नेपाली अटो बजारमा उत्साहको नयाँ सञ्चार, ग्राहकको रोजाइमा ईभी

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म चलेको नाइमा मोबिलिटी एक्स्पो- २०२६ केवल सवारी साधनको प्रदर्शनी मात्र नरही यसले सुस्ताएको नेपाली अटोमोबाइल बजारमा प्राण भर्न महत्त्वपूर्ण भूमिका खेलेकाे छ । साथै प्रदर्शनी भविष्यको विद्युतीय मार्गचित्र कोर्नसमेत सफल भयो ।

यस वर्षको मेलामा ५५ वटा विभिन्न ब्राण्डका सवारीसाधन तथा अन्य उत्पादनहरू प्रदर्शनीमा राखिएका थिए । गत वर्ष ४२ वटा ब्राण्ड सहभागी भएकोमा यस पटक प्रदर्शकहरूको सङ्ख्यामा वृद्धि भएको हो । मेलाको उद्देश्य अनुरूप नै पर्याप्त प्रचार–प्रसार र सन्तोषजनक व्यापार भएको नाइमाले जनाएको छ 

नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले यस वर्षको नाइमा एक्स्पो विगतको तुलनामा अत्यन्तै सफल र उत्साहजनक भएको बताइन् ।

मेलाको अन्तिम दिन आइतबार मेलाबारे जानकारी दिँदै उनले यस पटक दर्शकको चाप र व्यावसायिक सहभागिता दुवैमा वृद्धि भएको उल्लेख गरिन् ।

नाडाका पूर्वअध्यक्ष ध्रुव थापा पनि यसपटकको एक्स्पो विगतको तुलनामा धेरै व्यवस्थित रहेकाे बताउँछन् । ‘विगतमा केवल हेर्नका लागि मात्र मान्छे आउँथे, तर यसपालि ‘क्वालिटी भिजिटर्स’ आएका छन्,’ उनी भन्छन् ।

पछिल्लो केही महिनादेखि सुस्ताएको अटो व्यवसायमा यस मेलाले एक प्रकारको नयाँ भाइब्रेसन सिर्जना गरेको छ । उनले आगामी नाडा अटो सोका लागि पनि यसले बलियो जग बसालेको विश्वास व्यक्त गरे । 

एक्स्पोको केन्द्रविन्दुमा विद्युतीय सवारीसाधन (ईभी) नै रहे। बीवाइडीका सीईओ साहिल श्रेष्ठका अनुसार नेपालमा विद्युतीय सवारीको युग पूर्णतः सुरु भइसकेको छ ।

बीवाइडीको स्टलमा देखिएको अत्यधिक भीडले पनि नेपाली ग्राहकहरू अब इन्धनबाट ब्याट्रीतर्फ मोडिएको प्रस्ट पार्छ । 

यस्तै बुझाइ जिओ अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाको पनि छ । एमजी कोमेट र विन्ड्सर जस्ता ईभी मोडेलहरूमा ग्राहकको सोधपुछ र बुकिङ उत्साहजनक रह्यो । 

लिपमोटरका लागि पनि यो मेला कोसेढुङ्गा सावित भयो । सांगिला मोटर्सका जीएम किरण श्रेष्ठका अनुसार ६ दिनको अवधिमा लिपमोटरले २०० भन्दा बढी बुकिङ प्राप्त गर्यो । सेलिब्रिटीहरूमा पनि ईभीको क्रेज उत्तिकै देखियो । 

नायिका करुणा पाण्डेले टाटा पन्च ईभी बुक गर्दै भनिन्, ‘नेपालको बाटो र वातावरणका लागि ईभी नै उत्तम छ ।’  

हुण्डाईका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले मेलामा गाडी मात्र होइन, भिजन पनि प्रस्तुत गरिएको बताए । 

उनका अनुसार हुण्डाईले नेपालमै एसेम्ब्ली प्लान्ट सञ्चालन गरेर आत्मनिर्भरताको मेसेज दिन खोजेको छ । ‘हाम्रो स्टलमा कुनै बाहिरी मोडेल थिएनन् । यो गाडी बेच्ने मात्र होइन, बुझाउने मेला पनि हो,’ थपलियाको भनाइ थियो ।

हुण्डाईसँग अहिले ५० हजारभन्दा बढी सन्तुष्ट नेपाली ग्राहक रहेकाे उनकाे भनाइ छ ।

मेलामा दुईपाङ्ग्रे सवारी साधनको पनि उत्तिकै आकर्षण थियो । टिभिएसको आधिकारिक जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक रौनियारले नसोचेको भीड र बुकिङ भएको बताए । अपाचे १६० ४भी युएसडी प्रोजेक्टर जस्ता नयाँ प्रविधि र तत्कालै फाइनान्स तथा एक्सचेन्ज सुविधाले ग्राहकलाई आकर्षित गर्यो ।

यस्तै, महिन्द्राका क्याविनेट श्रेष्ठले पनि ग्राहकको प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको बताए । मेला सफल भए पनि पूर्वाधारको समस्या भने टड्कारो देखियो । पार्किङको समस्या र भृकुटीमण्डपको अस्थायी संरचनामा सुधार हुनुपर्ने आवाज व्यवसायीहरूले उठाएका छन । 

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल भन्छन्, ‘सरकारले एउटा अन्तर्राष्ट्रिय स्तरको व्यवस्थित प्रदर्शनी स्थल बनाइदिनुपर्छ ।’

उनका अनुसार नाइमाको उद्देश्य केवल गाडी बेच्नु मात्र थिएन। मेलाको दौरानमा भएका मोबिलिटी संवाद र लर्निङ सेसन मार्फत लगानी, उद्यमशीलता र प्रविधिको बारेमा युवा र विद्यार्थीहरूलाई शिक्षित गराउने प्रयास गरिएको थियो । 

Share News