काठमाडौं । नाडा अटो शोमा नयाँ गाडीका मोडलसँगै आकर्षक स्टलले पनि दर्शकको ध्यान तान्ने गरेका छन् । ब्रान्डको पहिचान र नयाँ उत्पादनलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न अटोमोबाइल कम्पनीहरूले स्टल निर्माणमै ठूलो रकम खर्च गर्ने गरेका हुन् ।
अटो व्यवसायीहरूका अनुसार नेपालमा आयोजना हुने नाडा अटो शो तथा ठूला मोबिलिटी एक्स्पोमा एउटा अटोमोबाइल स्टल निर्माण गर्न २० लाखदेखि ८० लाख रुपैयाँसम्म खर्च हुने गरेको छ ।
स्टलको क्षेत्रफल, डिजाइनको जटिलता, प्रविधिको प्रयोग तथा सम्बन्धित ब्रान्डको आवश्यकताअनुसार खर्च फरक पर्ने गरेको उनीहरूको भनाइ छ ।
साना तथा सामान्य प्रकृतिका स्टल निर्माणमा तुलनात्मक रूपमा कम खर्च हुने गरेको व्यवसायीहरू बताउँछन् ।
विशेषगरी दुईपांग्रे, अटो पार्ट्स वा अन्य साना ब्रान्डका स्टलमा १० लाख रुपैयाँसम्म खर्च हुने गरेको उनीहरूले जानकारी दिए ।
मध्यम स्तरका अटोमोबाइल स्टल निर्माणमा भने २० देखि ३० लाख रुपैयाँसम्म खर्च हुने गरेको ओमोडा एन्ड जेकोका एक प्रतिनिधिले बताए ।
उनका अनुसार स्टलको आकार बढ्दै जाँदा डिजाइन, प्रविधि र सजावटमा थप लगानी गर्नुपर्ने भएकाले खर्च पनि बढ्दै जान्छ ।
ठूला तथा प्रिमियम चारपांग्रे ब्रान्डका स्टलमा खर्च अझै बढी हुने गरेको छ । यस्ता स्टल निर्माणमा ३० लाखदेखि ८० लाख रुपैयाँसम्म खर्च हुने गरेको व्यवसायीहरू बताउँछन् ।
यसपटकको अटो शोमा केही स्थापित गाडी ब्रान्डले स्टलको निर्माण तथा सजावटमा मात्रै ७० लाख रुपैयाँसम्म खर्च गरेको उनीहरूको दावी छ ।
स्टलमै किन हुन्छ यति ठूलो खर्च ?
अटो शोमा स्टल भनेको केवल गाडी राख्ने ठाउँ मात्रै नभई ब्रान्डको ‘प्रिजेन्टेसन’ गर्ने मुख्य माध्यमसमेत हो । त्यसैले कम्पनीहरूले स्टललाई आकर्षक, प्रविधिमैत्री र फरक देखाउन ठूलो रकम खर्च गर्ने गरेका हुन् ।
स्टल निर्माणको खर्चमा सबैभन्दा ठूलो हिस्सा स्ट्रक्चर तथा फेब्रिकेसनमा जाने गरेको छ । मेटल फ्रेम, काठको काम, प्लाइउड, फिनिसिङ तथा गाडी राख्न आवश्यक बलियो स्टेज निर्माणमा उल्लेख्य रकम खर्च हुन्छ ।
त्यस्तै, फ्लोरिङमा पनि कम्पनीहरूले विशेष ध्यान दिने गरेका छन् । गाडी अड्याउन मिल्ने बलियो संरचनासँगै कार्पेट वा प्रिमियम लेमिनेटेड फ्लोरिङ प्रयोग गर्दा लागत बढ्ने गर्छ ।
पछिल्लो समय स्टलको आकर्षण बढाउन लाइटिङ र डिजिटल डिस्प्लेमा पनि ठूलो लगानी हुन थालेको छ । आकर्षक लाइट, डिजिटल स्क्रिन तथा ब्याकग्राउन्डमा राखिने ठूला एलईडी भिडियो वाल स्टलको प्रमुख आकर्षण बन्ने गरेका छन् । एलईडी भिडियो वालको भाडा, ढुवानी, जडान तथा सञ्चालन खर्चसमेत महँगो पर्ने व्यवसायीहरू बताउँछन् ।
त्यसैगरी ब्रान्डिङ तथा थ्रीडी लोगो, फ्लेक्स, विनाइल स्टिकर, ब्यानरलगायतका सामग्री निर्माणमा पनि खर्च हुने गरेको छ । कम्पनीले आफ्नो ब्रान्डको पहिचान र नयाँ मोडललाई प्रमुखताका साथ देखाउन खोज्दा डिजाइन तथा ब्रान्डिङको लागत बढ्ने गर्छ ।
स्टल निर्माणसँगै लजिस्टिक र जनशक्तिको खर्च पनि जोडिन्छ । भृकुटीमण्डपजस्ता प्रदर्शनीस्थलमा निर्माण सामग्री तथा उपकरण ओसारपसार गर्ने, प्राविधिक जनशक्ति परिचालन गर्ने, रातिसम्म काम गर्ने कामदार तथा प्राविधिकको पारिश्रमिक र डेलिभरी खर्चले पनि कुल लागत बढाउने गरेको व्यवसायीहरूको भनाइ छ ।
अर्थात्, अटो शोमा देखिने एउटा आकर्षक स्टल पछाडि लाखौँ रुपैयाँको लगानी मात्र होइन, डिजाइनदेखि फेब्रिकेसन, प्रविधि, ब्रान्डिङ र जनशक्तिसम्मको ठूलो तयारी जोडिएको हुन्छ । यही कारण अटोमोबाइल कम्पनीहरूबीच गाडीका मोडलसँगै ‘कसको स्टल आकर्षक ?’ भन्ने प्रतिस्पर्धासमेत बढ्दै गएको छ ।