बीएन घर्ती : फोकटमा फँसे, जबरजस्त जमे
काठमाडौं । नेपाली कथन छ, ‘हुने हार, दैव नटार ।’ हो, बैंकर बालनरसिंह (बीएन) घर्तीको जीवनमा पनि यस्तै भयो । जे नहुनु थियो, त्यही भयो । तर, उनी त्यसबाट रत्तिभर पनि विचलित भएनन् । उनले आफूलाई जबरजस्त तेजमात्रै बनाएनन्, नेपाली समाज र सिंगो बैंकिङ क्षेत्रलाई पनि एउटा गतिलो पाठ सिकाए । र, ‘१२ वर्षपछि बगेको खोला पनि फर्कन्छ’ भन्ने कथनलाई पुनः स्मरण गराउन विवश बनाए । एउटा ऊर्जावान बैंकर बीएन घर्ती केही गरौं, पृथक र रचनात्मक गरौं, जे गरे पनि स्वदेशमै गरौं भन्ने मानसिकताका साथ बैंकिङ क्षेत्रमा प्रवेश गर्छन् । करिब ६ वर्ष पाल्पामा शिक्षण पेसामा बिताएका बिएनले २ वर्ष काठमाडौंमा बसेर एउटा प्रकाशन गृहमा मार्केटिङ म्यानेजरको काम गरे । विसं २०५३ सालमा त्रिभुवन विश्वविद्यालयबाट एमबीए पास गरेका उनी विसं २०५४ सालमा बैंकिङ क्षेत्रमा प्रवेश गरे । उनले तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ करिअर सुरु गरे । त्यसपछि तत्कालीन एनआईसी बैंकमा काम गरे । एनआईसी बैंकमा हुँदा उनी नेपाली बैंकिङ क्षेत्रका एक अब्बल बैंकरको रूपमा परिचित भइसकेका थिए । बैंकरसँगको मिजासिलो सम्बन्ध र बैंकिङ क्षेत्रमा उनले देखाएको अब्बलताको तारिफ गर्नेहरू त्यतिखेर पनि धेरै थिए । त्यतिखेर अधिकांशले अनौपचारिक गफगाफमा कुरा गर्ने गरेका थिए, ‘बीएन घर्ती छिट्टै नै वाणिज्य बैंकको सीईओ बन्छन् ।’ उनी एनआईसी बैंकमा गनेमानेको बैंकरका रूपमा परिचित भइसकेका थिए । उनी सञ्चारमाध्यमको आँखामा परिसकेका थिए । बैंकका उच्च व्यवस्थापकको रोजाइमा पर्न थालिसकेका थिए । बैंकका लगानीकर्ताले पत्याउन थालिसकेका थिए । उनमा पनि थप फड्को मार्ने महत्त्वाकांक्षा पलायो । त्यतिबेलै उनको भेट भयो कमल ज्ञवालीसँग । कमल ज्ञवाली तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक थिए । बैंकका मूख्य लगानीकर्ता, सीईओ वा व्यवस्थापक उनै ज्ञवाली थिए । अहिलेजस्तो बैंकको सीईओ र सञ्चालक फरक-फरक व्यक्ति हुने नीति त्यतिखरे बनिसकेको थिएन । त्यसैले पनि किष्ट बैंकमा कमलको राज चल्थ्यो । उनी बैंकिङ क्षेत्रकै राजकुमारका रूपमा उदाइरहेका थिए । सञ्चारमाध्यम पनि कमल ज्ञवालीको सफलताको कथा सुन्न र सुनाउन तारान्तार गर्थे । तिनै ज्ञवालीसँग सहकार्य गरेर बैंकिङ क्षेत्रको नेतृत्व गर्ने योजना बीएनले पनि बनाए । र, सुरु भयो उनीहरूको सहकार्य । एनआईसी बैंकमा एक किसिमको छवि निर्माण गरेका बीएन विसं २०६६ सालमा किष्ट बैंकको सहायक महाप्रबन्धक बने । जसरी बीएनले छिट्टै नै बैंकिङ क्षेत्रको नेतृत्व गर्ने महत्त्वाकांक्षा बनाएका थिए, त्यसमा भरपुर साथ ज्ञवालीले पनि दिए । सह-महाप्रबन्धक भएको एक वर्षमै उनी नायब महाप्रबन्धक बने । बैंकको नेतृत्व गर्ने बीएनको रहर नजिकिँदै थियो । त्यहीबीचमा ज्ञवालीले प्रबन्ध सञ्चालकबाट राजीनामा दिएपछि विसं २०७० सालमा घर्ती किष्ट बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भए । किष्ट बैंकमा प्रत्येक वर्ष भएको उनको बढुवाले उनको मिहिनेत र इमानदारिता देखाउँथ्यो । बीएन बैंकिङमा कति इमान्दार र संवेदनशील छन् भन्ने विषय उनको बढुवाबाट बुझिन्थ्यो । तर विडम्बना, बैंकिङ क्षेत्रमा नाम, दाम कमाएका कमल ज्ञवाली अन्ततः बदनाम बने । त्यसबाट बैंकर बीएन घर्ती पनि अछुतो रहन सकेनन् । भएको के थियो ? किष्ट बैंकले जम्को प्रकाशनलाई १५ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । नियामक नेपाल राष्ट्र बैंकमा धितोको मूल्यांकनभन्दा बढी कर्जा प्रवाह भएको उजुरी परेपछि राष्ट्र बैंकले सो कर्जा र उच्च व्यवस्थापकमाथि छानबिन गर्यो । यो कर्जा ज्ञवाली प्रबन्ध सञ्चालक रहेकै बेला प्रवाह भएको थियो । नेपाल राष्ट्र बैंकले छानबिन गर्दा ज्ञवालीले १२ करोड रुपैयाँ पर्ने धितोमा १५ करोड रुपैयाँ ऋण दिएको देखियो । राष्ट्र बैंकले किष्ट बैंकलाई तीन करोड रुपैयाँ फिर्ता ल्याउन निर्देशन दिएपछि साे रकम फिर्ता पनि आयो । तर, राष्ट्र बैंकले ज्ञवालीलाई पाँच लाख रुपैयाँ जरिवाना गर्यो भने ऋणी जम्कोका सञ्चालक किशोर ढकाललाई बैंकिङ कसुरअन्तर्गत मुद्दा दायर गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्राचार गर्यो । पछि अनुसन्धानको क्रममा सो ऋण पनि ज्ञवालीले नै प्रयोग गरेको खुलेपछि उनी पनि अनुसन्धानमा तानिए । उनले बैंकको प्रबन्ध सञ्चालकबाट राजीनामा दिए । बैंकका निक्षेपकर्ताबीच बैंकप्रतिको विश्वास गुम्न नदिन बैंकर घर्तीलाई कार्यवाहकसीईओको जिम्मेवारी दिइयो । तर, विषय त्यतिमै सेलाएन । अब ज्ञवालीसँगै बैंकको उच्च व्यवस्थापन र कर्मचारीमाथि पनि अनुसन्धान हुने भयो । बीएन पनि अनुसन्धानमा तानिए । अनुसन्धान गर्दा जम्कोको कर्जा स्वीकृत समितिमा संयोजक ज्ञवालीसँगै बैंकर घर्ती र अन्य दुई जना बैंकर पनि रहेको खुल्यो । बीएनले पनि कर्जाको फाइलमा हस्ताक्षर गरेको भेटेपछि उनी पनि अनुसन्धानमा तानिए । ज्ञवालीले ऋणीलाई राम्रोसँग चिनेको भनेर तलकाे कर्मचारीलाई कन्भिन्स गराएर ऋण स्वीकृत गराउन भूमिका खेलेको बयानको क्रममा बाहिरियो । सोही आधारमा बीएनले पनि कर्जाको फाइलमा ज्ञवालीको विश्वास गरेर हस्ताक्षर गरेका थिए । त्यही एउटा हस्ताक्षरले बीएनसँगै अन्य कर्मचारीलाई पनि जेल पुर्यायो । निकै विश्वास गरेका कमल ज्ञवालीको एउटा वचनले हस्ताक्षर गर्दा बीएनको जीवनमा धब्बा लाग्यो । त्यो धब्बा टकटक्याउन उनलाई एक दशक समय लाग्यो । यो एक दशकको समयमा उनले भोगेको शारीरिक, मानसिक र सामाजिक क्षतिको फेहरिस्त बताइनसक्नु छ । तर, उनले अन्ततः आफू स्वच्छ छविको बैंकर भएर प्रमाणित गराएका छन् । कर्जा अपचलन तथा बैंकिङ कसुरमा उनीसहित प्रगुण, मधुसुधन र ईश्वर गुरुङलाई तत्कालीन पुनरावेदन अदालत पाटनले दुई वर्ष कैद सजाय सुनाएको थियो । त्यसमा चित्त नबुझेपछि उनीहरू सो फैसलाविरुद्द सर्वोच्च पुगेका थिए । सर्वोच्चले केही महिनाअघि मात्रै उनीहरूलाई सफाइ दियो । अर्थात् कर्जा अपचलनमा उनीहरूको संलग्नता नरहेको प्रमाणित गरिदियो । ज्ञवालीसहितका केही सञ्चालक भने दोषी ठहर भए । फेरि बैंकिङमै फर्किए उसो त एक दशकको समय बीएन घर्तीका लागि सम्झनलायक बनेन । तथापि, उनले त्यो समयमा पनि हरेस खाएनन् । बैंकिङ क्षेत्रबाट धेरै टाढा भएनन्, गुमनाम बनेन् । बैंकिङ क्षेत्रका प्यारा बनिरहे उनी । विभिन्न बैंकरलाई पढाउने, तालिम तथा प्रशिक्षण दिने कलेजका विद्यार्थीहरूलाई अनुभव प्रदान गर्ने काममा उनी सरिक बनिरहे । यहीबीचमा उनले ‘बैंकिङ अनुशान दीगो विकासका लागि’ पुस्तक पनि सार्वजनिक गरे । आफूमाथि लागेको निराधार आरोप एकदिन खुइलिएर जान्छ र आफू निर्दोष प्रमाणित हुन्छु भन्नेमा विश्वस्त थिए उनी। त्यसैले पनि उनले एक दशकको अवधिमा कुनै हार मानेनन् । निर्धक्कका साथ अगाडि बढे, आफ्नो काम गरे । बैंकिङ क्षेत्रको विकास र बैंकरको क्षमता अभिवृद्धिमा उनी लागिरहे । उसो त बैंकिङ क्षेत्र पनि ‘बीएनले गलत गरेको छैन’ भन्नेमा विश्वस्त थियो । किनकि आफ्ना कुरा तटस्थरूपमा राख्ने र आफ्नो बुद्धि र विवेकले भ्याएसम्म गलत नगर्ने ‘क्यारेक्टर’ बीएन घर्तीमा छ । धेरैले उनको यही स्वभाव मन पराउँछन् । आफू सकसमा हुँदा पनि बैंकिङ क्षेत्रको सुधारमा लाग्ने उनै घर्तीलाई गत पुसमा सामना बैंकिङ गुठीले ७५ हजार रुपैयाँ राशिको सामना बैंकिङ पुरस्कार प्रदान गर्यो । आफ्नो व्यक्तिगत विषयमा सामाजिक सञ्जालमा खासै राख्न नरुचाउने बीएनले पुरस्कार पाएको विषय सार्वजनिक गर्दै भनेका थिए, ‘विगत ११ वर्ष संघर्षपूर्ण रह्यो, जस्तोसुकै परिस्थितिमा पनि म बैंकिङभन्दा टाढा रहन सकिनँ, यसैलाई मेरो धर्म र कर्म सम्झें, प्रत्यक्ष-अप्रत्यक्षरूपमा यही क्षेत्रमा क्रियाशील रहें, मेरा दुःखका दिनहरूमा प्रेरणा दिनु हुने, तन, मनले सहयोग र उत्प्रेरित गर्नुहुने सम्पूर्णलाई यो पुरस्कार समर्पित गर्न चाहन्छु ।’ अहिले बैंकर बीएन घर्ती पुनः बैंकिङमा फर्किएका छन् । उनी चार वर्षका लागि बेष्ट फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् । बितेको एक दशकलाई भुल्दै बैंकिङ क्षेत्रले बैंकर बीएनलाई पुनः स्वागत गरेको छ । बैंकिङ क्षेत्रले पुनः एउटा अनुभवी, क्षमतावान र अब्बल बैंकर पाएको छ । बैंकिङ क्षेत्र र बैंकरले गरेको भरोसा र विश्वासलाई पुनःस्थापित गर्नुपर्ने चुनौती बैंकर बीएन घर्तीमाथि छ ।
यस कारण अपरिहार्य छ बीमा
काठमाडौं । हामी सक्षम छौं, स्वस्थ छौं, कमाउन र जमाउन सकेका छौं । सबै कुरा राम्रै चलिरहेको छ । हामी सोच्छौं, किन बीमा गर्नुपर्याे र ? हामीभित्र भएको यो घमण्ड या आफैमाथिको विश्वास, जसले गर्दा बीमा गर्नुपर्छ भन्ने ज्ञान हामीमा छ भने पनि गर्छु नै भन्ने निर्णय गरिहाल्न हिम्मत हामी गर्न सक्दैनौं । हामी सबैलाई जानकारी भएकै कुरा हो, जीवन संधै एकनास चल्दैन । कतिबेला कहाँनेर कसलाई के समस्या आइपर्छ थाहा हुँदैन । आज स्वस्थ छौं भनेर हिँडिरहेका हामी भोलि अस्पताल भर्ना हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न । भोलि कतै कुनै दुर्घटनामा परिँदैन भन्न सकिन्नँ र हामी संधै कमाइरहन सक्छौं भन्ने ग्यारेन्टी पनि छैन । यी सबै कुरा जतिखेर पनि हाम्रो जीवनमा आइलाग्न सक्छ । यसरी अचानक हाम्रो जीवनमा घटना भइहाल्यो भने ठूलो धनजनको क्षति बेहोर्नुपर्ने हुन्छ । त्यसरी अचानक आइपर्ने आर्थिक भारलाई सामना गर्ने पूर्वतयारी हामीले गरेका छौं ? यदि हामीले पूर्वतयारी गरेका छौं भने हामी ढुक्क हुन सक्छौं । त्यही ढुक्क हुने माध्यम नै बीमा हो । के हो बीमा ? नेपाल लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रूपमा काम गर्दै आएकी सरस्वती श्रेष्ठ कुनै व्यक्ति वा उसको परिवारलाई आर्थिक सुरक्षा दिनलाई गरिने वित्तीय योजना बीमा हो भनेर परिभाषित गर्छिन् । उनी भन्छिन्, ‘बीमा सुरक्षा हो । जसले व्यक्ति वा व्यवसायलाई आर्थिक क्षतिबाट जोगाउने काम गर्छ । बीमा वित्तीय सुरक्षा हो । कुनै पनि दुर्घटना, प्राकृतिक प्रकोपजस्ता कारणले हुने क्षतिबाट बीमाले वित्तीय सुरक्षा प्रदान गर्छ ।’ बीमा गरिदिने कम्पनीहरू जसलाई बीमक भनिन्छ । ती कम्पनीहरूमार्फत् व्यक्ति तथा व्यवसायको बीमा गर्न सकिन्छ । बीमा कम्पनीले बीमितको बीमा गराइदिएबापत निश्चित रकम (प्रिमियम) लिन्छ र त्यसको आधारमा भविष्यमा बीमाले ‘रिर्टन’ दिन्छ । बीमा गरेपछि निश्चित समयअवधि राखिन्छ । त्यो समयअवधिमा प्रिमियम रकम तिर्नुपर्छ । त्यो रकम समयअवधि पूरा भएपछि कम्पनीको नीतिअनुरूप रकम फिर्ता आउँछ । बीचमा मृत्यु भयो अथवा भवितव्य घटना भयो भने बेहोर्छ । अभिकर्ता श्रेष्ठका अनुसार बीमा कम्पनीले लिने प्रिमियम कम्पनीअनुसार फरक–फरक हुन्छ । नेपाल सरकारले पनि स्वास्थ्य बीमा गराउँदै आएको छ । वार्षिक ३ हजार ५ सय रुपैयाँ तिरेर एक लाख रुपैयाँ बराबरको उपचार यसबाट लिन सकिन्छ । बीमा कम्पनीहरूले गर्ने बीमा फरक–फरक हुन्छ । बीमाका विभिन्न प्रकार छन् । स्वास्थ्य बीमा, जीवन बीमा, मोटर बीमा, घर बीमालगायत बीमाका प्रकार हुन् । यी हुन् बीमा गर्नैपर्ने कारण दीर्घकालीन योजना बनाउन सहयोग बीमाले दीर्घकालीन योजना बनाउन मद्दत पुर्याउँछ । १०/१५ वर्षपछि कुनै योजना बनाउँदै छौं भने त्यतिबेला आज गरेको बीमाले ठूलो मद्दत गर्ने बताउँछिन् अभिकर्ता श्रेष्ठ । ‘१५ वर्षपछि केही योजना बनाउँदैछौं भने आज गरेको बीमाले ठूलो मद्दत गर्छ । १५ वर्षपछि नै गरौंला भनेर सोंच्न थाल्यौं र त्यतिखेर कुनै व्यवसाय या विदेश नै जानुपर्यो भने तत्काल पैसा जुटाउन सकिँदैन । तर, बीमा गरेको छ भने त्यसबाट सहज हुन्छ,’ उनले बीमाको महत्व थप प्रष्ट्याउँदै भनिन् । अहिलेदेखि आम्दानीबाट केही रकम छुट्याएर बीमामा लगानी गर्ने हो भने त्यसले एकातिर जीवन सुरक्षित बनाउने र अर्कोतिर आर्थिक फाइदा पुग्ने उनको भनाइ छ । आर्थिक सुरक्षा सानिमा रिलायन्स लाइफका एजेन्सी म्यानेजर फणिन्द्र श्रेष्ठ कतिपयले आर्थिक अवस्था देखाउँदै बीमा गर्न नखोज्ने बताउँछन् । उनले भने, ‘बीमाबारे बुझेका हुन्छन् तर आर्थिक अवस्थाकै कारण बीमा नगर्नेहरू छन् । बीमा गर्दा भविष्यमा जाखिम कभर हुन्छ भनेर बुझेका भएपनि अहिले गर्नको लागि पैसा छैन भन्दै धेरैले बीमा गर्न सक्नुभएको छैन ।’ कति जनाले भने बीमाबारे जानकार नहुँदा बीमा गर्न नसकेको उनको भनाइ छ । हामीमध्ये भविष्यमा के हुन्छ थाहा छैन । दुर्घटना, चोटपटक, बिमारी, मृत्युजस्ता अचानक आउने आपतकालीन अवस्थाहरूले आर्थिक र भावनात्मक रूपमा तनाव सिर्जना हुन्छ । यदि बीमा गरेको छ भने यी अवस्था आउँदा बीमाले आर्थिक सहयोग प्रदान गर्ने नेपाल लाइफमा काम एजेन्सी म्यानेजर श्रेष्ठ बताउँछन् । परिवारको भरणपोषण परिवारमा एक जना मात्रै कमाइ गर्ने छ र कमाउने व्यक्तिको अचानक मृत्यु या काम गर्नै नसक्ने अवस्था आयो भने त्यो परिवारमा ठूलो आर्थिक संकट आइपर्छ । यो समस्याबाट जोगिन बीमाले ठूलो मद्दत गर्ने एजेन्सी म्यानेजर श्रेष्ठ सुनाउँछन् । बीमा गर्दाका थप फाइदाहरू बचतलाई बढावा बीमासम्बन्धी जानकारहरूले बीमाका अनेक फाइदाबारे उल्लेख गरेका छन् । बीमा जानकारहरूका अनुसार बीमा गर्दा नियमित बचत गर्ने बानीको विकास हुने बताउँछन् । उनीहरूका अनुसार प्रत्येक वर्ष केही रकम प्रिमियमको रूपमा छुट्याएर नियमित बचत गर्दा यसले नियमति बचत गर्न प्रोत्साहित हुन्छ र बचत गर्ने बानीको विकास हुन्छ । उक्त रकम निश्चित समयपछि अर्थात बीमा परिपक्क भएपछि बोनससहित रकम प्राप्त हुन्छ । यो रकम कुनै लगानीमा पनि लगाउन सकिन्छ । अवकाशपछि आर्थिक व्यवस्थापनमा सहयोग आज बीमा गरेको छ भने भोलि वृद्धावस्थामा त्यसले आर्थिक व्यवस्थापन गर्न मद्दत पुग्छ । कामबाट अवकाशपछि नियमित आम्दानी हुँदैन । त्यस्तो अवस्थामा जीवन चलाउन गार्हो हुन सक्छ । बीमा गरेको छ भने नियमित आम्दानी नभएपनि बीमाबाट सहायता पुग्ने बीमा जानकारहरू बताउँछन् । अवकाश नीति भनेको एक प्रकारको बीमा योजना हो जसले लामो समयसम्म आफ्नो आम्दानीको एक भाग बचत गर्न र अवकाश पछि आर्थिक रूपमा सुरक्षित बनाउन मद्दत गर्छ । जम्मा गरिएको रकम बीमितलाई पेन्सनको रूपमा फिर्ता गरिन्छ । शान्ति र आत्मविश्वास बीमा गरेपछि हामी ढुक्क हुन्छौं । आपतकालीन अवस्थामा ‘मलाई केही भइहाल्यो भने बीमा छँदैछ’ भन्ने मनमा हुँदा यसले शान्ति हुन्छ । भोलि केही भइहाल्यो भने बीमाबाट निकालेर व्यवस्थापन भइहाल्छ भनेर ढुक्क हुँदा यसले आत्मविश्वासमेत बढाउने बीमा जानकारहरू बताउँछन् । ऋण लिन सहज सर्वसाधारणलाई बैंक तथा वित्तीय संस्थामा ऋण लिन सहज छैन । ऋण लिनुभन्दा अगाडिको प्रक्रिया धेरैजसो सर्वसाधारणले नबुझ्ने झन्झटिलो पनि हुने भएकाले धेरैले ऋण लिन सकिरहेका हुँदैनन् । तर, बीमा गरेको छ भने बीमा गर्दा बीमा कम्पनीले बीमितलाई दिने कागजात लगेर कर्जा माग्दा सहजै कर्जा पाइन्छ । बालबालिको उच्च शिक्षामा सहयोग बालबालिकाको जीवन बीमा गरिँदिदा यसले भविष्यमा उनीहरूको उच्च शिक्षाको लागि ठूलो मद्दत पुग्छ । १२ कक्षा पास भइसकेपछि उच्च शिक्षाको लागि जुनसकै विषय पढ्दा वा उच्च शिक्षा पढ्न विदेश जान पनि अरूसँग ऋण खोजिरहनुपरेन । बीमा गरेको पैसाबाट व्यवस्थापन गर्न सहज हुन्छ । पढाइबाहेक अरू कुनै व्यवसाय सुरु गर्न चाहेको खण्डमा पनि आज गरेको बीमाले भोलि ठूलो मद्दत गर्ने बीमा जानकारहरू बताउँछन् ।
बीबीसीविरुद्ध सेयरधनीहरू अदातलमा, अन्तिम घडिमा रोकियो साधारणसभा
काठमाडौं । अदालतको आदेशपछि विशाल बजार कम्पनी (बीबीसी)को साधारण सभा रोकिएको छ । कम्पनीका सेयरधनीहरूले उजुरी दिएपछि १० वर्षपछि हुन लागेको वार्षिक साधारण सभा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले स्थगित गर्न अन्तरिम आदेश दिएपछि राेकिएकाे हाे । कम्पनी सञ्चालक समितिको गत माघ २८ गते बसेको बैठकले विभिन्न प्रस्तावसहित फागुन २८ गते वार्षिक साधारण सभा बोलाएको थियाे । तर, उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र ऋषि राजभण्डारीको फागुन २६ गतेको इजलाशले कम्पनीको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । साथै कम्पनीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न अदालते आदेश दिएको छ । वार्षिक साधारण सभा सेयरधनीहरूको हित विपरीत भएकोले कम्पनीका विरुद्ध सेयरधनी सुनिलकुमार शाक्यले उच्च अदालतमा रिट दायर गरेका हुन् । शाक्यको पक्षबाट अदालतमा वरिष्ठ अधिवक्ता शम्भु थापा, सतिष कृष्ण खरेल, अधिवक्ता युवराज बन्जाडे र दिपेन्द्र झाले बहस गरेका थिए । ‘के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सो समेत खुलाई बाटाका म्याद बाहेक १५ दिन भित्र आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ लिई यस अदालतमा उपस्थित हुनु,’ उच्च अदालत पाटनको अन्तरिम आदेशमा उल्लेख छ । सेयरधनीहरूको लगानीको मूल्याङ्कन नगरी अलग राखी कम्पनीको साधारण सभा सञ्चालन गर्दा निवेदकहरूको हक हितमा प्रतिकूल असर पर्न सक्ने सम्भावना रहेको तथा सुविधा सन्तुलनको सिद्धान्त समेतलाई मध्येनजर गरी निवेदनको अन्तिम किनारा नलागेसम्म साधारण सभा स्थगित गर्न अदालतको आदेश छ । यस्तै, निवेदक विजयनारायण राजभण्डारीको उजुरीमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमको फागुन २१ गतेको एकल इजलाशले साधारण सभाको १० नम्बर प्रस्ताव कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । निवेदक राज भण्डारीका तर्फबाट वरिष्ठ अधिवक्ता सम्भु थापाले नै बहस गरेका थिए । कम्पनीले साधारण सभाको बुँदा नम्बर १० मा पसलकवलसँग सेयर गाभी स्वतः नवीकरण हुने गरेको सम्झौता खारेज प्रस्ताव गरेको छ । तर, निवेदकहरूको दाबी अनुसार कम्पनीसँग विसं २०५४ साउन १ गते भएको सम्झौताको दफा १२ मा पसलको बहाल प्रत्येक दुई/दुई वर्षमा तत्काल लागू रहेको बहाल दरमा १० प्रतिशतका दरले वृद्धि भै करारनामा स्वतः नवीकरण हुने उल्लेख छ । साथै विसं २०५२ साउन १५ गते सम्पन्न सम्झौताको दफा ११ मा पसलको बहाल प्रत्येक दुई/दुई वर्षमा तत्काल लागू रहेको बहाल दरमा १० प्रतिशतका दरले वृद्धि भई सम्झौता स्वतः नविकरण हुने र कम्पनीको आर्थिक विनियमावली २०६४ को परिच्छेद ४ मा बहालवालाले पसलसँग अविभाज्य रुपमा रहेको सेयर वा सो वापत कम्पनीमा रहेको नगद धरौटी नामसारी गरेमा सम्बन्धित पसल कोठा समेत स्वतः नामसारी हुनेछ भन्ने व्यवस्था रहेको निवेदकहरूले दाबी गरेका छन् । सोही आधारमा साधारण सभाको १० नम्बर प्रस्ताव कार्यन्वयनमा रोक लगाई बदर गरी पसल यथावत संचालन गरी पाउँ भन्ने फिराद परेकाले उक्त प्रस्ताव कार्यन्वयन नगर्न आदेश जारी गरिएको हो । १० वर्षपछि बोलाएको कम्पनीले १४ प्रतिशत अन्तरिम नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्मको आर्थिक विवरण तथा लेखा परीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव गरेको छ । साथै आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने प्रस्ताव गरेको छ ।