इरान युद्ध अपडेट : विश्वलाई असर पार्ने पाँच महत्त्वपूर्ण घटनाक्रम

युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा वृद्धि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम समाप्त भएको घोषणा गरेको १० दिन बितिसकेको छ । त्यसयता दुवै पक्षले पुनः सैन्य आक्रमण सुरु गरेका छन्, जसले मध्यपूर्वको सुरक्षा अवस्था र विश्व भू–राजनीतिमा फेरि अनिश्चितता बढाएको छ ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सीईएनटीओएम) ले लगातार १० रात इरानमाथि हवाई आक्रमण गरेको छ । अमेरिकाले यी आक्रमणहरू इरानले हर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजमाथि आक्रमण गर्न प्रयोग गर्ने सैन्य क्षमता कमजोर पार्न गरिएको जनाएको छ ।

युद्धको पछिल्लो अवस्थाबारे जान्नुपर्ने पाँच मुख्य कुरा यस्ता छन् :
 
१. हर्मुज जलडमरूमध्यबाट जहाज आवागमनमा तीव्र गिरावट

युद्ध फेरि सुरु भएपछि विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हर्मुज जलडमरूमध्यबाट हुने जहाज आवागमन उल्लेखनीय रूपमा घटेको छ । लोयड्सका विश्लेषकहरूका अनुसार धेरै जहाजले आफ्नो पहिचान संकेत (ट्रान्सपोन्डर) बन्द गरेर यात्रा गरिरहेका छन् ।

व्यापारिक तथ्यांक कम्पनी केप्लरका अनुसार गत सप्ताहन्तमा केवल ३० वटा जहाज मात्र उक्त जलडमरूमध्य पार गरेका थिए । जबकि अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु गर्नुअघि दैनिक १०० भन्दा बढी जहाज यस मार्गबाट आवतजावत गर्थे ।

यद्यपि ट्रम्प प्रशासनले भने अमेरिकी सैन्य सुरक्षामा हर्मुज जलडमरूमध्य खुला रहेको र दैनिक लाखौं ब्यारेल तेल सुरक्षित रूपमा निर्यात भइरहेको दाबी गरेको छ ।

२. तेलको मूल्य फेरि उकालो

युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य जुलाई २० मा एक महिनापछि पहिलो पटक प्रति ब्यारेल ९० अमेरिकी डलर नाघेको छ । त्यस्तै, अमेरिकी कच्चा तेल (डब्ल्यूटीआई) को मूल्य पनि एक महिनायताकै उच्च स्तरमा पुगेको छ ।

अमेरिकी ऊर्जा सूचना प्रशासन (एफआईए) का अनुसार हर्मुज जलडमरूमध्यबाट दैनिक करिब २ करोड ३ लाख ब्यारेल कच्चा तेल तथा पेट्रोलियम पदार्थ ओसारपसार हुन्छ । यो विश्वभर समुद्री मार्गबाट हुने तेल व्यापारको करिब २५ प्रतिशत हो । यस मार्गबाट निर्यात हुने करिब ९० प्रतिशत तेल एसियाली बजार विशेषगरी चीन र भारत पुग्ने गर्छ ।

इनर्जी एस्पेक्ट्सकी संस्थापक तथा बजार विश्लेषक अमृता सेनका अनुसार यदि आपूर्ति अवरोध अगस्टसम्म जारी रह्यो भने खाडी क्षेत्रको उत्पादन घट्न सक्छ र तेलको मूल्य फेरि तीन अंक (१०० डलरभन्दा माथि) पुग्ने सम्भावना छ ।

३. इरानसँग अझै पनि जवाफी आक्रमण गर्ने क्षमता

अमेरिकी आक्रमणका बाबजुद इरानसँग अमेरिका, उसका साझेदार र मध्यपूर्वमा रहेका अमेरिकी सम्पत्तिलाई क्षति पुर्याउने क्षमता अझै कायम रहेको विश्लेषण गरिएको छ ।

इरानसँग सम्बन्धित आक्रमणका कारण व्यावसायिक जहाजहरू पनि जोखिममा परेका छन् । ग्रीक कम्पनी डाइनाकमद्वारा सञ्चालित एउटा जहाज हर्मुज जलडमरूमध्यमा अज्ञात प्रहारपछि आगलागी भएको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तेहरानले अझै पनि क्षेप्यास्त्र र ड्रोन प्रहार गर्न सक्ने क्षमता राखेको छ । अमेरिकी सैन्य अड्डा रहेका देशहरूमा भएका पछिल्ला आक्रमणमा थप तीन अमेरिकी सैनिक मारिएको बताइएको छ ।

यसपछि राष्ट्रपति ट्रम्पले तेहरानले यसको ‘धेरै गुणा मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका छन्। साथै उनले हर्मुज जलडमरूमध्य इरानबाहेक सबैका लागि खुला रहने बताएका छन् ।

४. युद्ध अन्त्य गर्ने सहज विकल्प देखिँदैन

अमेरिकी सञ्चारमाध्यम एक्सिओसका अनुसार कतार र पाकिस्तानले अमेरिका तथा इरानबीच १० दिनको युद्धविराम प्रस्ताव गरेका छन् । तर वार्ता असफल हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै वासिङ्टनले थप सैन्य तयारी पनि गरिरहेको छ ।

उक्त रिपोर्टअनुसार इजरायलले केही दिनभित्र युद्धलाई अझ व्यापक र समन्वित सैन्य अभियानमा विस्तार गर्ने तयारी गरिरहेको छ ।

पर्यवेक्षक रिसर्च फाउन्डेसनका भू–राजनीति विज्ञ क्लेमेन्स चेका अनुसार अहिलेको अवस्था नियन्त्रणभित्र देखिए पनि क्रमशः थप खतरनाक बन्दै गएको छ ।

उनका अनुसार अमेरिकासँग अहिले कुनै पनि सजिलो विकल्प छैन । उसले या त इरानको दीर्घकालीन दबाब सहनुपर्नेछ वा युद्ध अझ विस्तार गर्नुपर्नेछ अथवा केही विशेष छुट दिनुपर्ने अवस्था आउन सक्छ ।

उनले हर्मुज जलडमरूमध्य इरानका लागि ‘चाहेको बेला खोल्न र बन्द गर्न सकिने रणनीतिक हतियार’ जस्तै रहेको भन्दै हर्मुजसँगै बाब अल–मन्देब जलडमरूमध्य पनि अवरुद्ध भए विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी दिएका छन् ।

५. अर्को महत्त्वपूर्ण समुद्री मार्ग पनि जोखिममा

सोमबार राति यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाविरुद्ध समुद्री नाकाबन्दी तत्काल लागू गर्ने घोषणा गरेका छन् । यसले इरानका कारण हर्मुज जलडमरूमध्यमा देखिएको तेल आपूर्ति संकटलाई अझ गम्भीर बनाउन सक्ने अनुमान गरिएको छ ।

हुथीहरूले यसअघि पनि अमेरिका–इरान युद्धका क्रममा बाब अल–मन्देब जलडमरूमध्य बन्द गर्ने चेतावनी दिँदै आएका थिए । यो मार्ग पनि अन्तर्राष्ट्रिय व्यापार तथा साउदी अरेबियाको तेल निर्यातका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ।

हर्मुज जलडमरूमध्य अवरुद्ध भएपछि साउदी अरेबियाले दैनिक लाखौं ब्यारेल तेल पाइपलाइनमार्फत लाल सागरस्थित निर्यात टर्मिनलतर्फ पठाइरहेको छ । यसले हालसम्म विश्व तेल बजारमा केही राहत दिएको छ।
तर यदि बाब अल–मन्देब पनि बन्द भयो भने त्यो वैकल्पिक मार्गसमेत अवरुद्ध हुनेछ र विश्वव्यापी तेल आपूर्ति संकट अझ गहिरिने विश्लेषकहरूको चेतावनी छ । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)
 

Share News