नाइमा एक्स्पोमा साढे ७ हजार बढी सवारीसाधन बुकिङ, बीवाईडी र टाटा अग्रस्थानमा

केक काटेर व्यवसायीले मनाए खुसी

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा साउन २६ देखि ३१ गतेसम्म सञ्चालन भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सकिएको छ । करिब १ लाख ८० हजार दर्शकले अवलोकन गरेको उक्त एक्स्पोमा ५५ ब्रान्डका ४४ नयाँ मोडल सार्वजनिक गरिएका थिए । 

मेलामा अवलोकनकर्ताको बाक्लो उपस्थितिसँगै सवारीसाधनको बुकिङ उत्साहजनक रहेपछि अटोमोबाइल व्यवसायीहरूले केक काटेर र सेलिब्रेसन गर्दै खुसी व्यक्त गरेका छन् ।

आयोजकका अनुसार एक्स्पो अवधिभर करिब ५ हजार ५०० चारपांग्रे र २ हजारको हाराहारीमा दुईपांग्रे गरी कुल साढे ७ हजारभन्दा बढी सवारीसाधन बुकिङ भएका छन् । 

बुकिङ भएका सम्पूर्ण गाडी बिक्री भएमा करिब २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने व्यवसायीहरूको अनुमान छ । 

यस पटकको प्रदर्शनीमा १८ लाखदेखि ४ करोड रुपैयाँसम्मका सवारीसाधन राखिएकोमा विशेष गरी ३० देखि ३५ लाख रुपैयाँ मूल्यका इन्ट्री लेभल र विद्युतीय सवारी (ईभी) हरूमा ग्राहकको अत्यधिक आकर्षण देखिएको छ ।

चारपांग्रेतर्फ सबैभन्दा बढी बुकिङ हुनेमा बीवाईडी (१ हजारभन्दा बढी), टाटा र चेरी (७ सयभन्दा बढी), किया (७ सयभन्दा बढी), वुलिङ (४ सय ४३), आईकार (४ सय २१), र ओमोडा जेको (३५०) लगायतका ब्रान्डहरू रहेका छन् । 

त्यस्तै दुईपांग्रेतर्फ एथर, सीएक्स मोटो, याडिया, सीएफ मोटो, ट्राइम्फ र रोयल इन्फिल्डको बुकिङ अग्रस्थानमा रहेको नाइमाले जनाएको छ । 
 

Share News