बीमाका कर्मचारीमा दुर्व्यवहार, बैंकसरह सुविधाको माग

उच्च शिक्षा हाँसिल गरेका कर्मचारी बढी असन्तुष्ट

काठमाडौं । बीमा कम्पनीमा काम गर्ने कर्मचारीहरू आफ्नो जिम्मेवारी र कार्यस्थलको वातावरणप्रति असन्तुष्टी व्यक्त गरेका छन् । नेपाल बीमा प्राधिकरणको अनुसन्धान तथा तथ्यांक् शाखाले सार्वजनिक गरेको ‘नेपालको बीमा क्षेत्रमा कर्मचारी कार्य सन्तुष्टि, निर्धारक र प्रभावहरू’ विषयक अध्ययन प्रतिवेदनले यस्तो अवस्था देखाएको हो । 

कर्मचारीहरु तलब, सेवा-सुविधा र वृत्ति विकासका अवसरप्रति भने असन्तुष्ट रहेको पाइएको छ । कर्मचारीहरूले बैंकिङ क्षेत्रसरह प्रतिस्पर्धी पारिश्रमिक, पारदर्शी बढुवा प्रणाली र काम तथा व्यक्तिगत जीवनबीच सन्तुलन कायम हुने वातावरण बनाउन माग गरेका छन् ।

पाँचवटै श्रेणीका बीमा कम्पनीमा कार्यरत ३ हजार ७६७ कर्मचारीको सहभागितामा गरिएको सर्वेक्षणले बीमा क्षेत्रमा कर्मचारीको समग्र कार्य सन्तुष्टि सकारात्मक रहे पनि त्यसका विभिन्न पक्षमा ठूलो अन्तर रहेको देखाएको छ ।

अध्ययनअनुसार पाँच पूर्णाङ्कमा कर्मचारीको समग्र कार्य सन्तुष्टिको औसत ३.९२ रहेको छ । यसले कर्मचारीहरू औसतमा सन्तुष्ट रहेको संकेत गर्छ । तर, तलब र सेवा–सुविधाको पर्याप्तता तथा गैरवित्तीय सुविधामा प्राप्त कम अङ्कले बीमा कम्पनीभित्रको मानव संसाधन व्यवस्थापनमा सुधार आवश्यक रहेको देखाएको छ ।

तलब र सुविधामा सबैभन्दा बढी असन्तुष्टि

अध्ययनले सहकर्मीबीचको सहयोग, कार्यस्थलमा सम्मान र समावेशिता तथा सुपरिवेक्षकको व्यवहारलाई कर्मचारी सन्तुष्टिका बलिया पक्षका रूपमा पहिचान गरेको छ । सहकर्मीबीचको सहयोगमा ४.३८, कार्यस्थलमा समावेशिता तथा सम्मानमा ४.२६, सुपरिवेक्षकको सहयोगमा ४.२१ र जिम्मेवारीको स्पष्टतामा ४.१७ अङ्क प्राप्त भएको छ ।

तर, सेवा–सुविधा तथा तलबको पर्याप्ततामा २.८५ र गैरवित्तीय सुविधामा २.८७ मात्रै अङ्क आएको छ। यी दुई पक्ष कर्मचारीको असन्तुष्टिका प्रमुख कारण देखिएका छन् । 

यसले बीमा कम्पनीमा कामको वातावरण र सहकर्मीबीचको सम्बन्ध राम्रो भए पनि कर्मचारीले आफ्नो श्रम र जिम्मेवारीअनुसारको पारिश्रमिक तथा सुविधा नपाएको अनुभूति गरिरहेको संकेत गर्छ । विशेषगरी बैंकिङ क्षेत्रसँग तुलना गर्दा बीमा क्षेत्रमा तलब तथा सुविधाको संरचना प्रतिस्पर्धी नभएको कर्मचारीहरूको गुनासो छ ।

उच्च शैक्षिक योग्यता भएका कर्मचारी बढी असन्तुष्ट

कर्मचारीको उमेर, सेवाअवधि, शैक्षिक योग्यता, वैवाहिक अवस्था र कार्यक्षेत्रका आधारमा सन्तुष्टिको स्तर फरक देखिएको छ ।

उमेर समूहअनुसार १८ देखि २४ वर्षका कर्मचारीको सन्तुष्टि ३.९९ रहेको छ भने ५५ वर्षभन्दा माथिका कर्मचारीको सन्तुष्टि ४.४० पुगेको छ । त्यस्तै, २० वर्ष वा सोभन्दा बढी समयदेखि काम गरिरहेका कर्मचारीको सन्तुष्टि ४.३७ रहेको छ । दुईदेखि चार वर्ष कार्यअवधि भएका कर्मचारीको सन्तुष्टि भने सबैभन्दा कम ४.०१ देखिएको छ ।

वैवाहिक अवस्थाका आधारमा अविवाहित कर्मचारीको सन्तुष्टि ४.७३ र विवाहित कर्मचारीको ४.१४ रहेको प्रतिवेदनमा उल्लेख छ ।

शैक्षिक योग्यताका आधारमा भने उच्च योग्यता भएका कर्मचारीमा असन्तुष्टि बढी देखिएको छ । प्लस टु उत्तीर्ण कर्मचारीको सन्तुष्टि ४.२७ हुँदा स्नातकोत्तर तह उत्तीर्ण कर्मचारीको सन्तुष्टि ३.६२ मात्रै छ ।

उच्च शैक्षिक योग्यता हासिल गरेका कर्मचारीको वृत्ति विकास, जिम्मेवारी र पारिश्रमिकप्रतिको अपेक्षा बढी हुने तर हालको मानव संसाधन व्यवस्थापन अभ्यासले ती अपेक्षा पूरा गर्न नसकेको अध्ययनको निष्कर्ष छ। यसले योग्य र दक्ष जनशक्तिलाई बीमा क्षेत्रमा टिकाइराख्न कम्पनीहरूले थप प्रयास गर्नुपर्ने देखाउँछ ।

बागमतीका कर्मचारी सबैभन्दा कम सन्तुष्ट

प्रदेशगत रूपमा बागमतीमा कार्यरत कर्मचारीको सन्तुष्टि सबैभन्दा कम ३.८८ देखिएको छ । सर्वेक्षणमा सहभागी कुल कर्मचारीमध्ये ४६.९ प्रतिशत बागमती प्रदेशका छन् र अधिकांश बीमा कम्पनीका केन्द्रीय कार्यालयसमेत यही प्रदेशमा रहेकाले अध्ययनमा यसको हिस्सा ठूलो देखिएको हो । 

उच्च प्रतिस्पर्धा, महँगो जीवनयापन र कामको चापका कारण बागमतीका कर्मचारीमा असन्तुष्टि बढी हुनसक्ने प्रतिवेदनले औंल्याएको छ ।

यसको विपरीत मधेश प्रदेशमा कार्यरत कर्मचारीको सन्तुष्टि ४.४३ र कर्णाली प्रदेशमा ४.३७ रहेको छ। यसले एउटै क्षेत्रभित्र काम गर्ने कर्मचारीको अनुभवसमेत भौगोलिक अवस्था र कार्यपरिवेशअनुसार फरक हुनसक्ने देखाएको छ ।

लघुबीमा कम्पनीका कर्मचारीमा बढी निराशा

कम्पनीको प्रकृतिअनुसार जीवन बीमा कम्पनीका कर्मचारी निर्जीवन बीमा कम्पनीका कर्मचारीको तुलनामा केही बढी सन्तुष्ट देखिएका छन् । तर, जीवन तथा निर्जीवन दुवै प्रकारका लघुबीमा कम्पनीमा कार्यरत कर्मचारीको सन्तुष्टि भने सबैभन्दा न्यून रहेको छ ।

लघुबीमा कम्पनीको सीमित संस्थागत आकार र कमजोर मानव संसाधन पूर्वाधारले कर्मचारीको सन्तुष्टिमा असर पारेको प्रतिवेदनको विश्लेषण छ । संस्थागत संरचना, सुविधा र कर्मचारीको वृत्ति विकासका अवसर पर्याप्त नहुँदा यस्तो अवस्था सिर्जना भएको हुनसक्ने अध्ययनले देखाएको छ ।

समग्र कार्य सन्तुष्टिसँग वृत्ति विकास, सुपरिवेक्षणको गुणस्तर, संस्थागत संस्कृति र सेवा–सुविधाको सकारात्मक सम्बन्ध रहेको अध्ययनले देखाएको छ । वृत्ति विकाससँग ०.६३१, सुपरिवेक्षणको गुणस्तरसँग ०.६१४, संस्थागत संस्कृतिसँग ०.५९७ र सेवा–सुविधासँग ०.५८३ को सकारात्मक सम्बन्ध देखिएको छ ।

विशेषगरी कर्मचारीको क्षमता अभिवृद्धि, तालिम र वृत्ति विकासमा गरिने लगानीले उनीहरूको कार्य सन्तुष्टि बढाउन महत्वपूर्ण भूमिका खेल्ने प्रतिवेदनको निष्कर्ष छ ।

१४ प्रतिशत कर्मचारीले भोगे दुर्व्यवहार

बीमा कम्पनीभित्र कार्यस्थलको वातावरणलाई लिएर पनि प्रश्न उठेको छ । सर्वेक्षणमा कार्यस्थललाई दुव्र्यवहार तथा उत्पीडनमुक्त बनाउने सूचकको औसत अङ्क ३.८८ रहेको छ । तर, सर्वेक्षणमा सहभागीमध्ये १४ प्रतिशत कर्मचारीले कुनै न कुनै प्रकारको दुव्र्यवहार वा उत्पीडन भोगेको बताएका छन् । 

कार्यस्थलमा दुव्र्यवहार र उत्पीडनको अनुभव गर्ने कर्मचारीको यो हिस्सा संस्थागत सुशासन र मानव संसाधन व्यवस्थापनका दृष्टिले गम्भीर चिन्ताको विषय भएको प्रतिवेदनले उल्लेख गरेको छ ।

कर्मचारीले सम्मानजनक व्यवहार, सुरक्षित कार्यस्थल र निष्पक्ष नेतृत्वको अपेक्षा गरेका छन्। नातावाद र कृपावाद अन्त्य गर्दै योग्यता तथा कार्यसम्पादनका आधारमा अवसर उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।

बैंकसरह तलब र निष्पक्ष बढुवाको माग

अध्ययनका क्रममा कर्मचारीहरूले बीमा क्षेत्रमा काम गर्न पाउनुको सामाजिक महत्व, ग्राहकको आर्थिक भविष्य सुरक्षित गर्न योगदान दिन सक्नु, सहयोगी सहकर्मी, पेसागत सिकाइको अवसर र रोजगारीको स्थायित्वलाई सकारात्मक पक्षका रूपमा लिएका छन् ।

तर, यी सकारात्मक पक्षले मात्रै कर्मचारीलाई सन्तुष्ट राख्न नसकेको अध्ययनले देखाएको छ । कर्मचारीहरूले विशेषगरी पाँच विषयमा सुधारको माग गरेका छन् ।

पहिलो, बैंकिङ क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने गरी समयसापेक्ष तलब र गैरवित्तीय सुविधाको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ। दोस्रो, योग्यता र कार्यसम्पादनका आधारमा पारदर्शी तथा निष्पक्ष बढुवा प्रणाली लागू गर्नुपर्नेमा कर्मचारीले जोड दिएका छन् ।

त्यस्तै, तालिम तथा क्षमता अभिवृद्धिका अवसर मार्केटिङ विभागमा मात्रै सीमित नगरी अपरेसन र ब्याक अफिसमा कार्यरत कर्मचारीसम्म विस्तार गर्नुपर्ने माग गरिएको छ । कार्य–जीवन सन्तुलन कायम गर्न अनिवार्य बिदाको प्रभावकारी कार्यान्वयन र कार्यालय समयपछि कामको बोझ कम गर्नुपर्ने पनि कर्मचारीको सुझाव छ ।

यसका अतिरिक्त सुपरिवेक्षकको व्यवहार सहयोगी बनाउन, नातावाद र कृपावाद अन्त्य गर्न तथा शाखा र उपशाखा कार्यालयको भौतिक पूर्वाधार सुधार गर्नुपर्ने माग अध्ययनका क्रममा उठेको छ ।

मानव संसाधन नीतिमा सुधार आवश्यक

बीमा क्षेत्रको विस्तारसँगै कम्पनीहरूको व्यवसाय, सेवा र संस्थागत संरचना पनि विस्तार भइरहेको छ । तर, त्यसअनुसार कर्मचारीको पारिश्रमिक, सुविधा र वृत्ति विकासको व्यवस्था सुधार हुन नसकेको अध्ययनले संकेत गरेको छ ।

कर्मचारीको सन्तुष्टि केवल तलबमा मात्र निर्भर हुँदैन । कामको सम्मान, नेतृत्वको व्यवहार, बढुवाको निष्पक्षता, तालिम र भविष्यमा अघि बढ्ने अवसरले पनि कर्मचारीको मनोबल निर्धारण गर्छन् । अध्ययनले यी पक्षबीच सकारात्मक सम्बन्ध देखाएकाले बीमा कम्पनीहरूले मानव संसाधन नीतिलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ ।

प्रतिवेदनले कर्मचारीको पारिश्रमिक पुनरावलोकन, निष्पक्ष बढुवा प्रणाली, क्षमता अभिवृद्धिका अवसर विस्तार र सुरक्षित तथा सम्मानजनक कार्यस्थल निर्माणमा जोड दिएको छ ।
 

Share News