राष्ट्र बैंकले २ खर्ब खिच्दा बैंकहरूले ३ खर्ब बढी दिए

साढे १२ खर्ब नाघ्यो तरलता

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले एकैदिन ५ खर्ब ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट प्रशोचन गरेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अधिकता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा (एसडीएफ) मार्फत ठूलो परिमाणमा रकम खिचेको हो ।

नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार (कात्तिक २७ गते) २० दिनका लागि २ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । उक्त रकमका लागि राष्ट्र बैंकले आवेदन माग गर्दा बैंक तथा वित्तीय संस्थाहरूबाट ३ खर्ब ९ अर्ब रुपैयाँको आवेदन परेको थियो । मागभन्दा १ खर्ब ९ अर्ब रुपैयाँ बढीको आवेदन परे पनि राष्ट्र बैंकले २ खर्ब रुपैयाँ मात्रै स्वीकार गरेको छ ।

प्रतिस्पर्धात्मक बोलकबोलबाट संकलन गरिएको निक्षेपको औसत ब्याजदर २.४९ प्रतिशत कायम भएको छ । राष्ट्र बैंकले उक्त निक्षेपमा २० दिनका लागि २.४९ प्रतिशतका दरले ब्याज भुक्तानी गर्नेछ । जबकि स्थायी निक्षेप सुविधा (एसडीएफ) मार्फत खिचिएको रकममा राष्ट्र बैंकले २.७५ प्रतिशत ब्याज दिइरहेको छ ।

एसडीएफको तुलनामा कम ब्याजदरमै निक्षेप संकलन हुनुले बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकमको उपलब्धता उच्च रहेको देखाउँछ । राष्ट्र बैंकका एक अधिकारीका अनुसार केही समयको अन्तरालपछि निक्षेप संकलनका लागि बोलकबोल गरिएकाले बैंक तथा वित्तीय संस्थाहरूबाट ठूलो परिमाणमा आवेदन परेको हो ।

ती अधिकारीका अनुसार बैंकिङ प्रणालीमा करिब १२ खर्ब ४९ अर्ब रुपैयाँ अतिरिक्त तरलता रहेको छ । उक्त रकम व्यवस्थापन गर्न राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण प्रयोग गरिरहेको छ । एक वर्ष अवधिको नेपाल राष्ट्र बैंक बण्डमार्फत ४ खर्ब रुपैयाँ, स्थायी निक्षेप सुविधामार्फत ३ खर्ब ३१ अर्ब रुपैयाँ र निक्षेप संकलन उपकरणमार्फत ५ खर्ब १८ अर्ब रुपैयाँ प्रशोचन गरिएको छ ।

राष्ट्र बैंकका अनुसार शुक्रबार मात्रै स्थायी निक्षेप सुविधामार्फत ३ खर्ब ३० अर्ब ७० करोड रुपैयाँ प्रशोचन भएको छ । यसमा ३६ वटा कारोबार भएका छन् । यसरी कात्तिक २७ गतेसम्म स्थायी निक्षेप सुविधामार्फत ३ खर्ब ३० अर्ब ७० करोड रुपैयाँ, निक्षेप संकलन उपकरणमार्फत ५ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत ४ खर्ब रुपैयाँ गरी कुल १२ खर्ब ४९ अर्ब रुपैयाँ प्रशोचन भएको छ ।

प्रशोचन गरिएको निक्षेपको अवधिगत संरचना हेर्दा तीन महिनाभन्दा बढी अवधिको हिस्सा करिब ४५ प्रतिशत र तीन महिनाभन्दा कम अवधिको हिस्सा करिब ५५ प्रतिशत रहेको छ । यसले राष्ट्र बैंकले अल्पकालीन तथा मध्यम अवधिका उपकरण प्रयोग गरेर बैंकिङ प्रणालीको तरलता व्यवस्थापन गरिरहेको देखाउँछ ।

राष्ट्र बैंकले यस वर्ष संकलन गरेको निक्षेपमध्ये शुक्रबारको २ खर्ब रुपैयाँ सबैभन्दा ठूलो परिमाणको रहेको ती अधिकारीले बताए । यद्यपि, बैंकिङ प्रणालीमा समग्रमा अधिक तरलता रहे पनि सबै बैंक तथा वित्तीय संस्थाको अवस्था समान छैन ।

शुक्रबारको निक्षेप संकलन प्रक्रियामा ३७ बैंक तथा वित्तीय संस्थाले १३६ वटा बोलकबोलमार्फत सहभागिता जनाएका थिए । तर, केही बैंकले तरलता आवश्यकता पूरा गर्न अर्को बैंकसँग सापटी लिनुपरेको ती अधिकारीले बताए ।

राष्ट्र बैंकले अब मंगलबार बैंकिङ प्रणालीको तरलता अवस्था विश्लेषण गरेर कुन उपकरणमार्फत कति रकम र कति अवधिका लागि प्रशोचन गर्ने भन्ने निर्णय गर्नेछ । 

Share News