मुद्दा फैसलामा प्राधिकरणको सुस्तता, एक हजारभन्दा बढी मुद्दाको लागेन किनारा
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणमा बीमा कम्पनीले दिने सुविधामा असन्तुष्टि जनाउँदै उजुरी दिने बीमितको संख्या वार्षिक रूपमा बढ्दै गएको छ । प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो ६ आर्थिक वर्ष अर्थात आव २०७५/७६ देखि आव २०८०/८१ सम्ममा १ हजार ८०४ कुल उजुरी दर्ता भएको छ । प्राधिकरणले समयमै उजुरीको सम्बोधन नगर्दा वार्षिक उजुरीको संख्यासमेत बढ्दै गएको हो । ६ आर्थिक वर्षमा प्राधिकरणमा बीमितले दिने उजुरीको संख्या १३३ प्रतिशतले बढेको तथ्यांकमा देखिन्छ । तथ्यांकअनुसार आव २०७५/७६ मा १८७ उजुरी दर्ता भएकोमा आव २०८०/८१ मा उजुरी दर्ताको संख्या बढेर ४३७ वटा पुगेको छ । दर्ता भएका कुल उजुरीमध्ये ७२० वटा मुद्दाको फैसला भएको छ भने १ हजार ८४ मुद्दाको अझै फैसला हुन बाँकी छ । कुन वर्ष कति उजुरी परे ? आव २०८०/८१ प्राधिकरणमा जम्मा उजुरी संख्या ४३७ वटा रहेको थियो, जसमध्ये उक्त आवमा मात्रै २४४ वटा नयाँ उजुरी दर्ता भएको देखिन्छ । २४४ वटा उजुरीमध्ये पनि १५९ वटा निवेदन केन्द्रीय कार्यालय र ८५ वटा प्रादेशिक कार्यालयमा दर्ता भएका उजुरी हुन् । पहिलेको वर्षको बाँकी निवेदन १९२ वटा थियो । यसरी कुल उजुरीमध्ये १५० वटा मुद्दाको फैसला भइसकेको छ । १५० वटा मुद्दामध्ये १०१ वटा फैसलाबाट र ४९ वटा मध्यस्थताबाट सहमति भएकोे हो । २८७ मुद्दा भने हेर्न बाँकी रहेको र त्यो मुद्दा चालु आव २०८१/८२ मा सरेको प्राधिकरणले जनाएको छ । आव २०७५/७६ मा बीमा प्राधिकरणमा १८७ वटा निवेदन दर्ता भएको देखिन्छ । जसमध्ये ८३ वटा मुद्दा पुरानो निवेदन, ४ वटा पुनरावेदनबाट आएको र बाँकी एक सय निवेदन सोही वर्षमा दर्ता भएको थियो । प्राधिकरणमा बीमितले दर्ता गरेका कुल उजुरीमध्ये ८५ वटाको मात्रै फैसला भएको छ । १०१ उजुरीको भने उक्त वर्षमा फैसला हुन सकेनन् । आव २०७६/७७ मा १८७ वटा कुल निवेदनमध्ये १२६ नयाँ निवेदन दर्ता भएको देखिन्छ भने १०१ वटा निवेदन पुरानो निवदेन हो । उक्त आवमा कुल उजुरीमध्ये ९१ वटा उजुरीको फैसला भएको थियो । १३५ वटा उजुरीको सो वर्ष फैसला हुन सकेन । त्यस्तै, आव २०७७/७८ मा दर्ता भएको कुल २७३ उजुरीमध्ये ९३ उजुरीको फैसला भएको छ । आव २०७८/७९ मा दर्ता भएको ३३८ उजुरीमध्ये १५२ र आव २०७९/८० मा ३४१ उजुरीमध्ये १४९ वटा उजुरीको फैसला भएको प्राधिकरणको तथ्यांक छ । प्राधिकरणमा दर्ता भएको दर्ता उजुरीसम्बन्धी विवरण निर्जीवन बीमाविरुद्ध उजुरी धेरै फैसला हुन नसकेर हरेक वर्ष थाँती रहँदै आएका धेरैजसो उजुरीहरू निर्जीवन बीमा कम्पनीसँग सम्बन्धित रहेका छन् । बीमा दाबी भुक्तानीमा बीमकले समयमै भुक्तानी नगर्ने, कम भुक्तानी दिने गरेपछि बीमितले कम्पनीविरुद्ध उजुरी दिने गरेको पाइएको छ । प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारी समयमै दाबी भुक्तानी भएन भन्दै बढीजसो उजुरी आउने गरेको बताउँछन् । ‘समयमै दाबी भुक्तानी भएन भन्दै उजुरी आउने गरेको छ । साथै भुक्तानी भएतापनि दाबीभन्दा कम भुक्तानी दियो भनेर पनि गुनासो आउने गरेको छ,’ उनले भने । यसबाहेक सर्भेयरले झुठो विवरण दिएको, अभिकर्ताले सुरुमा बीमा गरेपछि डबल रकम फिर्ता हुन्छ भनेर गरेपछि पाउने बेला पाइएनन भनेर पनि उजुरी आउने गरेको उनले बताए । प्राधिकरणका सूचना अधिकारी अधिकारीले प्राधिकरणमा आउने उजुरीहरूलाई सकेसम्म छिट्टै नै सम्बोधन हुने गरी काम गर्दै आएको बताए । उनले भने, ‘प्राधिकरणमा उजुरीको संख्या बढ्दै गएसँगै हामीले पनि उजुरीउपर कारबाही प्रक्रियालाई तीव्रता दिँदै आएका छौं । पुरानो उजुरी फैसलामा केही ढिलाइ भएपनि यसमा छिटो हुने गरी काम गर्ने हाम्रो प्रयास जारी छ ।’ प्राधिकरणमै इजलास सञ्चालन हुँदै प्राधिकरणमा उजुरीको चाप बढ्दै गएसँगै त्यसलाई थप व्यवस्थित बनाउने भन्दै प्राधिकरणले आगामी वैशाख १ गतेदेखि इजलास सुरु गर्ने भएको छ । प्राधिकरणमा यो सेवा सुरु भएसँगै बीमितले छिटो र प्रभावकारी रूपमा सेवा पाउने विश्वास प्राधिकरणले लिएको छ । इजलाश सञ्चालनको लागि आवश्यक तयारीसमेत प्राधिकरणले गर्दैछ । प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि इजलाश सञ्चालन गरिने प्राधिकरणका सूचना अधिकारी अधिकारीले जानकारी दिए । यसअघि बैठक कक्षमा सञ्चालक समितिको बैठकलाई इजलाशकै रूपमा सञ्चालन गर्दै मुद्दाको छिनोफानो हुँदै आएको थियो । प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बीमा दाबी उजुरीहरूको हकमा साप्ताहिक तथा अन्य पेशी सूची र निर्णयहरू प्राधिकरणको वेबसाइटमार्फत प्रकाशन गर्न समेत व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ । प्राधिकरणका अनुसार यो निर्णय भएसँगै अब बीमितले अनलाइनबाटै आफ्नो मुद्दाको पालो कहिले आउनेछ भनेर सहजै पत्ता लगाउन सक्नेछन् ।
निक्षेपभन्दा कर्जा वृद्धि धेरै, ५ खर्ब क्लबमा उक्लियो नबिल, खस्कियो एनआईसी एशियाको व्यापार
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना बैंकहरूको निक्षेप संकलन ५ प्रतिशत बढेको छ । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार २० वटा बैंकले फागुन मसान्तसम्ममा ४.९० प्रतिशत अर्थात् २ खर्ब ८२ अर्ब २७ करोड रुपैयाँ निक्षेप बढाएर ६० खर्ब ३७ अर्ब ४ करोड रुपैयाँ पुर्याएका छन् । जबकी गत असारसम्म बैंकहरूको निक्षेप ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ मात्रै थियो । ८ महिनाको अवधिमा सबैभन्दा धेरै निक्षेप वृद्धि एनएमबि बैंकले गरेको छ । फागुनसम्ममा एनएमबि बैंकको निक्षेप १७.५० प्रतिशत अर्थात् ३९ अर्ब ७६ करोड रुपैयाँ बढेर २ खर्ब ६६ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म बैंकको बैंकको निक्षेप २ खबै २७ अर्ब १० करोड रुपैयाँ थियो । यस्तै, एभरेस्ट बैंकको १४.७७ प्रतिशत अर्थात् ३४ अर्ब ४७ करोड रुपैयाँ बढेर २ खर्ब ६७ अर्ब ७६ करोड रुपैयाँ, प्राइम बैंकको १२.६० प्रतिशत अर्थात् २७ अर्ब १६ करोड रुपैयाँ बढेर २ खर्ब ४२ अर्ब ६९ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ११.२६ प्रतिशत अर्थात् ४५ अर्ब ८४ करोड रुपैयाँ बढेर ४ खर्ब ५२ अर्ब ६४ करोड रुपैयाँ, नेपाल बैंकको ९.४७ प्रतिशत अर्थात् २६ अर्ब ८३ करोड रुपैयाँ बढेर ३ खर्ब ९ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकर्स संघको तथ्याङ्क अनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंक ९.१४ प्रतिशत अर्थात् १० अर्ब ५० करोड रुपैयाँ बढेर १ खर्ब २५ अर्ब ३३ करोड रुपैयाँ, सानिमा बैंकको ७.८६ प्रतिशत अर्थात् १५ अर्ब ६८ करोड रुपैयाँ बढेर २ खर्ब १५ अर्ब ६ करोड रुपैयाँ, नबिल बैंकको ७.३५ प्रतिशत अर्थात् ३४ अर्ब ४९ करोड रुपैयाँ बढेर ५ खर्ब ३ अर्ब २५ करोड रुपैयाँ, ग्लोबल आईएमई बैंकको ५.६१ प्रतिशत अर्थात् २८ अर्ब ३४ करोड रुपैयाँ बढेर ५ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकल गरेका छन् । यस्तै, सिटिजन्स बैंकको ५.३० प्रतिशत अर्थात् १० अर्ब १६ करोड रुपैयाँ बढेर २ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ५.०८ प्रतिशत अर्थात् १६ अर्ब ९५ करोड रुपैयाँ बढेर ३ खर्ब ५० अर्ब ५१ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ४.२८ प्रतिशत अर्थात् १८ अर्ब ४१ करोड रुपैयाँ बढेर ४ खर्ब ४७ अर्ब ५५ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको ४.१८ प्रतिशत अर्थात् ६ अर्ब ७५ करोड रुपैयाँ बढेर १ खर्ब ६८ अर्ब ९ करोड रुपैयाँ, कृषि विकास बैंकको ३.९० प्रतिशत अर्थात् ९ अर्ब ५२ करोड रुपैयाँ बढेर २ खर्ब ५३ अर्ब २८ करोड रुपैयाँ निक्षेप पुर्याएका छन् । नेपाल एसबीआई बैंकको ३.४३ प्रतिशत अर्थात् ६ अर्ब ३ करोड रुपैयाँ बढेर १ खर्ब ८१ अर्ब ४५ करोड रुपैयाँ, हिमालयन बैंकको १.७८ प्रतिशत अर्थात् ५ अर्ब ३२ करोड रुपैयाँ बढेर ३ खर्ब ३ अर्ब ४ करोड रुपैयाँ, कुमारी बैंकको १.६६ प्रतिशत अर्थात् ५ अर्ब ८३ करोड रुपैयाँ बढेर ३ खर्ब ५६ अर्ब ५९ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ०.५७ प्रतिशत अर्थात् १ अर्ब ४१ करोड रुपैयाँ बढेर २ खर्ब ४६ अर्ब ३१ करोड रुपैयाँ र प्रभु बैंकको ०.२१ प्रतिशत अर्थात् ६८ करोड रुपैयाँ बढेर ३ खर्ब १२ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । तर, यसअवधिमा एनआईसी एशिया बैंकको निक्षेप संकलनमा भने व्यापक गिराव आएको छ । बैंकको १७.१५ प्रतिशत अर्थात् ६१ अर्ब ८६ करोड रुपैयाँ घटेर २ खर्ब ९८ अर्ब ६८ करोड रुपैयाँमा झरेको छ । जबकी गत असारमा बैंकको निक्षेप ३ खर्ब ६० अर्ब ५४ करोड रुपैयाँ थियो । कुन बैंकको कति कर्जा ? चालु आवको ८ महिनाको अवधिमा बैंकहरूको कर्जा लगानी ६.११ प्रतिशत अर्थात् २ खर्ब ७९ अर्ब ६८ करोड रुपैयाँ बढाएर ४८ खर्ब ५० अर्ब ५९ करोड रुपैयाँ पुर्याएका छन् । गत असारमा बैंकहरूले ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । ८ महिनाको अवधिमा सबैभन्दा धेरै कर्जा लगानी एभरेष्ट बैंकले बढाएको छ । फागुन मसान्तसम्ममा बैंकको कर्जा २०.१५ प्रतिशत अर्थात् ३७ अर्ब ५८ करोड रुपैयाँ बढेर २ खर्ब २४ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको छ । जबकि गत असारमा बैंकको कर्जा १ खर्ब ८६ अर्ब ५० करोड रुपैयाँ थियो । यस्तै, एनएमबी बैंकको १४.२३ प्रतिशत अर्थात् २९ अर्ब १३ करोड रुपैयाँ बढेर २ खर्ब ३३ अर्ब ७४ करोड रुपैयाँ, प्राइम बैंकको ११.२३ प्रतिशत अर्थात् २१ अर्ब ७९ करोड रुपैयाँ बढेर २ खर्ब १५ अर्ब ७२ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको १०.७१ प्रतिशत अर्थात् १४ अर्ब ५ करोड रुपैयाँ बढेर १ खर्ब ४५ अर्ब १९ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १०.४७ प्रतिशत अर्थात् २७ अर्ब ४२ करोड रुपैयाँ बढेर २ खर्ब ८९ अर्ब २० करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् । लक्ष्मी सनराइज बैंकको १०.०८ प्रतिशत अर्थात् २६ अर्ब ९ करोड रुपैयाँ बढेर २ खर्ब ८४ अर्ब ७२ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको ९.९९ प्रतिशत अर्थात् ३९ अर्ब ६ करोड रुपैयाँ बढेर ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ, नेपाल बैंकको ८.४९ प्रतिशत अर्थात् १७ अर्ब ६७ करोड रुपैयाँ बढेर २ खर्ब २५ अर्ब ६१ करोड रुपैयाँ, सानिमा बैंकको ८.३८ प्रतिशत अर्थात् १३.९० करोड रुपैयाँ बढेर १ खर्ब ७९ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । फागुन सम्ममा सिटिजन्स बैंकको ७.८ प्रतिशत अर्थात् १२ अर्ब ३० करोड रुपैयाँ बढेर १ खर्ब ६९ अर्ब ८९ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ६.९ प्रतिशत अर्थात् २२ अर्ब ८३ करोड रुपैयाँ बढेर ३ खर्ब ५१ अर्ब ६९ करोड रुपैयाँ, नबिल बैंकको ६.७० प्रतिशत अर्थात् २६ अर्ब ४ करोड रुपैयाँ बढेर ४ खर्ब १४ अर्ब ३९ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ५.९३ प्रतिशत अर्थात् १२ अर्ब ९ करोड रुपैयाँ बढेर २ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल एसबीआई बैंकको ५.१७ प्रतिशत अर्थात् ६ अर्ब ८८ करोड रुपैयाँ बढेर १ खर्ब ३९ अर्ब ८५ करोड रुपैयाँ, कुमारी बैंकको २.६१ प्रतिशत अर्थात् ७ अर्ब ६८ करोड रुपैयाँ बढेर ३ खर्ब १ अर्ब ९ करोड रुपैयाँ, हिमालयन बैंकको १.६५ प्रतिशत अर्थात् ४ अर्ब ९ करोड रुपैयाँ बढेर २ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ र कृषि विकास बैंकको ०.८१ प्रतिशत अर्थात् १ अर्ब ६९ करोड रुपैयाँ बढेर २ खर्ब ८ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी विस्तार गरेका छन् । तर, एनआईसी एशिया बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र प्रभु बैंकको कर्जा विस्तार भने घटेको देखिन्छ । एनआईसी एशिया बैंकको १२.४१ प्रतिशत अर्थात् ३५.४३ करोड रुपैयाँ घटेर २ खर्ब ४९ अर्ब ९० करोड रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४.२७ प्रतिशत अर्थात् ३ अर्ब ८३ करोड रुपैयाँ घटेर ८५ अर्ब ८३ करोड रुपैयाँ र प्रभु बैंकको ०.५७ प्रतिशत अर्थात् १ अर्ब ३५ करोड रुपैयाँ घटेर २ खर्ब ३४ अर्ब ५६ करोड रुपैयाँमा कर्जा लगानी झरेको छ ।
एआई ऊर्जा आवश्यकता बढ्दै जाँदा न्यूक्लियर फ्यूजनमा अमेरिका चीनसँग पछाडि
काठमाडौं । चीन र अमेरिका पहिलो ग्रिड–स्तरको पारमाणविक विलयन (न्यूक्लियर फ्यूजन) ऊर्जा उत्पादन गर्न प्रतिस्पर्धामा छन् । दशकौंसम्म अमेरिकाले नेतृत्व गरेको भए पनि चीन अहिले दोब्बर लगानी गर्नुका साथै कीर्तिमानी गतिमा परियोजनाहरू बनाउँदै अगाडि बढिरहेको छ । स्वच्छ ऊर्जाको होली ग्रेल भनेर चिनिने न्यूक्लियर फ्युजनले पारम्परिक न्यूक्लियर फ्यूजनभन्दा चार गुणा बढी ऊर्जा उत्पादन गर्छ र कोइला जलाउने प्रक्रियाभन्दा ४० लाख गुणा बढी ऊर्जा दिन्छ । यसले हरितगृह ग्यास वा दीर्घकालीन रेडियोधर्मी फोहोर उत्पन्न गर्दैन । यदि सबै योजनाअनुसार अघि बढ्यो भने सन् २०५० सम्म यस उद्योगको मूल्य १ ट्रिलियन डलरभन्दा बढी पुग्नेछ । तर, सबैभन्दा ठूलो समस्या के हो ? ‘वर्तमान समयमा ब्रह्माण्डमा काम गर्ने एकमात्र विलयन ऊर्जा केन्द्र तारा मात्र हुन्,’ मासाचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजी (एमआईटी) का आणविक विज्ञान र इन्जिनियरिङ प्राध्यापक डेनिस ह्वाइटले भने । अमेरिका पहिलो भए पनि किन पछाडि ? १९५२ मा अमेरिकाले पहिलो पटक हाइड्रोजन बम परीक्षण गरेर ठूलो मात्रामा फ्यूजन प्रयोग गरेको थियो । त्यसयता सात दशक बितिसक्दा पनि वैज्ञानिकहरू ऊर्जा उत्पादनको लागि विलयन प्रतिक्रियालाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । विलयन प्रतिक्रिया त्यतिबेला हुन्छ जब हाइड्रोजन परमाणुहरू अति उच्च तापक्रममा पुग्छन् र आपसमा मिलेर प्लाज्मा नामक अति तातो ग्यास बनाउँछन् । सिद्धान्ततः यो प्रक्रियामा छुट्ने पिण्डलाई ठूलो मात्रामा ऊर्जामा रूपान्तरण गर्न सकिन्छ, तर प्लाज्मा नियन्त्रण गर्न अत्यन्तै गाह्रो छ । विलयन ऊर्जा उत्पादनका प्रमुख दुई विधिहरू छन्- टोकामाक प्रविधि र लेजर विलयन प्रविधि । टोकामाक प्रविधिमा शक्तिशाली चुम्बकहरू प्रयोग गरी प्लाज्मालाई धातुको डोनट जस्तो उपकरणमा नियन्त्रण गरिन्छ । लेजर प्रविधिमा उच्च–ऊर्जायुक्त लेजरहरू प्रयोग गरी सानो इन्धन छर्रालाई संकुचित गरेर विस्फोट गराइन्छ । २०२२ मा अमेरिका विलयनबाट वास्तविक ऊर्जा निकाल्न सफल २०२२ मा अमेरिकाले लरेन्स लिभमोर नेशनल इग्निसन फेसिलेटी (एनआईएफ) मा पहिलो पटक विलयन प्रक्रियाबाट नेट–पोजिटिभ (नाफा दिने) ऊर्जा उत्पादन गर्न सफल भएको थियो । त्यसयता अमेरिकी निजी लगानी ८ अर्ब डलरभन्दा बढी पुगेको छ, जुन २०२१ मा १.२ अर्ब डलर मात्र थियो । फ्यूजन इन्डस्ट्री एशोसिएसन (एफआईए) का अनुसार यसको ४० सदस्य कम्पनीहरूमध्ये २५ वटा अमेरिका आधारित छन् । किन फ्युजनमा लगानी बढ्दैछ ? परम्परागत आणविक ऊर्जाभन्दा फ्यूजन स्वच्छ, सुरक्षित र प्रभावकारी छ । कृत्रिम बौद्धिकता (एआई) डाटा सेन्टरहरूको ऊर्जा आवश्यकताहरू तीव्र रूपमा बढ्दै जाँदा ठूला प्रविधि कम्पनीहरू आणविक ऊर्जामा धेरै लगानी गरिरहेका छन् । अमेजन, गुगल र मेटाले २०५० भित्र विश्वव्यापी रूपमा न्यूक्लियर ऊर्जा तीन गुणा बढाउने प्रतिबद्धता जनाएका छन् । एफआईएका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्ड्रयू होल्यान्ड भन्छन्, ‘यदि अमेरिका फ्जूजन ऊर्जा नेतृत्वमा रहन चाहन्छ भने यसमा ठूलो लगानी गर्नैपर्छ । नत्र चीनले यसमा अग्रता लिनेछ ।’ चीन किन अगाडि छ ? अमेरिकासँग सबैभन्दा धेरै परमाणु प्लान्टहरू भए पनि चीन नयाँ परियोजनाहरू बनाउने मामलामा अगाडि छ । अमेरिकाले पहिलो रियाक्टर बनाएको चार दशकपछि मात्र चीन यस प्रविधिमा प्रवेश गरेको हो । तर, अहिले सबैभन्दा धेरै आणविक फ्यूजन प्लान्टहरू निर्माण गरिरहेको छ । चीनले २००० को दशकमा इन्टरनेशनल थर्माेन्यूक्लियर एक्सपेरिमेन्टल रियाक्टर परियोजनामा सामेल भएपछि विलयन प्रविधिमा प्रवेश गर्यो, तर आईटीईआर परियोजनामा प्रमुख ढिलाइहरू भइसकेका छन् । निजी क्षेत्रमा अमेरिका अझै अगाडि विश्वभरि ८ अर्ब डलर बराबरको निजी लगानी छ, जसको ६ अर्ब डलर अमेरिका आधारित छ । एमआईटीबाट जन्मिएको कमोनवेल्थ फ्यूजन सिस्टमले लगभग २ अर्ब डलर संकलन गरिसकेको छ, जसमा बिल गेट्स, जेफ बेजोस र गुगलजस्ता लगानीकर्ताहरू छन् । वासिंगटनस्थित हेलिअनले ओपनएआईका साम अल्टम्यानलगायतका लगानीकर्ताहरूबाट १ अर्ब डलर उठाइसकेको छ । टीएई टेक्नोलोजिजले १.२ अर्ब डलर संकलन गरिसकेको छ । चीनका ठूला परियोजनाहरू ईएएसटी परियोजनाले हालसालै सबैभन्दा लामो प्लाज्मा नियन्त्रण गर्न सफल भएको छ । सीआरएएफटी ७०० मिलियन डलरको लागतमा निर्माण भइरहेको छ । चीनको नयाँ लेजर फ्यूजन परियोजना एनआईएफभन्दा दुई गुणा ठूलो छ । चीनसँग विलयन विज्ञानमा संसारकै सबैभन्दा धेरै पेटेन्ट छन् र संयुक्त राज्य अमेरिकाभन्दा १० गुणा बढी पीएचडी वैज्ञानिकहरू छन् । ‘पश्चिमी देशहरूमा सीमित प्रतिभा छ, जबकि चीन तीव्र गतिमा वैज्ञानिकहरू उत्पादन गरिरहेको छ,’ टीएईका सीईओ मिचल बिन्डरबाउर भन्छन् । उच्च-शक्ति चुम्बक, विशेष धातु र सेमिकन्डक्टर फ्यूजनन परियोजनाको लागि आवश्यक छन् । चीनले यी सामग्रीहरूमा नियन्त्रण जमाउने रणनीति बनाइरहेको छ, जसरी उसले सौर्य ऊर्जा र विद्युतीय सवारीसाधन (ईभी) ब्याट्री उद्योग नियन्त्रण गरेको थियो । विज्ञहरू चीनले उन्नत सामग्री विकासमा अमेरिकाभन्दा १० गुणा बढी लगानी गरिरहेको बताउँछन् । (एजेन्सीहरूको सहयोगमा)