काठमाडौंभन्दा चितवनमा जग्गाको मूल्य बढी
काठमाडौं । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि जग्गाको मूल्यांकन सार्वजनिक गरेको छ । महानगरले विभिन्न क्षेत्रको जग्गा तथा भौतिक संरचनाको मूल्याङ्कनको आधार तथा दररेट तोकेको हो । महानगरको आर्थिक ऐन अनुसार भरतपुर महानगरपालिकाका मुख्य व्यापारिक तथा राजमार्गसँग जोडिएका क्षेत्रको जग्गाको मूल्याङ्कन सबैभन्दा उच्च तोकिएको छ । नारायणगढको मुख्य बजार क्षेत्र, लायन्सचोक, सहिदचोक, चौबीसकोठी, पुलचोक, भरतपुर हाइट र पूर्व-पश्चिम राजमार्ग तथा मुग्लिन-नारायणगढ सडकखण्डसँग जोडिएका जग्गाहरू शीर्ष मूल्य दायरामा रहेका छन् । यी व्यापारिक हबहरूमा अवस्थित जग्गाको मूल्याङ्कन वर्गीकरण अनुसार प्रतिकठ्ठा २ करोड देखि ३ करोड रुपैयाँभन्दा बढीसम्म कायम गरिएको छ । मुख्य राजमार्गबाट अलिकति भित्री भागमा रहेका र मुख्य तथा सहायक लिङ्क रोडले छोएका वडा नं. २, ४, ५, ७, १०, ११, १२ र १५ का आवासीय क्षेत्रहरूको जग्गा मूल्याङ्कन मध्यम वर्गमा राखिएको छ । पक्की बाटो पुगेका तथा सहरी ढाँचामा विकास भइरहेका यी क्षेत्रहरूमा सडकको चौडाइ र पहुँचका आधारमा जग्गाको मूल्य प्रतिकठ्ठा २० लाख देखि १ करोड रुपियाँसम्म तोकिएको छ । महानगरभित्र समेटिएका साविकका पश्चिम तथा दक्षिणी ग्रामीण वडाहरू जस्तै मेघौली, जगतपुर, दिव्यनगर, पदमपुर, काभ्रेघाट तथा नारायणी/राप्ती तटीय क्षेत्रको जग्गाको मूल्याङ्कन सबैभन्दा न्यूनतम कायम गरिएको छ । बाटोको पहुँच नपुगेका वा कच्ची बाटो भएका कृषि तथा बाझो जग्गाहरूको मूल्याङ्कन प्रतिधुर/प्रतिकठ्ठा न्यूनतम दरमा (प्रतिकठ्ठा २ लाख देखि १० लाख रुपैयाँसम्म) तोकिएको छ । आर्थिक ऐन अनुसार नारायणगढ मुख्य बजार र चौबीसकोठी क्षेत्रका नारायणगढको सहिदचोक, लायन्सचोक, कमलनगर, पुलचोक र चौबीसकोठी वरपरका पूर्व–पश्चिम राजमार्ग तथा मुख्य सडकसँग जोडिएका जग्गाको न्यूनतम सरकारी मूल्याङ्कन प्रतिकठ्ठा २ करोड ५० लाखदेखि ३ करोड रुपैयाँसम्म तोकिएको छ । मालपोत÷नापी कार्यालय वरपरको भरतपुर हाइट, अस्पताल रोड, त्रिचोक तथा केन्द्रीय बसपार्क आसपासका सडक मोहडा भएका जग्गाहरूको मूल्याङ्कन प्रतिकठ्ठा १ करोड ५० लाखदेखि २ करोड २५ लाख रुपैयाँसम्म कायम छ । नारायणगढ बजार क्षेत्रका भित्री गल्ली तथा रामनगर–आँपटारी खण्डका पक्की सहायक बाटोले छोएका जग्गाहरूको मूल्याङ्कन प्रतिकठ्ठा ५० लाख देखि १ करोड २५ लाख रुपैयाँसम्म तोकिएको छ । त्रिचोक, भोजड, जखडीमाई तथा बसपार्क पछाडिका आवासीय क्षेत्रका पक्की बाटो भएका जग्गाहरूको मूल्याङ्कन प्रतिकठ्ठा ४० लाखदेखि ९० लाख रुपैयाँसम्म छ । कल्याणपुर, गङ्गानगर तथा केसरबाग आसपासका पक्की बाटोले छोएका जग्गाहरूको मूल्याङ्कन प्रतिकठ्ठा २५ लाख देखि ५० लाख रुपैयाँसम्म कायम गरिएको छ पर्यटकीय तथा आवासीय विकास भइरहेका पटिहानी, जगतपुर क्षेत्रका मुख्य पिच बाटोमा पर्ने जग्गाको मूल्याङ्कन प्रतिकठ्ठा १५ लाख देखि ३५ लाखसम्म र भित्री कच्ची बाटोका जग्गा ८ लाख देखि १५ लाखसम्म तोकिएको छ । साविकका मेघौली तथा दिव्यनगरका मुख्य सडक किनारका जग्गाहरूको मूल्याङ्कन प्रतिकठ्ठा १० लाखदेखि २० लाखसम्म छ भने भित्री कृषि जग्गा तथा बाटो नभएका/कच्ची बाटो भएका जग्गाको मूल्याङ्कन प्रतिकठ्ठा ४ लाख देखि ८ लाख रुपैयाँसम्म (सबैभन्दा न्यूनतम) कायम गरिएको छ । भरतपुरमा काठमाडौंभन्दा बढी मूल्यांकन छ । काठमाडौंका अधिकतम् ५० लाख मूल्यांकन भए पनि भरतपुरमा भने ३ करोड रुपैयाँसम्म कायम गरिएको छ । काठमाडौंमा प्रतिआना जग्गाको ७ लाखदेखि ५० लाखसम्म मूल्य, कुन ठाउँमा कति मूल्य ?
बढ्दैछन् आरोही, अर्थतन्त्रमा योगदान
काठमाडौं । नेपालका ८ हजार मिटरभन्दा अग्ला हिमालमा सफलतापूर्वक आरोहण गर्ने आरोहीहरूको संख्या बर्सेनि बढ्दै गएको छ । विशेषगरी विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेको संख्या पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा वृद्धि भएको देखिएको छ । पर्यटन विभागले सार्वजनिक गरेको ‘माउन्टेनियरिङ इन नेपाल : फ्याक्ट्स एन्ड फिगर्स २०२६’ अनुसार पछिल्लो १० वर्षमा आरोही र उच्च हिमाली सहयोगी (हाइ–अल्टिच्युड वर्कर) गरी ४ हजार ७७ जनाले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन् । उक्त अवधिमा सबैभन्दा धेरै सन् २०२४ मा ८९२ जनाले सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुगेका थिए । तीमध्ये २९८ जना विदेशी तथा नेपाली आरोही र ५९४ जना सहयोगी (शेर्पा गाइड) रहेका छन् । तथ्यांकअनुसार सन् २०१६ र १७ मा १९७ जनाले सगरमाथा आरोहण गरेका थिए । सन् २०२५ आ आइपुग्दा यो संख्या बढेर ७४८ पुगेको छ । १० वर्षमा सगरमाथा आरोहण गर्नेको संख्या झण्डै २८० प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाउँछ । विश्वभर फैलिएको कोभिड–१९ को कारण सन् २०२० मा पर्यटन क्षेत्र ठप्प नै भयो । जसकारण सन् २०२० मा एक जनाले पनि सगरमाथा आरोहण गरेका छैनन् । सन् २०२१ मा भने यो क्षेत्र पुनः लयमा फर्कियो । उक्त वर्ष १८३ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए । सन् २०२२ पछि सगरमाथा आरोहण गर्नेको संख्या उल्लेखनीय वृद्धि भएको देखिन्छ । तथ्यांकअनुसार सन् २०२२ मा ६६३ जनाले सफलतापूर्वक सगरमाथा आरोहण गरे । जसमध्ये २६८ जना आरोही र ३९१ जना सहयोगी रहेका छन् । सफल आरोहीहरूको संख्या बढाउन सगरमाथापछि मनास्लु हिमालको भूमिका उल्लेखनीय रहेको छ । तथ्यांकअनुसार पछिल्लो १० वर्षमा २ हजार २८९ जना आरोहीले मनास्लु हिमालमा पाइला टेकेका छन् । सबैभन्दा धेरै सन् २०२५ मा ६५९ जनाले मनास्लु हिमालको सफलतापूर्वक आरोहण गरेका छन् । जसमध्ये ३०८ जना आरोही र ३५१ जना सहयोगी छन् । तथ्यांकअनुसार सन् २०२३ मा ५ सय जनाले मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेका छन् । जसमध्ये २३८ जना आरोही र २६२ जना सहयोगी रहेका छन् । सन् २०१६ मा मनास्लु हिमाल १ सय जनाले सफलतापूर्वक आरोहण गरेका थिए । तथ्यांकअनुसार मनास्लुमा सन् २०१७ मा १६८, सन् २०१८ मा १४१ जना, सन् २०१९ मा १८८ जना, सन् २०२१ मा १२८ जना र सन् २०२२ मा १६५ जनाले मनास्लु हिमालमा पाइला टेकेका छन् । त्यस्तै, सन् २०२३ मा ५ सय जना र सन् २०२४ मा ३२७ जनाले मनास्लुको सफलतापूर्वक आरोहण गरेका छन् । अन्य हिमालमा पनि बढ्दो सफल आरोहण सगरमाथा र मनास्लुबाहेकका अन्य हिमालहरूमा पनि सफल आरोहीको उपस्थिति बलियो बन्दै गएको छ । पछिल्लो १० वर्षमा ल्होत्सेमा ६७८ जनाले सफलतापूर्वक आरोहण गरेका छन् । सन् २०१६ ल्होत्सेमा २४ जनाले मात्रै पाइला टेकेका थिए । त्यस्तै, सन् २०१६ मा कञ्चनजंघा हिमालमा पनि पछिल्लो पटक सफल आरोहण गर्ने आरोहीको संख्यामा सुधार हुँदै गएको तथ्यांकले देखाएको छ । विगतमा निकै नै कम सफल आरोहण हुने गरेकोमा सन् २०२५ मा आइपुग्दा ११४ जना पुगेका छन्। त्यसैगरी, ल्होत्से हिमालमा सफल आरोहण गर्ने आरोहीको संख्या पनि उल्लेखनीय रूपमा बढ्दै गएको तथ्यांकमा देखिन्छ । तथ्यांकअनुसार २०१६ मा २ जनाले मात्रै हिमालको आरोहण गरेकोमा सन् २०२४ मा आइपुग्दा सो संख्या वृद्धि भएर १६२ पुगेको छ । पछिल्लो १० वर्षमा मकालु र धौलागिरि हिमालको सफल आरोहण गर्ने आरोहीको संख्यामा पनि उल्लेखनीय वृद्धि देखिएको छ । मकालुमा सन् २०१६ मा २४ जना सफल भएकोमा सन् २०२२ मा ७६ र २०२५ मा ३५ जनाले सफलतापूर्वक आरोहण गरे । धौलागिरिमा पनि सन् २०२५ मा ४१ जना आरोही चुचुरोमा पुग्न सफल भए । त्यस्तै, अन्नपूर्ण १ हिमालमा सन् २०१८ मा जम्मा १ जना मात्र सफल भएकोमा सन् २०२३ मा ३२ र २०२५ मा २२ जना आरोहीले सफलतापूर्वक आरोहण गरे । सफलताको दर बढ्नुका कारण पर्वतारोहण व्यवसायीहरूका अनुसार विगतको तुलनामा अहिले हिमाल आरोहणमा सफलताको दर बढ्नुमा धेरै कारकहरू छन् । जसमध्ये प्रमुख कारण मौसमको सटिक पूर्वानुमान हो । अहिले आधुनिक भू–उपग्रह तथा डिजिटल प्रविधिमार्फत मौसमको सटिक जानकारी पाइने हुँदा आरोहीहरू अनुकूल समयमा मात्र चुचुरोतर्फ अघि बढ्छन्, जसले जोखिम घटाई सफलताको दर बढाएको व्यवसायीहरू बताउँछन् । नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर गेल्जे शेर्पाका अनुसार सगरमाथालगायतका हिमाल आरोहणको सफलता दर बढ्नुमा आधुनिक प्रविधि, दक्ष जनशक्ति र सेवा–सुविधाको विस्तार प्रमुख कारण बनेका छन् । उनका अनुसार विगतमा मौसमको सामान्य अनुमानका आधारमा आरोहण योजना बनाइन्थ्यो । अहिले भने विदेशबाट अत्याधुनिक मौसमसम्बन्धी डेटा खरिद गरेर प्रयोग गरिन्छ । शेर्पाले भने, ‘यसको प्रयोगले कुन दिन र कुन समयमा हावाको गति कस्तो हुन्छ, हिमपात कहिले हुने सम्भावना छ वा आरोहणका लागि उपयुक्त मौसम कहिले खुल्छ भन्ने जानकारी पहिले नै प्राप्त हुन्छ । यसले जोखिम घट्नुका साथै सफल आरोहणको सम्भावना बढेको छ ।’ शेर्पाका अनुसार पछिल्ला वर्षहरूमा प्राविधिक तालिममा पनि उल्लेखनीय विस्तार भएको छ । अहिले क्लाइम्बिङ गाइड र उच्च हिमाली सहयोगी (हाइ–अल्टिच्युड वर्कर) मात्र होइन, आरोहीहरू स्वयंलाई समेत हिमाल आरोहण, उद्धार, उचाइमा देखिने स्वास्थ्य समस्या र आपत्कालीन व्यवस्थापनसम्बन्धी विभिन्न तालिम दिइने गरिएको छ । यसले हिमालमा आइपर्ने चुनौतीसँग जुध्ने क्षमता अभिवृद्धि गरेको उनको भनाइ छ । उनले उपकरण र सेवामा आएको सुधारले पनि आरोहणलाई थप सुरक्षित र व्यवस्थित बनाएको बताए । ‘अहिले पहिलेभन्दा हलुका, भरपर्दो र उच्च गुणस्तरका आरोहण सामग्री सहज रूपमा उपलब्ध छन्, आरोहीको देश, संस्कृति र खानपानको रुचिअनुसार पोषणयुक्त भोजन उपलब्ध गराउने व्यवस्था विस्तार भएकाले उनीहरू उचाइमा पनि शारीरिक रूपमा तन्दुरुस्त रहन सक्छन्,’ शेर्पा भन्छन् । पर्यटन र अर्थतन्त्रमा योगदान अध्यक्ष शेर्पाका अनुसार पर्वतारोहण पर्यटनले नेपालको अर्थतन्त्रमा बहुआयामिक योगदान पुर्याउँदै आएको छ । हिमाल आरोहणसँग जोडिएका गतिविधिबाट होटल, लज, हवाई सेवा, हेलिकप्टर सेवा, ट्रेकिङ तथा पर्वतारोहण एजेन्सीलगायतका व्यवसाय प्रत्यक्ष रूपमा लाभान्वित हुने गरेका छन् । उनले पर्वतारोहणबाट सिर्जना हुने आर्थिक गतिविधिको प्रभाव हिमालसम्म मात्र सीमित नभएको बताए । हिमाली क्षेत्रका स्थानीय उत्पादन, खाद्यान्न, पशुपालनजन्य वस्तु तथा अन्य दैनिक उपभोग्य सामग्री त्यहीँ खपत हुने भएकाले स्थानीय बजार चलायमान हुनुका साथै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन समेत यसले महत्त्वपूर्ण भूमिका खेलेको उनले जानकारी दिए । अध्यक्ष शेर्पाले विशेषगरी हिमाली जिल्लामा बसोबास गर्ने शेर्पा, तामाङ, गुरुङ, राईलगायत समुदायका नागरिकले पर्वतारोहण पर्यटनबाट प्रत्यक्ष रोजगारी र आयआर्जनको अवसर प्राप्त गरेको उल्लेख गरे । उनका अनुसार गाइड, उच्च हिमाली सहयोगी, पोर्टर, होटल तथा लज सञ्चालक, यातायात सेवा प्रदायकदेखि स्थानीय उत्पादनको आपूर्तिकर्तासम्म ठूलो संख्यामा स्थानीय समुदाय यस व्यवसायमा आबद्ध छन् । ‘पर्वतारोहण पर्यटनले हिमाली क्षेत्रको आर्थिक गतिविधि विस्तार गर्नुका साथै स्थानीय समुदायको जीवनस्तर उकास्न पनि उल्लेखनीय योगदान पुर्याएको छ,’ उनले भने ।
साढे ५ लाख युरोको फेरारी, आलोचनाबीच दुई महिनामै बिक्री लक्ष्य पूरा
काठमाडौं । इटालियन लक्जरी कार निर्माता फेरारीको पहिलो पूर्ण विद्युतीय कार ‘लुचे’ले सार्वजनिक भएको करिब दुई महिनामै कम्पनीले सन् २०२६ का लागि राखेको बिक्री लक्ष्य पूरा गरेको छ । फेरारीले लुचेका लागि सन् २०२६ मा ५०० भन्दा कम युनिट बिक्री गर्ने लक्ष्य राखेको थियो । फाइनान्सियल टाइम्सले दुई स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार मे २५ मा सार्वजनिक गरिएको लुचेले जुलाईको सुरुमै उक्त लक्ष्य पूरा गरिसकेको थियो । बजारमा आएको केही सातामै फेरारीले आफ्नो पहिलो इलेक्ट्रिक कारका लागि राखेको प्रारम्भिक बिक्री लक्ष्य भेट्टाएको हो । यद्यपि, फेरारीले बिक्री भएको युनिटको ठ्याक्कै संख्या सार्वजनिक रूपमा पुष्टि गरेको छैन । लुचेको सुरुवाती मूल्य करिब ५ लाख ५० हजार युरो अर्थात् करिब ६ लाख २६ हजार अमेरिकी डलर छ । लुचे आम विद्युतीय कारको बजारभन्दा निकै माथि सीमित र अत्यन्तै सम्पन्न ग्राहक लक्षित कार हो । डिजाइनमै ठूलो प्रश्न लुचेको बिक्रीको कथा अझ रोचक हुनुको कारण यसको डिजाइन पनि हो । फेरारीका परम्परागत कारहरू प्रायः होचा, आक्रामक र स्पोट्र्स कारको स्वरूपमा देखिन्छन् । तर लुचे भने चार ढोका र पाँच सिट भएको ठूलो ग्रान्ड टुरर शैलीको कार हो । यही कारण यसको डिजाइन सार्वजनिक भएपछि फेरारीका परम्परागत प्रशंसक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट मिश्रितदेखि नकारात्मक प्रतिक्रियासमेत आएका थिए । तर डिजाइनमा देखिएको यो परिवर्तन संयोग भने होइन । लुचेको डिजाइनमा फेरारीसँग सहकार्य गरिरहेका चर्चित डिजाइनर जोनी आइभ र मार्क न्युसनसमेत संलग्न छन् । आइभ एप्पलको डिजाइन प्रमुखका रूपमा लामो समय काम गरेका व्यक्ति हुन् । फेरारीले लुचेको डिजाइनलाई केवल आकर्षक देखाउनेभन्दा पनि उच्च प्रदर्शन र विद्युतीय प्रविधिको आवश्यकतासँग मिल्ने गरी विकास गरेको बताउँदै आएको छ । १ हजारभन्दा बढी हर्सपावर लुचे केवल देखावटी लक्जरी कार भने होइन । फेरारीका अनुसार यसमा १ हजारभन्दा बढी हर्सपावर उत्पादन गर्ने विद्युतीय पावरट्रेन प्रयोग गरिएको छ । यसको ब्याट्री क्षमता १२२ किलोवाट–घण्टा छ । कारले ३१० किलोमिटर प्रतिघण्टाभन्दा बढी उच्च गति लिन सक्ने कम्पनीको दाबी छ । त्यस्तै, ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति करिब २.५ सेकेन्डमै हासिल गर्ने क्षमता लुचेमा छ । एकपटक पूर्ण चार्ज गर्दा ५३० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्ने दाबी पनि फेरारीको छ । अर्थात् फेरारीले विद्युतीय कार बनाउँदा परम्परागत रूपमा आफ्नो पहिचान बनेको ‘स्पोट्र्स कारको प्रदर्शन’लाई छोड्न खोजेको देखिँदैन । बलियो माग चीनबाट लुचेको प्रारम्भिक मागमा चीनको बजारले महत्त्वपूर्ण भूमिका खेलेको रिपोर्टहरूमा उल्लेख छ । चीन विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारी बजार भएकाले फेरारीका लागि पनि त्यहाँका उच्च आय भएका ग्राहक महत्त्वपूर्ण बनेका छन् । प्रारम्भिक माग चीनबाट बलियो देखिनु फेरारीको पहिलो ईभीका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ । अमेरिकालगायत अन्य बजारमा पनि उच्च आय भएका ग्राहकबाट लुचेप्रति रुचि देखिएको रिपोर्टमा उल्लेख छ । यसले फेरारीको विद्युतीय कारको ग्राहक आधार परम्परागत फेरारी खरिदकर्ताभन्दा बाहिर पनि विस्तार हुन सक्ने सम्भावना देखाएको छ । फेरारीका लागि किन महत्त्वपूर्ण छ लुचे ? फेरारीका लागि लुचे एउटा नयाँ मोडल मात्र होइन । यो कम्पनीको पूर्ण विद्युतीय युगमा प्रवेशको पहिलो ठूलो कदम हो । दशकौंदेखि पेट्रोल इन्जिनको शक्ति, आवाज र ड्राइभिङ अनुभव फेरारीको ब्रान्ड पहिचानसँग जोडिँदै आएको छ । यस्तो अवस्थामा पूर्ण विद्युतीय कार ल्याउनु कम्पनीका लागि ठूलो रणनीतिक परिवर्तन हो । तर फेरारीले ईभी बजारमा प्रवेश गर्दा ठूलो संख्यामा कार बेच्ने रणनीति लिएको छैन । कम्पनीले आफ्नो विशेष लक्जरी र सीमित उत्पादनको पहिचान कायम राख्दै विद्युतीय प्रविधिलाई प्रयोग गर्न खोजेको देखिन्छ । २०३० सम्म करिब २ हजार ५०० लुचे बेच्ने योजना फाइनान्सियल टाइम्समा उद्धृत विवरणअनुसार फेरारीले सन् २०३० सम्म करिब २ हजार ५०० वटा लुचे बिक्री गर्ने दीर्घकालीन लक्ष्य राखेको छ। यो हिसाबले वार्षिक औसत करिब ६०० वटा लुचे बिक्री हुने देखिन्छ । फेरारीको कुल वार्षिक बिक्रीको तुलनामा यो निकै सानो हिस्सा हो । त्यसैले २०२६ का लागि राखिएको ५०० भन्दा कम युनिटको प्रारम्भिक लक्ष्य बजारमा आएको करिब दुई महिनामै पूरा हुनु कम्पनीका लागि महत्त्वपूर्ण संकेत हो । लुचे सार्वजनिक हुँदा यसको डिजाइनले ठूलो बहस जन्मायो । कतिपय फेरारी प्रशंसकले यसलाई परम्परागत फेरारीको शैलीबाट निकै टाढा गएको कारका रूपमा हेरे । तर प्रारम्भिक बिक्री लक्ष्य भने अपेक्षाकृत छिटो पूरा भयो । यसले फेरारीका लागि एउटा रोचक अवस्था सिर्जना गरेको छ, सामाजिक सञ्जालमा आलोचना धेरै देखिए पनि वास्तविक खरिदकर्ताबीच यसको माग कमजोर देखिएन । अझ महत्त्वपूर्ण कुरा यो हो कि आधा मिलियन युरोभन्दा बढी मूल्य पर्ने कारका लागि केही सय युनिटको माग पनि सामान्य कार बजारको हिसाबले होइन, अत्यन्तै सम्पन्न ग्राहकबीचको मागका रूपमा बुझ्नुपर्छ ।