ठूला घरानाका दुई बैंक : नबिल र ग्लोबल आइएमईमा कुन बलियो ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये नबिल बैंक र ग्लोबल आइएमई बैंकको वित्तीय अवस्थालाई विशेष चासोका साथ हेरिएको छ । चौधरी ग्रुपको लगानी रहेको नबिल बैंक र आइएमई ग्रुपको लगानी रहेको ग्लोबल आइएमई बैंक ठूला व्यावसायिक घरानाको लगानी रहेका बैंक हुन् । त्यसैले पनि यी दुई बैंकबीचको वित्तीय प्रतिस्पर्धालाई बैंकिङ क्षेत्रमा चासोका साथ हेर्ने गरिएको छ ।

गत आर्थिक वर्षको वित्तीय विवरण हेर्दा नाफा, कर्जा लगानी, प्रतिसेयर आम्दानी, लाभांश क्षमता तथा खराब कर्जा सुधारमा नबिल बैंक अगाडि देखिएको छ भने निक्षेप संकलन, निक्षेप वृद्धिदर र चुक्ता पुँजीमा ग्लोबल आइएमई बैंक अगाडि देखिएको छ ।

नबिल बैंकको अध्यक्ष निर्वाण कुमार चौधरी र ग्लोबल आइएमई बैंकको अध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका छन् । यस्तै नबिलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली र ग्लोबल आइएमईको सुरेन्द्रराज रेग्मी रहेका छन् ।

कुन सूचकमा को अगाडि ?

गत आर्थिक वर्षमा नबिल बैंकले ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ९२ करोड २१ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा एक वर्षमा ३३.५० प्रतिशतले बढेको हो ।

ग्लोबल आइएमई बैंकले गत वर्ष ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष ५ अर्ब ७ करोड ६३ लाख ४ हजार रुपैयाँ रहेको बैंकको नाफा २२.६७ प्रतिशतले बढेको हो ।

नबिल बैंकको खुद ब्याज आम्दानी गत वर्ष ४.१८ प्रतिशतले बढेर १७ अर्ब ९२ लाख ८८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ३२ करोड ७२ लाख ८१ हजार रुपैयाँ थियो ।

ग्लोबल आइएमई बैंकको खुद ब्याज आम्दानी भने २.८६ प्रतिशतले घटेर १६ अर्ब २० करोड ३० लाख ५३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी १६ अर्ब ६७ करोड ९९ लाख ३९ हजार रुपैयाँ थियो ।

null

खुद शुल्क तथा कमिसन आम्दानीमा भने ग्लोबल आइएमई बैंक अगाडि छ । गत वर्ष बैंकले ३ अर्ब ६४ करोड ५ लाख ५४ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब २२ करोड १७ लाख ४२ हजार रुपैयाँ थियो ।

नबिल बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब ५४ करोड १० लाख ७९ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ३ अर्ब ४२ करोड ८८ लाख ७ हजार रुपैयाँ रहेको यस्तो आम्दानीमा वृद्धि भएको छ ।

नबिल बैंकको कुल सञ्चालन आम्दानी गत वर्ष २२ अर्ब ३३ करोड ४३ लाख ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २१ अर्ब ६३ लाख ९६ हजार रुपैयाँ रहेको यस्तो आम्दानी बढेको हो । बैंकको सञ्चालन नाफा पनि ९ अर्ब २३ करोड ५४ लाख ५८ हजार रुपैयाँबाट बढेर ११ अर्ब ५६ करोड ४२ लाख २६ हजार रुपैयाँ पुगेको छ ।

ग्लोबल आइएमईको कुल सञ्चालन आम्दानी २१ अर्ब २४ करोड ९१ लाख ६७ हजार रुपैयाँबाट बढेर २१ अर्ब ८० करोड ३९ लाख ७५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा भने ७ अर्ब २३ करोड ३१ लाख ७३ हजार रुपैयाँबाट बढेर ८ अर्ब ६८ करोड २१ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

निक्षेप संकलनमा भने ग्लोबल आइएमई बैंकले नबिललाई पछाडि पारेको छ । गत असारसम्म बैंकले ६ खर्ब ६९ अर्ब १७ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्षको ५ खर्ब ५० अर्ब ६२ करोड ८५ लाख रुपैयाँको तुलनामा बैंकको निक्षेप २१.५२ प्रतिशतले बढेको हो ।

नबिल बैंकको निक्षेप भने ५ खर्ब २४ अर्ब ६२ करोड ५९ लाख रुपैयाँबाट बढेर ५ खर्ब ९२ अर्ब ५५ करोड ९३ लाख रुपैयाँ पुगेको छ । बैंकको निक्षेप वृद्धिदर १२.९५ प्रतिशत रहेको छ ।

निक्षेपमा ग्लोबल आइएमई अगाडि रहे पनि कर्जा लगानीमा नबिल बैंक अगाडि छ । नबिल बैंकले गत असारसम्म ४ खर्ब ६० अर्ब ३१ करोड ८७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष ४ खर्ब १० अर्ब ९९ करोड २० लाख रुपैयाँ रहेको कर्जा लगानी १२ प्रतिशतले बढेको हो ।

ग्लोबल आइएमईको कर्जा लगानी ४ खर्ब १० अर्ब ११ करोड ३९ लाख रुपैयाँबाट बढेर ४ खर्ब ३९ अर्ब ३४ करोड ५१ लाख रुपैयाँ पुगेको छ । यसको कर्जा वृद्धिदर ७.१२ प्रतिशत रहेको छ ।

गत असारसम्म नबिल बैंकको निक्षेप-कर्जा अनुपात ८०.१८ प्रतिशत रहेको छ भने ग्लोबल आइएमईको ६८.४३ प्रतिशत छ ।

null

लाभांश क्षमतामा नबिल अगाडि

सेयरधनीका लागि महत्वपूर्ण मानिने लाभांश क्षमतामा नबिल बैंक अगाडि छ । गत आर्थिक वर्षमा नबिलको वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख ४८ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १९.१० प्रतिशत रहेको छ ।

ग्लोबल आइएमईको वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड १० लाख ६४ हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश वितरण क्षमता १२.०२ प्रतिशत छ ।

नबिल बैंकको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको २१.८९ रुपैयाँबाट बढेर २८.३६ रुपैयाँ पुगेको छ । ग्लोबल आइएमईको प्रतिसेयर आम्दानी १३.३२ रुपैयाँबाट बढेर १६.३४ रुपैयाँ पुगेको छ ।

नबिलको मूल्य-आम्दानी अनुपात १८.८६ गुणा र प्रतिसेयर नेटवर्थ २४७.२८ रुपैयाँ रहेको छ । ग्लोबल आइएमईको मूल्य-आम्दानी अनुपात १४.६९ गुणा र प्रतिसेयर नेटवर्थ १८३.१४ रुपैयाँ रहेको छ ।

नबिल बैंकको खराब कर्जा अनुपात अघिल्लो वर्षको ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा आएको छ । खराब कर्जा घट्नु बैंकका लागि सकारात्मक संकेत हो । तर, ग्लोबल आइएमईको खराब कर्जा भने ४.८६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ ।

चुक्ता पुँजीका आधारमा ग्लोबल आइएमई बैंक अगाडि छ । बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ रहेको छ । नबिलको चुक्ता पुँजी ३२ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ छ ।

तर जगेडा कोषमा भने नबिल अगाडि छ । नबिलको जगेडा कोषमा ३४ अर्ब ६८ करोड ४ लाख २० हजार रुपैयाँ रहेको छ भने ग्लोबल आइएमईको जगेडा कोषमा २७ अर्ब १० करोड ९३ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

Share News