२७ वर्षको निरन्तर संघर्षपछि नेतृत्वमा मिना लामा
काठमाडौं । नेपाली समाजमा जतिसुकै महिला सशक्तिकरण र समानताको कुरा भइरहेतापनि महिलालाई नेतृत्व तहसम्म पुग्न अझै पनि थुप्रै चुनौतीहरू छन् । ती चुनौतीहरुलाई पार गरेर अघि बढ्न अहिले पनि महिलालाई ठूलै संघर्ष गर्नुपर्छ । पितृसतात्मक सोंचले जरा गाडेको हाम्रा समाजमा महिलालाई स्वतन्त्र भएर उड्न छुट छैन । परम्परागत सोंच, सांस्कृतिक मान्यता, आर्थिक असमानताले महिलाले जति प्रगति गर्र्नुपर्ने हो त्यो हुन सकेको छैन । महिलाहरूलाई नेतृत्व तहमा पुग्न सबैभन्दा ठूलो चुनौती भनेकै सामाजिक र सांस्कृतिक मानसिकता हो । अहिले पनि महिला किन बाहिर जानुपर्यो ? घर, बालबच्चा र परिवार समाल्ने जिम्वेवारी महिलाको मात्रै हो, त्यसमै सीमित हुनुपर्छ भन्ने सोंच पूर्ण रूपमा हट्न सकेको छैन । महिलालाई निर्णय प्रक्रियामा सहभागी गराउन अझै पनि समाज उदार बन्न सकेको छैन । तैपनि धेरै महिला सामुन्नेका अवरोधहरू छिचोलेर धैर्यता र दृढताका साथ आफ्नो गन्तव्यमा अविचलित अघि बढिरहेका छन् । चाहना र अवसरले मात्र महिला स्थापित हुन सक्दैनन् । सँगै उनीहरूमा दक्षता, जिम्मेवारी पूरा गर्ने आत्मविश्वास, लगनशीलता, धेर्यता पनि जरुरी हुन्छ । यिनै कुराको तालमेल मिलाएकैले मिनाकुमारी लामा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख बन्न सफल भएकी छन् । उनी हेटौंडाकी पहिलो महिला प्रमुख बन्न सफल भएकी हुन् । नजानेरै पार्टी संगठनमा वि.सं २०३३ सालमा हेटौंडामा जन्मिएकी मिनाको पारिवारिक अवस्था सामान्य थियो । खेती किसानी गरेर जीविकोपार्जन गर्नेबाहेक उनको परिवारको अन्य आम्दानीको स्रोत थिएन । मिना परिवारकी चौंथो सन्तान हुन् । तीन दाजुपछि उनी जन्मिएकी थिइन् । तीन छोरा जन्मिसकेको हुँदा बाबुआमाको रहर छोरीमा थियो, त्यही रहर मिनाले पूरा गरेकी थिइन् । बाल्यकालमा उनी दाइहरूसँगै हुर्किन पाइन् । दाजुहरूसँगे खेल्ने, पढ्ने हुर्कने अवसर उनले पाइन्, जुन अवसर त्यतिबेलाको समयमा निकै कमले पाउथे । ‘त्यो समयमा छोरीले पढ्ने, खेल्ने अवसर थोरैले पाउँथे । तर, मैले दाजुहरूसँगै पढ्ने, खेल्ने अवसर पाएँ, त्यसमा आफूलाई भाग्यमानी ठान्छु,’ उनले आफ्नो बाल्यकाल सम्झिँदै भनिन् । सानैदेखि दाजुभाइसँग हुर्किएको हुँदा अन्य छोरीहरूको तुलनामा मिना बढी चनाखो थिइन् । ‘हुने विरुवाको चिल्लो पात’ भने झैं सानैदेखि उनमा नेतृत्व गर्ने क्षमता थियो । विद्यालयमा खेलकुद कार्यक्रम हुँदा उनले नै साथीहरूलाई खेल्नको लागि प्रोत्साहन गर्थिन् । ‘स्कुलमा खेलकुद भनेपछि छोराहरूले मात्रै खेल्थे, कोही दिदीबहिनीहरू अघि सर्दैन थिए । मैले नै खेलकुदमा सहभागी हुनुपर्छ भनेर समूह बनाउँथें । त्यसपछि विभिन्न खेलकुद प्रतिस्पर्धामा भाग लियौं,’ उनले भनिन् । हरेक कुरामा मिना अघि सर्थिन् । कतै अन्याय भयो या झगडा भयो भने त्यहाँ पनि पुगिहाल्थिन् उनी । हरेक कुरामा अग्रसर भएकै कारण कक्षा ६ मा पढ्दै गर्दा अग्रज साथी र आफ्नै साथीहरूले विद्यार्थी संगठनमा लाग्न मिनालाई सल्लाह दिए । उनले विद्यार्थी संगठन भनेको के हो समेत बुझेकी थिइनन् । विद्यार्थी संगठन राजनैतिक पार्टीको संगठन हो भनेर उनले ८ कक्षामा आएर बल्ल बुझिन् । त्योभन्दा अघिसम्म विद्यार्थीहरूको समूह हो भनेर उनले बुझ्दै आएकी थिइन् । त्यसपछि विस्तारै उनले संगठनबाट विभिन्न कार्यक्रमहरूमा सहभागी हुने अवसर पाइन् । संगठनबाटै पार्टी प्रशिक्षण, विद्याथी प्रशिक्षणमा भाग लिइन् । यसरी आधिकारिक रूपमा विंस २०४६ सालबाट उनी राजनीतिक यात्रामा प्रवेश गरिन् । विवाहपछि पढाइलाई निरन्तरता विद्यार्थी जीवनकालबाटै राजनीतिमा लागेकी मिना कक्षाकोठाको अध्यक्ष हुँदै विंस २०५२ सालमा अनेरास्ववियू (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) को जिल्ला कोषाध्यक्ष भएर काम गरिन् । राजनीतिक यात्रासँगै पढाइलाई अगाडि बढाउँदै गर्दा वि.सं २०५४ सालमा उनले हेटौंडाकै सुनकुमार लामासँग विवाह गरिन् । विवाहपछि धेरैले आफ्नो पढाइलाई निरन्तरता दिन सकिरहेको हुँदैनन् । पारिवारिक बन्धनमा बाँधिएपछि आफ्नो करिअर, सपनालाई भुलेर धेरै दिदीबहिनी घरभित्रै सीमित हुन्छन् । तर, मिनाले पढाइपछि पनि आफ्नो पढाइलाई निरन्तरता दिइन् । विवाहपछि पढाइलाई निरन्तता दिन उनलाई सहज थिएन, छिमेकीले अब किन पढ्नुपर्यो भनेर निरुत्साहित पार्न खोज्थे । तर, मिनाले कसैको कुरालाई परवाह नगरी आफ्नो लक्ष्यमा निरन्तर अघि बढिन् । उनले विवाहपछि मास्टर्ससम्मको पढाइ पूरा गरिन् । करिअरकै ‘टर्निङ प्वाइन्ट’ विद्यार्थी राजनीतिपछि मिना महिला संगठनमा आवद्ध भइन् । अखिल नेपाल महिला संघको वडाध्यक्ष, नगरअध्यक्ष, जिल्ला सचिव हुँदै उनी केन्द्रीय सदस्यसम्म पुगिन् । खुला प्रतिस्पर्धा र चुनावबाटै आफू त्यहाँसम्म पुगेको सुनाउँछिन् मिना । यसरी विभिन्न चरण पार गर्दै नेतृत्व तहमा पुग्दा उनलाई २७ वर्ष लामो संघर्ष गर्नुपर्यो । राजनैतिक संगठनमा आवद्ध भए पनि मिनालाई राजनीतिभन्दा पनि महिलाहरूलाई सशक्तिकरण गर्नु थियो, जागृत गराउनुथियो । ‘मेरो वकालत राजनीतिभन्दा पनि महिलाहरूलाई हिंसाविरुद्ध आवाज उठाउनु नै थियो । किनकि महिलाहरू जतिसुकै हिंसा भएपनि सहेर बस्छन् तर बोल्दैनन् । पार्टीको संगठनमा बस्दा होस् या महिला संगठनमा यिनै विषयहरूमा वकालत गरिरहें,’ उनले भनिन् । विद्यार्थी संगठन होस् या महिला संगठनमा हुँदा होस् मिनाले राजनीतिक पदलाई कहिल्यै ठूलो प्राप्तिको रूपमा लिइनन् । उनको बुझाइ राजनीति केवल सेवा हो, तन, मन लगाएर लाग्छु भन्ने नै थियो । तर, उनले बुझेको राजनीति र वास्तविक जीवनमा भोग्नुपर्दाको राजनीति भने आकाश–जमिनको फरक रहेछ । उपमेयरको टिकटकै लागि लडाइँ चलेपछि बल्ल उनले उक्त कुरा बुझिन् । वि.सं २०७४ मा उपमेयरको लागि चुनाव लड्दैगर्दा मिनालाई पार्टीभित्रैबाट टिकट पाउन सहज थिएन । उपप्रमुखमा अग्रज महिलासँगै पुरुषसँग समेत उनले प्रतिस्पर्धा गर्नुपर्ने थियो । त्यतिबेलाको माहोल स्मरण गर्दै उनले भनिन्, ‘उपमेयरको टिकटको लागि मैले जति सहज रूपमा लिएकी थिएँ, यथार्थमा त्यस्तो थिएन । उपमेयरको लागि अग्रज महिलासँगै पुरुष पनि प्रतिस्पर्धामा उत्रिनुभएको थियो । दुवैले उपमेयर पद नछोड्नेभएपछि चुनाव नै भयो । चुनावपछि टिकट मैले नै पाएँ । तर, एक जना अग्रज पुरुषले टिकट तिमीले पाउँदैनौं, फलानो महिलालाई सिफारिस गरिन्छ भन्दा त्यतिबेला बल्ल मैले राजनीति बुझें ।’ पार्टीले टिकट दिँदा पनि मिनालाई ब्याक हुनका लागि धेरैले जालसाँझी गर्न खोजे । उनको विपक्षमा पार्टीका आधाभन्दा बढी मान्छे थिए । तर, उनले हिम्मत हारिनन् । किनकि उनीमाथि अरू धेरैको विश्वास जोडिएको थियो । उनलाई विश्वास गरेर भोट दिने धेरै जना थिए । पार्टीबाट टिकट पाएपनि उनलाई सहज थिएन । त्यसको लागि उनले ठूलो मिहिनेत गर्नुपर्यो । त्यतिबेलाको मिहिनेतले नै उनलाई आज प्रमुख बन्न बाटो खुलेको उल्लेख गरिन् । त्यसैले उनी त्यो खुट्किलोलाई करिअरकै टर्निङ प्वाइन्टको रूपमा लिन्छिन् । महिला भएकै कारण सामना गर्नुपरेको चुनौती पुरुषको तुलनामा महिलालाई हरेक क्षेत्रमा थुप्रै चुनौतीहरूको सामना गर्नुपरिरहेको हुन्छ । धेरै जना महिला चुनौतीसँग जुध्न डराउँछन् । हार मान्ने महिलामध्येमा मिना थिइनन् । उनले आफू मात्रै उभिएर काम गर्न कठिन हुने रहेछ भन्ने कुरा बुझिन् । महिलाहरूलाई हरेक क्षेत्रमा सँगै सहभागी गराउन उनलाई निकै कठिन भएको सुनाउँछिन् । ‘आफू मात्रै उभिएर नहुने रहेछ, संगठन बनाउँदा महिलाहरूलाई जोड्न कठिन हुँदोरहेछ । बल्ल–बल्ल तीन÷चार जना महिलालाई जोड्यो, फेरि उनीहरू पछि हटिहाल्थे,’ उनले सुनाइन् । मिना राजनीतिमा मात्रै हैन, समाजसेवामा समेत सक्रिय थिइन् । समाजमा भएका विकृतिविरुद्ध आवाज उठाइरहन्थिन् । २०४९ सालतिर उनको गाउँमा विशेषगरी ११ नम्बर वडामा जाँडरक्सी खाने, जुवातास खेल्ने विकृति व्यापक थियो । उनले तास फाल्ने र रक्सीको भाँडो फुटाउने अभियान नै चलाइन् । जुन अभियानले त्यहाँ त्यो विकृति समाधान भयो । मिना कला क्षेत्रमा समेत सक्रिय थिइन् । सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुने, नाच्ने गर्थिन् । यसरी विभिन्न कार्यक्रममा सहभागी हुने, समाजका विभिन्न काममा सक्रिय हुँदा उनी बेलुका अबेर घर पुग्थिन् । यी सबै काम गर्न परिवारबाट छुट भएपनि समाजले उनलाई हेर्ने दृष्टिकोण फरक थियो । गाउँमा आफन्तहरूले फलानोको छोरी घरबाहिर अवेरसम्म बस्छे, राती–राती घर आउँछे भन्दै उनको चरित्रमाथि प्रश्न उठाउथे । यस विषयले उनको परिवारमा तनाव हुन्थ्यो । त्यति मात्रै नभएर उनको बिहेसमेत भाँडिदिने प्रयास छिमेकीले गरेको अनुभव उनीसँग छ। महिला भएकै कारण जिल्लाको कोषाध्यक्ष हुँदा अनेरास्ववियुको कार्यक्रममा प्रतिनिधि नबनाएर स्वंयसेवक बनाएको घटना मिनाको मानसपटलमा आज पनि ताजै छ । उनले मलाई प्रतिनिधि नबनाएर किन स्वंयसेवक बनाउनुभएको भन्ने प्रश्न गर्दा तिमी प्रतिनिधि बनेपछि केन्द्रीय कमिटीमा बस्नुपर्छ, चुनावमा उठ्नुपर्छ, तिमी उठ्ने पनि होइनौं, स्वंयमसेवक बनेर सम्मेलनमा सहभागी भइहाल्यौ पुगिहाल्यो नि भन्ने जवाफ पाइन् । पार्टी संगठनमा बस्नलाई पनि महिला कोटाबाट गयो भइहाल्यो नि किन अन्य कोटाबाट उम्मेदवारी दिनुपर्यो भनेर उनलाई तल पार्न खोज्नेहरूको एक जमात नै हुन्थ्यो । महिला सधै महिला कोटाबाटै जानुपर्छ भन्ने मानसिकता धेरैको भएको उनले महसुुस त्यतिबेला नै गरिन् । नेतृत्व तहमा पुग्नलाई महिला भएर महिला कोटाबाट महिला जानुपर्ने र अर्को महिला भएकाले प्रतिस्पर्धामा नजाओस् भन्ने मानसिकताले आफू महिला नभएको भए यस्तो चुनौतीको सामना गर्नुपर्दैन थियो कि भन्ने अनुभूति मिनाले गरिन्। प्रमुख भएपछिको चुनौती मिना अहिले हेटौंडा उपमहानगरपालिको प्रमुखमा छिन् । प्रमुखको कुर्सीमा बस्न उनलाई सजिलो छैन । तर, पनि उनले उपमेयर, वडाअध्यक्ष, राजनैतिक दल, जनता सबैलाई मिलाएर बिना विवादित पालिका हाँकिरहेकी छिन् । अहिले पनि प्रमुख महिला नै हुनुपर्छ भन्ने मानसिकताबाट मान्छे बाहिर आउन सकेका छैनन् । यो कुरालाई उनी स्वंयले अनुभव गरेकी छिन् । ‘कार्यालयमा म प्रमुखको कुर्सीमा बसिरहेको हुन्छु, कोही नयाँ मान्छे भेट्न आउनुहुन्दा मेयरसाब कता हुनहुुन्छ, उहाँलाई बोलाइदिनु न भन्नुुहुन्छ । मैले मै हुँभन्दा कति जना आश्चर्य मानेर हेर्नुहुन्छ त कतिजना तपाईं पो भनेर उल्टै प्रश्न गर्नुहुन्छ । अझ कतिले फोनमा पहिलोपटक कुरा हुँदा मेयरसाबलाई फोन दिनुन भनेर भनिरहनुभएको हुन्छ ।’ यी सबै कुरालाई सामान्य रुपमा लिन्छिन् मिना । पालिकाको प्रमुख भएर काम गर्न मिनालाइ सहज छैन । तैपनि उनले चुनौतीहरूलाई अवसर र सिकाइको रूपमा लिएर काम गर्दैछिन् । उनको अनुभवमा महिलालाई चुनौती भनेको पहुँचमा हो । कतिपय अवस्थामा महिलाहरूले राति अबेरसम्म कार्यक्रम, बैठकमा सहभागी जनाउन सकिरहेका हुँदैनन् । कतिपय मागलाई पूर्णता दिन सकिरहेका छैनन् । यसले गर्दा नेतृत्व तहमा काम गर्न केही असहज महसुस गर्छिन् उनी । यो कुरालाई मिलाएर अघि बढ्न सक्ने धारणा राख्छिन् उनी । महिलाले नेतृत्व गरेको ठाउँमा एकदमै कम विवाद आउने गरेको मिना सुनाउँछिन् । महिलाले नेतृत्व गर्दा असक्षम र पुरुषले गर्दा सक्षम भन्ने कुरामा असहमति जनाउँदै कुराकानीको क्रममा उनले भनिन्, ‘महिलाहरुले गरेको कहीं पनि विवाद आएको छैन । जहाँ महिला नेतृत्व छ, त्यहाँ गएर हेर्नुहोस् थाहा पाइहाल्नुहुन्छ । काम महिला र पुरुषले गर्ने होइन, विधि र नीति र विधानले गर्ने हो । विधि, विधानअनुसार महिलाले गर्दा असफल पुरुषले गर्दा सफल भन्ने हुँदैन । राज्यको संविधान, विधि र नीतिलाई नै अवलम्बन गरेर गर्ने हो । कानुनलाई टेकेर काम गर्दा महिला पुरुषको तुलना हुँदैन । हेराईमा र बुझाईमा फरक हुनसक्छ तर क्षमता एउटै हो ।’ के-के काम गर्दैछिन् ? हेटौंडा उपमहानगरपालिकाले नागरिकलाई १० हजार लिटर खानेपानी निःशुल्क वितरण गर्दै आएको छ । नगरपालिको यो काममा कतिले सकारात्मक त कतिले नकारात्मक प्रतिक्रिया दिने गरेको मिना बताउँछिन् । उनकै कार्यकालमा पालिकामा दुईवटा अस्पताल सुरु भएको छ । मिनाले त्यहाँका नागिरकलाई निःशुल्क स्वास्थ्य बीमा सुविधा प्रदान गर्दै आएको बताइन् । पालिकाले स्थानीय बासिन्दा, चेपाङ समुदाय, विपन्न कार्ड लिएका, एकल महिला, श्रमिक महिला, जोखिममा काम गर्ने पुरुष, सरसफाइमा काम गर्ने महिलाहरूलाई निःशुल्क स्वास्थ्य बीमा गर्न पाउने व्यवस्था गरेको छ । हेटौंडा एजुकेशन हब पनि हो । यो जिल्ला तराईसँग जोडिएको छ । उच्च शिक्षा पढ्नका लागि काठमाडौं जान नसक्नेहरूलाई ध्यानमा राखेर पालिकामै ब्याचलर्स लेभलको पढाइ सुरु भएको छ । एग्रीकल्चरको पढाइ हुने व्यवस्था पनि पालिकाले गरेको छ । निम्नवर्गका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था छ भने चार निम्नवर्गका विद्यार्थीले एमबीबीएस पढ्नका लागि छात्रवृत्ति पालिकाले उपलब्ध गराएको छ । पूर्वाधारको क्षेत्रमा पनि पालिकाले विभिन्न काम गर्दै आएको छ । हरेकको घरघरमा बाटोघाटोको सुविधा, बिजुली पु¥याउने गरी काम भइरहेको मिनाले बताइन् । उनले नगरभित्रका महिलाहरूलाई सीप र आर्थिक रूपमा जोड्नका लागि महिला जागरण समूह खडा गरेर काम गरिरहेकी छिन् । यसको मूख्य उद्देश्य नै सशक्तिकरण गर्ने, महिला जागरण गर्ने, उनीहरूलाई आय, उद्यमसँग जोड्ने काम हो । पालिकाले अहिले विभिन्न १४ सेक्टर छुट्याएर महिलाहरूलाई व्यावसायीकरणमा जोड दिँदै आएको छ । जसमा गाईपालन, मेवाखेती, बेसारखेती, गुन्द्रुक उत्पादनलगायत छन् । हेडौंडा अहिले १ करोडको गुन्द्रुक उत्पादन गर्ने भनेर लागिपरेको छ । मिनाका अनुसार २५ जना महिलाहरू गुन्द्रुक उत्पादनमा लागेका छन् । पालिकाले गुन्द्रुक ब्राण्डिङ गरेर विदेशमासमेत निर्यात गर्दै आएको उनले बताइन् । ‘हामीले गुन्द्रुकको ब्राण्डिङ नै गरेका छौं । हामीले उत्पादन गरेको गुन्द्रुक युरोप, अमेरिका, अस्टेलियासम्म पठाउँछौं । ढाका उत्पादन गरेर निर्यात सुरु भएको छ । हामीले उत्पादन गरेको ड्रागन फ्रुट, मेवा र अम्बा भाटभटेनी, कालीमाटीमा पुग्छ,’ उनले भनिन् । हेटौंडालाई भर्खरै मात्र बालमैत्री नगर घोषणा गरिएको छ । बालमैत्री नगर घोषणा आजको अभ्यासले भन्दा पनि आफू प्रमुखमा नियुक्त भएदेखिको अथक प्रयासले सफल भएको मिना दाबी गर्छिन् । त्यसबाहेक पालिकाले छिट्टै महिलामैत्री पार्क निर्माण गर्दैछ । सफलताको शुत्र भनेकै आत्मविश्वास महिला विभिन्न बहाना बनाएर पनि पछि परेको औल्याउँछिन् मिना । उनी भन्छिन्, ‘छोराछोरीले अल्झाउँछन्, खाना पकाउनुछ या यो गर्नुछ र त्यो गर्नुछ भन्दै महिलाहरू पन्छिरहेको देख्छु, तर यी सबै गरेर पनि बाहिरको काममा सहभागी हुन सकिन्छ ।’ नेतृत्व तहमा पुगेका महिलाहरूले पनि यी सबै काम गर्दै पुगेको आफ्नै उदाहरण दिँदै मिना कारण नदेखाई अघि बढ्ने हो भने कसैले रोक्न नसक्ने बताउँछिन् । कसले के भन्यो भनेर त्यसको पछाडि लाग्नुभन्दा म जे गर्छु सही गर्छु भन्ने दृढ विश्वाससहित लाग्छ भने त्यसले आफू कता लाग्ने बाटो पहिल्याउन सहज हुने र त्यसले गन्तव्यसम्म पुग्न मदत गर्ने उनी सुनाउँछिन् । त्यस्तै, उनका अनुसार महिला आफैमा आत्मविश्वासी हुनु जरुरी छ । सफल हुनको लागि एकैचोटि ठूलो आकांक्षा राख्न हुन्न । स–साना सफलताहरूबाटै माथिल्लो तहसम्म पुग्ने भएकाले महिलाले यसमा विशेष ध्यान दिनुपर्ने मिनाको अनुभव छ । सम्पति नहुँदा पनि गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छिन् मिना । उनी आफै पनि कुनै धनाढ्य परिवारमध्येबाट आएकी होइनन् । उपमेयरको चुनाव लड्दै गर्दा ठूलो राजनैतिक दल एमालेबाट टिकट पाएकी थिइन् । त्यतिबेला पार्टीले नै सबै सहयोग गरेको हुँदा उनलाई आर्थिक पाटोबाट कुनै समस्या भएन । प्रमुख भएर लड्दा उनी नयाँ पार्टी (नेकपा एकीकृत समाजवादीबाट) बाट थिइन् । त्यतिबेला नै उनले चुनावमा पैसा खर्च हुने रहेछ भन्ने थाहा पाइन् । अरूले जस्तो टन्न पैसा खर्च गरेर चुनाव लड्ने क्षमता उनमा थिएन । तर मिनाले समाजको लागि टेस्ट पनि हुन्छ, कुनै खर्च नगरी चुनाव जित्छु भन्ने आँट बटुलिन् । त्यो आँट उनकै छोराले दिलाएको थियो । ‘त्यतिबेला मेरा छोराले मलाई चुनावमा हारजीत भइहाल्छ, तपाईँ महिला भएर पैसा छैन भनेर पछाडि पर्नुभयो भने अरू महिलाले के गर्लान् ? भनेर उत्साह दिएपछि म आँट लिएर चुनावमा उठेँ,’ मिनाले सुनाइन् । चुनाव लड्दैगर्दा मिनाले जनताको ठूलो साथ पाइन् । उनलाई विश्वास गरेर भोट नमागीकनै लोकप्रिय मत ल्याएर उनी प्रमुखमा विजयी भइन् । नेतृत्व तहमा महिला सहभागिता संविधानले नेतृत्व तहमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ भनेर छुट्याए पनि त्यो हुन सकेको छैन । संविधानले व्यवस्था गरेअनुसार सरकारले महिला सहभागिता बढाउनुपर्ने बताउँछिन् मिना । त्यस्तै, नेपालमा उप जति महिलालाई दिने भन्ने भाष्य सिर्जना हुन पुगेको छ । ‘उपप्रमुख, उपसभामूख, उपराष्ट्रपति जति उपपद छन् त्यो महिलालाई दिनुपर्छ भन्ने छ, यो महिलालाई मात्र होइन । महिलालाई प्रमुख पनि दिनुपर्छ भन्ने ख्याल राजनीतिक दलहरुले गर्नुपर्छ । ३३ प्रतिशत अधिकार हो भने त्यति नै कार्यान्वयन गर्न राज्यले नियमन गराउनैपर्छ,’ उनले भनिन् । त्यस्तै, महिलालाई छुट्याएको कोटाबाट मात्रै नभएर खुलाबाट पनि प्रतिस्पर्धामा जाने वातावरण सरकारले बनाइदिनुपर्छ । तबमात्रै महिलाहरूको आत्मविश्वास बढ्ने र नेतृत्व तहमा महिला सहभागिता बढ्ने उनको बुझाइ छ ।
यी हुन् देशका ठूला ग्यास उद्योग, कसको हिस्सा कति ?
काठमाडौं । नेपालमा बेलाबखत ग्यास अभाव हुने विषयले निकै चर्चा पाउँछ । आयात गरेर नेपाली भान्सामा प्रयोग हुने एलपी ग्यास अभावको विषय सडकदेखि सदनसम्म प्राथमिकता पाउँछ । भारतबाट मासिक ४५ हजार मेट्रिक टन खाना पकाउने ग्यास आयात हुने गरेको नेपाल आयल निगमले जानकारी दिएको छ । जसमध्ये झण्डै ४० प्रतिशत मात्रै काठमाडौं उपत्यका र आसपासका ठाउँमा खपत हुने गरेको छ । नेपालमा मासिक रूपमा करिब ३० लाख सिलिण्डर तथा दैनिक रूपमा १ लाख सिलिण्डर आयात हुने गरेको निगमका प्रवक्ता मनोज ठाकुर बताउँछन् । उनका अनुसार हाल नेपालमा ५९ वटा ग्यास उद्योगहरू छन् भने २ वटा अटो अर्थात् टेम्पो प्रयोगका लागि भारतबाट ग्यास आयात हुने गरेको छ । यस्तै, ३ अन्य उद्योगहरूले पनि आफ्नो प्रयोजनका लागि ग्यास आयात गर्ने गरेका छन् । उद्योगी र सरकारबीच सहमति भएर अहिले ग्यासको मूल्य बढाउने निर्णय पनि भएको छ । गत मंगलबार मन्त्रालयमा भएको छलफलपछि एलपी ग्यासको प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा मूल्य बढाउने सहमति भएको छ । निगम र ग्यास उद्योगीबीच मूल्य बढाउने सहमति भएपनि उपभोक्तामाथि भने उक्त भार नथपिने निगमले जनाएको छ । प्रवक्ता ठाकुरले भने, ‘ग्यासमा प्रतिसिलिण्डर १२ रुपैयाँ ७५ पैसा मूल्यवृद्धि भएपनि त्यो उपभोक्ताले तिर्नुपर्दैन । थप मूल्य निगमले नै बेहोर्छ ।’ अहिले निगमलाई अहिले प्रतिसिलिन्डिर ३३० रुपैयाँ घाटा रहेको उनको भनाइ छ । उक्त घाटा पेट्रोल, डिजेल र हवाई इन्धनबाट असुल भइरहेको उनले जानकारी दिए । कुन उद्योगसँग कति सिलिण्डर ? अहिले मासिक करिब ४५ हजार मेट्रिक टन ग्यास आयात हुने गरेकोमा सबैभन्दा ठूलो हिस्सा भने कोसी ग्यासको छ । कोसी ग्यासले मासिक साढे दुई हजार मेट्रीक टन ग्यास आयात गर्ने गरेको छ । एक मेट्रीक टन ग्यास बराबर ७० वटा ग्यास हुन आउँस यस आधारमा कोसी ग्यासले मासिक १ लाख ७१ हजार ८८० सिलिण्डरका लागि ग्यास आयात गर्ने गरेको छ । यस्तै, भेरी ग्यासले २११०.५४ मेट्रिक टन ग्यास आयात गरेको छ भने नेपाल ग्यासले २२८१ मेट्रिक टन, जानकीले १७१४ मेट्रिक टन, बाबा ग्यासले १५५५, सगरमाथाले १४२१, एभरेष्टले ११९४, नोबेलले ११५४, प्राइमले १११३, साइबाबाले १०९६ र शक्तिले ९६४ मेट्रिक टन ग्यास आयात गरेको छ । निगमका अनुसार अमर ग्यास उद्योगले मासिक रुपमा ५९२ मेट्रिक टन, आरती ग्यासले २९६ मेट्रिक टन, भानु ग्यासले ४८० मेट्रिक टन, बुटवल ग्यासले ६४० मेट्रिक टन, चण्डेश्वर ग्यास उद्योगले ७५ मेट्रिक टन, वान नेपाल ग्यास उद्योगले ३९७ मेट्रिक टन, गौरीशंकर ग्यास उद्योगले मासिक रुपमा ५८६ मेट्रिक टन, गीता ग्यास उद्योगले ३५४ मेट्रिक टन ग्यास आयात गरेको देखिन्छ । यस्तै, गृहलक्ष्मी ग्यासले ८७८.१३ मेट्रिक टन, हिमालय पेट्रो क्यामिकल ग्यास उद्योग ग्यासले ५८४, जगदम्बा ग्यास उद्योगले मासिक रुपमा ५०५ मेट्रिक टन, कन्काई ग्यास उद्योगले ६१० मेट्रिक टन ग्यास आयात गरेको छ भने लुम्बिनी ग्यास उद्योग ग्यासले मासिक रुपमा ४५८ मेट्रिक टन ग्यास आयात गरेको निगमले जनाएको छ ।
अमेरिकी ट्यारिफको असर : चीनको निर्यात अपेक्षाभन्दा कमजोर, २०२३ यताकै तीव्र गिरावट
चीनको शानडोङ प्रान्तस्थित छिङदाओ बन्दरगाहको च्यानवान कन्टेनर टर्मिनलको दृश्य । काठमाडौं । चीनको निर्यात वृद्धि वर्षको सुरुवातमै अपेक्षाभन्दा कमजोर देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । शुक्रबार भन्सार प्राधिकरणको डेटाले निर्यात वृद्धि कमजोर देखाएको हो । जनवरीदेखि फेब्रुअरी अवधिमा निर्यात अमेरिकी डलरको सन्दर्भमा वार्षिक रूपमा २.३ प्रतिशतमात्र वृद्धि भयो, जुन रोयटर्सको सर्वेक्षणमा अनुमान गरिएको ५ प्रतिशत वृद्धिको तुलनामा निकै कमजोर रह्यो । यो गत वर्ष अप्रिलपछि सबैभन्दा ढिलो वृद्धि हो, जब निर्यात केवल १.५ प्रतिशतले मात्र बढेको थियो । २०२५ को पहिलो दुई महिनामा वार्षिक रूपमा ८.४ प्रतिशत गिरावट देखाएको छ, जुन जुलाई २०२३ यताकै सबैभन्दा तीव्र गिरावट हो । विश्लेषकहरूले आयातमा १ प्रतिशत वृद्धिको अपेक्षा गरेका थिए । चिनियाँ निर्यातकर्ताहरूले गत वर्षको अन्त्यदेखि नै अमेरिकी ट्यारिफको थप वृद्धिको आशंकामा आफ्नो सामानहरू अगाडि नै पठाउने प्रयास गरिरहेका थिए, किनकि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः ह्वाइट हाउस फर्केका छन् । ट्रम्पको पहिलो १० प्रतिशत ट्यारिफ वृद्धि फेब्रुअरी ४ मा लागू भयो, त्यसको एक महिनापछि अर्को १० प्रतिशत वृद्धिको प्रभाव प¥यो, जसले कुल ट्यारिफलाई २० प्रतिशतमा पुर्यायो । चीनले जवाफी रूपमा अमेरिकाबाट आयात गरिने ऊर्जा र कृषि उत्पादनहरूमा थप ट्यारिफ लगाएको छ । साथै अमेरिकालाई आवश्यक केही महत्त्वपूर्ण खनिजहरूको निर्यातमा रोक लगाएको छ । भन्सार निकायले जनवरी-फेब्रुअरीको संयुक्त व्यापार डेटा सार्वजनिक गर्छ, किनकि लुनार न्यू इयरको बिदाको प्रभावले सामान्य व्यापार गतिविधिमा असर पार्ने हुँदा व्यापार तथ्यांकहरू तलमाथि हुन सक्छन् । यस वर्ष लुनार न्यू इयर जनवरीको अन्त्यमा परेको थियो । बेइजिङको समर्थन ट्यारिफ तनाव बढ्दै जाँदा पनि चीनले यो वर्ष करिब ५ प्रतिशतको वृद्धि लक्ष्य राखेको छ, तर कमजोर घरेलु मागलाई स्वीकार गर्दै दशकमै सबैभन्दा न्यून मुद्रास्फीति लक्ष्य समायोजन गरेको छ । चिनियाँ अधिकारीहरूमाथि घरेलु खपत र आवास क्षेत्रलाई सशक्त बनाउन थप प्रभावकारी प्रोत्साहन उपायहरू ल्याउन दबाब बढेको छ । साथै निर्यात र लगानीमा निर्भरता घटाउने प्रयास भइरहेको छ । गत वर्ष निर्यातले चीनको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को झन्डै एक चौथाइ हिस्सा ओगटेको थियो, जसमा अमेरिका एकल देशको रूपमा सबैभन्दा ठूलो व्यापार साझेदार थियो । ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गर्दा २०२० मा आफ्नो पहिलो राष्ट्रपतिकालमा भएको व्यापार सम्झौतामा चीनको अनुपालन जाँच गर्न निर्देशन दिएका छन् । यसको अन्तिम मूल्याङ्कन अप्रिल १ सम्म ट्रम्पलाई बुझाइनेछ, जसले आगामी ट्यारिफ नीतिहरूलाई मार्ग प्रशस्त गर्न सक्छ । गत वर्षदेखि बेइजिङले व्यापार-इन अनुदानहरूमार्फत उपभोक्ता खर्च बढाउने प्रयास गरिरहेको छ, जसले निश्चित वस्तुहरूको खरीद प्रोत्साहित गर्छ । जनवरीमा सरकारले स्मार्टफोन र थप घरेलु उपकरणहरूलाई समेत व्यापार–इन योजनामा समावेश गरेको छ । एक विस्तारित वित्तीय प्याकेजअन्तर्गत चिनियाँ नेताहरूले वार्षिक संसदीय बैठकमा उपभोक्ता अनुदानलाई समर्थन गर्न ३०० अर्ब युआनको अतिरिक्त दीर्घकालीन विशेष कोष जारी गर्ने वाचा गरेका छन् । यता चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमाथि आर्थिक र राजनीतिक दबाब बढाएपछि अमेरिकासँग ‘कुनै पनि प्रकारको युद्ध’ लड्न तयार रहेको बताएको छ । ‘यदि युद्ध नै अमेरिकी चाहना हो भने चाहे त्यो शुल्क युद्ध होस्, व्यापार युद्ध होस् वा कुनै अन्य प्रकारको युद्ध होस्, हामी अन्तिमसम्म लड्न तयार छौं,’ अमेरिकास्थित चिनियाँ राजदूतावासले बुधबार सामाजिक सञ्जाल एक्स (पूरानो ट्वीटर) मा पोस्ट गर्दै आफ्नो धारणा प्रकट गरेको थियो । (एजेन्सीहरूको सहयोगमा) शुल्क युद्ध, व्यापार युद्ध वा कुनै पनि प्रकारको युद्ध भए पनि चीन अमेरिकासँग अन्तिमसम्म लड्न तयार