञ्चालकहरूले साउन १ देखि ५ गतेसम्म सेवाग्राहीबाट उठाएको समता शुल्क सरकारलाई नै बुझाउने तयारी गरेका छन् । आफूहरूले आन्तरिक राजश्व कार्यालयमार्फत पाँच दिनमा उठाएको शुल्क सरकारले नै बुझाउने तयारी रहेको सञ्चालकहरूले बताएका हुन् । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)का अध्यक्ष डा. पद्म खड्काले विद्यालयको जस्तो शुल्क समायोजन गरेर बिरामीलाई रकम फिर्ता गर्न अस्पताललाई सहज नभएको बताए । ‘विद्यालयले अर्को महिनाको शुल्कमा समायोजन गर्न सक्छन् । तर अस्पतालमा एकपटक उपचार गराएर गएको बिरामी फेरि आउँछ भन्ने निश्चित हुँदैन । त्यसैले रकम फिर्ता गर्न व्यवहारिक चुनौती छ,’ उनले भने । उनी बिरामीलाई प्रत्यक्ष रुपमा करमार्फत लिएको शुल्क फिर्ता गर्न समस्या हुने बताउँदै त्यसको कार्यविधि सरकारले नै स्पष्ट गर्नुपर्ने बताउँछन् । ‘जसरी कर लगाउने निर्णय सरकारले गरेको थियो, त्यसैगरी फिर्ता गर्ने प्रक्रिया पनि सरकारले नै तोक्नुपर्छ,’ डा. खड्का भन्छन्, ‘पहिले उठाएको कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने व्यवस्था थियो । अब पाँच दिनसम्म उठेको रकम राजस्वमा बुझाउने कि सेवाग्राहीलाई नै फिर्ता गर्ने भन्नेबारे सरकारले नै स्पष्ट मार्गदर्शन गर्नुपर्छ ।’ उनले यो कर अस्पताल सञ्चालकले नभई प्रत्यक्ष रूपमा सेवाग्राहीले तिरेको भएकाले फिर्ता पनि उनीहरूलाई नै हुनुपर्ने बताए । ‘यो शुल्क अस्पतालको आम्दानी होइन, राज्यलाई तिर्नका लागि नागरिकबाट उठाइएको रकम हो । अब सरकारले कर फिर्ता गर्ने निर्णय गरिसकेको अवस्थामा जसबाट उठाइएको हो, उसैलाई फिर्ता गर्नुपर्छ,’ उनले भने । डा. खड्काले समता शुल्कको भार अन्ततः नागरिकमाथि नै पर्ने भएकाले यस्ता निर्णय गर्दा सरकारले संवेदनशील हुनुपर्ने धारणा पनि राखे । ‘कर बढ्दा आर्थिक भार नागरिकमाथि पर्छ । त्यसैले यस्ता नीति बनाउँदा सरकारले त्यसको प्रभाव राम्रोसँग मूल्याङ्कन गर्नुपर्छ, यसमा नागरिक आफै पनि कस्तो सरकार बनाउने भन्नेबारे सचेत रहनुपर्छ,’ उनले भने । उनले संविधानले शिक्षा र स्वास्थ्यलाई आधारभूत अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै त्यसको भावना विपरीत अतिरिक्त शुल्क लगाउने निर्णय उचित नभएको समेत बताए । शुल्क लिएको भए विद्यालयले फिर्ता गर्ने निजी विद्यालयहरूले विद्यार्थी तथा अभिभावकबाट ३ प्रतिशत समता शुल्क उठाएको पाइए त्यसलाई फिर्ता गर्ने बताएका छन् । सरकारले समता शुल्क हटाउने निर्णय गरेपछि विद्यालय सञ्चालकहरूले उठाइएको रकम अभिभावकलाई नै फिर्ता गर्ने प्रतिबद्धता जनाएका हुन् । केही विद्यालयले समता शुल्क समावेश गरेर शुल्कको बिल पठाएको गुनासो आएपछि निजी विद्यालय सञ्चालकहरूले शुल्क असुल भएको पुष्टि भएमा त्यसको व्यवस्थापन गरिने दावी गरेका छन् । सरकारले निजी शिक्षा क्षेत्रमा समता शुल्क लागू गर्ने घोषणा गरेलगत्तै निजी विद्यालय सञ्चालकहरू त्यसको विरोधमा उत्रिएका थिए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन–प्याब्सन) लगायतका संस्थाले उक्त शुल्क संविधानको भावना विपरीत भएको भन्दै सरकारसँग निरन्तर फिर्ता लिन माग गर्दै आएका थिए । संविधानले शिक्षा मौलिक तथा निःशुल्क अधिकारका रूपमा सुनिश्चित गरेको अवस्थामा निजी शिक्षामा अतिरिक्त कर लगाउँदा त्यसको प्रत्यक्ष आर्थिक भार विद्यार्थी र अभिभावकमाथि पर्ने भएकाले यस्तो व्यवस्था न्यायोचित हुन नसक्ने उनीहरूको भनाइ थियो । व्यवसायीहरूको निरन्तर दबाबपछि सरकारले समता शुल्क हटाउने निर्णय गरेसँगै अब उठाइएको शुल्क कसरी र कुन प्रक्रियाबाट अभिभावकलाई फिर्ता गर्ने भन्नेबारे विद्यालयहरूले आन्तरिक छलफल गरिरहेको बताएका छन् । प्याब्सनका महासचिब आरबी कटुवाल भन्छन्, ‘अहिलेसम्म कुनै पनि विद्यालयले करसहितको शुल्क लिएको भन्ने कुरा आएको छैन, तर कतिपयले लिनुभएको छ भने अब समायोजन गरिन्छ ।’ कसरी हट्छ सरकारले लगाएको कर ? समता शुल्क हटाउने सरकारको निर्णयमा कुनै कानुनी जटिलता नरहेको कानुनविद्हरू बताउँछन् । आर्थिक ऐनले नै सरकारलाई आवश्यकताअनुसार करको दर परिवर्तन गर्ने, पूर्ण वा आंशिक रूपमा छुट दिने तथा खारेज गर्ने अधिकार दिएको उनीहरूको भनाइ छ । संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले समता शुल्क हटाउने विषयमा सरकारले कानुनअनुसार नै निर्णय गर्न सक्ने बताउँछन् । ‘कर लगाउने, बढाउने, घटाउने, पूर्ण वा आंशिक छुट दिने, महशुल तथा शुल्कसम्बन्धी व्यवस्था आर्थिक ऐनमार्फत हुन्छ,’ गिरी भन्छन्, ‘आर्थिक ऐनको दफा १८ ले सरकारले आवश्यकताअनुसार करसम्बन्धी निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । त्यसैले समता शुल्क खारेज गर्न कुनै कानुनी समस्या हुँदैन ।’ आर्थिक ऐनको दफा १८ ले करको दर हेरफेर गर्ने, पूर्ण वा आंशिक रूपमा छुट दिने अधिकार सरकारलाई प्रत्यायोजन गरेको छ । संसद्ले यही व्यवस्थामार्फत सरकारलाई आवश्यकताअनुसार करसम्बन्धी निर्णय गर्ने अधिकार दिएको गिरीको भनाइ छ । ‘संसद्ले कानुनमार्फत सरकारलाई अधिकार प्रत्यायोजन गरेको छ । त्यसैका आधारमा सरकारले कर छुट वा खारेज गर्ने निर्णय गर्न सक्छ,’ उनले भने । मन्त्रिपरिषदको निर्णय अनिवार्य सरकारले लगाएको कर फिर्ता लिन सक्ने व्यवस्था आर्थिक ऐनको दफा १८ मा उल्लेख भएपनि यसका लागि मन्त्रिपरिषद्को निर्णय अनिवार्य हुन्छ । साथै आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरेर नेपाल राजपत्रमा सूचना प्रकाशन भएपछि मात्रै मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनमा आउँछ । कानुनले स्पष्टरूपमा कर लगाउने, छुट दिने र फिर्ता लिने अधिकार मन्त्रिपरिषदमा हुने व्यवस्था गरेको छ । कर फिर्ती कार्यान्वयनको कानुनी मान्यता पाउन अर्थ मन्त्रालयले राजपत्रका सूचना प्रकाशन गर्नुपर्छ । राजपत्रमा सूचना प्रकाशन नभएसम्म सरकारी निर्णय कार्यान्वयनमा आउँदैन ।
दुनियाँ सिक्स–जीमा, नेपाल फाइभ–जीमा
काठमाडौं । चीन, अमेरिका, दक्षिण कोरिया, भारतलगायत मुलुकहरूले पाँचौं पुस्ताको मोबाइल सेवा फाइभ–जीलाई उद्योग, स्वास्थ्य, शिक्षा र सार्वजनिक सेवासम्म विस्तार गरिरहेका बेला नेपाल भने अझै फाइभ–जीको व्यावसायिक सुरुवातको मिति तय गर्नै संघर्षरत छ । अझ रोचक त के छ भने विश्व दूरसञ्चार क्षेत्र अहिले छैटौं पुस्ताको मोबाइल प्रविधि सिक्स–जीको अन्तर्राष्ट्रिय मापदण्ड तयार गर्ने अन्तिम चरणमा प्रवेश गरिसकेको छ । नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले तीन वर्ष पहिले काठमाडौंका सीमित क्षेत्रमा फाइभ–जी परीक्षण सम्पन्न गरेको थियो । त्यसयता नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए), सूचना तथा सञ्चार मन्त्रालय र सेवा प्रदायकहरूले पटक–पटक आवश्यक तयारी भइरहेको र छिट्टै सेवा सञ्चालन हुने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । तर परीक्षण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि न फाइभ–जी स्पेक्ट्रमको व्यावसायिक वितरण टुंगिएको छ, न सेवा सञ्चालनको स्पष्ट समयतालिका सार्वजनिक भएको छ । पछिल्लो समय भने एनटीएले फाइभ–जी स्पेक्ट्रम लिलामको तयारी पूरा भएको र फ्रिक्वेन्सी वितरणपछि सेवा प्रदायकहरूले प्रमुख सहरबाट सेवा विस्तार गर्ने तयारी गरेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । यसबीच विश्व भने अर्को पुस्ताको प्रविधितर्फ अघि बढिसकेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघले आईएमटी २०३० अन्तर्गत सिक्स–जीको प्राविधिक कार्यसम्पादन मापदण्ड तयार गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सञ्चारमाध्यमहरूका अनुसार रेडियो इन्टरफेस मूल्याङ्कनको दिशानिर्देशसमेत विकासको चरणमा पुगेका छ । यी मापदण्डका आधारमा आगामी केही वर्षभित्र सिक्स–जी प्रविधिको मापदण्ड पूरा गरी २०३० को सुरुवातमा व्यावसायिक सेवा सुरु गर्ने लक्ष्य राखिएको छ । परीक्षण भयो, तर सेवा किन सुरु भएन ? नेपालमा फाइभ–जीको चर्चा सुरु भएको पाँच वर्षभन्दा बढी भइसक्यो । नेपाल टेलिकमले परीक्षण सफल भएको जनाएको थियो भने निजी सेवा प्रदायक एनसेलले पनि आवश्यक स्पेक्ट्रम उपलब्ध गराइए सेवा विस्तारका लागि तयार रहेको बताउँदै आएको छ । तर दूरसञ्चार क्षेत्रका अधिकारीहरूका अनुसार परीक्षण सफल हुनु र व्यावसायिक सेवा सञ्चालन हुनु दुई फरक प्रक्रिया हुन् । व्यावसायिक फाइभ-जी सञ्चालनका लागि पर्याप्त रेडियो स्पेक्ट्रम, स्पष्ट मूल्य निर्धारण, फ्रिक्वेन्सी वितरण, नयाँ रेडियो नेटवर्क, उच्च क्षमताको अप्टिकल फाइबर ब्याकहोल, एज कम्प्युटिङ तथा डेटा सेन्टरजस्ता पूर्वाधार आवश्यक पर्छ । यी सबैमा ठूलो लगानी आवश्यक पर्ने भएकाले सेवा प्रदायकहरूले नीतिगत स्पष्टता र लगानीको सुनिश्चितता खोजिरहेको नेपाल टेलिकमका एक उच्च अधिकारीले जानकारी दिए । टेलीकमले नियामकले स्पेक्ट्रम वितरण प्रक्रियालाई अन्तिम रूप दिन समय लगाएको आरोप लगाएको छ । टेलिकमका प्रवक्ता कमल लामिछाने नियामकले अक्सन आह्वान गरे भाग लिने तयारीमा टेलिकम रहेको बताउँछन् । उनी फाइभ–जीमा राज्यका निकायहरूको सहयोगको अपेक्षा रहेको बताउँछन् । दूरसञ्चार क्षेत्रका जानकारहरूका अनुसार नेपालमा अझै फोर–जी सेवाको गुणस्तरीय पहुँच देशभर समान रूपमा विस्तार हुन सकेको छैन । धेरै ग्रामीण क्षेत्रमा फोर–जीकै गुणस्तर चुनौतीपूर्ण रहेका कारण सेवा प्रदायकहरू नयाँ पुस्ताको प्रविधिमा ठूलो लगानी गर्न हतारिएका छैनन् । कहाँ पुग्यो दक्षिण एसिया ? नेपालको तुलनामा दक्षिण एसियाका अधिकांश मुलुकले फाइभ–जी कार्यान्वयनमा उल्लेख्य प्रगति गरिसकेका छन् । भारतले २०२२ देखि देशव्यापी फाइभ–जी विस्तार गर्दै औद्योगिक प्रयोग, स्मार्ट सिटी, स्वास्थ्य सेवा र निजी फाइभ-जी नेटवर्क सञ्चालन गरिरहेको छ । भारत सरकारले भारत सिक्स–जी भिजन सार्वजनिक गरेर सिक्स–जी अनुसन्धानलाई राष्ट्रिय प्राथमिकतामा राखिसकेको छ । भुटानले सीमित क्षेत्रमा फाइभ–जी सेवा उपलब्ध गराइसकेको छ भने बंगलादेश र श्रीलंकाले परीक्षण तथा चरणबद्ध विस्तारको नीति अपनाएका छन् । पाकिस्तानले पनि स्पेक्ट्रम व्यवस्थापनमार्फत व्यावसायिक फाइभ जी सेवाको तयारी गरिरहेको छ । यस परिप्रेक्ष्यमा हेर्दा नेपाल दक्षिण एसियामै फाइभ–जी व्यावसायिक सेवामा सबैभन्दा पछाडि पर्ने देशहरूमध्ये एक देखिन्छ । विश्व किन सिक्स–जी तर्फ केन्द्रित छ ? सिक्स–जीलाई केवल अझ छिटो इन्टरनेटका रूपमा मात्रै बुझ्न नहुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । यसले कृत्रिम बौद्धिकतालाई नेटवर्कको आधारभूत संरचनामै समावेश गर्ने, टेरेस्टोरीयल र स्याटेलाइट सञ्चारलाई एकीकृत गर्ने तथा सञ्चार र सेन्सिङलाई एउटै प्रणालीमा जोड्ने अवधारणा अघि सारेको छ । यस प्रविधिबाट स्वचालित सवारीसाधन, होलोग्राम सञ्चार, डिजिटल ट्विन, स्मार्ट उद्योग, रिमोट सर्जरी तथा अत्यन्त न्यून छिटो आवश्यक पर्ने सेवा सम्भव हुने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय टेलिकम युनियनका अनुसार सिक्स–जीले फाइभ–जीभन्दा नयाँ सातवटा प्राविधिक क्षमता थप्ने लक्ष्य राखेको छ, जसमा सर्वव्यापी बौद्धिकता, दिगोपन, उच्च ऊर्जा दक्षता र अझ उन्नत नेटवर्क समन्वय प्रमुख रहेका छन् । नेपालले गुमाइरहेको अवसर नेपालमा फाइभ–जी ढिलो हुनुको असर केवल मोबाइल इन्टरनेटको गतिमा सीमित नहुने एनटीएका एक उच्च अधिकारी बताउँछन् । उनका अनुसार सूचना प्रविधिमा आधारित उद्योग, एआई, क्लाउड सेवा, स्मार्ट उत्पादन, डिजिटल स्वास्थ्य, स्वचालित उद्योग र उच्च क्षमताको डेटा अर्थतन्त्र निर्माणमा पनि यसको प्रत्यक्ष प्रभाव पर्न सक्छ । विश्वका धेरै देशले फाइभ–जीलाई डिजिटल अर्थतन्त्रको आधारभूत पूर्वाधारका रूपमा प्रयोग गरिरहेका बेला नेपाल भने अझै नीतिगत निर्णयकै चरणमा अल्झिएको उनले जानकारी दिए । उनका अनुसार यसले विदेशी लगानी, प्रविधि हस्तान्तरण र डिजिटल प्रतिस्पर्धात्मक क्षमतामा समेत असर पार्न सक्छ । टेलिकमका विज्ञहरूका अनुसार नेपालले अब फाइभ–जीलाई केवल दूरसञ्चार सेवाको विषय नभई राष्ट्रिय डिजिटल पूर्वाधारको परियोजनाका रूपमा लिनुपर्ने आवश्यकता रहेको बताउँछन् । त्यसका लागि स्पेक्ट्रम वितरण शीघ्र टुंग्याउने, स्पष्ट कार्यतालिका सार्वजनिक गर्ने, फाइबर पूर्वाधार विस्तार गर्ने, डेटा सेन्टरमा लगानी बढाउने तथा निजी क्षेत्रलाई दीर्घकालीन नीतिगत स्थिरता प्रदान गर्नुपर्ने उनीहरूको सुझाव छ । फाइभ-जी स्पेक्ट्रम किन्न १० मेगाहर्जकै २६० करोड रुपैयाँ फाइभ-जीको प्रक्रिया अगाडि बढाउँदै प्राधिकरण दशैंसम्म चक्रपथभित्र फाइभ-जी सञ्चालन गर्ने योजना, न्यून प्रतिफल र महँगो लागतले अलमल
गोप्य रूपमा सुन थुपार्दै चीन, सरकारी तथ्यांकभन्दा धेरै सुन भएको दावी
काठमाडौं । पछिल्लो समय चीनले चुपचाप ठूलो मात्रामा सुन सञ्चय गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । चीनले अन्तर्राष्ट्रिय बजारबाट खरिद गर्ने सबै सुनको विवरण सार्वजनिक गर्दैन । गोल्डम्यान स्याक्सको अनुमानअनुसार चीनले मे महिनामा लन्डनको ओटीसी (ओभर-द-काउन्टर) बजारमार्फत ४८ टनभन्दा बढी सुन खरिद गरेको थियो । यो एक वर्षभन्दा बढी अवधिमा कुनै एक महिनामा गरिएको सबैभन्दा ठूलो खरिद हो । यो परिमाण चीनको केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकभन्दा ४.८ गुणा बढी हो । चीनको केन्द्रीय बैंकले मे महिनामा १० टन सुन खरिद गरेको आधिकारिक घोषणा गरेको थियो । त्यसपछि जुन महिनामा उसले १५ टन सुन खरिद गरेको जनाएको छ, जुन कम्तीमा साढे दुई वर्षयताकै सबैभन्दा ठूलो मासिक खरिद हो । यससँगै चीनको केन्द्रीय बैंकले लगातार २०औं महिनासम्म आफ्नो सुन सञ्चिति बढाएको छ । यस वर्ष हालसम्म चीनले आधिकारिक रूपमा ४० टन सुन खरिद गरिसकेको छ । विश्लेषकहरूका अनुसार चीनले खरिद गरेको वास्तविक सुनको परिमाण आधिकारिक तथ्यांकभन्दा निकै बढी छ । उनीहरूको अनुमानमा चीनले यस वर्ष हालसम्म करिब ८० टन सुन सञ्चय गरिसकेको छ । सन् २००९ मा चीन गोल्ड एसोसिएसनका तत्कालीन उपमहासचिव होउ हुइमिनले चीनसँग कम्तीमा ५ हजार टन सुनको सञ्चिति हुनुपर्ने बताएका थिए । तर अमेरिकाको स्तरमा पुग्न चीनले अझै लामो दूरी तय गर्न बाँकी छ । हाल अमेरिकासँग ८ हजार १३३.५ टन सुन सञ्चिति छ, जुन विश्वमै सबैभन्दा ठूलो हो । त्यसपछि जर्मनी (३ हजार ३५०.३ टन), इटाली (२ हजार ४५१.८ टन), फ्रान्स (२ हजार ४३७ टन) र रूस (२ हजार ३३० टन) रहेका छन् । चीन २ हजार ३१३ टन सुन सञ्चितिसहित यो सूचीको सातौं स्थानमा छ । त्यसपछि क्रमशः स्विट्जरल्यान्ड (१ हजार ४० टन), भारत (८८१ टन), जापान (८४६ टन) र नेदरल्यान्ड्स (६१२ टन) रहेका छन् । चीनले किन थुपार्दैछ सुन ? चीनले आफ्नो सुन सञ्चिति बढाइरहनुका पछाडि धेरै रणनीतिक र आर्थिक कारण रहेको विश्लेषकहरूको भनाइ छ । यद्यपि चीनले भने यी कारणहरूलाई आधिकारिक रूपमा पुष्टि गरेको छैन । विश्लेषकहरूका अनुसार चीनले अमेरिकी डलरमाथिको निर्भरता क्रमशः घटाउँदै विदेशी मुद्रा सञ्चितिलाई थप विविधीकरण गर्ने रणनीति अपनाइरहेको छ । अमेरिका–चीनबीच बढ्दो व्यापारिक तथा भू-राजनीतिक तनाव र सम्भावित वित्तीय प्रतिबन्धको जोखिमलाई ध्यानमा राख्दै चीनले सुनको हिस्सा बढाएको हुन सक्ने उनीहरूको आँकलन छ । सुनलाई विश्वव्यापी रूपमा सुरक्षित (सेफ हेभेन) सम्पत्ति मानिन्छ । युद्ध, आर्थिक मन्दी वा वित्तीय संकटका बेला सुनको मूल्य तुलनात्मक रूपमा स्थिर रहने भएकाले धेरै केन्द्रीय बैंकले जोखिम व्यवस्थापनका लागि सुन सञ्चिति बढाउने गर्छन् । चीनको कदमलाई पनि यही रणनीतिसँग जोडेर हेरिएको छ । यस्तै, चीनले आफ्नो मुद्रा युआनको अन्तर्राष्ट्रिय प्रयोग विस्तार गर्ने दीर्घकालीन लक्ष्य लिएको छ । ठूलो सुन सञ्चितिले केन्द्रीय बैंकको वित्तीय विश्वसनीयता बढाउन सहयोग पुग्ने भएकाले यसलाई पनि एक कारणका रूपमा हेरिएको छ । हाल अमेरिकासँग करिब ८,१३३.५ टन सुन सञ्चिति छ, जुन विश्वमै सबैभन्दा ठूलो हो । चीनसँग भने आधिकारिक रूपमा २,३१३ टन सुन सञ्चिति छ । त्यसैले चीनले निरन्तर सुन खरिद गरिरहे पनि निकट भविष्यमा अमेरिकालाई उछिन्ने सम्भावना कम देखिन्छ । यद्यपि केही विश्लेषकहरूले चीनको वास्तविक सुन सञ्चिति आधिकारिक तथ्यांकभन्दा बढी हुन सक्ने अनुमान गरेका छन् ।