१२ तले कलेज टावर बनाउँदै आईएसएमटी, ९२ करोडको परियोजना अघि बढ्यो

काठमाडौं । उच्च शिक्षा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको इन्टरनेशनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी प्रालि (आईएसएमटी) ले काठमाडौंको शङ्खमूलमा १२ तले अत्याधुनिक कलेज भवन निर्माण गर्ने योजना अघि बढाएको छ । हाल भाडाको भवनबाट शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको कम्पनीले आफ्नै पूर्वाधार निर्माण गरी शैक्षिक कार्यक्रम र विद्यार्थी भर्ना क्षमता विस्तार गर्न लागेको हो ।

कम्पनीले प्रस्तावित भवन निर्माणका लागि शङ्खमूलमा जग्गा प्राप्त गरिसकेको छ । उक्त जग्गा खरिदमा मात्रै ६४ करोड ६६ लाख रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ । काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रसँग सहज पहुँच रहेको शङ्खमूललाई कम्पनीले शैक्षिक पूर्वाधार विस्तारका लागि उपयुक्त स्थानका रूपमा छनोट गरेको जनाएको छ ।

प्रस्तावित परियोजनाको कुल लागत जग्गासहित ९२ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ । यसमध्ये भवन निर्माणमा मात्रै करिब ३० करोड रुपैयाँ खर्च हुने कम्पनीको अनुमान छ । कम्पनीले आर्थिक वर्ष २०८५/८६ देखि २०८६/८७ भित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

परियोजनाको कुल लागतको ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीबाट जुटाउने योजना छ । यसअनुसार करिब ६९ करोड ४० लाख रुपैयाँ ऋण र २३ करोड १० लाख रुपैयाँ स्वपुँजी तथा सञ्चित नाफाबाट व्यवस्थापन गरिने कम्पनीले जनाएको छ । परियोजनाका लागि आवश्यक ऋणको व्यवस्था भइसकेको कम्पनीले जनाएको छ । नयाँ भवन निर्माणपछि थप शैक्षिक कार्यक्रम सञ्चालन गर्नुका साथै विद्यार्थी भर्ना क्षमता विस्तार गर्ने कम्पनीको लक्ष्य छ ।

१५ वर्षको शैक्षिक यात्रा, हजारौं विद्यार्थीलाई उच्च शिक्षा

सन् २०११ मा स्थापना भएको आईएसएमटीले उच्च शिक्षा क्षेत्रमा डेढ दशकभन्दा लामो अनुभव हासिल गरिसकेको छ । स्थापनाकालदेखि नै विदेशी विश्वविद्यालयसँगको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको कम्पनीले हजारौं विद्यार्थीलाई उच्च शिक्षा प्रदान गरिसकेको छ ।

कम्पनीले बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयसँगको सम्बन्धनमा स्नातक तहका चारवटा र स्नातकोत्तर तहका दुइवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसका अतिरिक्त आईएसएमटी समूहले विभिन्न विदेशी विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धनमा स्नातक र स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रम उपलब्ध गराउँदै आएको छ ।

विद्यार्थीलाई स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्दै आएको कम्पनीले पछिल्लो समय प्रविधिमा आधारित शैक्षिक कार्यक्रमलाई प्राथमिकता दिएको छ । नयाँ विषय थप्ने र विद्यार्थीको बदलिँदो रूचिअनुसार शैक्षिक कार्यक्रम विस्तार गर्ने रणनीतिले विद्यार्थी भर्ना बढाउन सहयोग पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीको नेतृत्व गणेशकुमार उप्रेतीले गर्दै आएका छन् । कम्पनीको सम्पूर्ण सेयरसमेत उनकै स्वामित्वमा रहेको छ । कम्पनीको चुक्ता पुँजी १२ करोड ३८ लाख रुपैयाँ र कुल खुद सम्पत्ति १८ करोड २८ लाख ८० हजार रुपैयाँ रहेको छ ।

विद्यार्थी भर्ना १०.३८ प्रतिशतले वृद्धि

आईएसएमटीको शैक्षिक विस्तारसँगै विद्यार्थीको आकर्षण पनि बढ्दै गएको छ । कम्पनीमा आर्थिक वर्ष २०८०/८१ मा एक हजार ५४७ विद्यार्थी भर्ना भएका थिए । यो सङ्ख्या आर्थिक वर्ष २०८२/८३ मा बढेर १ हजार ८८५ पुगेको छ । तीन वर्षको अवधिमा विद्यार्थी भर्ना औसत वार्षिक १०.३८ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ शैक्षिक कार्यक्रम थपिनु र प्रविधिमा आधारित विषयप्रति विद्यार्थीको रुचि बढ्नु भर्ना सङ्ख्या वृद्धिका प्रमुख कारण हुन् । विशेषगरी व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) र कम्प्युटिङ विषयमा विज्ञानमा स्नातकोत्तर (एमएसी कम्प्युटिङ) कार्यक्रम थपिएपछि विद्यार्थीको आकर्षण बढेको हो ।

विषयगत रूपमा हेर्दा कम्प्युटर सिस्टम्स इन्जिनियरिङमा विद्यार्थी भर्ना औसत वार्षिक ८ प्रतिशतले बढेको छ । साइबर सेक्युरिटी विषयमा भने विद्यार्थीको आकर्षण अझ तीव्र देखिएको छ । उक्त विषयमा विद्यार्थी भर्ना औसत वार्षिक १३८ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

यसको विपरीत पर्यटन तथा व्यवस्थापन विषयमा विद्यार्थी भर्ना घट्दै गएको छ । यसले विद्यार्थीको रुचि परम्परागत व्यवस्थापन तथा पर्यटनसम्बन्धी विषयबाट सूचना प्रविधि र प्रविधिमा आधारित शैक्षिक कार्यक्रमतर्फ सर्दै गएको कम्पनीको बुझाइ छ ।

आम्दानी दोब्बर, सञ्चालन नाफा पनि बलियो

विद्यार्थी भर्नामा भएको वृद्धि र नयाँ शैक्षिक कार्यक्रम विस्तारको प्रभाव कम्पनीको वित्तीय विवरणमा पनि देखिएको छ । पछिल्ला पाँच वर्षमा आईएसएमटीको सञ्चालन आम्दानी उल्लेख्य रूपमा बढेको छ ।

कम्पनीको कुल सञ्चालन आम्दानी आर्थिक वर्ष २०७८/७९ मा २१ करोड ९० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा बढेर ४३ करोड ४० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी औसत वार्षिक ९८.१८ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी, कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ३० करोड ४० लाख रुपैयाँ, आर्थिक वर्ष २०८०/८१ मा ३३ करोड २० लाख रुपैयाँ र आर्थिक वर्ष २०८१/८२ मा ३८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ ।

सेवामूलक व्यवसाय र तुलनात्मक रूपमा कम सम्पत्ति आवश्यक पर्ने सञ्चालन संरचनाका कारण कम्पनीले राम्रो सञ्चालन नाफा कायम राख्न सफल भएको छ । आर्थिक वर्ष २०८०/८१ मा ३० प्रतिशत रहेको ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको नाफाको अनुपात आर्थिक वर्ष २०८१/८२ मा बढेर ३४ प्रतिशत पुगेको थियो । आर्थिक वर्ष २०८२/८३ मा भने यस्तो अनुपात केही घटेर २९ प्रतिशतमा सीमित भएको छ ।

कम्पनीका अनुसार पछिल्लो वर्ष सञ्चालन नाफाको अनुपातमा आएको गिरावटको प्रमुख कारण दर्तासम्बन्धी खर्च बढ्नु हो । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा विदेशी विश्वविद्यालयसँग सम्बन्धित दर्ता शुल्क भुक्तानीमा बढी रकम खर्च गर्नुपरेको कम्पनीको भनाइ छ ।

यद्यपि, सञ्चालन खर्चमा भएको वृद्धिका बाबजुद कम्पनीले खुद नाफाको अनुपातलाई स्थिर राख्न सफल भएको छ । आर्थिक वर्ष २०७८/७९ देखि आर्थिक वर्ष २०८२/८३ सम्म कम्पनीको खुद नाफाको अनुपात करिब ९ देखि १० प्रतिशतको बीचमा कायम रहेको छ ।

पूर्वाधार विस्तारसँगै ऋण दायित्व पनि बढ्दै

शङ्खमूलमा प्रस्तावित कलेज भवन निर्माणका लागि जग्गा खरिद गरेसँगै कम्पनीको ऋण दायित्व र ब्याज खर्च बढेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ देखि जग्गा खरिदका लागि ऋण लिन थालेको जनाएको छ ।

हाल कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ८२ करोड २७ लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये ८१ करोड ५० लाख रुपैयाँ दीर्घकालीन र ७० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।

पूर्वाधार विस्तारका लागि ठूलो लगानी आवश्यक परे पनि कम्पनीको आन्तरिक नगद आर्जन क्षमतामा सुधार देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा २ करोड ५० लाख रुपैयाँ रहेको कुल नगद सञ्चिति आम्दानी आर्थिक वर्ष २०८२/८३ मा बढेर ५ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

नगद आर्जन क्षमतामा भएको सुधारले कम्पनीलाई नियमित वित्तीय दायित्व व्यवस्थापन गर्न सहयोग पुर्याएको देखिन्छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० देखि आर्थिक वर्ष २०८२/८३ सम्म प्रत्येक वर्ष ३० देखि ४० प्रतिशतसम्म नगद लाभांश वितरण गर्दै आएको जनाएको छ ।

Share News