राष्ट्रियस्तरका विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, कुनको कति ?

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूले गत आर्थिक वर्ष २०८२/८३ मा ८ अर्ब ६५ करोड ९३ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार ८ वटा राष्ट्रियस्तरका विकास बैंकले उक्त नाफा कमाएका हुन् । गत आर्थिक वर्षको नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ६३.६८ प्रतिशत अर्थात् ३ अर्ब ३७ करोड रुपैयाँले बढी हो । आर्थिक वर्ष २०८१/८२ मा यी बैंकहरूले कुल ५ अर्ब २८ करोड ५५ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्ष सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा ज्योति विकास बैंक रहेको छ। बैंकको खुद नाफा ९०५.७५ प्रतिशतले बढेर १ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १० करोड २० हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, लुम्बिनी विकास बैंकको खुद नाफा २५२.९६ प्रतिशतले बढेर ८५ करोड १० लाख १५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले २४ करोड ११ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खुद नाफा ८२.९६ प्रतिशतले बढेर १ अर्ब १८ करोड १२ लाख ७९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको नाफा ६४ करोड ५६ लाख २७ हजार रुपैयाँ थियो । महालक्ष्मी विकास बैंकले ४८.४६ प्रतिशतले नाफा बढाउँदै ६२ करोड ९९ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४२ करोड ४३ लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो । सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ४६.९६ प्रतिशतले बढेर ८८ करोड ९९ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको नाफा ६० करोड ६६ लाख ७१ हजार रुपैयाँ थियो । गरिमा विकास बैंकले ३५.३४ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब ६८ करोड ८६ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा १ अर्ब २४ करोड ७६ लाख ९२ हजार रुपैयाँ थियो । त्यसैगरी, कामना सेवा विकास बैंकको खुद नाफा ३३.५० प्रतिशतले बढेर ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ६६ करोड ९७ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको थियो । मुक्तिनाथ विकास बैंकको खुद नाफा भने १२.४४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड ८३ लाख ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ३५ करोड ३ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

नाइमा मोबिलिटी एक्स्पो : सुरुको दिनमै व्यवसायी उत्साहित

काठमाडौं । काठमाडौंको भृकुटीमण्डप यतिबेला सवारीसाधनका सौखिन र आवश्यकता भएका ग्राहकहरूले भरिभराउ छ । नाइमाले आयोजना गरेको नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करणले छुट्टै रौनक ल्याएको छ । ५५ भन्दा बढी ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनहरू एउटै छानोमुनि सजिएका छन् । जसलाई अवलोकनकर्ताहरूले सवारी साधनको कुम्भमेलाको संज्ञा दिएका छन् ।  एक्स्पोको प्रवेशद्वारमै भेटिएका केएमसी कलेजका विद्यार्थी मिसन भट्टराई निकै उत्साहित देखिन्थे । हातमा मोबाइल समात्दै खल्ती एपमार्फत टिकट काटिरहेका उनले ५० प्रतिशत क्यासब्याक पाएकोमा खुसी व्यक्त गरे । ‘हाम्रो लागि यो एउटा ठुलो अवसर हो,’ उनले भने, ‘डिजिटल पेमेन्टबाट सहुलियत पनि पाइने र नयाँ फिचर्सका गाडीहरूका बारेमा बुझ्न पनि पाइने ।’ मिसनजस्तै सयौं विद्यार्थीहरू गाडीका नयाँ प्रविधि, इन्जिनका क्षमता र भित्री बनावट (इन्टेरियर) बुझ्न लाइनमा बसेका देखिन्छन् । उनीहरूका लागि यो मेला केवल प्रदर्शनी मात्र नभएर अटोमोबाइल इन्जिनियरिङ र ट्रेण्ड बुझ्ने एउटा खुल्ला पाठशाला पनि बनेको छ । प्रदर्शनीमा भेटिएका मुकुन्द खड्काका अनुसार अचेल गाडी विलासिता मात्र नभएर मध्यम वर्गीय नेपालीका लागि अपरिहार्य आवश्यकता बनिसकेको छ । सानोठिमीबाट आएका मुकुन्द एउटा उपयुक्त गाडीको खोजीमा छन् । उनी भन्छन्, ‘पहिले गाडी सोखका लागि हुन्थ्यो, अहिले काम र सहजताका लागि अनिवार्य भइसकेको छ ।’ पेट्रोलको बढ्दो मूल्यले आजित भएका ग्राहकहरूका लागि यसपटकको एक्स्पोमा विद्युतीय सवारीसाधन (ईभी) मुख्य आकर्षण बनेको छ । रामकोटबाट आएका रामेश्वर भट्टले प्रदर्शनीको अधिकांश समय ईभी स्टलहरूमा बिताए ।  ‘पेट्रोल दिनप्रतिदिन महँगो हुँदैछ । त्यसैले अबको विकल्प भनेकै ईभी हो,’ उनले आफ्नो अनुभव सुनाए । विभिन्न ब्राण्डका गाडीहरूलाई एकै ठाउँमा तुलना गर्न पाउनु यो मेलाको सबैभन्दा सबल पक्ष रहेको उनको ठम्याइ छ । स्कुटर खोज्दै महिला ग्राहक  महिला अवलोकनकर्ताहरूको रुचि विशेषगरी दुई पाङ्ग्रे सवारीसाधनमा देखियो । सरिता भट्ट नयाँ स्कुटर किन्ने योजनाका साथ एक्स्पो पुगेकी थिइन् ।  उनले प्रदर्शनीको सजावट र छुट अफरको प्रशंसा गरिन् । यद्यपि, भृकुटीमण्डप भित्रको अत्यधिक गर्मीले गर्दा केही असजिलो महसुस भएको उनले बताइन् । ‘माहोल एकदम एक्साइटिङ छ, तर भित्र अलि गर्मी छ । आउने साथीहरूले पानीको बोतल र फ्यान बोकेर आउनुभयो भने राम्रो हुन्छ,’ उनले भनिन् ।  अहिलेको डिजिटल युगमा सबै जानकारी इन्टरनेटमा पाइन्छ भन्ने सोच धेरैमा छ । तर, एक्स्पोमा भेटिएकी आज्ञा भण्डारीको विचार फरक छ । ‘कतिपय कम्पनीका वेबसाइटहरू अपडेट हुँदैनन् । अनलाइनमा सबै फिचर्स बुझ्न गाह्रो हुन्छ,’ उनले भनिन् । उनी आफै विद्यार्थी र कर्मचारी भए पनि गाडीको वास्तविक अवस्था बुझ्न मेलामै आउनु उपयुक्त हुने बताउँछिन् । ‘यहाँ आएर गाडी छाम्न पाइन्छ । भित्र बसेर अनुभव गर्न पाइन्छ र प्रत्यक्ष जानकारी लिन पाइन्छ । त्यसैले वर्षमा एक पटक हुने यस्तो मेला छुटाउनु हुँदैन,’ उनले भनिन् । पहिलो दिन यी ब्राण्ड भए लन्च  एक्सपोमा नयाँ गाडीहरू पनि लन्च भएका छन् । जसमा  बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इन्कले एकैपटक तीन नयाँ मोडलका गाडीहरू बजारमा ल्याएको छ । कम्पनीले एटो १ को फेसलिफ्ट, एटो २ को ४५ किलोवाट आवर ब्याट्री क्षमता भएको बेस भेरियन्ट र एटो ३ को फेसलिफ्ट संस्करण सार्वजनिक गरेको हो । मूल्यको हिसाबले बीवाईडी एटो १ फेसलिफ्टको डाइनामिक भेरियन्टको ३० लाख ७५ हजार रुपैयाँ र प्रिमियमको ३४ लाख ८० हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी, एटो २ को इसेन्सियल भेरियन्ट ४५ लाख १५ हजार रुपैयाँ र प्रिमियम भेरियन्ट ४८ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ । बीवाईडी एटो ३ को एडभान्स भेरियन्टको मूल्य ६२ लाख १० हजार रुपैयाँ र सुपेरियरको ७८ लाख रुपैयाँ राखिएको छ । अर्कोतर्फ चिनियाँ कम्पनी चेरीले आफ्नो नयाँ क्युब्याक ब्रान्डअन्तर्गत क्यु ३ मोडल नेपाली बजारमा भित्र्याएको छ । आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी डिजाइन गरिएको यो नयाँ पुस्ताको इलेक्ट्रिक अर्बन क्रसओभरमा ४१.२ किलोवाट क्षमताको ब्याट्री रहेको छ । जसले एकपटकको फुल चार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ ।  एक्सपोमा क्यु ३ मोडलको कम्फर्ट भेरियन्टको मूल्य ३० लाख १९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको ३२ लाख १९ हजार रुपैयाँ राखिएको छ भने यसको सामान्य एमआरपी ३४ लाख ४९ हजार र ३५ लाख ९९ हजार निर्धारण गरिएको छ । यसैबीच, जापानी अटोमोबाइल ब्रान्ड निसानले पनि मोबिलिटी एक्सपोमा आफ्नो नयाँ पुस्ताको एसयूभी टेकटन सार्वजनिक गरेको छ ।  नेपालका लागि निसानको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले बजारमा ल्याएको ठूलो आकारको बडी, नयाँ पुस्ताको डिजाइन ल्याङ्ग्वेज र आधुनिक इन्टेरियरसहितको यो टेकटन एसयूभीको मूल्य ५१ लाख २९ हजार तोकिएको छ । यस्तै, नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले दुईवटा मोडल लन्च गरेको छ । जसमा हाइलक्स र र्याभ फोर हाइब्रिड ईभी लन्च गरेको छ । हाइलक्सको मूल्य १ करोड ५५ लाख रुपैयाँ तथा र्याभ फोर हाइब्रिडको २ करोड १३ लाख रुपैयाँ तोकिएको छ । यसैगरी, नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पन्च ईभी फेसलिफ्ट बिक्र सुरू गरेको छ । कम्पनीले पन्च ईभीको ३ भेरियन्ट उपलब्ध गराएको छ ।  कम्पनीले पन्च ईभी फेसलिफ्टको बेस भेरियन्टको मूल्य ३३ लाख ९९ हजार र टप भेरियन्टको ३७ लाख ९९ हजार रुपैयाँ तोकेको छ । योसँगै बजेटपछि आएको पन्च ईभीको मूल्य ४ लाखसम्मले घटेको छ । यसअघि पन्च ईभी ३७ लाख ९९ हजार र ३९ लाख ९९ हजारमा बिक्री हुँदै आएको थियो । यसैगरी हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमै उत्पादन गरिएको ह्युन्डाई भेन्यु र भेन्यु एन लाइन सार्वजनिक गरेको छ । यसको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।भेन्यु एन लाइनको सुरुवाती मूल्य ६७ लाख ९६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । एक्स्पोले नेपाली अटोमोबाइल बजारको बदलिँदो स्वरूपलाई झल्काएको छ । विशेष गरी मध्यम वर्गीय परिवारको सवारी सपना र इन्धनको विकल्पमा विद्युतीय ऊर्जाप्रतिको आकर्षण यस पटकको मुख्य सार देखिन्छ । एकातिर नयाँ मोडेलका लक्जरियस कारहरूको चमकधमक छ भने अर्कोतिर सर्वसाधारणका लागि उपयुक्त बजेट र सुविधायुक्त स्कुटर तथा बाइकहरूको लर्को । गर्मी र भीडभाडका बाबजुद भृकुटीमण्डपमा देखिएको यो मोबिलिटीको लहरले नेपालीहरूको क्रयशक्ति र नयाँ प्रविधिप्रतिको मोहलाई प्रस्ट पारेको छ । प्रदर्शनी आजसहित ६ दिन चल्ने जनाइएकाे छ ।  के भन्छ आयोजक ? एक्स्पोका संयोजक गौरव शारडाले यसलाई नेपालको मोबिलिटी क्षेत्रकै महाकुम्भको संज्ञा दिएका छन् । उनका अनुसार यो प्रदर्शनी हालसम्मकै सबैभन्दा ठूलो अटोमोबाइल एक्स्पो हो । ६ दिनसम्म चल्ने यस मेलामा ४० भन्दा बढी नयाँ सवारी साधनहरू लन्च हुने क्रम जारी रहेकाे शारडाकाे भनाइ छ । जसमा आजमात्रै २० वटा ब्राण्ड लन्च भएका छन् । प्रदर्शनीमा परम्परागत इन्धन, विद्युतीय साधन र हाइब्रिड प्रविधिका दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा व्यावसायिक सवारी साधनहरू राखिएका छन् ।  मनसुनको समयलाई ध्यानमा राखेर प्रदर्शनी स्थललाई पूर्ण रूपमा रेन रेजिस्टेन्स (पानी नछिर्ने) बनाइएको छ । अपाङ्गता भएका व्यक्तिहरूको सहजताका लागि एक्सेसिबल फ्रेन्डली पूर्वाधार र स्वयंसेवकको सहयोगमा ‘गाइडेड भिजिट’ को व्यवस्था गरिएको छ । प्रदर्शनी केवल गाडीको प्रदर्शनीमा मात्र सीमित नभएको शारडाले जानकारी दिए ।  उनले मेलाको अवधिभर हरेक दिन दिउँसो २ देखि ५ बजेसम्म ‘नेपाल मोबिलिटी संवाद’ सञ्चालन हुने बताए ।  यसमा नीति निर्माता, उद्योगी र विज्ञहरूले सडक सुरक्षा, फाइनान्स र दिगो मोबिलिटीका बारेमा छलफल गर्नेछन् ।  यसैगरी, सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई ग्रान्डी हस्पिटलको प्राविधिक सहयोगमा दुर्घटनापछिको प्राथमिक उपचार र सीपीआरसम्बन्धी तालिमका साथै ईभी दुर्घटना व्यवस्थापन सम्बन्धी विशेष प्रस्तुतिसमेत दिइने उनको भनाइ छ ।  प्रदर्शनी मंगलबार दिउँसो १ बजेदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । बुधबारदेखि १६ तारिखसम्म हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म अवलोकनकर्ताहरूले मेला भ्रमण गर्न सक्नेछन् ।  पार्किङको सहजताका लागि नेपाल प्रहरीको ब्लु प्याभिलियन मुनिको क्षेत्रलाई थप पार्किङ स्थलका रूपमा व्यवस्थापन गरिएको छ । ग्लोबल आईएमई बैंक मुख्य प्रायोजक रहेको यस एक्स्पोलाई रेडबुल, एनएमबी बैंक, सिद्धार्थ बैंक लगायतका दर्जनौं व्यावसायिक संस्थाहरूले सहयोग गरेका छन् । नाइमाले सबै आम नागरिक, विद्यार्थी र सरोकारवालाहरूलाई एक्स्पो अवलोकन गरी नयाँ प्रविधिबारे जानकारी लिन र यस क्षेत्रको विकासमा सहभागी हुन निम्तो समेत दिएको छ । 

यी हुन् स्मार्टसेल घोटाला प्रकरणका २२ जना प्रतिवादी

काठमाडौं । स्मार्टसेल घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) को सिंगो सञ्चालक समितिलाई प्रतिवादी बनाउन सिफारिस गरेको छ। सीआईबी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा एनआईएमबीका अध्यक्ष पृथ्वीबहादुर पाँडे, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाँडे तथा सञ्चालकहरू प्रनय राजभण्डारी, दीपांकर शाक्य, कविकुमार तिव्रेवाला, शालिकराम बेलवासे र शोभा श्रेष्ठलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ। प्रहरीले बैंकविरुद्ध करिब ४ अर्ब ६० करोड रुपैयाँ बिगो मागदाबी गर्नुपर्ने राय दिएको स्रोतको भनाइ छ । त्यस्तै, सीआईबीले एनसेलका अध्यक्ष सतिशलाल आचार्य, सञ्चालक सदस्य सचिनलाल आचार्य र स्वामित्व संरचनामा रहेकी भावना सिंह श्रेष्ठसहित नौ जनालाई पनि प्रतिवादी बनाउन सिफारिस गरेको छ। स्मार्टसेलसँग सम्बन्धित कारोबार तथा सम्पत्ति व्यवस्थापन प्रक्रियामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि मुद्दा चलाउनुपर्ने राय दिइएको छ । स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशी तथा स्मार्टसेलको सम्पत्ति खरिदका लागि भएको लिलामी प्रक्रियामा प्रतिस्पर्धामा रहेका ट्रान्सटेक कम्पनीका प्रतिनिधि पलिना श्रेष्ठ र नरेन्द्र उलकलाई पनि प्रतिवादी बनाउन सिफारिस गरिएको छ। यसैगरी, प्रोफेसनल बिजनेस नेटवर्क कम्पनीका प्रतिनिधिलाई समेत प्रतिवादी बनाएर मुद्दा अघि बढाउन सीआईबीले राय दिएको छ । दूरसञ्चार क्षेत्रको नियमनसँग जोडिएको विषयमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारीलाई पनि प्रतिवादी बनाउन सिफारिस गरिएको स्रोतले जनाएको छ। स्मार्टसेलको सम्पत्ति तथा दूरसञ्चार पूर्वाधार व्यवस्थापनसँग सम्बन्धित कारोबारमा सरकारी स्वामित्व तथा हितमा असर पुग्ने गरी काम भएको निष्कर्षका आधारमा सीआईबीले विभिन्न पक्षका व्यक्तिलाई प्रतिवादी बनाउन सिफारिस गरेको हो ।  सीआईबीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ। सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन र उपलब्ध प्रमाणको अध्ययन गरेपछि मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाउनेछ ।